रजनी श्रेष्ठ
बिहिवार, कार्तिक १४, २०७६
1211

केही वर्षयता नेपालमा ट्याटु फस्टाइरहेको छ । सबै वर्ग र उमेर समूहका व्यक्तिले ट्याटु मन पराउने गरेका छन् ।
तर विशेषगरी युवा पिँढीमा निकै नै लोकप्रिय छ ट्याटु । देश विदेशबाट धेरै जना नेपालमा ट्याटु बनाउन आउँछन् । अन्तराँष्ट्रिय स्तरमा पनि नेपालले ठाउँ पाइरहेको छ ।

ट्याटु एक प्रकारको कलाको चित्रण हो । मानिसको शरीरमा कोरिने कला हो, जसमा हरेक ट्याटुको छुट्टै कथा हुनेगर्छ ।
ट्याटु आर्टिस्टको पहिलो ढोका खोल्ने व्यक्ति हुन् बाबुराजा प्रधान । उनलाई नेपालका पहिलो ट्याटु आर्टिस्ट मानिन्छ । उनकै प्रेरणामा जन्मिएका धेरै ट्याटु आर्टिस्टहरु हामीले भेट्न सक्छौं । पहिलेको र अहिलेको जमाना हेर्ने हो भने ट्याटु अहिले निकै नै प्रख्यात छ । साथीको लहलहैमा होस् या त आफ्नो केही चिजप्रतिको लगाव दर्शाउन होस्, युवाहरु निकै नै धेरै मात्रामा बढिरहेका छन् ट्याटु बनाउने । कुनै ट्याटु अस्थायी हुन्छ भने कुनै स्थायी हुन्छ ।
नेपालमा नेवार समुदायले धेरै वर्ष अघिदेखि ट्याटु बनाउने अभ्यास गर्दै आएको पाइन्छ । नेवारहरू विश्वास गर्छन् कि स्वर्गमा मृत्युपछि उनीहरूको ट्याटु बेचेर उनीहरू आफ्नो जीवन जिउन सक्छन् । नेवार समुदायमा अहिले पनि वृद्धवृद्धाको खुट्टा वा नाडीमा धेरै ट्याटु देख्नसक्छौँ ।
ट्याटुले कुनै न कुनै कथा बोकेको हुन्छ । अहिले त यसलाई फेशन स्टेटमेन्टको रुपमा लिनेहरु पनि धेरै छन् । “मेरो कामले ट्याटुको लागि अनुमति दिँदैन,” नेपाल आर्मीका सेवानिवृत्त किशोरकुमार श्रेष्ठ भन्छन्, “हामी सबैलाई थाहा छ कि ट्याटु कोरेको व्यक्तिलाई नेपाली सेना वा अन्य धेरै सम्मानित जागिरमा लिँदैनन् । तर मलाई यो कला निकै नै मन पर्छ ।”
विद्यार्थी डिकेश मानन्धर पनि आफूलाई ट्याटु एकदमै मनपर्ने बताउँछन् । उनले आफ्नो हात र खुट्टामा ट्याटु कोरिसकेका छन् र अझै अरु पनि कोर्ने मन भएको बताउँछन् ।
नेपाली बजारमा ट्याटु बनाएको घण्टाको हिसाबमा शुल्क लिने गरिन्छ । हरेक आर्टिस्टअनुसार यो रेट फरक हुने गरेको पाइन्छ ।