कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
1364

कोरोना भाइरसको संक्रमणको जोखिम रोक्न लकडाउनपछि देशभरका शिक्षालयहरू बन्द छन् । औपचारिक पठनपाठन बन्द छ । यद्यपि अनौपचारिक रूपमा दूर शिक्षाको माध्यमबाट प्रविधिको उपयोग गरेर विद्यार्थीलाई सिकाइ प्रक्रियामा आबद्ध बनाउने कार्यको प्रयास विद्यालयदेखि विश्वविद्यालयहरूले गरिरहेका छन् । नेपालमा ३४ हजारभन्दा बढी सामुदायिक र ८ हजारभन्दा बढी संस्थागत विद्यालयहरू छन् । सरकारका नीति, निर्देशनलाई पछ्याउँदै कतिपय सामुदायिक विद्यालयले सिकाइमा विद्यार्थीलाई संलग्न गराउन थाले पनि प्रविधि, पहुँच, तयारी, उपकरणजस्ता समस्याहरूले गर्दा सबै विद्यार्थी यसबाट लाभान्वित हुनसकेका छैनन् । तैपनि विद्यालयले सम्भव भएसम्म यस चुनौतीको घडीमा सिकाइ व्यवस्थापनमा भूमिका निर्वाह गरेको देखिए पनि काफी भने छैन ।
उता लकडाउनसँगै कतिपय सामुदायिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको छ । सरकारले विद्यालयमा बनेका क्वारेन्टाइनलाई विस्तारै विस्थापन गर्दै लगेको पनि छ । साउन १ गतेबाट विद्यालयमा शिक्षकहरू हाजिर हुनैपर्ने व्यवस्था संघीय सरकारले गर्दैछ । यसै सन्दर्भमा सामुदायिक विद्यालयले अनौपचारिक पद्धतिबाट सिकाइ प्रक्रियाका लागि गरिरहेका कार्यहरू, तयारी, विद्यार्थी शिक्षकको संलग्नता र चुनौतीका बारेमा जिल्लास्थित कारोबारकर्मीहरूले केही प्रधानाध्यापकहरूसँग गरेको कुराकानीको सार :

टोल–टोलमा शैक्षिक कार्यक्रम सञ्चालन
महेन्द्रप्रकाश गौतम
प्रधानाध्यापक, सिनाम नमुना मावि, सिरिजंगा गाउँपालिका–१
राज्यले विद्यार्थीलाई दिने सुविधा उपलब्ध गराउन सहजीकरण गर्नु शिक्षकको दायित्व हो । छुट्टीका दिन वा बहाना गरेर काम नगर्नु ठीक होइन । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं सिनाम नमुना माविका शिक्षकलाई न लकडाउन, न त बर्खे झरी । पठनपाठनको काम न हो, भौतिक दूरी कायम गरेर सञ्चालन गरेका छन् ।
लकडाउनमा सहरमा इमेल, इन्टरनेट, टेलिभिजन तथा सुविधा उपलब्ध गराउन सक्षम परिवारमा हुर्किएका विद्यार्थीका लागि भर्चुअल कक्षा सञ्चालनमा छन् । तर, गाउँघरका विद्यार्थीका लागि भरपर्दो माध्यम रेडियो मानिएको छ । कतिपय स्थानीय तह र शिक्षाक्षेत्रसँग सम्बन्धित संघ–संस्थाले टिभी, रेडियो र मोबाइल एप्स प्रयोगमा ल्याएका छन् । तथापि उपलब्धि मूल्यांकन कठिन बनेको छ । त्यसो त कतिपय निजी र सामुदायिक विद्यालयले विद्यार्थीका लागि रचनात्मक तरिकाले पठनपाठन गराएका छन् ।
मेरो विद्यालयमा पर्याप्त पूर्वाधार छ । विद्युत्, खानेपानी, आवास, हल, कम्प्युटर र खेलमैदानको अभाव छैन । संरचनाअनुसारको पठनपाठन छ । ३६ जना शिक्षक कार्यरत छन् । करिब ९ सय विद्यार्थी अध्यनरत छन् । ६ देखि १० सम्मका कक्षामा सेक्सन विभाजन गरिएको छ । यहाँका शिक्षक छुट्टीको दिन नभनी शनिबारसमेत विद्यालयकै काममा खटिन्छौं । अपवादबाहेक अधिकांश सामुदायिक विद्यालयका शिक्षक फुर्सदिला बनेका छन् । शिक्षक निष्क्रिय भएको आवाज उठेको छ । विद्यालयमा पठनपाठन नहुँदा छोराछोरी बिग्रिएको गुनासो चौतर्फी सुनिन्छ । तर, यहाँको विद्यालयले लकडाउनमा कसरी विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ भनी छलफल र निर्णय बेलैमा ग¥यो । दूरदर्शी शिक्षक हुँदाको फाइदा कस्तो हुन्छ भन्ने झल्को दियो । वैशाखको दोस्रो साता नै विद्यार्थीको हातमा किताब उपलब्ध गराएकाले टोल–टोलमा शैक्षिक कार्यक्रम लागू गर्ने निष्कर्ष निकाल्यो । यद्यपि किस्ता÷किस्ता गरेर थप हुने लकडाउन अवधिले कार्यक्रम लागू गर्न त्यति सहज भने भएन ।
मेरा सहकर्मीहरू निर्णय कार्यान्वयन गर्न दृढ बन्नुभयो । १३ वटा सेन्टर अर्थात् टोल छनोट गरियो । साविक सिनाम गाविसका ९ वटै वडाबाहेक मामाखे, थुम्बेदिन र आम्बेगुदिनमा कार्यक्रम लागू गरिएको छ । टोल–टोलमा पठनपाठन गराउन एक÷एक हप्ताको प्याकेज बन्यो । शिक्षकहरू परिचालन भए । लकडाउन, बर्खे झरी, भौगोलिक बनावट र अप्ठेरो परिस्थितिमा शिक्षकको पठनपाठन मोह प्रशंसा गर्न लायक रह्यो । २०७५ सालमा जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा प्रदेश सरकारबाट २ लाख नगदसहित सम्मान गरेको यथार्थलाई पुष्टि ग¥यो । पाठ पढाउने÷बुझाउने र शैक्षिक सामग्री बनाउन विद्यार्थीलाई गृहकार्य दिए । अभिभावकले सहयोग नगर्ने कुरै भएन । किनकि गठन गरिएको विद्यालय आमा समूह र पूर्वविद्यार्थी समाजले विद्यार्थीको पठनपाठन कमजोर हुन नदिन महŒवपूर्ण भूमिका निर्वाह गरेको छ ।
हप्तैपिच्छे विषयगत शिक्षकले काम दिन्छन् । गृहकार्य चेक गर्छन् । विद्यार्थीले नबुझेको कुरा फोनमार्फत विषयगत शिक्षकलाई सोध्ने गरेका छन् । फोनमा प्याकेज लिए १० रुपैयाँमा धेरै समय बोल्न मिल्ने भएकाले गाह्रो छैन । विषयगत शिक्षक र प्र.अ.को फोन नम्बर कोठाको भित्तामा राखिएको छ । कुनै विद्यार्थीप्रति शंका लागे विद्यालयले नै फोन गर्छ । प्रत्येक विद्यार्थीका अभिभावकको फोन नम्बर विद्यालयको रेकर्डमा समावेश छ । विद्यालय आमा समूह र पूर्व विद्यार्थी अभिभावक समाजका पदाधिकारीले पनि अनुगमन र निगरानी गर्ने भएकाले विद्यार्थीको पढाइ खस्किन दिएको छैन । किताबी ज्ञानबाहेक हातबाट सीप सिक्नु पनि शिक्षा हो । संस्कार र संस्कृति व्यावहारिक रूपमा सिकाउनु झनै महŒवपूर्ण शिक्षा हो ।
प्रस्तुति : देवराज गुरुङ, ताप्लेजुङ

वैकल्पिक शिक्षण विधिबाट अपेक्षित उपलब्धि छैन
विष्णुहरि बास्तोला
प्रधानाध्यापक
मंगला मावि, मध्यनेपाल–३, लमजुङ
कोभिड–१९ को संक्रमणले हाल विश्वका अधिकांश मुलुकहरूमा प्रभाव पारिसकेको छ । कोभिड–१९ को संक्रमण जोखिमसँगै नेपाल सरकारले २०७६ चैत ११ देखि लकडाउन घोषणा गरेपछि शैक्षिक संस्थालगायत यातायात, व्यवसाय आदि बन्द गरी सुरक्षित रहन अपिल ग¥यो । लकडाउन जारी भएको झन्डै चार महिना पुग्न लागिसकेको छ ।
लकडाउनका कारण विद्यालयको वार्षिक परीक्षा निर्धारित समयभन्दा झन्डै १० दिन अगाडि गर्नुप¥यो । हतासमा परीक्षाको समय तालिका प्रकाशन गर्दा विद्यार्थीहरूमा एक प्रकारको मानसिक चोट उत्पन्न भयो । २०७६ चैत ६ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षाको पूर्वनिर्धारत तालिका पनि अनिश्चत समयका लागि स्थगित गर्ने सूचनाबाट अन्तिम तयारीमा पुगेका विद्यार्थीहरूलाई ठूलो पीडा भएको भयो ।
विशेषगरी माध्यमिक शिक्षा परीक्षामा संलग्न हुने विद्यार्थीहरूलाई परीक्षा कहिले होला वा परीक्षा नै नहोला भन्ने दोधारले लामो समय तनावमा रहनुपरेको थियो । अभिभावक, आमशिक्षक÷नागरिक समाजलाई विद्यार्थीहरूले उच्च मेहनतले गरेको परीक्षाको तयारी शून्य अवस्थामा पुग्यो भन्ने महसुस भयो । लामो समयको अन्योल पछाडि सरकारले माध्यमिक शिक्षा परीक्षाको मूल्यांकन विद्यालयको आन्तरिक मूल्यांकनको आधार लिई एक संयन्त्र बनाई पठाउने निर्देशन जारी भयो, जसले एक अध्यायको अन्त्य भई नयाँ मोडमा पुग्यो ।
विद्यालयको वार्षिक परीक्षाको नतिजा प्रकाशन बाँकी थियो । सुरुका दिनहरूमा सामुदायिक विद्यालयहरू आ–आफ्नै किसिमले नतिजा प्रकाशन गर्न व्यस्त भयौँ । विद्यार्थीहरूलाई पढाइ कहिले होला ? विद्यालय कहिले खुल्ला ? जस्ता प्रश्नहरूले तनाव दिइएको थियो । विद्यालयहरूले कोरोना भाइरसबाट सुरक्षित रहन विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने सोच पनि बनाएका थियौँ, तर अन्योलताका कारण त्यस्ता कार्यक्रमहरू अगाडि बढ्न सकेनन् ।
सरकारले जेठ महिनाको अन्त्यमा वैकल्पिक सिकाइसम्बन्धी निर्देशिका जारी ग¥यो । त्यसपछि केही विद्यालयहरू अनलाइन कक्षाहरू, टिभी, रेडियोका सिकाइ सामग्रीबाट पठनपाठन गराउन अग्रसर भए । यी प्रविधि हामीले पनि अनुभव ग¥यौं, तर अपेक्षित उपलब्धि भएजस्तो लाग्दैन ।
सबै विद्यार्थीहरूमा इन्टरनेटको सुविधा छैन । विद्युत् प्रसारणमा समस्या भएकाले उल्लिखित समयमा टिभी, रेडियोको कक्षा पनि लिन नसकिएको अवस्था रह्यो । सेवाक्षेत्र ठूलो हुँदा सबै विद्यार्थीलाई समेट्न अप्ठ्यारो हुने अवस्था रह्यो ।
अधिकांश सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाइएका छन् । अब विद्यालयमा कहिल्यै पढाइ हँुदैन कि भन्ने मनोविज्ञान ससाना बालबालिकामा परेको छ । अहिले हामीले घरघरमै शिक्षा प्रणाली सुरु गरेका छौँ । विशेषगरी विद्यालयमा अध्यापन गराउने शिक्षकलाई सम्बन्धित गाउँका विद्यार्थीहरू जम्मा गरी उच्च सतर्कता अपनाउँदै अध्यापन गराउने र विद्यार्थीहरूलाई गृहकार्यमा व्यस्त गराउने गरेका छौँ । विद्यालय शिक्षकसँगै सिनियर कक्षाका विद्यार्थीहरूलाई पनि सहयोगी शिक्षकका रूपमा परिचालन गरेका छौँ । प्राय: शिक्षकहरू पालो गरी प्रत्येक दिन विद्यार्थीको घरमा पुग्नुपर्ने, कथा, कविता, सफलताका काहानीहरू, सिर्जनात्मक कलाहरूलगायतका कक्षाहरूमा विद्यार्थीलाई संम्लग्न गराउनुपर्ने र अभिभावकहरूसँग बालबालिकाका बारेमा परामर्श लिने दिने गरिएको छ ।
बालबालिकाको शिक्षाका लागि अभिभावकहरूले पनि आफ्नो दायित्वलाई बुझी कर्तव्य पालना गर्नुपर्छ भन्ने मान्यताका साथ विद्यार्थीसँगै अभिभावकलाई पनि फ्लोअप गर्ने गरेका छौँ । उपल्लो कक्षाका विद्यार्थीहरूलाई विभिन्न विषयका शिक्षकहरू पालैपालो पठाएर पढाइप्रति आकर्षित गर्न सकिन्छ । इन्टरनेटको पहुँचमा भएका विद्यार्थीहरूलाई अनलाइन र फेसबुक ग्रुप बनाई गृहकार्य दिने पनि गरिएको छ । कुनै न कुनै रूपमा विद्यालय र विद्यार्थीबीच सम्बन्ध÷सम्पर्क कायम गर्ने प्रयास गरेका छौँ ।
नियमित अध्यापनका निम्ति जुनसुकै वैकल्पिक विधि अपनाए पनि औपचारिक शिक्षाका लागि भुलाउने माध्यम मात्रै भएको छ । वैकल्पिक विधिबाट औपचारिक कोर्स अघि बढाउन सकिएको छैन । विद्यार्थीहरू र विद्यालयबीचको सम्बन्ध र विद्यार्थीहरूलाई पढाइ÷सिकाइबाट पलायन हुने सम्भावना न्यूनीकरणको प्रयास गरिएको छ । चुनौती÷समस्याबीच पनि विकल्प खोज्दै सिर्जनात्मक पक्षतिर विद्यार्थीहरूलाई जोड्ने अभ्यास भएको छ । कोरोनाको डरबाट आक्रान्त विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापसँगै मनोपरामर्श र नैतिक शिक्षा सिकाइको अभ्यासमात्रै भएको छ ।
प्रस्तुति : सन्देश पौडेल, लमजुङ

अब शिक्षा र प्रविधिको फ्युजन गर्नुपर्छ
गणेशचन्द्र बस्नेत
प्रधानाध्यापक, निर्मल मावि, व्यास–१, तनहुँ
कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टाइन बनाइँदा बालबालिकामा केही मनोवैज्ञानिक प्रभाव त पक्कै परेको छ । विद्यार्थीहरूको परीक्षाफल प्रकाशनप्रश्चात् जुन उत्साह, उमंगले माथिल्लो कक्षामा पढन आउँथे, त्यो अवस्था नहँुदा उनीहरूमा केही नैराश्यता थपिएको छ, तर पनि हामीले सम्भव भएसम्म उनीहरूलाई माथिल्लो कक्षाको पुस्तक घरघरसम्म पु¥याउने, विभिन्न प्रविधिको प्रयोगमार्फत कक्षा सञ्चालन गर्ने र कक्षा शिक्षकले बेलाबेला फोनमार्फत परामर्श र सल्लाह दिँदै आएकाले विद्यार्थीहरूमा यो महामारीमाथि विजय गरी फेरि छिट्टै विद्यालय फर्किने आशा पनि उत्तिकै छ ।
स्वाभाविक स्थिति हुँदा जुन खालको विद्यार्थीहरूमा स्फूर्ति थियो, त्यो त पाइएको छैन । विद्यार्थीहरूको हामीलाई पटक–पटक फोन आउँछ, हामीले शिक्षकसँग फेस टु फेस भई सदाझैँ कक्षाकोठामा उपस्थिति भएर कहिले पढ्न पाइन्छ भन्ने उनीहरूको प्रश्न रहन्छ । विद्यालयमा हाल क्वारेन्टाइन सञ्चालन भएको छ र ७० जनाभन्दा बढी तेस्रो मुलुकबाट आएका मानिसहरू बसिरहेका छन् र अझै आउने क्रम रोकिएको छैन । त्यसैले छिट्टै विद्यार्थीहरूले विद्यालयमा शिक्षकसँग प्रत्यक्ष रूपमा पढ्न पाउने स्थिति नभए पनि हामीले अनलाइन कक्षा, राष्ट्रिय प्रसारणमार्फत रेडियो, टेलिभिजनबाट सञ्चालित कक्षाको समय तालिकाका बारेमा जानकारी गराएर पनि पढाउँदै आएका छौँ । सामुदायिक विद्यालयका अभिभावकहरू आर्थिक अवस्था कमजोर भएकाहरू पनि भएकाले उहाँहरूलाई राहतको आवश्यकता पनि उत्तिकै छ । यसका लागि हामीले वडाहरूसँग समन्वय गरी राहतको पनि पहल गर्दै आएका छौँ ।
बालबालिकाहरूलाई अहिले दोहोरो मानसिक दबाब परेको छ । एउटा पढ्न नपाउँदा उनीहरू चिन्तित छन् भने अर्को गरिबीका कारण खान–लाउनमा परेको समस्याले पनि उनीहरूमा निराशाको अवस्था सिर्जना गरेको छ । यो उनीहरूमा परेको प्रभाव न्यूनीकरणका लागि हामीले बालबालिका र अभिभावकलाई सम्पर्क गरी यो विषम परिस्थितिमा नआत्तिन र सजग र सतर्क रहन आग्रह गरिरहेका छौँ । विद्यालयमा पहुँच भएका बालबालिकाहरूले पुस्तक पाए र अनलाइनबाट पनि केही हदसम्म पढिरहेकै छन्, तर अहिले हामीले भोगेको पीडा भनेको जुन बालबालिका नेट र प्राविधिको पहुँचबाट बाहिर छन् उनीहरूलाई समेट्न सकेका छैनौँ । उनीहरूको भर्ना फोनमार्फत अभिलेखीकरण भए पनि अन्य सुविधा दिन सकिएको छैन । कक्षाकोठाहरू अहिले सबै क्वारेन्टाइनकै रूपमा प्रयोग भएकाले अवस्था सामान्य भएपछि निर्मलीकरण गरेर मात्र विद्यार्थीहरू आउने वातावरण बन्छ र सहज रूपमा पठनपाठन अघि बढाउन सकिन्छ । विद्यार्थीहरू पठनपाठनबाट विमुख नहुन् र पढ्ने बानीमा कमी नआओस् भन्दै अनलाइन कक्षा चलाइएको छ । टिभी, रेडियोबाट स्वअध्ययन नै हो– अहिलेको उत्तम उपाय ।
हामीले विषय शिक्षकहरू परिचालन गरी गत वर्षको सम्पर्क नम्बरका आधारमा विद्यार्थी, शिक्षक र अभिभावकसँगको सम्पर्क समन्वय त निरन्तर नै भइरहेको छ । पढाइको क्षति न्यूनीकरणका लागि हामीले प्रविधिको प्रयोगलाई नै व्यापक रूपमा गर्नुपर्नेछ । अब हामी शिक्षक, विद्यार्थीलाई प्रविधिमै खेल्न सिकाउने योजना ल्याउँछौँ । अबको शिक्षा आईसीटीलाई फोकस गरेर लिने र दिने गर्नुपर्छ । यो वर्ष ६ महिनामात्र कक्षा सञ्चालन हुने भयो भने हामी एउटा त नियमित कक्षा नै सञ्चालन गर्छौं, अर्को बिहान र बेलुका प्रविधिको भरपुर प्रयोग गरी शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाइनेछ । अब हामी अतिरिक्त समयको पनि प्रयोग गरी विद्यार्थीहरूको क्षति भएको समयलाई पूर्ति गर्ने सोचमा छौँ ।
मानवीय संकटका बेला हामीले सहयोग गर्नु आफैँमा उचित हो, तर विद्यार्थीहरूमा यो रोगप्रतिको भ्रामक खालको एउटा धारणा बनेको छ, यसले उनीहरूमा ठूलो मनोवैज्ञानिक प्रभाव पारेको छ । यसलाई कसरी मिलाएर लैजाने भन्ने पनि अबको चुनौती हो जस्तो लाग्छ मलाई । एकातिर मानवताको दृष्टिकोणबाट हामीले सहयोग गर्नुपर्नेछ भने अर्कातर्फ बालबालिकाहरूमा परेको प्रभावबाट उनीहरूलाई बचाउनुपर्ने पनि छ । कोरोनाका केही सत्य र केही भ्रमकै रूपमा आएको सूचनाबाट बालबालिकामा परेको प्रभाव घटाउन अब हामीले उनीहरूलाई व्यायाम, खेलकुद, गीतसंगीत, योग, ध्यानलगायतबाट मानसिक र शारीरिक रूपमा स्वस्थ रहने वातावरण बनाउनुपर्छ । उनीहरूमा यो स्वाभाविक प्रक्रियामात्र हो, हामी सहजग र सर्तक रहनुपर्छ भन्ने धारणा विकास गराउन आवश्यक छ । विद्यालय खुल्नासाथ यो खालका कार्यक्रमलाई सँगै सञ्चालन र व्यवस्थापन गरी विद्यार्थीहरूलाई निर्धक्क भयरहित वातावरणमा पठनपाठनमा अघि बढ्न हामी प्रेरित गर्नेछौँ र अभिभावकहरूलाई पनि त्यहीअनुसार नै काउन्सिलिङ गर्छौं ।
हाल हाम्रो विद्यालयमा ९ सय ३३ जना विद्यार्थी छन् र हाम्रो विद्यालयले गण्डकी प्रदेशमै एउटा नमुना विद्यालयको छवि बनाएको छ । यो छविमा यस संकटको प्रभाव नपर्ने गरी व्यवस्थापन गर्ने तयारी गरिरहेकै छौँ । हालसम्म क्वारेन्टाइनमा हामीले ७० जनाभन्दा बढी व्यक्तिलाई मानवीय रूपमा आश्रय दिएका छौं । क्वारेन्टाइन राख्दाको अवस्थामा विद्यार्थीहरूलाई त्रसित नहुन र यो भाइसरबाट जोगिएर आफ्नो दैनिक क्रियाकलाप सञ्चालन गर्न विद्यालय परिवार आग्रह गर्छ ।
प्रस्तुति : सुनिता आचार्य, दमौली