प्रगति ढकाल
बिहिवार, भदौ १२, २०७६
488

नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ की गजकुमारी पुलामी उमेरले ८० लाग्नै लागिन् । वृद्ध अवस्था । घरबाहिरको काम गर्न सक्दिनन् । उनी भन्सामा खाना पकाउन भने जेनतेन सक्छिन् । ‘नगरेर क्यार्नु, खान त परिहाल्यो,” अगेनाका दाउरा ठोस्दै भन्छिन्, “इ.... आगै बल्दैन, दाउरा चि..सा छन्, बर्खा त गाह्रो बनाम्च, धुवाँले आँखै उघार्न सक्दिन ।”
घाम अस्ताउने तर्खर गर्दै थियो । उनी भने भान्सामा भात पकाउन सुरु गर्दै थिइन् । अगेनामा आगो कहिले बल्दै बल्दैन । अगेनाको छेवैमा बस्दै डुम्ब्रोले सकुन्जेल सास निकाल्दै आगो बलाउन फु फु गर्छिन् । भान्छाभरी भरिएको धुवाँले उनलाई आँसु नै निकाल्छ । यसै त दमको रोगी, आगो नबलेपछि खोकी र स्याँ स्याँ झन् बढ्छ ।
सुधारिएको चुलो देखेकी छिन् उनले । ग्यासमा खाना बनाउन सम्भव नभए पनि सुधारिएको चुलो भइदिए त आनन्द हुन्थ्यो भन्छिन् । तर सुधारिएको चुलो कसरी बनाउने, कहाँबाट पाइन्छ त्यो ज्ञान छैन । “गाउँपालिकामा माग गरेका छन् रे, कहिले पो आउँच, अलि सहज त हुन्थ्यो नि । धुवाँ पनि आम्दैन नि त्याँ त,” उनले भनिन् ।
गाउँपालिकाको प्राथमिकता कच्ची सडक तथा अन्य विकासको काममा छ । जनताको साना साना मागहरू पूरा गर्नमा उदासिन देखिन्छ । विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसि वैकल्पिक उर्जाका कार्यक्रम अन्तर्गत सुधारिएको चुलो जडान गर्ने नीति भएको बताउँछन् । “धुवाँले प्रदूषण पनि गराउँछ र मानिसको स्वास्थ्यमा पनि असर गरिरहेको छ,” उनले भने, “यस विषयमा हामीले अलि गम्भिर रुपमा सोच्ने छौं र यसैअनुरुप कार्यक्रमहरू अगाडि बढाउनेछौं ।”
त्रिवेणी गाउँपालिका ५ की तारा भुर्तेल पनि सुधारिएको चुलोमा खाना बनाउन चाहन्छिन् । “धुवाँका कारण मानव स्वास्थ्यमा नकरात्मक असर गर्छ भन्ने पनि थाहा छ उनलाई । तर के गर्नु गाउँमा न बिजुली छ न त गाडि नै पुग्छ । “अँध्यारोमा बस्छौं अझै पनि । न त सञ्चारको सुविधा छ, ग्यास बाल्न पनि पैसा नहुने, भए पनि बोकेर लैजान समस्या,” गाउँपालिकामा भेटिएकी भुर्तेल भन्छिन्, “धुवाँको असर र सुधारिएको चुलोको फाइदाका विषयमा तालिम लिएकी छु, यसपछि मलाई सुधारिएको चुलो जडान गर्न चाहना बढेको हो ।”
२१ औं शताब्दीमा भुर्तेल अझै पनि अन्धकारमा छिन् । बिजुली पु-याउने नेताहरूको आश्वासन पाएको पनि वर्षौं भइसक्यो । न त वैकल्पिक उर्जा नै पुगेको छ । उनका अनुसार सुधारिएको चुलो जडान भएपछि धुवाँ कम हुने र मानव स्वास्थ्यमा असर कम पर्ने जानकारी पाएपछि उनका अरु छिमेकी पनि सुधारिएको चुलोमा आकर्षित भएका छन् । “सुधारिएको चुलो भए पनि खाना पकाउन अलि सहज त हुन्थ्यो नि,” भुर्तेल भन्छिन् ।
सुधारिएको चुलोले धुवाँ कम गराउने भएकाले अधिकांश ग्रामिण भेगका महिलाहरू सुधारिएको चुलो चाहन्छन् । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले सुधारिएको चुलो जडानका लागि प्रयास त गरेको छ । तर सबै ग्रामिण क्षेत्रमा पहुँच र प्रचारप्रसार गर्न सकेको अवस्था छैन ।
हालसम्म केन्द्रबाट २ लाख ५० हजार सुधारिएको चुलो जडान गरी ऊर्जा खपतमा मितव्ययिता ल्याउने कार्य भएको छ । यसैगरी सौर्य ऊर्जाको प्रचुर सम्भावना भएर पनि करिब ७५ हजार मात्र सौर्य घरेलु विद्युत प्रणाली स्थापना भएका छन् । वायु ऊर्जातर्फ रहेको सम्भावनालाई उपयोग गर्न सकिएको छैन ।
केन्द्रका अनुसार नेपालको ग्रामीण क्षेत्रमा ऊर्जा उपयोग तथ्यांकगत हिसाबले हेर्दा ७७ प्रतिशत दाउरा, ९ प्रतिशत कृषिजन्य अवशेष तथा गुईंठा, १४ प्रतिशत आयातित पेट्रोलियम पदार्थ, कोइला र विद्युतको उपयोग भएको पाइन्छ । ग्रामीण क्षेत्रमा खपत हुने ऊर्जा मध्ये ८६ प्रतिशत परम्परागत स्रोत माथिको निर्भरताको कारणले गर्दा वातावरणमा प्रतिकूल असर परेको छ भने गुर्इंठा एवं कृषिजन्य वस्तु ऊर्जाको रुपमा प्रयोग गरिनाले जमिनको उत्पादकत्व घट्न गई कृषि उत्पादनमा ह्रास आएको छ ।
त्यसो त धुवाँरहित तथा कम दाउरा खपत गर्ने सुधारिएको चुल्होका बारेमा जनचेतना अभिवृद्धि गर्ने, भौगोलिक तथा सांस्कृतिक अवस्था सुहाँउदो घरायसी तथा संस्थागत सुधारिएको चुलोको अनुसन्धान, विकास तथा विस्तारमा जोड दिने, ग्रामीण क्षेत्रमा सुधारिएको चुलोको प्रविधि हस्तान्तरण गर्ने सरकारी नीति छ ।
केन्द्रका अनुसार परम्परागत ऊर्जाको प्रयोगले वातावरणमा अत्यधिक प्रभाव रहने र ऊर्जाको स्रोत पनि कम हुँदै जानाले भविष्यमा ऊर्जा संकटको साथै वातावरणीय असन्तुलन हुन सक्छ । अर्कोतर्फ पृथ्वीमा निरन्तर प्राप्त भैरहने, पुनः प्रयोगमा ल्याउन सकिने र प्रयोगबाट अति न्यून वातावरणीय प्रभाव रहने लघु तथा साना जलविद्युत्, वायोग्यास, सौर्य ऊर्जा, वायु ऊर्जा जस्ता प्रविधिहरूले दाउरा जस्ता परम्परागत ऊर्जा माथिको निर्भरता कम गराई वातावरण संरक्षणमा सहयोग पु-याउँछ ।
भान्साबाट निस्कने धुवाँले वातावरणमा पनि असर पुग्ने बताउँछन्, वातावरणविद् भुषण तुलाधार । “भान्साको धुवाँले वायु पनि प्रदूषण बढाउँछ । वायुमण्डलमा कार्वनडाईअक्सार्यड ग्यासको मात्रा बढाएर जलवायु परिवर्तन हुन्छ, धुवाँबाट कालो कार्बन निस्कने र यसका कारण हिमालका हिउँ पग्लने सम्भावना पनि बढी हुन्छ,” उनी भन्छन्, “धुवाँका कारण महिला बालबालिकाको स्वास्थ्यमा पनि बढी असर गर्छ, एक जना महिलाले २ प्याकेट बराबरको धुवाँबाट हानिकारक रसायन लिइरहेका हुन्छन् । बच्चाहरूले बढी हावा लिने हुँदा उनीहरूलाई बढी असर पर्छ ।”
नेपालमा झण्डै ७२ प्रतिशत मुटुको समस्या वायु प्रदूषणकै कारण हुने गरेको छ । प्रदूषणका कारण मुटुरोगबाहेक १४ प्रतिशत दमका रोगी दमका रोगी, फोक्सोको क्यान्सर १४ प्रतिशत बढेको पाइएको हो । वायु प्रदूषणले दमखोकीका बिरामीको अस्पताल भर्ना हुने दरमा १ दशमलव ३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३ दशमलव ४ प्रतिशत बढेको छ भने श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु हुने दर ३ दशमलव ६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको छ । समयमा नै वायु प्रदूषण न्यूनीकरणका सबै पक्ष सचेत हुन नसके मानवीय स्वास्थ्य सम्बन्धी समस्याहरू दिनप्रतिदिन बढ्न सक्छ ।

स्वास्थ्यमा नकरात्मक असर

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) २०१२ को तथ्याङ्क अनुसा रअव्यवस्थित रुपमा परम्परागत ठोस जैविक इन्धन प्रयोग गर्दा उत्सर्जन हुने प्रदूषणका कारण २३,०५८ जनाको अकालमै मृत्यु हुने गर्दछ । डब्लुएचओका २०१८ अनुसार विश्वका लगभग ३ अर्ब मानिसको खाना पकाउनका लागि परम्परागत रुपमा जैविक उर्जा (दाउरा, कृषि अवशेष, गुईठा र कोईला) आदिको प्रयोग गरिरहेका छन् । ४० लाख भन्दा बढी मानिसहरूले खाना पकाउँदा हुने उत्सर्जन र घरभित्रको वायु प्रदूषणका कारण बिरामी भई अकालमा नै ज्यान गुमाइरहेका छन् । डब्लुएचओको अनुसार विश्वमा ५ वर्षभन्दा कम उमेर समूहका अकालमा नै मृत्यु हुने बालकालिकामध्ये ५० प्रतिशतभन्दा बढी निमोनियाका कारण मर्ने गर्दछन् र निमोनिया घरभित्रको प्रदूषणका कारण फैलिन सहयोग पुग्छ । वार्षिक विश्वका ३८ लाख मानिसहरूले नसर्ने रोग हृदयघात, मुटुरोग, फोक्सोको क्यान्सर आदिबाट अकालमा नै ज्यान गुमाइरहेका छन् ।
विश्व स्वास्थ्य संगठनको १०१६ मा गरेको पछिल्लो तथ्याङ्कअनुशार वायु प्रदूषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक वर्ष करिव १० हजार मानिसले ज्यान गुमाउने गरेको पाइएको छ । त्यस्तैगरि विश्व बैक र रिसर्च इन्टिच्युट (आइएचएमई) ले सन् २०१६ मा गरेको एक तथ्याङ्कअनुशार वायु प्रदूषणकै कारण नेपालमा वर्षेनी २२ हजार भन्दा बढीको मृत्यु हुने गरेको उल्लेख गरिएको छ ।

नविकरणीय उर्जामा सरकारी प्रयास

नवीकरणीय उर्जाबाट अहिलेसम्म देशभरका करिब ३६ लाख ४४ हजार घरधुरी लाभान्वित भएका छन् । नवीकरणीय ऊर्जाका मुख्य स्रोतहरू लघु तथा साना जलविद्युत्, सौर्य ऊर्र्जा, जैविक ऊर्जाका विभिन्न प्रकार, वायोग्यास वायु ऊर्जाको प्रयोगबाट ३६ लाख घरधुरी प्रभावित केन्द्रकोे भनाई छ ।
नवीकरणीय ऊर्जाका लागि सरकारी अनुदान र सहुलियत दरमा ऋण उपलब्ध गराउने सरकारले नयाँ नीति लिएको छ । केन्द्रले नेपालमा नवीकरणीय ऊर्जाको राम्रो सम्भावना रहेको बताएको छ । नेपालमा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना भए तापनि कूल ऊर्जा खपतको करिब ८५ प्रतिशत परम्परागत जैविक ऊर्जाबाट पूर्ति भइरहेको केन्द्रको भनाइ छ । अझै पनि करिब २८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुग्न नसकेको सरकारी तथ्यांक छ ।
देशको भौगोलिक जटिलता, उच्च लागत र विद्यमान ऊर्जा सङ्कटको कारणले गर्दा धेरै वर्षसम्म पनि राष्ट्रिय प्रसारणलाइन विस्तार गर्न सम्भव नभएको भन्दै नवीकरणीय ऊर्जाको पहुँच बढाउन आवश्यक रहेको केन्द्रको भनाई छ । नवीकरणीय ऊर्जा प्रविधि जस्ता स्वच्छ र दिगो ऊर्जालाई तत्कालिन तथा दिर्घकालिन समाधानको रुपमा विकास गर्नु आवश्यक छ । केन्द्रले स्वच्छ ऊर्जाको पहुँचमा वृद्धि गर्न ग्रामीण क्षेत्रमा वस्ने जनताहरूको आर्थिक कठिनाई र नवीकरणीय ऊर्जा प्रविधिको उच्च लागतको कारणले अनुदान तथा सरल कर्जाको सुविधा उपलव्ध गराउने उद्देश्य सरकारको छ ।