कारोबार संवाददाता
सोमवार, पुष ३, २०७४
1652

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पूर्वअध्यक्षसमेत रहेका भोजबहादुर शाह अहिले मेगा बैंकको अध्यक्षको जिम्मेवारीमा छन् । २० वर्ष प्याब्सनमा बिताएका शाह विभिन्न चार शैक्षिक संस्थाका अध्यक्ष छन् । उनी शैक्षिक क्षेत्रसँग मात्र होइन, खेलकुदमा पनि सक्रिय छन् । हाल नेपाल तेक्वान्दो संघको उपाध्यक्ष रहेका शाह नेपाल वित्तीय प्रणालीको विषयमा समेत जानकार छन् । साना, मझौला, खोले उद्यमीलाई संगठित गर्दै ठूला परियोजना सञ्चालन गर्न सकिन्छ भनेर अघि बढेको बताउने शाहले सोलु खोला दूधकोसी जलविद्युत् योजना निर्माणको प्रक्रियामा रहेको बताए । सो जलविद्युत् योजना सञ्चालन गरेका शाह ऊर्जा कम्पनीका समेत सञ्चालक हुन् । पछिल्लो समयमा वित्तीय क्षेत्रमा आफ्नो भूमिका निर्माण गर्दै आएका शाह अहिले मेगा बैंक र टीडीबीएलको मर्जरले मेगा बैंकलाई हित हुने बताउँछन् । मर्जरपछि सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्नेतर्फ मेगा बैंक उन्मुख रहेको उनले बताए । मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको मर्जर प्रक्रिया पूरा भए पनि प्राथमिकताका आधारमा कृषि, पर्यटन, जलविद्युत् र पूर्वाधार विकासमा लगानी गर्ने योजना रहेको बताउने शाहसँग मेगा बैंक तथा वित्तीय प्रणालीका विषयमा कारोबारकर्मी भुवन पौडेलले गरेको कुराकानीको सार :

अधिकांश वाणिज्य बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याएको अवस्था पनि मेगाको पुगेको छैन, किन हो ?
नेपाल राष्ट्र बैंकले दिएको समय सीमाभित्रै हाम्रो चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्छ । केन्द्रीय बैंकले बैंकहरूलाई चुक्ता पुँजी पुर्याउनका लागि २०७४ असार मसान्तसम्म तोकेको हो । तर, त्यसमा गत आवको नाफाबाट बोनस सेयर दिएर पुर्याउन पनि सक्ने व्यवस्था छ । त्यसका लागि वार्षिक साधारणसभा गर्नुपर्छ । त्यो समय दिएको छ । मेगा बैंकको सन्दर्भमा कुरा गर्दा चालू आर्थिक वर्षको पहिलो त्रैमास बैंकको चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । केन्द्रीय बैंकको ८ अर्बको नीतिमा हामीले पुँजी योजना बुझाउँदा टुरिजम डेभलपमेन्ट बैंकको मर्जरबाट १ अर्ब ९१ करोड र ६५ प्रतिशत हकप्रद सेयर गरेर ९ अर्ब ४७ करोडको चुक्ता पुँजी योजना बुझाएका छौं ।
सोअनुसार हामीले २०७३ माघ ६ गते गाभ्ने र गाभिने सहमति गरेका थियौं । सोहीअनुसार मेगा बैंकको प्रतिकित्ता १ सय रुपैयाँ र टुरिजम डेभलपमेन्ट बैंक (टीडीबीएल) को प्रतिकित्ता सेयर मूल्य ९५ रुपैयाँ कायम गरियो । सोअनुसार बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ करोड रुपैयाँ पुग्ने योजना गरेका हौं ।
पुँजीगत दृष्टिबाट मेगा बैंकले ६५ प्रतिशत हकप्रद सेयरको बाँडफाँड गरिसकेको छ । आजका मितिमा बैंकको चुक्ता पुँजी ७ अर्ब ५६ करोड पुगेको छ । गत आवको नाफा ७९ करोड रुपैयाँ छ । यसले पनि पुँजी पु¥याउन समस्या होइन ।

तपाईंहरूले टीडीबीएललाई मर्जर गरेपछि पुँजी पुर्याउने योजना बनाउनुभएको छ । तर, अन्तिम समयमा आएर मर्जरमा विवाद आएको छ । यसको मुख्य कारण के हो ?
मर्जरका लागि मेगा बैंकको टीडीबीएलसँग केही विवाद होइन । यी दुई संस्थाको सन्दर्भमा कुनै विवाद छैन । मर्जरको सहमति भएपछि नेपाल राष्ट्र बैंकले हामीलाई २०७४ जेठ १० गते सैद्धान्तिक सहमति दियो । त्यो सहमति पाएपछि मर्जरका लागि संयुक्त समिति बन्यो । संयुक्त मर्जर कमिटीले ड्यू डेलिजेन्स अडिट (डीडीए) का लागि अडिटरको नियुक्ति ग¥यो । डीडीए अडिटरले रिपोर्ट दियो । त्यो रिपोर्ट आएपछि केही विवाद आएको हो । हामीले मर्जरको सहमति गर्दा मेगा बैंकको १ सय कित्ता सेयर बराबर टीडीबीएलको ९५ कित्ता सेयर भनेर सम्झौता गर्यो । तर, डीडीए रिपोर्टले टीडीबीएलको ९१.९७ प्रतिशत स्वप रेसियो देखायो । यस्तो रिपोर्ट आएपछि मर्जर समितिले छलफल गर्यो । त्यसका साथै टीडीबीएललाई सो स्वप रेसियोअनुसार मर्जरमा जानका लागि सहमत गराउन सकेनौं । त्यसका लागि हामीले ९५ प्रतिशत नै प्रदान गर्ने निष्कर्षमा पुग्यौं । त्यो निष्कर्षमा केही साथीभाइले फरक मत राख्नुभयो । उहाँहरूले ३.०३ प्रतिशत डेभिएसन भयो । टीडीबीएललाई ९१.९७ प्रतिशत नै दिनुपर्छ भन्नुभयो । उहाँहरूको फरक विचारलाई लिएर हामीले राष्ट्र बैंक र टीडीबीएलसँग छलफल गर्यो । सम्बन्धित निकायसँगको छलफलपछि पनि डीडीएको रिपोर्टअनुसार स्वप रेसियो कायम गर्न नसक्ने अवस्था आयो । नेपाल राष्ट्र बैंकका अनुसार पनि सैद्धान्तिक सहमति गरेपछि डीडीए रिपोर्टमा आएको भन्दा १० अंक तल वा माथि भए पनि मर्जरमा जानुपर्ने व्यवस्था छ । त्यसपछि हामी मर्जर सहमति भएअनुसार नै गर्ने गरी अघि बढ्यौं । यसै विषयले गर्दा चर्चा–परिचर्चा भएको हो । यो मर्जरमा स्वप रेसियोलाई मात्रै आधार मान्नुपर्ने कुरा छैन । हामीले दुवै संस्थाको समग्र वित्तीय अवस्थालाई पनि हेर्नुपर्छ । यही कुराले गर्दा मर्जर नै नगर्ने वा निराश हुनुपर्ने अवस्था छैन । मेगा बैंकको नेटवर्थ प्रतिसेयर २ सय २८ रुपैयाँ कायम भएको छ । तर, टीडीबीएलको २ सय १७ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ । यसका आधारमा ११ अंकले अहिलेको अवस्थामा मेगा बैंकको नेटवर्थ माथि छ । यस विषयलाई चर्चा–परिचर्चा गर्ने तथा सामाजिक सञ्जाल प्रयोग गर्ने गर्नुभएको छ भन्ने आश्चर्य छ । यो मर्जर मेगा बैंकको हितविपरीत छैन । यो मर्जर हुँदा मेगा बैंकको हितअनुकूल हुन्छ ।
बैंक आफैंले चुक्ता पुँजी पुर्याउन सक्ने अवस्था भए पनि किन टीडीबीएललाई मर्जर गर्ने भन्ने कुरा पनि उठेको थियो । त्यसमा हामीले पुँजी नपुग्दा २०७३ माघमा मर्जर सम्झौता गर्दा दुवै संस्थाको चुक्ता पुँजी पुगेको थिएन । हकप्रद सेयर जारी गर्नुको कारण पनि पुँजी नै हो । टीडीबीएलको साधारणसभाबाट एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरी सम्पूर्ण प्रक्रिया करिब पूरा भएको अवस्था रहेछ । त्यसले गर्दा मेगा बैंकको संस्थापक सेयर धनीलाई असर गर्न सक्ने भएकाले ६५ प्रतिशत हकप्रद निष्कासन गरेको हो । संस्थामा पुँजी थपिनु भनेको राम्रै कुरा हो ।

मेगा बैंकले बोलाएको साधारणसभामा नै सेयरधनी अनुपस्थित भए । सधारणसभा हुन नसकेर भोलिका लागि पुनः वार्षिक साधारणसभा बोलाउनुभएको छ । भोलिको साधारणसभाले पनि यो मर्जरका लागि तोकिएको स्वप रेसियो पारित गर्छ भन्ने भएन । यसले त यो मर्जरको सन्दर्भमा बैंकका सेयरधनी नै असन्तुष्ट देखिए नि ?
मेगा बैंकको सन्दर्भमा कुरा गर्दा धेरै लगानीकर्ता भएको बैंक हो । कुनै व्यक्ति वा संस्थामा ठूलो सेयर हिस्सा भएको बैंक परेन । हाल बैंक सेयरधनी १ लाख ४० हजार छन् । यसमा पनि करिब १३ सय संस्थापक छन् । धेरै सेयरधनी भएको संस्थामा गणपूरक संख्या पुर्याउन सहज विषय पनि होइन । चुक्ता पुँजीको ठूलो हिस्सा संस्थापकमा रहेको छ । त्यो साधारणसभामा आवश्यकताअनुसार संस्थापक सेयरधनीको सहभागिता जुट्न नसक्दा गणपूरक संख्या नपुगेको हो । कुल चुक्ता पुँजीको ५१ प्रतिशत प्रोक्सी वा उपस्थिति नपुगेको हुनाले गत मंसिर ४ गते बोलाएको विशेष साधारणसभा स्थगित भएको हो । पहिलो साधारणसभा ५१ प्रतिशत हो । दोस्रो पटक कल गरेको साधारणसभामा २५ प्रतिशत उपस्थिति भएमा साधारणसभा सम्पन्न हुन्छ । सेयरधनीलाई गलत सूचना दिइयो । यस सन्दर्भमा हामीले मेलमार्फत जानकारी पनि गर्यो । बाहिर आएका सूचनालाई सोहीअनुसार खण्डन गर्न हामी नउत्रेको हुनाले यस्तो भएको हुन सक्छ । गत मंसिर ४ गतेको साधारणसभामा गणपूरक संख्या नपुगेको जानकारी गरायौं । बैंकको इज्जतका लागि पनि हामीले यो साधारणसभा गर्नुपर्छ । टीडीबीएलसँगको मर्जर पनि सम्पन्न गराउनुपर्छ । यसमा नेपाल राष्ट्र बैंक पनि सहभागी भएको छ । त्यसका साथै केन्द्रीय बैंकको बोर्डसम्म पुगेको छ । त्यसले गर्दा पनि निश्चित व्यक्तिको स्वार्थ नहेरी मर्जर सम्पन्न गर्नुपर्छ । पुँजी थप्नु मात्र केन्द्रीय बैंकले चाहेको होइन । यसमा बैंक–वित्तीय संस्थाको मर्जर पनि उत्तिकै आवश्यक छ भनेर केन्द्रीय बैंक लागेको हो । पुँजी वृद्धि गर्दा सेयर धनीले हालेको पैसा परिचालन गरेर आम्दानी गर्न समय लाग्छ । तर, मर्जरमा गएको खण्डमा सम्पन्न भएको दिनदेखि नै व्यवसाय प्राप्त गर्छ । नाफा कमाउन सुरु गर्छ । तातै खाऊँ जल्दी मरौं भन्ने उखान बैंक–वित्तीय संस्थाको सन्दर्भमा लागू गर्नु हुँदैन ।
टीडीबीएलको सन्दर्भमा हाल ३२ शाखा र एक एक्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यसका साथै थप ९ शाखा खोल्ने अनुमति लिएर बसेको छ । यति नै शाखा खोल्नका लागि मेगा बैंकले थप चार वर्ष पर्खनुपर्छ । हामी शाखा खोल्न समय कुर्दा मर्जरमा गएका संस्थाहरू धेरै अगाडि गइसकेका हुन्छन् । त्यो समयमा मेगा बैंक पछि पर्छ । बैंकको सञ्चालक समितिले त्यो पक्षलाई पनि हेर्नुपर्छ । यो मर्जरका कारणले सेयरधनीप्रति पर्ने मर्काप्रति म क्षमा चाहन्छु । वास्तविकतामा भन्ने हो भने क्षमा माग्नुपर्ने कुनै कारण छैन ।
मर्जरका कारणले नौ महिनासम्म सेयर कारोबार रोकियो । धितोपत्र बजारमा चलायमान हुन सकेन । यसमा केही साथीहरूले मर्जर भन्दा पनि अक्वायर गर्न सक्नुपथ्र्यो पनि भनेका छन् । त्यो विषयमा बैंकले मात्र चाहेर हुदैन । अर्को पक्ष पनि तयार हुनुप¥यो । मर्जरको सिद्धान्तअनुसार गएको भए पनि यो एक किसिमको अक्वायर नै हो । टीडीबीएल बैंक मेगा बैंकमा गाभिँदै छ । संयुक्त कारोबार मेगा बैंक नै भएर अघि बढ्छ । सबै काम–कारबाही मेगा बैंक नै भएर अघि बढ्ने हो । यसभन्दा अघि पश्चिमाञ्चल डेभलमेन्ट बैंकसँगको मर्जरका कारण करिब १३ महिना सेयर कारोबार स्थगित भयो । अनि फेरि टीडीबीएलसँगको मर्जरका कारण पुनः नौ महिना सेयर कारोबार रोकियो, यसका लागि सेयरधनीले बुझिदिनुपर्छ ।
मेगा बैंक टीडीबीएलसँगको मर्जरमा जाँदा ४१ शाखा आउँछन् । मेगा बैंक आफैंले यी शाखा खोलेर सञ्चालन गरेर ब्रेक इभनमा पुर्याउनका लागि अर्को तीन वर्ष लाग्छ । यी शाखा बैंक आफैंले खोलेको खण्डमा थप १ अर्ब खर्च गर्नुपर्छ । यो खर्च जोगाउनु भनेको पनि आम्दानी हो । बैंकको सञ्चिति बढाउनु पनि मुनाफा हो । यसले गर्दा यो मर्जरले मेगा बैंकलाई भाबी दिनमा मननयोग्य लाभ हुनेछ । यसले मेगा बैंकको आम्दानी प्रत्यक्ष सकारात्मक प्रभाव पर्छ । यो भनेको बैंकको सेयरधनीलाई नै फाइदा हो ।
अर्को पक्षमा करिब १२ अर्ब निक्षेप र ११ अर्ब रुपैयाँ बराबरको बिजनेस आउँछ । २८ बैंकले एक महिनामा २ अर्ब रुपैयाँ मात्र निक्षेप परिचालन गरेका छन् । मेगा बैंकले ११ अर्बको बिजनेस ल्याएको त ठूलो उपलब्धि हो । मेगा बैंकले थप ११ अर्ब बिजनेस विस्तार गर्नका लागि थप नेटवर्क परिचालन हुनुपर्छ । शाखा चाहियो, कर्मचारी चाहियो । त्यो पनि हामीले यो मर्जरबाट पाउँदैछौं । यो मर्जरले संस्थागत रूपमा पनि मेगा बैंक अझै बलियो हुन्छ । त्यसका साथै टीडीबीएलको कभरेज क्षेत्र पर्यटन छ । त्यो पनि मेगा बैंकमा आउँछ । त्यो क्षेत्रको थप बिजनेस पनि हामी पाउँछौं । मर्जर भइसकेपछि बाँडिने नाफामा ५ प्रतिशत कर छुट हुन्छ । त्यो भनेको सेयरधनीले प्रत्यक्ष रूपमा पाउने लाभ हो । यस कारणले पनि टीडीबीएल सँगको मर्जर जुनकुनै हालतमा हुन्छ । यसका लागि सबै पक्षहरू लागेका छन् ।

बैंक स्थापना हुँदा हलोदेखि हाइड्रोसम्म भन्ने नारा लिएको थियो । त्यो नाराअनुसार काम कस्तो भएको छ ?
मेगा बैंकको सञ्चालक समितिले पाँचवर्षे रणनीतिक योजना पारित गरेको छ । यो योजना बनाउनका लागि व्यवस्थापन र सञ्चालक समितिले धेरै मेहनत गरेर बनाएको हो । त्यसमा वित्तीय क्षेत्रका विज्ञहरूसँग पनि छलफल गरेका छौं । चालू आर्थिक वर्षबाट त्यो योजना लागू भएको छ । त्यसमा हाम्रो पहिलो प्राथमिकता कृषि हो । त्यसपछि पर्यटन, जलविद्युत् र पूर्वाधार विकासमा केन्द्रित गर्नेछ । यीसँग सम्बन्धित उद्योग तथा परियोजनामा लगानी गर्ने योजना छ । यो योजना टीडीबीएलसँग मर्जर भएपछिको अवस्थालाई चित्रण गर्दै योजना बनाएका छौं । बैंकले अन्तरिक उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले यो क्षेत्रमा लगानी गर्ने योजना बनाएको हो । हालसम्म मेगा बैंकले ठूला योजनाको कन्सोर्टियम लिड गर्ने सकेको छैन । त्यसको कारण हो– पुँजी । त्यो अवसर अब मेगा बैंकले प्रप्त गर्छ ।
मर्जरपछि तत्कालका लागि मेगा बैंकका ७९ शाखा र २ एक्टेन्सन काउन्टर रहेका छन् । त्यसका साथै हामीले थप १६ वटा शाखा राष्ट्र बैंकको निर्देशकअनुसार स्थानीय तहमा खोल्ने तयारी गरेका छौं । त्यसका साथै थप १० शाखा पनि विस्तार गर्ने योजना छ । यसले झन्डै १ सय शाखाको नेटवर्क हुन्छ । यो नेटवर्कमार्फत हलोदेखि हाइड्रोसम्मको मिसनलाई लिएर जाने योजनामा छौं ।

बैंक स्थापना हुँदा पाँचतारे ग्राहक सेवा भन्नुभएको थियो, त्योअनुसारको सुविधा त देखिन नि ?
यो विषयमा पनि पाँचवर्षे रणनीतिक योजना बनाउँदा समीक्षा गरेका थियौं । त्यो समीक्षामा हामीले भनेजस्तो ग्राहक सुविधा दिन नसकेको हो भन्ने महसुस भएको छ । गुणस्तरीय ग्राहक सेवाले नै संस्थाको ब्रान्ड बन्ने हो । यसमा सञ्चालक समिति र व्यवस्थापन एकदमै सजग छ । हामीले भनेको सुविधा दिनका लागि हामी कतै चुकेको भए आगामी दिनमा सुधार गरेर सेवा दिनेमा प्रतिबद्ध छौं ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मेगा बैंकको नाफा त निकै घटेको छ नि ?
चालू आवको पहिलो त्रैमास बैंकले ८ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको पहिलो त्रैमासमा बैंकले १४ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षमा वित्तीय बजारमा तरलताको समस्या आयो, जसका कारणले व्यवसायहरू विस्तार गर्न अप्ठ्यारो परेको थियो । त्यसको असर पहिलो त्रैमासमा देखिएको हो । कात्तिक महिनामा आउँदाखेरि पुरानो उठ्न नसकेको ब्याज उठेको छ । त्यो आम्दानी दोस्रो त्रैमासमा देखाउन मिल्छ । आगामी त्रैमासमा बैंकको नाफामा उल्लेखनीय परिवर्तन हुन्छ ।

पछिल्लो समयमा वित्तीय प्रणालीको बेस रेट बढेको भए पनि ब्याजदर घटाउनुपरेको अवस्था छ, यसले त अस्वस्थ प्रतिस्पर्धा देखियो नि, होइन ?
यो नेपाल बैंकर एसोसिएसन तथा केन्द्रीय बैंकले ध्यान दिनुपर्ने विषय हो । यो विषय स्वस्थ देखिँदैन । कतिपय सवालमा अस्वस्थ प्रतिस्पर्धा भएको छ । यसमा सबै पक्ष सहभागी भएर अस्वस्थ प्रतिस्पर्धा रोक्नुपर्छ । त्यसले बैंकलाई मात्र नभई ग्राहकलाई पनि असर गरेको देखिन्छ । पछिल्लो समयमा देखिएको परिवर्तनले वित्तीय प्रणालीलाई पनि सहज हुने देखिन्छ । हरेक स्थानीय तहमा बैंकहरू जाने क्रम देखिएको छ । यसले वित्तीय पहुँच पनि विस्तार हुनेछ । ग्राहक पनि सचेत हुन्छन्, जसले गर्दा बैंकले चाहेको अवस्थामा आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्दैनन् । यसले गर्दा वित्तीय प्रणालीको समस्या पनि सधैंभरि रहँदैन ।

बैंक सञ्चालक समितिले व्यवस्थापनलाई धेरै नाफा गर्न दबाब दिन्छन् भनिन्छ, मेगा बैंकको सन्दर्भमा के छ ?
संस्थाले नाफा धेरै गरोस् भन्ने अपेक्षा राख्नै नहुने भन्ने होइन । बोर्डले गुणस्तरीय निर्णय गरेर संस्थाको कार्यसम्पादनको प्रभावकारिता देखाउने हो । बैंक–वित्तीय संस्थाको सेयरमा लगानी गरेपछि लगानीकर्ताले प्रतिफल खोज्नु स्वाभाविक हो । अनावश्यक दबाब भने दिनु हुँदैन । असल सम्भावनाहरूको खोजी गरेर लगानीका फरक क्षेत्र पहिचान गरी नयाँ योजनासाथ जाँदा नाफा पनि सोहीअनुसार हुन्छ । अस्वाभाविक र अनलिमिटेड इच्छा गर्नु हुँदैन । त्यसले संस्थालाई समस्यामा पार्न सक्छ । त्यसैले जोखिम अध्ययन गरेर उपयुक्त टार्गेट राखेर काम गर्नुहुन्छ । उद्देश्य नै भएन भने पनि समस्या बढ्छ । आचारसंहिता तोडेर अस्वस्थ व्यवसाय गर्नु हुँदैन भन्ने मेगा बैंकको नारा नै हो ।