दीपेन्द्र थापा
बिहिवार, आश्विन १६, २०७६
718

दशैं  सुरु भएसँगै काठमाडौं उपत्यका सुनसान हुन्छ । लाखौं उपत्यकाबासी दसैं मनाउन घर फर्कन्छन् ।
कोहीले घुमघामको योजना बनाएका हुन्छन् । दसैंको केही दिन बिदा घुमेर रमाइलो गरी मनाउने योजना राम्रै पनि हो । काठमाडौंमै बस्नेका लागि नजिकका केही गन्तव्य छन् जहाँ केही दिन रमाइलोसँग बिताउन सकिन्छ ।

चन्द्रागिरि
चन्द्रागिरि धार्मिक पर्यटन, दृश्यावलोकन र ऐतिहासिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । समुद्र सतहबाट दुई हजार ५ सय मिटरमा रहेको चद्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर छ । आफ्नै सवारी साधन हुनेहरुका लागि कलंकीबाट ६ किलोमिटरको यात्रा पार गर्नुपर्छ भने पुरानो बसपार्कबाट लाग्ने थानकोट गोदामचौर रुटको सार्वजनिक यातायातमार्फत् पनि चन्द्रागिरि केवलकारको तल्लो स्टेशनसम्म पुग्न सकिन्छ ।
चन्द्रागिरि हिल्स प्राइभेट लिमिटेडले सञ्चालन गरेको बस सेवामार्फत् पनि चन्द्रागिरि पुग्न सकिन्छ । १४ मिनेट दूरी तय गर्ने केवलबार आफैंमा पनि पर्यटक तान्ने बाटो बनेको छ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यका नियालेको इतिहास छ । उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि राम्रो गन्तव्य हो । जहाँ सुविधा सम्पन्न होटलसमेत रहेको छ । पारिवारीक माहोलसहितका पूर्वाधार विकास गरिएको छ । जहाँँ बच्चादेखि वृद्धवृद्धासम्म इन्गेज हुन सक्छन् ।

चम्पादेवी
चम्पादेवी पछिल्लो समय हाइकिङका लागि प्रसिद्ध हुँदै गएको छ । मन्जुश्रीले तपस्या गरेको ठाउँमा चम्पादेवीको मन्दिर रहेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको चम्पादेवी क्षेत्रमा ऐतिहासिक चम्पादेवी पार्क पनि निर्माण भइरहेको छ । चम्पादेवीको डाँडाबाट सर्वोच्च शिखर सगरमाथासहित १२ वटा हिमालहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
चम्पादेवी घुमघामका लागि असोजदेखि फागुन महिनासम्म उत्कृष्ट समय हो । काठमाडौंको दक्षिणतिर रहेको समुद्र सतहबाट २ हजार २ सय ५० मिटर अग्लो पहाडी थुम्को चम्पादेवी पुग्न काठमाडौंको फर्पिङ, कीर्तिपुरको पुष्पलाल पार्क, चाल्नाखेलको बोसनबाट पदयात्रा सुरु गर्न सकिन्छ । पदयात्रा, दृश्यावलोकन र प्राकृतिक सौन्दर्यको अनुभव लिन चम्पादेवी उत्कृष्ट गन्तव्य हो ।

ककनी
एक दिनको यात्राका लागि नुवाकोटको ककनी उत्कृष्ट गन्तव्य हो । काठमाडौंको माछापोखरीबाट बस चढेर २१ किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । दक्षिणमा सिमभन्ज्याङ र दामन, पूर्वमा काठमाडौं उपत्यका, उत्तरमा गणेश हिमाल र थानसिंह फाँटको मनोरम दृश्य ककनीबाट देख्न सकिन्छ । बसन्ती दरवार, रुम्वा राजाको दरवार र स्थानीय सांस्कृतिक झाँकी त्यहाँका ऐतिहासिक र सांस्कृतिक पक्षबाट पनि ककनी उत्तिकै महत्वपूर्ण छ ।
समुद्र सतहबाट २ हजार २ मिटरको उचाइमा रहेको ककनी शिवपुरीको छेउमै भएका कारण र हरियाली वातावरणका कारण पनि ककनी घुम्नका लागि यो उपयुक्त मौसम हो । स्वादका पारखीहरुका लागि स्ट्रबेरीका परिकार र ट्राउट माछाको स्वाद लिनका लागि पनि जानैपर्ने ठाउँ हो । रात्री बसाइका लागि एक हजारदेखि २ हजार रुपैयाँसम्मका सुविधासम्पन्न होटलहरु पनि त्यहाँ रहेका छन् ।

शिवपुरी, चिसापानी
काठमाडौं उपत्यकाबाट नजिकै भएकाले आन्तरिक र बाह्य दुवै थरिका पर्यटक चिसापानीमा पुग्ने गर्दछन् । चिसापानी काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमानासँग जोडिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने सोही बाटो भएर पर्यटकहरु गोसाइँकुण्ड, लाङ्टाङ, पाँँचपोखरी, मेलम्ची, नगरकोट, भोटेचौर चियाबगान र हेलम्बुलगायत पर्यटकीय स्थलमा पदयात्रामा जाने गर्दछन् ।
वरिपरिका डाँडा देखिने रमणिय अग्लो स्थानमा रहेको चिसापानी सुन्दरीजलबाट ११ किलोमिटर र समुद्री सतहबाट २ हजार २ सय मिटरमा पर्दछ । पर्यावरणीय सम्पदाले सुसज्जित र हिमश्रृङ्खलाले घेरिएको यस क्षेत्रमा पुग्ने जो कोहीको मन प्रफुल्लित भएर आउँछ ।
साँखु जहरसिंहपौवा चौकी भन्ज्याङ हुँदै पनि चिसापानी पुग्न सकिन्छ । सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकनका लागि पनि चिसापानी उत्तिकै प्रख्यात छ । सगरमाथा, माछापुच्छ«े, गौरीशंकर, अन्नपूर्ण, लाङटाङ, गणेश हिमाललगायत हिमश्रृङ्खला देख्न सकिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा नुवाकोट र सिन्धुपलाञ्चोकमा आक्रमण गर्दा निर्माण गरिएका किल्ला र बंकरका भग्नावशेषहरुले पनि यस क्षेत्रको ऐतिहासिक महत्व झल्काएको छ ।

लाँकुरी भन्ज्याङ
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा पर्ने लाँकुरी भन्ज्याङ उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृङ्खला, गणेश हिमाललगायत हिमालहरु अवलोकनका लागि परिचित छ । चक्रपथबाट १३ किलोमिटर दूरीमा रहेको गन्तव्यमा निजी सवारी साधनका लागि सडक सुविधा रहेको भए पनि सार्वजनिक यातायातमार्फत् लगनखेलबाट लामाटारसम्म जान सकिन्छ । लगनखेलबाट लुभुसम्मको ७ किलोमिटर सार्वजनिक यातायात र ५ किलोमिटर पदयात्राबाट पनि त्यहाँ पुग्न सकिन्छ । लामाटारबाट पदयात्रा गरेर पनि थुम्कोसम्म पुग्न सकिन्छ ।
फूलचोकीदेखि लाकुरी भञ्ज्याङसम्मको पदयात्रा र साइक्लिङ गर्न सकिने भएकाले पनि लाँकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै गएको छ ।

गोदावरी
ललितपुरमा रहेको गोदावरी पुग्नलाई सातदोबाटो चोकबाट ७ किलोमिटर दुरी पार गर्नुपर्छ । धार्मिक तथा पौराणिक रुपमा प्रसिद्धि कमाएको गोदावरीमा राणा प्रधानमन्त्री चन्द्रशमशेर जवराले निर्माण गरेको वनस्पति तथा पुष्प उद्यान पर्या–पर्यटनका लागि उपयुक्त गन्तव्य हो । ढकमक्क फुलेका फूल, विभिन्न जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, र अनुसन्धानस्थल रहेको गोदावरीमा स्वच्छ र स्फूर्ति प्रदान गर्ने हावा बहन्छ ।
सुनसान जंगलको बीचमा विशाल बुद्धको मूर्ति, नजिकै रहेको सन्तानेश्वर महादेव, विशंखुनारायण मन्दिर र बौद्ध बिहारहरुमा पुग्नेहरुलाई त्यसै पनि शान्ति मिल्छ ।
गोदावरी कुण्डबाट जंगलको बाटो उकालो लागेपछि फूलचोकीसम्मको रुटमा हाइकिङको मज्जा लिन सकिन्छ । जैविक विविधताको भण्डार र खुला संग्रहालयका रुपमा रहेको त्यस क्षेत्रमा बसाइलाई आरामदायी बनाउन रिसोर्ट तथा रेस्टुरेन्टको पनि सुविधा छ ।

फूलचोकी
फूलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो स्थान पाटनदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको फूलचोकी काठमाडौ उपत्यकाको सबैभन्दा अग्लो स्थान हो । तराईका समथर फाँटदेखि उत्तरका गगनचुम्बी हिमालहरु सम्मको दृश्यावलोकन फूलचोकीको प्रमुख विशेषता हो ।
अरु आकर्षणका रुपमा त्यहाँका वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् । फूलचोकीमा हिउँदको समय हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु जाने गरेका छन् । त्यहाँ फूलचोकी माईको मन्दिर पनि छ भने फेदमा रहेको गोदावरीमा फूलचोकी माताको अर्को पनि मन्दिर रहेको छ । पौराणिक भनाइअनुसार देवीका ४ दिदी बहिनीका रुपमा चम्पादेवी, नागार्जुन जामाचो, शिवपुरी र फूलचोकीलाई लिइन्छ । सबैभन्दा उचाईमा फूलचोकी देवी रहेकी छिन् ।

दक्षिणकाली
काठमाडौंबाट दक्षिण भेगमा १७ किलोमिटर दुरीमा रहेको दक्षिणकालीमा रहेको प्रताप मल्लद्वारा निर्माण गरिएको कालीदेवीको मन्दिरका कारणले धार्मिक पर्यटन फस्टाएको छ । वर्षेनी हजारौं संख्यामा भक्तजनहरु आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ त्यहाँ पुग्ने गरेका छन् । दसैंको बेला दक्षिणकालीमा विशेष मेला लाग्छ भने नवरात्रीको दिन भक्तजनहरू हाँस, कुखुरा राँगा, बोकाको बलि दिन्छन् । सोही कारण पनि दशैको समयमा धार्मिक आस्था लिएर मानिसहरु त्यहाँ पुग्ने गरेका छन ।
मन्दिर मात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएका स्थलहर पनि दक्षिणकालीमा छन् । एकदिनमा टौदह, कटुवाल दह, दक्षिणकाली, चोभार, फर्पिङ र कुलेखानीसम्मलाई प्याकेजमा समेट्न सकिन्छ ।

नमोबुद्ध
काठमाडौंबाट ४२ किलोमिटर र धुलिखेलबाट १३ किलोमिटर दुरीमा रहेको नमोबुद्ध धार्मिक तथा ऐतिहासिक सम्पदाका साथसाथै पर्यटकीय गन्तव्यका रुपमा पनि पहिचान बनाउँदै गएको छ । किंवदन्ती अनुसार गौतम बुद्धको अघिल्लो जन्मका रुपमा नमोबुद्धलाई लिइने गरेको छ भने उनले सोही स्थानमा भोकाएकी सुत्केरी बघिनीलाई आफ्नै शरीरको मासु काटेर खुवाएका थिए । मासु सबै बघिनीलाई खुवाइ सकेपछि बाँकी रहेको हड्डीलाई सोही स्थानमा पुरिएको थियो ।
पनौतीबाट शंखु उपत्यका हुँदै धुलिखेलबाट हाइकिङ गर्दै नमोबुद्ध पुग्न सकिन्छ । हाइकिङका क्रममा त्यो ठाउँबाट विभिन्न हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । पर्यटकहरुका लागि पर्याप्त होटल तथा लजहरु खुलेका छन् भने पछिल्लो समय होमस्टे सुविधा पनि फस्टाउँदै गएको छ ।

नागार्जुन, ह्वाइट गुम्बा
चक्रपथ सितापाइलाबाट नजिकै रहेको सेतो गुम्बा र नागार्जुन क्षेत्र छोटो समयका लागि परिवार र साथीभाइँसँग छुट्टी मनाउन उत्कृष्ट गन्तव्य हो । स्वयम्भु चोकबाट ४ किलोमिटर पश्चिममा रहेको गुम्बा पुग्न आफ्नो सवारी साधन वा रामकोटसम्म सार्वजनिक यातायातबाट जान सकिन्छ । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने गुम्बामा पर्यटकहरुलाई निश्चित समयसम्ममात्र बस्ने समयावधि तोकिएको छ । प्लास्टिक झोला निषेध गरिएको छ भने सुर्तीजन्य र मदिराजन्य वस्तुहरु पनि त्यहाँ लग्न पाइँदैन । सेतो गुम्बा घुमिसकेपछि रामकोट र नागार्जुन पनि घुम्न सकिन्छ ।