कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
461

धनगढी - तीज भन्नेबित्तिकै महिलाहरूले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै र युवतीहरूले राम्रो वरको आशमा ब्रत बस्ने पर्वको हो भन्ने बुझिन्छ । तर, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका रानाथारु समुदायका महिला तथा युवतीहरूले मनाउने तीजको उद्देश्य फरक छ । उनीहरूले दाइभाइ र भतिजाको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै निर्जला ब्रत बस्छन् । रानाथारु समुदायमा श्रावन शुक्ल तृतीयामा तिजियागुडिया (तीज) मनाउने चलन छ ।
साउन महिनाको १ गतेबाटै ‘सावनको डोला’ (लिंगेपिङ) खेल्दै मनाउने पर्वमा रानाथारु समुदायका महिला र युवतीहरूले तीजको दिन दिनभरि ब्रत बसेर आफ्ना दादुभाइ र भतिजाहरूको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन् । उनीहरूले दिनभरि पानीसमेत नपिएर व्रत बसेर खानाको परिवार बनाउने, गीत गाउने, नाच्ने र पिंगखेल्ने गरेको धनगढी–१३, कैलाली गाउँका धनबहादुर रानाले बताए ।

परापूर्वकालमा राना समुदायमा दुःखबिमार परेर पुरुष मानिसको मृत्यु र गरिबी बढेपछि महिलाहरूले भाइभतिजाहरूको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्दै तीजको ब्रत बस्न थालेको रानाथारु समुदायमा विश्वास छ । त्यति बेला रानाथारु समुदायको महिलाले ब्रत बसेर भगवान श्रीकृष्णको अर्चना गरेपछि समाजबाट दुःख हटेर समाजमा खुशी, सुख र शान्ति आएको किम्वदन्ती छ ।
दिनभरि ब्रत बसेका महिलाहरूले साँझ भएपछि एक साथ नदी किनारमा गएर दाभ (कुस) को बोटमा एकै हातले झुर्खी (चुल्ठी) बाँधेर त्यसमा विभिन्न परिकारलाई प्रसादको रुपमा चढाउने गरेको धनबहादुरले बताए । उनले नदी किनारमा जानु भन्दा पहिले लिंगेपिंगको डोरीको टुप्पा काटेर लग्ने र झुर्खीसंगै बिसर्जन गर्ने चलन रहेको बताए ।
धनगढी–१३ कैलाली गाउँकी गोमती रानाले झुर्खीको पूजा गरिसकेपछि त्यसलाई उखेलेर वा चाँदीको सिक्काले काटेर नदीमा बिसर्जन गर्ने चलन रहेको बताइन् । ‘जति ठूलो नदीको धार, त्यति लामो मेरो दाजुभाइ, भजिताको आयु’ भन्दै झुर्खी विसर्जन गर्ने गरेको धनगढी–१३, कैलाली गाउँकी गोमती रानाले बताइन् । उनले नदीको लम्बाई जस्तै आफ्ना दाजुभाइ र भजिताको उमेर बढ्ने विश्वास रहेको बताइन् । यसरी बनाएर बगाइने झुर्खीमा विवाहित महिलाले सात गाँठो र अविवाहित महिला पाँच गाँठो बाध्ने चलन छ ।
सबै भन्दा पहिले रानाथारु समुदायले पूजा गर्ने गरेको देवी बेमैयाँले तीजको ब्रत बसेकी थिइन् भन्ने गरिएको छ । रानाथारु समाजकी केन्द्रीय अध्यक्ष जीवन रानाले किम्बदन्ती बताइन्, “बेमैयाँले भाइको नाममा एउटा गाँठो बाँधेर बगाउँदा बगेन । गाँठो त्यही दुब्यो । दुई वटा गाँठो बाँधेर बगाउँदा बग्यो । फेरि एउटा गाँठो बाँधेर बगाउँदा बगेन । बेमैयाले भाइको नामा एउटा गाँठो बनाएर बगाउने धेरै प्रयास गरिन् । कुनै पनि नबगेपछि उनी रुन थालिन् । त्यसपछि महादेवको उत्पत्ति भयो र महादेवले भजिताको नामको गाँठो समेत बाँधेर बगाउन अनुरोध गरे । बेमैयाँले भाइ र भजिताको नाममा दुई वटा गाँठो बाँधेर बगाइन् । त्यो झुर्खी लामो दूरीसम्म बग्यो । पछि गएर यो परम्पराम बन्यो ।” यसैलाई पुस्तान्तरण हुँदै जाँदा बिवाहितले सात र अविवाहितले पाँच गाँठो बाँधेर झुर्खी बगाउने चलन बसेको अध्यक्ष रानाले बताइन् ।
झुर्खी विसर्जनपछि आपसमा प्रसाद बाँडेर ब्रत तोड्ने चलन रहेको गोमतीले बताइन् । त्यसपछि घर आएर दिनभरि लगाएर बनाएका परिकारहरू सिमही, खुजुरिया, गुलगुला, पुरी, अचार लगायतका खाने र छरछिमेकमा बाँड्ने चलन छ ।
नेपाली अरु महिला जस्तै रानाथारुको तीज पनि महिलाहरूको लागि छुट्टै महत्वको पर्व रहेको रानाथारु समाजकी केन्द्रीय अध्यक्ष जीवन रानाले बताइन् । महिलाहरूले तीजको बेला माइती जान रुचाउँछन् । माइती जान नपाएका महिलाहरूले दुःख वेदनाका गीत गाउने गरेको र साथीभाइसंग भेट हुन पाएपछि उमंगका गीत गाउने गरेको गोमतीले बताइन् ।
‘विरना जो हुइतो, सब सखियन से मिलैतो’ गोमतीले गीतको भाका सुनाउँदै उनले भाव पनि बताइन्, ‘मेरो विर भाइ वा दाजु भए । माइती लिएर जान्थ्यो । सबै साथीसंगीहरूसँग भेट गराउँथ्यो । तर छैन । माइती जान पाइन ।’
‘चलो सखी झुला झुलैं, सावनको डोलामे, सावन वर्षत् फुहारी, रिमझिम मेघा वरषै सावन महिनामे, सबके भिगैरे चोली लेहंगा, राधाकी अगल बगलमे सबतिर कान्हा जी हैं ।’ साथीसंगीहरूसंग भेट हुन पाएको बेला गाउने गीतको भाका बुझाउँदै गोमतीले भनिन्, ‘जाउँ सखीहरू पिंग खेलौं, साउने झरीमा सबैको भिजौं । राधाको आसपास सबैतिर कृष्ण नै देखिन्छन् ।’
दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै महिलाहरूले बस्ने व्रतले पारिवारिक सम्बन्धलाई अझै प्रगाढ बनाउने गरेको प्रदेस सभा सांसद् मालामति रानाले बताइन् ।
कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिका, कृष्णपुर, पुनर्वास, बेलौरी, शुक्लाफाँटा, वेदकोट, महाकाली नगरपालिका, लालझाडी गाउँपालिकामा राना थारु समुदायको बसोबास बाक्लो छ । समुदायको सघन बस्ती रहेको विभिन्न ठाउँमा यसपालीको तीजलाई महोत्सव आयोजना गरी मनाइएको धनगढी उपमहानगरपालिका–१३ का कैलाली गाउँका सन्तराम रानाले बताए ।
पछिल्लो समयमा रानाथारु समुदायमा तीज पर्वलाई फरक तरिकाले मनाइने चलन बढेको छ । धनगढी वडा नं. १३ जस्तै शनिबार धनगढीको वडा नं. ६, मटियार, ७ मनेहरा लगायतका ठाउँमा तीज महोत्सव आयोजना गरी मनाइएको छ ।
रानाथारु समुदायको भेषभुषा र पोषाक समेत फरक खालको छ । नेपालमै नभएको सुदूरपश्चिमको कैलाली कञ्चनपुरमा रहेको भेषभुषा र पोषाकलाई व्यावसायिक उत्पादन गरेर आयआर्यन समेत गर्न सकिने सुदूरपश्चिम प्रदेश सभा सांसद् दिल्लीराज पन्तले बताए । उनले रानाथारु समुदायको पोषाक र गहनालाई संग्रहित गरेर पर्यटन प्रबद्र्धन समेत गर्न सकिने धारणा राखे ।
कैलाली र कञ्चनपुरमा रानाथारुको जनसंख्या करिब पाँच लाखको हाराहारीमा रहेको रानाथारु समाजकी केन्द्रीय अध्यक्ष जीवन रानाको दावी छ । मूल पेशाको रुपमा कृषि गर्ने रानाथारु समुदाय सुदूरपश्चिम प्रदेशको आदिवासी जनजाति हुन् । उनीहरूलाई डगौराथारु समुदायसंगै नेपाल सरकारले सूचीकृत गरेको छ । तर थारु समुदाय भन्दा भिन्न खालको संस्कृति, भाषा, परम्परा, पर्व, रीतिरिवाज रहेकाले छुट्टै समुदायमा सूचीकृत गर्नुपर्ने रानाथारु समुदायको माग छ । रानाथारु समुदायलाई छुट्टै सूचीकृत गर्नका लागि दशकौंदेखि आफूहरू लाग्दा समेत हुन नसकेको अध्यक्ष रानाले बताइन् । कैलाली र कञ्चनपुरमा रानाथारु समुदायको निर्णायक संख्या रहेको हुनाले पनि हरेक चुनावमा रानाथारुको सूचीकरणको विषय प्रमुख चुनावी मुद्दा बन्ने गरेको छ । अहिले सुदूरपश्चिम प्रदेश सभामा मालामति राना (कैलाली) र श्याम राना (कञ्चनपुर) सांसद छन् ।
रानाथारुको धेरै परम्परा फरक भएपनि भल्मन्सा, गुरुवा–भर्रा, हरेरी, असारी, कृष्ण जन्माष्टमी, होरी जस्ता परम्परा तथा चाडपर्व डगौराथारुसँग मिल्छ । थारु समुदायले प्रमुख पर्वको रुपमा दशैं र माघी मनाउने गरेका छन् भने रानाथारु समुदायले दशैं मनाउँदैनन् । उनीहरूले होरीलाई प्रमुख पर्वको रुपमा मनाउने गरेका छन् । डगौराथारुको दशैं र माधीको नाच प्रख्यात छ भने रानाथारुको होरी नाच प्रख्यात छ । यद्यपि दशैंमा डगौराथारुले कृष्ण लिलाका गीत गाउँछन् भने रानाथारु समुदायले होरीमो गीत आफ्नै भाकामा गाउँछन् ।
रानाथारु समुदायको ठूलो बसोबास भारतको उत्तरप्रदेशमा छ । नेपाली र भारतीय रानाथारु समुदायको वैवाहिक, पारिवारिक र आर्थिक सम्बन्ध अझै पनि कायमै छ । यसले गर्दा दुई देशको भाइचाराको सम्बन्ध कायम राखेको रानाथारु समुदायका अगुवाहरू बताउँछन् ।

मुकेश चौधरी