कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
328

प्रविण निरौला लिखित ‘तिरस्कृता’ लोकार्पण भएको छ । राजधानीको कुन्ज थिएटरमा आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, विशेष अतिथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, लेखक प्रविण निरौला र लेखन कुन्जका अध्यक्ष कमल ढकाल, साहित्यकार नर्वदेश्वरी सत्याल, साहित्यकार अनिल पौडेलले संयुक्त लोकार्पण गरेका थिए ।
कार्यक्रममा जोशीले नेपालमा यस्तो खालको पुस्तकको आवश्यकता रहेको र विदेशमा बसेर नेपाली साहित्यको सेवा गरेकोमा लेखक प्रविण निरौलालाई धन्यवाद दिए । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्वैर कल्पनामा आधारित पुस्तकले नेपाली साहित्यमा नयाँ पुस्तक मात्र हैन, उल्लेखनीय पुस्तक ल्याएको बताए ।

साहित्यकार नर्वदेश्वरी सत्यालले यो उपन्यासले कल्पना गरेको ग्रहजस्तै नारीहरुको अवस्था भए हामी सुखी हुने थियौं भन्दै तिरस्कृत जस्तै ग्रह पृथ्वीमा कतै हुन सक्ने बताए । साहित्यकार अनिल पौडेलले नेपाली साहित्यमा आएको नयाँ प्रकारको यो पुस्तकले आफूलाई तानिरहेको बताए ।
कमल ढकालले नेपाली साहित्यले विश्व आकाशमा लैजान बाहिर बसेर साहित्यमा सेवा गरिरहेका प्रविणजस्तो युवा पुस्ताले सम्भव हुने र त्यो कारण पनि आफू प्रविण निरौलाको तिरस्कृता प्रति आकृष्ट भएको बताए ।
लेखक प्रविणले आफूमा पहिलेदेखि नै साहित्यको रस भएको र बैकको जागिर छाडेर अष्ट्लिया गए पनि त्यहाँ आफूले आफ्नो पाईरहेको काम छाडेर तिरस्कृताको लेखनमा संलग्न भएको बताए । मूल्य ३७५ रुपैयाँ रहेको तिरस्कृता सिमल बुकले प्रकाशन गरेको हो ।