सागर परियार
बिहिवार, आश्विन २, २०७६
629

जुम्ला - निम्न आयस्तर, बिहान–बेलुका छाक टार्न पनि धौधौ । पुख्र्यौली सम्पत्तिले खान–लाउन समेत नपुग्ने । घरको उत्पादन ३ महिनाभन्दा बढी नपुग्ने । चार भाइमा माइला । जेठोपछिको सबैभन्दा जिम्मेवार । जिम्मेवारी बढेसँगै केहि समय कालापहाड । चामल, नुन ल्याउनमात्र सुर्खेत पुग्नुपर्ने । भेडा, खच्चड हुनेले भेडामा नुन ल्याउँथे । नहुनेको पिठ्युँ नै खच्चड, डोको नाम्लो गर्नुपर्ने । नाम्लो थाप्लामा बसेपछि पहेला घाम देख्दै सुर्खेतबाट जुम्ला पुगेर घरपरिवार पाल्नुपर्ने नियति चन्दननाथ नगरपालिका–४ का भक्त सार्कीको हो ।
६५ वर्षे वृद्ध भक्त पुराना दिन सम्झिन्छन् । विभिन्न अभाव सहँदै, दुःख झेल्दै आएका सार्कीले अहिले जिन्दगी बदलेका छन् । संघर्ष र त्यागबाट भक्त सार्की एकाएक जिल्लामै नमुना बन्न सफल भएका छन् । पहिला घर लगाउने, कसैको ज्यालादारीमा जाने, भक्तले पेशा परिवर्तनपछि राम्रो आम्दानी गर्दै आएका छन् । उनलाई काष्ठकलाले उकासेको हो । उनी जुुम्लामात्र होइन, कर्णालीकै चर्चित चित्रकार हुन् ।

भक्त बहादुर काठ कामका सिपालु मिस्त्री थिए । आफ्नो समयका चर्चित पनि । काम कहिले खाली हुँदैन थियो । काम खाली कहिल्यै नभए पनि गोजि भने खाली पटकपटक भैरहन्थ्यो । काम खोज्दै घर परिवार सबै लिएर करिब १८ वर्ष हुम्लामा बिताए । उनले हुम्ला सदरमुकाम सिमीकोट वरपरका सबै गाउँमा झ्याल ढोका बनाए । सरकारी भवन बनाए । स्कुल बनाए । त्यहाँ धेरैजसो सरकारी कार्यालयका झ्याल ढोकामा उनको सीप लागेको छ ।
हुम्लाको बसाइ सोचेजस्तो नभएपछि उनी १८ वर्षपछि सपरिवार जुम्ला फर्किए । जुम्ला फर्किएपछि जसोतसो घर व्यवहार चलाइरहेकी थिइन् श्रीमती उम्मकली सार्कीले । रक्सी धेरै खाने भक्तबहादुरले भने केही गरिरहेका थिएनन् ।
एक रात उनले सपना देखे । सपनामा आफ्नै सीपले काठको राम्रो गाई बनाएका थिए । धेरै मान्छे उनले बनाएको गाई हेर्न भेला भएका थिए । उनको कलाको तारिफ गरेका थिए । उनलाई सपनामै सबैले हाईहाई गर्दा औधि आनन्दानुभूति मिल्यो । त्यतिकै बिउँझिए । बिहानपख उनी धामी भेट्न गए । भक्तबहादुरका अनुसार सपनाका सबै कुरा झाँक्रीले मिलाए । धामीले अब यस्तै काम गरिस् भने उँभो लाग्छस् भने ।
उनले बाटो पाए । सपनामा देखेको गाई निकै मेहनतका साथ धेरै दिन लगाएर बनाए । थप काष्ठकलाका आकृति निर्माण गरे । मठमन्दिरमा राख्ने काठका मूर्ति बनाउनेको ताँती लाग्यो । प्रत्यक वर्षको चार पूर्णिमामा उनलाई खाने बस्ने फुर्सद पनि मिलेन ।
मठमन्दिरका मूर्ति बनाएर कमाइ राम्रै भएको थियो । अलि व्यावसायिक बन्ने सोच पलायो । काठका विभिन्न मूर्ति बनाउने र मेलापर्वमा प्रर्दशनी गरी कमाउने लक्ष्यका साथ अघि बढे । पाँच वर्ष पहिलेको जात्रामा गाईसँगै, चरा, चितुवा निर्माण गरी प्रदर्शनीमा राखे । धेरैले हेरे, सबै खरिद गरे । कतिलाई नपुगेपछि थप बनाउन माग आयो । गरिबी र कुलतबाट फर्किएपछि जिन्दगीले लय समात्न लाग्यो । आफ्नो कलाको स्याबासी, परिवारको खुसी देखेर भक्त ०६३ सालबाट व्यावसायिक काष्ठकला गर्न शुरु गरे ।
अहिले उनको व्यापार फस्टाएको छ । ५० औं वसन्त पार गरिसकेपछि थालेको नयाँ कामले जिन्दगीलाई नयाँ मोड दिएको छ । उनको कलाको माग बढेको छ । उनको सीपको प्रचारप्रसार देश, विदेशसम्म भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा समेत उनको कलाकृतिबारे समाचार बनेका छन् ।
आफ्नो कलाको माग बढ्दै गएसँगै गरिबी हटेको थाहै भएन । उनले घरेलु तथा साना उद्योग विकास समितिमा २०७३ सालतिर भक्त काष्ठकला उद्योग दर्ता गरे । उनको सीप र कलाबाट प्रभावित भएर घरेलु तथा साना उद्योग विकास समितिले पुरस्कार दियो । सानो छाप्रोको घर थियो । तर अहिले नमुना घर बनाएका छन् । गएको आर्थिक वर्षमा मात्र उनले घरेलुबाट औजार किन्नको लागि प्रोत्साहन स्वरुप ४ लाख ७५ हजार नगद पाए । सुरुमा परम्परागत घरेलु औजारबाट काष्ठकला उद्योग चलाएका उनी आधुनिक औजार भएपछि निकै सहज भएको बताउँछन् ।
हालसम्म कुनैपनि तालिम नलिएर परम्परागत औजारको सहायताले विभिन्न आकृतिका काष्ठकलाका सामग्री निर्माण गर्दै आएका छन् । गाईबाट कला निर्माण सुरु गरेका उनले डाँफे, परेवा, च्याखुरा, काग, कालिज, चिल, मयुर, बाघ, चितुवा, भगेरा लगायतका आकृति, नाग लगायत सयौँ प्रकारका काठका मूर्ति बनाउँछन् । जुम्लाका पाँच दर्जन बढी सरकारी कार्यालयले भक्त सार्कीको एक मूर्ति राखेका छन्् । भक्त सार्कीको काष्ठकला अहिले जुम्लामा मात्रै हैन बाहिरी बजारमा पनि उत्तिकै माग बढ्दै गएको छ ।
सिजनअनुसार उनको व्यापार बढ्छ । मासिक रुपमा ८० हजारदेखि १ लाखसम्म कमाउँछन् । त्यसैबाट घरपरिवार चलेको छ । वार्षिक रुपमा १० देखि १५ लाखको कारोबार हुन्छ ।