कारोबार संवाददाता
बिहिवार, श्रावण ९, २०७६
639

तेह्रथुम । नेपालमा बसोबास गर्ने विभिन्न समुदायको आ–आफ्नै भाषा, कला, संस्कृति चाडपर्व मनाउने परम्परा छ । लिम्बू समुदायले पनि छुट्टै मौलिक पर्वहरु मनाउने गरेका पाइन्छ । यसमध्येको एक हो, सिसेक्वा ताङ्नाम ।
हरेक वर्ष साउन एक गते यो पर्व मनाइन्छ । लिम्बू समुदायमा यो पर्वको महत्व छुट्टै रहेको मुन्धुमविद्हरुले बताउने गरेका छन् । यो पर्वमा घर वरीपरी तथा खेतबारीमा रहेका अन्नबाली तथा फलफूलहरु संकलन गरी हरीयो बाबियोमा लहरै सिउरिएर घरको मूल ढोकामा झुन्ड्याइन्छ ।

बेलुकीपख घरमा मिठो मसिनो सबै परिवार मिलेर खानपिन गरी सकेपछि वरपर सबैतिर एकाक्सि बन्दुकहरु पड्काउने, थाल, झ्याम्टा, नाङ्लो र ढोलहरु बजाउने गरिन्छ । साथै प्रत्येक घरको मूल खाँबाबाट बच्चादेखि बुढापाकाहरुले घर वरीपरी घुम्दै खराब वस्तुलाई हटाउँदै अनिकाल जाउ सहकाल आउ भन्दै घरदेखि केही परसम्म सामग्री बजाउँदै रमाइलोका साथ यो पर्व मनाउने चलन छ ।
खेती गर्ने समयमा यी समुदायले आफूले कमाई गरेको अन्नबाली तथा लगाएको फलफूल खेती सृष्टिकर्तालाई हावा पानी असिनाले क्षति नगरोस् भनेर पुजेको हुनाले अन्नबाली तथा फलफूल फल लागेपछि पुनः पञ्च प्रकृतिको रुपमा चढाउने गरेको मुन्धुमविद् ज्ञानु फुरुम्बोले बताए ।
सिसेक्वा ताङ्नाम पूर्वी नेपालका साथै काठमाडौंमा पनि मनाइन्छ ।