कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
229

पोखराको नदीपुरमा ७ करोड रुपैयाँको लागतमा नेवारी संग्रहालयको रुपमा ‘नेवाः छे’ निर्माण भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त भवनको अवलोकन गर्दै सांस्कृतिक, धार्मिक हिसाबले महत्व भएकोले उक्त संग्रहालयलाई थप व्यवस्थित पार्न सुझाव दिए ।
उनले भने, “पोखराको पर्यटनका नेचर, कल्चर र एडभेन्चर तीन महत्वपूर्ण आयाम हुन्, यसलाई हामीले पर्यटकसामु राम्रोसँग बजारीकरण तथा प्रदर्शन गर्ने व्यवस्था मिलाउनु पर्छ । यसबाट हामीले पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिन्छ ।”

नेवार समुदायको सांस्कृतिक तथा धार्मिक हिसाबले सुविधासम्पन्न भवन पोखरामा बनेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले यसमा संघ, प्रदेश र स्थानीय सरकारले समेत सहयोग गर्र्ने बताए । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले मुख्य मन्त्री गुरुङसमक्ष संग्रहालयको बारेमा जानकारी गराएका थिए । नेवारी समुदायको जन्मदेखि मुत्यु हुँदासम्मको संस्कार, कला, भेषभुषा, खानपिन लगायतका विषयवस्तुलाई संग्रह गर्नको लागि संग्रहालय स्थापना गर्न लागिएको अध्यक्ष पालिखेले बताए ।
नेवाः खल कास्कीको अगुवाईमा करिब ७ करोडको लागतमा उक्त भवन निर्माण भएको हो । फिनिसिङ गर्न थप २ करोड रुपैयाँ आवश्यक भएको अध्यक्ष पालिखेले जनाए ।