सागर परियार
बिहिवार, कार्तिक ७, २०७६
508

जुम्ला - कर्णालीका गाउँ, भेग, क्षेत्रपिच्छे नै भिन्नै खालका कला संस्कृति तथा रहन सहन छन् । धान रोप्दा, बाली भित्र्याउँदा, वनपाखा जाँदा, गाई चराउन जाँदा, छोरा हुँदा विवाह गर्दा, जात्रा लाग्दा, साउने संक्रान्ति, विसुँवा पर्व, मागि पर्व लगायत पर्वहरुमा कर्णालीमा गाईने गीत लगाउने रहन सहन सबै भिन्नै खाले छ । करिब १७ लाख ७० जनसंख्या रहेको कर्णालीका घरघरमा आ–आफ्नै कला संस्कृति रहेका छन् । जात भाषा धर्म, परम्परा, भेग क्षेत्रसँग जोडिएको मौलिक संस्कृति पुस्तान्तरणको अभावमा लोप हँुदै गएको छ ।
पुराना परम्परागत मौलिक संस्कृतिबाट एक दशक पहिला मात्रै जुम्लाका कुनै घरहरु अछुतो थिएनन् । पञ्चेबाजा बजाउने दमाई जाति, हुड्के नाच्ने दमाई कलाकार, ढाल नाच नाच्ने चनारा, मागल गाउने मुग्लेरी, मौलिक पहिरन लगाउने पुर्खा, मौलिक पोशाक सबैका घरघरमा हुन्थे । संस्कृतिविद् रमानन्द आचार्य भन्छन्, “पहिलाका पुस्ताले पनि हस्तान्तरण गर्न सकेनन् ।”
अहिले पुस्ताहरु पश्चिमी सस्ंकृतिमा रुमालिन थालेपछि आफ्नो मौलिक सास्कृति सबै लोप हुन थालेकोमा उनले चिन्ता व्यक्त गरे । विश्वमा ग्रिस सभ्यताको महत्व जतिकै नेपालमा सिंजा सभ्यताको महत्व छ । ताखु कात्ने बुढापाका खोजेर पाईन छोड्यो, घरमा पहिला हुने उनकै फेरुवा लिउ लोप हुँदैछन् ।
कला सांस्कतिक रहन सहनले कर्णालीका घरघरमा कलाकार र कलाकारिता छ । तर त्यसको पुस्तान्तरण हुन नसक्दा समय बित्दै जाँदा सबै मौलिक संस्कृति हराउँदै जाने खतरामा छ । पन्चेबाजा, हुड्के नाच, ढाल नाच, जोडा चुट्किला, रतेउली, मागल, धान रोप्दा गाउने मागल, देवता पुज्दा गाउने मागल, बालो नाच सबै संस्कृतिहरु पछिल्लो समय एक पुस्ताबाट अर्को पुस्तामा सिक्न सिकाउन नसकिएकै कारण लोप हँुदै गएको संस्कतिविद् आचार्यको चिन्ता छ ।

जुम्ली पञ्चेबाजा
पाँच दशक पहिले जुम्ला तातोपानी २ का सार्के दमाई पन्चेबाजाका नाईके थिए । पन्चेबाजा बजाउँदा अघि लाग्ने सिकाउने भएकाले उनलाई सबैले नाईके भन्थे । कर्णालिको रितिरिवाज, परम्परा, पूजापाठ अनुसारको विभिन्न थरिका बाजा छन् । जो उबेला सजिलै बजाउँथे । उति बेला सास्कृति जर्गेनाका साथै, दमाई समुदायको जीवन निर्बाहका लागि गरिने पुर्खौउली पेशा पन्चेबाजा, उमेरले पाका सार्के दमाईको उम्मेर ढल्किँदै जाँदा, आफ्ना जेठा छोरा धनविर दमाईलाई उनले बाजाका नाईके बनाएका थिए ।
धनविर दमाईले आफ्ना बाको मुत्युपछि, नाईके भएर विभिन्न ठाउँमा पन्चेबाजा बचाउन गए र धेरैलाई आफ्नो, पेशा रहनसहनप्रति जिम्मेवार बन्न अभिप्रेरित गरिरहे । आफ्ना भाइ छोरालाई साथमा लिएर पन्चेबाजासँग दमाई समुदायको जोडिएको सम्बन्धका बारेमा नभनेका पनि होइनन् ।
तर धनविर दमाइले जतिकै उनका छोरा हर्केश दमाई पञ्चेबाजा बजाउन चासो दिँदैनन् । हाल धनविरे दमाई मरेर स्वर्गीय भएपछि पञ्चेबाजा अस्तव्यस्त रहेको स्थानीय कन्न बुढा बताउँछन् । केहि अवसरमा बोलाउने पनि नआउने उनको दुखेसो छ बदलिँदो समयको प्रभाव भनौं वा, राम्रो नेतृत्व गर्ने नाईके नपाएर हो, वा पेशा प्रति लाज मानेर हो, पछिल्लो दमाई समुदाय नै पन्चेबाजा बजाउन अग्रसर भएको पाइँदैन । पन्चेबाजा भन्ना बित्तिकै दमाह, ज्याली, ट्याम्को, नरसिंहा र सनही पर्दछन् । यो विशेषगरि दलित समुदायसँग आधारित एक पुर्खौली पेशा हो ।
दमाई समुदाय आफ्नो पेशा र संस्कृति भुल्दै गएपनि, पन्चेबाजाको महत्व, आवश्यकता भने उतिकै छ । संस्कृति तथा भाषाविद् रमानन्द आचार्यले भने, दलित भनेर हेपिएको होइन, कला भएका व्यक्तिको जातमा आधारित पेशा हो । बजाउनेको आफ्नै पहिचान छ । तर ३ र ४ वर्ष बजाउने दमाहा बोक्ने मान्छे आज अलि पढेर बुझ्ने भएपछि आफ्नो पेशा नबुझ्ने गरेको प्रति आचार्यले दुःख व्यक्त गरे । बजाउनेहरु लोपहुदै गएपनि विबाह, देवता पुज्दा, रोपाई चोपाईमा यसको महत्व अहिलेपनि उतिकै छ ।

हुड्के नाच
तिला गाउँपालिका २ का हस्त दमाई अहिले पनि हुड्के नाच्छन् । उनका बुबाले उनलाई सिकाएर गएको संस्कृतिमा आधारित एक पुर्खौली सीप हो । हस्त दमाई विवाह हुँदा, छोरा हुँदा उनी सधै हुड्के नाच्न जान्छन् । उनलाई विभिन्न ठाउँबाट निमन्त्रणा आउँछन् । विशेषगरी मंसिर र वैशाखको महिनामा अरु समय भन्दा धेरैनै निमन्त्रणा आउने उनको भनाइ छ ।
जुम्लाको पुर्व गुठिचौरदेखि पश्चिम कालिकोट र दक्षिण सिंजा सम्मका विभिन्न गाउँहरुमा उनी आफ्नो हुड्के नाच लिएर पुग्छन् । त्यस्तै, तातोपानी ३ का रतन दमाई पनि एक पोख्त हुड्ने नाच्ने कलाकार हुन् । उनलाई पनि रारागाउँका हस्त दमाई जस्तै विशेष अवसरहरुमा विभिन्न ठाउँबाट निमन्त्रण आउने बताउँछन् ।
मनमा जाँगर, सिप कला हुँदा, पनि साथ दिने मान्छे छैनन् । राराका हस्त दमाईले भने, “हिजोआज कतैबाट निमन्त्रणा आउँदा पनि सहयोगीहरु जुटाउनै धौधौ हुन्छ । जान मान्दैनन्, गाउँ सिक्न तथा सिकाउने मावल पनि छैन ।” सिकाउन खोज्दा पनि अहिलेका पुस्ताले सिक्न नचाहने उनको भनाइ छ ।
अहिलेको पुस्ता सिक्न त सहयोग पनि गर्दैनन् । जसले गर्दा हुड्के नाच हराउँदै छ । हुड्के नाच पन्चेबाजा, ढाल नाचको संरक्षण नगरे सम्म कर्णालीको सांस्कृतिक पहिचान केहि वर्ष खोज्नुपर्ने स्थितीमा पुग्ने पन्चेबाजा एकता समाजका जुम्लाका सचिव लालु दमाईले बताए । उनका अनुसार दमाई जातीमा आधारित एक मौलिक पेशा होे हुड्के नाच । यसको संरक्षणमा स्थानीय सरकारदेखि स्वयम् दमाई समुदाय अग्रसर हुन जरुरी छ । पछिल्लो पुस्तालाई कसरी यस पेशामा आबद्ध गराउने हो भन्ने विषयमा चिन्तीत छन् संस्कृतिप्रेमीहरु ।

मागल सिक्नै चाहँदैनन्
पहिला पहिला वैशाख, जेठ, असार र मंसिर लाग्दा कर्णाली गाउँबस्ती मागलमय हुन्थे । विशेषगरि वैशाख मंसिरमा छोरा हुँदा, विवाह वर्तबन्ध गर्दा मागल भन्थे भने जेठ असारमा धान रोप्दा, चोपाई गर्दा खेतमा पन्चेबाजा र मागलको तालले पूरा धान रोप्ने ज्युलोनै गुन्जिन्थ्यो । त्यस्तै, वर्षमा चार पटक कर्णालीका मठ मन्दिरमा पूजा हुने बैशाख पुर्णिमा, साउन पूर्णिमा, कार्तिक पूर्णिमा र माघ पूर्णिमामा मागल बिना देवता चल्दैनथे । पूरा शुरुहुनु पहिले मागल अनिवार्य हुन्थ्यो ।
विभिन्न अबसरमा गाईने मागलको महत्व तथा आबश्कयता विशेषता आफ्नै छ । तर विडम्बना समयको विकास भनौ या, पुरानो पुराना मान्छेबाट नयाँ पुस्तामा सीप हस्तान्तरण नभएको हो । या पश्चिमी संस्कृति हाबी भएको हो । कर्णालीमा मागलका मंगल धुन सुन्न हिजोआज निकै मुस्किल भैसकेको छ ।
हरेक कुरालाई दिगोपन हुनका लागि पुस्तान्तरणम हुन जरुरी छ । कुनै कुरा सिक्ने सिकाउने बीचको ईच्छा र चाहना हुनुपर्दछ । तर कर्णाालीका विभिन्न परम्परागत कुरा संरक्षणमा नयाँ पुस्ताले चासो नदिएकै कारण लोपोन्मुख बनेको संस्कृतिविद् रमानन्द आचार्यले बताए । उनले भने, “समय फेरिए पनि कर्णालीका चालचलन रितिरवाज फेरिएका छैनन् ।”