कृञ्जला पुलामी
बिहिवार, असार २६, २०७६
306

सिन्धुली - कमलामाई नगरपालिका–४ ढकाल गाउँका विश्वम्भर लामिछानेको घर जराबुटा कलाले सिंगारिएको छ । उनले रुखका जराहरूलाई कलाको माध्यमबाट विभिन्न स्वरुप र आकार दिएका छन् । बुद्धको जन्म, नारी बन्धन र मुक्ति, पासाङ ल्हामू र तेञ्जिङ नोर्गेले हिमाल चढेको, हामी एक हौं, नेपालको राष्ट्रिय चरा डाँफे, आदि मानव, पृथ्वीनारायण शाह, भानुभक्त, भृकुटीलगायतका व्यक्तिहरूका आकृति लामिछानेको कला संग्रहालयमा देख्न सकिन्छ ।
लामिछानेको यो कलाको शुभारम्भ भने जरायोको सिङ र घाँटीसम्मको आकारको जरालाई सफा गरेर कलाको आकार दिएर सुरु भएको हो । “विंसं.२०४८ सालमा मेरै घर नजिक मोटर बाटो खन्दा भेटिएको जराबाटै मेरो कलाकारिता सुरु भएको हो,” उनले भने, “अरुले त्यसलाई जरामात्रै देखे, मैले जरायोको सिङ ।” त्यो जरालाई काँटछाँट र रंगरोगन गरेर जरायोको सिङ जस्तै आकृति दिएपछि उनको जराबुटा कलाको यात्रा सुरु भयो ।
लामिछाने भन्छन्, “त्यतिबेला रुखका कुहिएका जराहरू संकलन गरेको देख्दा छिमेकीहरू अचम्म मान्थे । यसबाट आफ्नो परिचय बदलिएला भन्ने सोचेकै थिइनँ ।” अधिवक्तासमेत रहेका लामिछानेको परिचय जराबुटा कलाकारका रुपमा स्थापित भइसकेको छ । “चर्चामा आउँछु भनेर यो काम गरेकै होइन, मन परेर घरमा राखेँ, विस्तारै संग्रहालयमा परिणत भयो,” लामिछानेले भने, “तिम्रो कला किन्छु, कति चाहिन्छ पैसा भन्ने पनि धेरै आए । तर मेरो शेख रहुन्जेल म यो आफ्नो नजरबाट टाढा हुन दिन्न ।” कला बेच्दा आफ्नै मृत्युसमान हुने भएकाले जनता र देशका लागि समर्पित गर्ने उनको चाहना छ । उनले हालसम्म कुनै पनि कला बेचेका छैनन् ।
उमेरले ६० पुग्नै लागेका लामिछाने अझै पनि फुर्सदको समयमा रुखका जरा खोजेर मिलाउने र आकृति दिने काम गर्छन् । कलाको क्षेत्रमा नयाँ आयाम थप्नका लागि जराबुटा कलालाई निरन्तरता दिएको लामिछानेले बताए । कलाकारिताको क्षेत्रमा ढलौट, सुन, चाँदीका मूर्तिहरू विभिन्न सामग्रीको प्रयोग गरी अनेकौ कला बने पनि रुखको जराबाट भने पहिलो पटक आफूले नै कला बनाएको लामिछाने दावि गर्छन् ।
अधिकांशले आफ्नो कलाको माध्यमबाट जीविकोपार्जन गरिरहे पनि लामिछाने भने आफू रहेसम्म कला बिक्री नगर्ने बताउछन् । यो कलामा एक पिस कला बनिसकेपछि अर्को पिस कला बन्नै नसक्ने लामिछाने बताउँछन् । त्यसैले यसलाई पुस्तान्तरण गर्न नसकिने उनको भनाइ छ । लामिछाने भन्छन्, “यो कलामा अर्कोलाई सिकाउन सकिने अवस्था नहुने रहेछ । दिमाखले नै कला देख्नुपर्छ, अन्यथा मैले कला देखेको जरालाई अरुले काम नलाग्ने दाउरा मात्र देख्छन् ।”
जराबुटा कला निर्माण गर्दा गर्दै उनले ३ सयभन्दा बढी कला बनाइसकेका छन् । अहिले उनको कला संग्रहालय कुनै सरकारी लगानीमा बनेको कलाभन्दा कम छैन । लामिछानेले आफ्नै २ तलाको काठको घरमा संग्रहालय स्थापना गरेका छन् । एउटा व्यक्तिको मेहनतले बनेको उक्त कलाघर यतिबेला पर्यटकको गन्तव्य बनेको छ । इतिहास, कला, साहित्य, संगित होस् वा अन्य जे सुकैको बारेमा थाहा पाउन उनको कला महत्वपूर्ण छ । कलाकार लामिछानेका अनुसार यस संग्रहालयभित्र ७ दिनदेखि ६ महिनासम्म लगाएर बनाइएका कलाहरू राखिएका छन् । तर, ती कुनै पनि एक–अर्काको आकृतिसँग मेल खाँदैनन्, फरक–फरक स्वरूपका छन् ।
उनीबाट निर्मित जराबुटा कला नेपालका सबै जिल्लाका साथै अमेरिका, बेलायत, जर्मनीलगायत ४० देशका २५ लाखभन्दा बढी पर्यटकहरूले अवलोकन गरिसकेको लामिछानेले बताए ।

पर्यटक तान्दै
जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि उनको संग्रहालय गन्तव्य बनेको छ । यस संग्रहालयमा दैनिकजसो देशदेखि विदेशसम्मका पर्यटकहरू अवलोकनका लागि आउने गर्दछन् । सिन्धुलीमाढीबाट ४ किलोमिटरको दूरीमा पर्ने उनको घरसम्म पुग्न यातायातको सहज सुविधा भएकाले पनि पर्यटकहरू उनको कला हेर्न पुगेकै हुन्छन् ।
यो कला अरु कलाभन्दा पृथक भएकाले पनि यसमा मानिसहरूको आकर्षण बढेको लामिछाने बताउँछन् । “नयाँ पुस्ताको यसमा विशेष रुची देखिन्छ,” उनले भने, “विभिन्न जिल्लाका विद्यार्थी भाइबहिनीहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन् ।”
यो कला दाउराको रूपमा समेत काम नलाग्ने खालका फालिएका रूखका जराबाट निर्माण हुने लामिछानेले बताए । आफ्नो कला अन्य कलाभन्दा पृथक रहेको भन्दै उनले अन्य कलाजस्तो यो कलामा आफूले चाहेको आकृति दिन भने नसकिने बताए । उनले भने, “जराको जस्तो आकृति छ, त्यस्तै कला बनाउनुपर्छ । त्यसैले एउटै कला दोहो¥याएर बनाउन सकिँदैन ।” रूखका जराको प्राकृतिक आकृतिमै केकस्तो बनोट लिएर आएको छ, त्यसलाई नबिगारी कलात्मक स्वरूप दिइन्छ । साथै कलालाई आकर्षक बनाउन फर्निचरमा प्रयोग गरिने रंगरोगनहरू चप्रा, इस्प्रिट लगाएतको पनि प्रयोग गरिने गरिएको छ ।

कलाको संरक्षणका लागि नगर
देशकै नमुना जराबुटा कलाको स्थानीय सरकारले प्रचारप्रसारमा ध्यान दिन नसकेको भन्दै आलोचना भइरहेका बेला स्थानीय जनप्रतिनिधि भने संरक्षणका लागि योजना बनाइरहेको बताउँछन् । कमलामाई नगरपालिकाले जराबुटा कलाको संरक्षणको जिम्मा लिने बताएको छ । नगरको सम्पत्तिका रुपमा संग्रहालय निर्माण गर्ने योजना रहेको नगरप्रमुख खड्गबहादुर खत्रीले सुनाए । कला र कलाकारको संरक्षण र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने किसिमले संग्रहालय निर्माण गर्ने योजना रहेको उनले बताए ।
संग्रहालय निर्माण गरी जराबुटा कलासँगै जिल्लाका अन्य कला तथा पहिचान झल्कने कला, कृतिहरू पनि राख्ने नगरको योजना रहेको छ । विपी राजमार्ग र अन्य लोकमार्गहरूको निर्माणका कारण पनि पर्यटकहरूलाई सहज भएको र पर्यटनकै माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने नगरको लक्ष्य रहेको भन्दै उनले नगरपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गरे ।