कारोबार संवाददाता
बिहिवार, भदौ ५, २०७६
565

काक्याप्टेन दधिराम निरौलाको पुस्तक ‘आकाश यात्रा’ बजारमा आएको छ । पुस्तकको लोकार्पण वरिष्ठ साहित्यकार सत्यमोहन जोशी, लेखक तथा क्याप्टेन डिआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन कोश कुमार थापा, क्याप्टेन विएन अमात्य र निरौला पत्नी बिनालगायतले गरेका थिए ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश विधामा लेखेको यो पहिलो किताब आफूले पहिलो विमोचन गरेको बताए । “नेपालमा आकाशको विधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलिको पुस्तालाई एक दस्तावेज छाडेको छ,” जोशीले भने ।

क्याप्टेन कोशकुमार थापाले पाइलटको जीवनमा धेरै रमाइलो र रोमाञ्चक घटना हुने र ती कुरा क्याप्टेन निरौलाले पुस्तकमा लेखेकोले पुस्तक रोमाञ्चक रहेको बताए । प्रकाशक र लेखनको संस्था घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले नेपालमा मानवजीवनको दस्तावेज बनाउन आफूहरुले सुरु गरेकोले पुर्खाको इतिहासले पुस्ता बदल्ने यो अभियानको पछिल्लो कडी यो पुस्तक भएको बताए ।
लेखक दधिराम निरौलाले एक मानवले भोगेको जीवन अर्को मानवको लागि प्रेरणा हुने बताए । आफ्नो बेलाको पाइलटको दुःख र संघर्षको साथै आकाशको यात्रा भएकोले पुस्तकको नाम आकाश यात्रा संघर्ष र अनुभूति राखिएको उनले बताए ।