कारोबार संवाददाता
बिहिवार, आश्विन २, २०७६
600

नेपालमा पहिलो पटक ७ प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६’ बाट सम्मान गरिएको छ । विगत एक दशकदेखि विभिन्न सामाजिक कार्यमा संलग्न शिखर नेपालको आयोजनामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कारसहित कृषकहरुलाई सम्मान गरेका थिए ।
सो सम्मानबाट प्रदेश १ बाट विशाल राई, (विशाल कृषि फर्म, बिर्तामोड) प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), प्रदेश ३ बाट नवराज आचार्य (बाग्मति गोट फिड्स प्रालि धार्के धादिङ), गण्डकी प्रदेशबाट घनश्याम तिमिल्सिना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यावसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), कर्णाली प्रदेशबाट डिल्लीबहादुर नाथ (डाफेँ भैसी पालन फर्म, रुकुम पश्चिम) र सुदूरपश्चिम प्रदेशबाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली)लाई नगद १५–१५ हजार रुपैयाँ र अवार्ड तथा सम्मानपत्रसहित फूलमालाले सम्मानित गरिएको थियो ।


सो अवसरमा बोल्दै उप्रधानमन्त्री पोख्रेरलले सरकारले कृषिलाई खुसी नेपाल समृद्ध नेपालीको पहिलो प्राथमिकतामा राखेका बताए । उनले कृषि प्रधान देश भनेर आयात गर्नु दुखद् भएको भन्दै अब कृषिलाई निर्यात गर्ने गरी काम गर्ने जानकारी दिए ।
सोही अवसरमा बोल्दै कृषि तथा पशुपंक्षी राज्यमन्त्री राम कुमारी चौधरीले वास्तविक कृषकहरु छनोट गरी पुरस्कृत गर्ने परम्परा पहिलो पटक सुरु गरेकोमा शिखर नेपाललाई धन्यवाद दिँदै कृषकहरुको पक्षमा राज्य पनि गम्भीर भएको बताइन् । पूर्व उद्योग मन्त्री महेश बस्नेतले कृषिलाई उद्योगको रुपमा सञ्चालन गर्न सबै लाग्नुपर्ने बताए ।

कृषकहरुलाई प्रोत्साहनसँगै उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड २०७६’ प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष शेखर खनालले बताए । सरकारकै सहकार्यमा प्रदान गरिएको अवार्डले कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने र कृषकको हौसला बढेको उनको भनाइ छ ।
कृषि मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पशुपंक्षी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरेर सातै प्रदेशबाट उत्कृष्ट कृषकहरुको नामावली यसअघि नै सार्वजनिक गरिएको थियो ।