कारोबार संवाददाता
आइतवार, भदौ २९, २०७६
532

नेपालका सातै प्रदेशबाट सात जना उत्कृष्ट कृषकलाई राष्ट्रिय अवार्ड प्रदान गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच कृषहरुलाई प्रोत्साहन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘राष्ट्रिय शिखर कृषक अवार्ड – २०७६’ गरेका हुन् ।
प्रत्येक प्रदेशबाट छानिएका कृषकहरुलाई उत्कृष्टताका आधारमा नगद १५ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । अवार्ड पाउने कृषकहरुमा प्रदेश एकबाट झापा, विर्तामोडका विशाल कृषि फर्मका मत्स्यपालक कृषक विशाल राई, पर्सा बहुदरामाइका तरकारी उत्पादक कृषक रामआशिष प्रसाद नुनिया, प्रदेश तीन बाट धादिङ, बाग्मती गोट सिड्स बाख्रापालक कृषक नवराज आचार्य र गण्डकी प्रदेशका हेम्जा गाई फार्मका घनश्याम तिमिल्सिनालाई अवार्ड प्रदान गरिएको छ । त्यसैगरि प्रदेश पाँचबाट प्युठानस्थित लेकाली व्यवसायीक बाख्रापालनका दलबहादुर खत्री, कर्णाली प्रदेशबाट पश्चिम रुकुमबाट डाँफे भैंसी पालन फर्मका डिल्लीबहादु नाथ र सुदुरपश्चिम प्रदेशबाट कैलालीस्थित कार्प ह्याचरीकी ठगुनीदेवी चौधरीलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको हो ।
अवार्डको आयोजना शिखर नेपाल प्रालिले गरेको हो । अवार्ड कार्यक्रमका लागी  कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपन्छी विभागले समन्वय गरेको थियो । उत्कृष्ट कृषक छनोटका लागि शिखर नेपालले समिति गठन गरेको थियो भने समितिले सातै प्रदेशका कृषकहरुबाट आवेदन लिइ उत्कृष्ट कृषक छनोट गरेको थियो । कृषकको काम क्षमता, कृषि फर्म सञ्चालन तथा व्यवस्थापन र र कृषकहरुको सफलतालाई आधार मानेर कृषक छनोट गरिएको थियो । आयोजकले यसअघि नै सातै प्रदेशबाट उत्कृृष्ट ५÷५ जना छनोट गरी नामावली सार्वजनिक गरिसकिएको थियो । जस अनुसार सर्वोकृष्टलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा दाङका कृषक अनन्तबहादुर खड्का र जन कल्याण सामाजिक विकास अनुसन्धान केन्द्र, ललितपुरलाई कृषक इन्करेजमेन्ट कृषक अवार्ड प्रदान गरिएको छ । कार्यक्रमको मिडिया पार्टरको रुपमा कारोबार आर्थिक राष्ट्रिय दैनिकसमेत रहेको थियो ।