रजनी श्रेष्ठ
बिहिवार, भदौ ५, २०७६
893

नेवार समुदायलाई खानाको सोखिन मानिन्छ । परम्परादेखि नै नेवार समुदाय खानेकुराको विविधताका लागि प्रख्यात छ । नेवारी परिकार अन्य समुदायका मानिसले पनि मन पराउने गरेका छन् । यस्ता छन् केही नेवारी परिकार ।

मःम 

मःम त्यस्तो परिकार हो, जुन अधिकांश नेपालीले मन पराउँछन् । यो परिकार बफ्याएर बनाइन्छ । धेरै प्रकारको मःम हामीले खान सक्छौँ । यदि तपाईं मांसहारी हुनुहुन्छ भने मटनदेखि लिएर बफसम्मको मःम पाउन सक्नुहुन्छ । साकाहारी हुनुहुन्छ भने बिना मासुको मःम खान सक्नुहुन्छ । मःमसँग मसालेदार अचारले अझै मःम को स्वादमा मिठास ल्याउँछ । अहिले मःममा निकै विविधता आइसकेको छ । कोथे मःम, सी मःम, फ्राइ मःम, झोल मःम, खुल्ला मःम, तन्दुरी मःम, हरियो मःम, खुवा, चिज, पनीर मःम, माछा मःम आदि ममःका केही विविधता हुन् ।

क्वाँटी

नेवारी समाजमा क्वाँटी पूर्णिमा भनेर छुट्टै पर्व नै छ । त्यो दिन जनै पूर्णिमा पनि पर्दछ । ९ थरिको सिमी मिसाएर क्वाँटी तयार गरिन्छ, जुन प्रोटीनयुक्त हुन्छ । सन्चो नभएको बेलामा खानाले शक्ति मिल्छ ।

समय बजी

नेवारी समाजमा निकै नै प्रचलित खाना समय बजी हो । चाडपर्व अथवा कुनै मुख्य दिनहरुमा यो बनाउने गरिन्छ । यसमा चिउरा, लसुन, भटमास, छोइला, उसिनेको सिमि, बारा, उसिनेको अन्डा, हरियो सागपात, तामाको झोल तरकारी, आचार र घरमै बनाइएको रक्सी हुन्छ । यसलाई विविधतापूर्ण भोजनको रुपमा पनी लिइन्छ ।

चटामरी, यमरी

यी दुवै नेवार परिकार हुन् । चटामरी गोलो आकारको रोटि हो जुन तावामा राखेर बनाइन्छ । यसमा इच्छाअनुशार मसला, मासु र आन्डा पनि मिसाएर बनाउन मिल्छ । यमरीको नेवारी अर्थ मनपर्ने रोटि हो । यो खासगरी जन्मदिनमा र यमरी पूर्णिमाको दिन बनाइन्छ । चामलको पिठोबाट बनाइने यो रोटि गोलो आकारमा हुन्छ जसभित्र खुवा कि त चाकु हालिन्छ ।

आलुतामा

नेवारी परम्परामा खासगरी प्रयोगमा आउने झोल तरकारी हो यो । स्वादमा अमिलो अमिलो तर मिठो यो तरकारी सिमि आलु र तामा मिसाएर बन्दछ । हरेक नेवारी भान्सामा यो पाउन सक्नुहुन्छ ।