मनिषा चम्लागाईँ
शुक्रवार, असार २६, २०७७
890

मुलुक संघीय शासन प्रणालीमा गएसँगै स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारले कृषि नै आर्थिक समृद्धिको आधार मान्दै आएका छन् । सरकारले आर्थिक समृद्धि कृषिबाटै सम्भव छ भन्दै प्राथमिकतामा राख्दै आएको छ । तर, सरकारले कृषिक्षेत्रमा गरेको लगानी बालुवामा पानी बन्दै गएको उदाहरण हामीले हेर्दै र सुन्दै आइरहेका छौं । कृषिबाटै देशको आर्थिक समृद्धि सम्भव छ र कृषिको विकास नभई आर्थिक उन्नति सम्भव छैन भनेर व्याख्या गर्नेहरू नै कृषिप्रति उदासीन छन् ।
तर, लगानी र लगावका साथ टुक्रे खेतीको साटो एकीकृत खेती गर्ने हो भने कृषिबाटै आर्थिक समृद्धि सम्भव हुन्छ भन्ने थुप्रै उदाहरण बनेका छन् । झापामा परम्परागत खेती हुँदै आएकोमा गत वर्षदेखि बेमौसमी अर्गानिक खेती पनि सुरु भएको छ । परम्परागत खेती प्रणालीबाट किसानको उत्पादन लागतसमेत उठ्न छाडेपछि सो क्षेत्रका कृषकले एकीकृत खेती सुरु गरेका हुन् । आधुनिक प्रविधि र उपकरणको प्रयोग गरी कृषकलाई खेतीपातीमै फर्काउन एकीकृत खेती गरिएको सहकारी सञ्चालकहरू बताउँछन् । १५ बिघा जमिन लिजमा लिएर सहकारीमा नै आबद्ध सदस्यले श्रम गरिरहेका छन् । गत वर्ष एउटा टनेल निर्माण गरेर खुला खेती सुरु गरेको सहकारीले यस वर्ष केन्द्र सरकारले सञ्चालन गरेको प्राङ्गारिक प्रवद्र्धन मिसन कार्यक्रमअन्तर्गत थप १० वटा टनेल निर्माण गरिसकेको छ । सहकारीले टनेल, नमुना र खुलाखेती गरेर तीन तरिकाले खेती गरेको छ । नमुना खेतीमा टनेलबाहिर जमिनलाई व्यवस्थित गरी प्लास्टिकको मल्चिङ प्रविधि प्रयोग गरेर खेती गरिएको छ । टनेलभित्र बोडी, काँक्रा खेती लगाइएको छ । निर्माण सम्पन्न टनेलमा रायोको साग, खुर्सानी रोप्ने तयारी गरिएको छ । सहकारीले खुला रूपमा कुरिलो, भिन्डी, करेला, फर्सी, बेसार लगाएको छ । यस वर्ष एक बिघा जमिनमा ‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादित कोलाको बिरुवा लगाउने तयारीसमेत छ । यसै वर्ष थप एक बिघा क्षेत्रफलमा मेवा लगाउनका लागि बेर्ना उत्पादन गरिसकेको छ ।
स्थानीय किसानलाई विभिन्न उपसमूहमा विभाजन गरेर सहकारीलगायतले विगत केही महिनादेखि बाख्रापालनसमेत गर्दै आइरहेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश–१ ले नमुना बाख्रापालन कार्यक्रमका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ भने बाँकी २५ प्रतिशत लगानी सदस्यले गरेका छन् । अहिले खोरमा ५३ वटा बाख्रा रहेका छन् । सहकारीले खेती गर्ने योजना बनाएपछि दमक नगरपालिकाले कृषि प्राविधिकसमेत व्यवस्था गरिदिएको छ । कृषकले उत्पादन गरेका कृषि उपजको बजारीकरणसमेत सहकारीले नै गर्दै आइरहेको छ, जसले गर्दा एकीकृत खेती गर्न सहज हुने भएकाले किसान आकर्षित हुने क्रम पनि बढ्दो छ । विश्वभर फैलिएको कोरोना महामारीमा सहकारीले उत्पादन गरेको अर्गानिक तरकारी होम डेलिभरीमार्फत उपभोक्ताको घर–घरमा पु-याइएसँगै जनस्तरमा सहकारीको लोकप्रियतासमेत बढेको छ । पछिल्लो समय सहकारी कृषि पढ्ने विद्यार्थीका लागि अध्ययन थलोसमेत बन्दै गइरहेको छ । जिल्लालाई धान सुपरजोन जिल्ला घोषण भएपछि यहाँ ३ सय बिघा क्षेत्रमा प्राङ्गारिक धान उत्पादनसमेत गर्न थालिएको छ । सहकारीको पहलमा दमकमा आधुनिक कृषि बजार निर्माणका लागि प्रदेश सरकारसँग सम्झौता भएको छ । उक्त बजार ६ करोड ५० लाख रुपैयाँ लागतमा बन्नेछ । सन्दर्भमा रहेर सहकारीको अवस्था, भावी योजना र नेपालमा कृषिक्षेत्रमा भएको परिवर्तनलाई उजागर गर्ने उद्देश्यले झापाबाट कारोबारकर्मी मनीषा चम्लागाईंले सरोकारवालासँग गरेको कुराकानी :

लगानी डुबे पनि व्यावसायिक कृषिको सपना टुटेन
विश्वनाथ बराल
अध्यक्ष, मानसरोवर कृषि सहकारी संस्था
कृषिबाट समृद्धि सम्भव छ भन्ने विषयमा म ढुक्क छु । आजभन्दा २३ वर्ष पहिले पशुपालन सुरु गरेको मैले बजारको व्यवस्था गर्न नसक्दा लगानी डुब्यो । लगानी डुबे पनि मेरो कृषिप्रतिको सपना टुटेन । अहिले एकीकृत रूपमा हामी मानव स्वास्थ्य र वातावरणलाई ध्यानमा राखेर काम गर्दै आइरहेका छौँ । कृषि उत्पादन गर्ने कृषक र सहकारी त धेरै छन्, तर न प्राङ्गारिक हुन्छ, न त उत्पादित कृषि उपजले बजार नै पाउँछ । हामीले उत्पादनसँगै बजारको व्यवस्थासमेत गरेका छौँ । हाम्रो उत्पादनले बजार अभाव झेल्नुपरेको छैन । अर्गानिकमा थोरै फल्छ, फल्दैन भन्ने भ्रम मानिसमा छ । त्यसले गर्दा हामीले अर्गानिक उत्पादनसँगै प्राङ्गारिक चेतनालाई समेत जोडेका छौँ । मानव स्वास्थ्य र वातावरणलाई बचाउनका लागि के गर्नुपर्छ भन्ने विषयमा हामी परामर्शसमेत दिँदै आइरहेका छौँ । हाम्रो सहकारी अर्गानिक कृषि पाठशालासमेत हो । यसरी उत्पादन, बजार र चेतना तीन विषयलाई सँगै लगेका छौँ । वातावरणमैत्री अर्गानिक उत्पादनका विषयमा किसानहरूलाई बोलाएर प्राविधिकमार्फत चेतना पनि दिँदै आइरहेका छौँ । हामीले विभिन्न उपसमूह निर्माण गरेका छौँ । किसानहरूले उत्पादन गरेको तरकारी प्रत्येक दिन १२ बजेअघि नै हामीकहाँ आइपुग्छ । हामीले कृषकलाई बीउ, मल र कृषि प्राविधिक उपलब्ध गराउँछौँ । कृषकहरू आफ्नो खेतमा आफैँ काम गर्ने र यही खेतमा काम गर्दा दैनिक ज्याला पनि पाउने गरेका छन्, जसले गर्दा किसानले भोलि नयाँ प्रविधिबाट खेती गर्ने तरिकाका विषयमा आफैँ सक्षम हुने आशा गरिएको छ । भावी दिनमा सहकारी नरहे पनि कृषि उत्पादन बढाउने हाम्रो मुख्य उद्देश्य हो । कृषकहरूले खेतमा काम गर्दा नै नयाँ खेतीबारे अध्ययनसमेत गर्न पाएका छन् । सहकारीभन्दा पनि कृषि र कृषकको समृद्धिका लागि व्यवसाय सुरु गरेका हौं । किसानहरूले १ सय बिघा क्षेत्रफलमा तरकारी लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी जोखेर सहकारीमा ल्याइदिने र हरेक १५ दिनमा किसानले पैसा पाउने गरेका छन् । भारतबाट आयातित तरकारी रोक्नुपर्छ भन्ने विषयमा म सहमत छैन । आयातलाई रोक्नु हुँदैन, तर आयात भएको तरकारी परीक्षण गरेर मात्र नेपाली बजारमा बिक्री गर्नुपर्छ । उपभोक्तालाई विषादी खुवाउन पाइँदैन । यसका लागि हामीले घोषणापत्र नै निर्माण गरेका छौँ र त्यसैका आधारमा काम सुरु भएको छ । खाद्य उत्पादनमा रासायनिक मल र विषादीको प्रयोग नगर्ने, दमक बजारमा अर्गानिक उत्पादन बिक्रीको सेन्टर निर्माण गर्ने र स्थानीय तहले चेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्ने उल्लेख गरिएको छ ।

पाँच गुणा बढी नाफा हुन्छ
महेन्द्र अधिकारी
व्यवस्थापक, मानसरोवर कृषि सहकारी संस्था
कृषि पनि मर्यादित पेसा, व्यवसाय हो भन्ने मान्यता हामी स्थापित गर्दैछौँ । कृषिबाटै आम्दानी लिन सकिन्छ भन्ने प्रमाणित गर्न सफल छौँ । अब हाम्रा कृषि उत्पादनहरू, प्याकेजिङ, ग्रेडिङ गरिएका, ताजा हुनुपर्छ । अहिले उपभोक्तहरू आफैँ मानसरोवरको उत्पादन खोज्नुहुन्छ । आकर्षक ढंगले कृषि स्टलहरू खोल्नुपर्छ । अर्थतन्त्रको ठूलो हिस्सा कृषिले नै ओगटेको छ । निर्वाहमुखी खेती हँुदासमेत ६४ प्रतिशत मानिस कृषिमा निर्भर छन् । अर्थतन्त्रमा भने २७.६ प्रतिशत हिस्सा कृषिकै रहेको आर्थिक सर्वेक्षण २०७४÷७५ ले देखाएको छ । अर्थतन्त्रमा सर्वाधिक योगदान गर्ने कृषिको अवस्था खस्कियो भने अर्थतन्त्र नै खस्किन्छ । कृषिक्षेत्र नै रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्र हो । उत्पादनदेखि उपभोक्तासम्म तरकारी उत्पादन पुग्दा धेरै जनशक्ति आवश्यक हुन्छ । टनेलमा खेती गर्दा एउटा टनेल ३ सय ६० वर्गमिटरमा एकपटकको बालीमा १५ हजार रुपैयाँ खर्च गर्दा पाँच गुणा बढी मुनाफा हुने गरेको छ । यस वर्षमात्र १५ हजार लगानी गरेर लगाइएको काँक्रा २ लाखभन्दा बढीमा बिक्री ग-यौँ । कृषि र पशुले अन्योन्याश्रित सम्बन्ध राख्छन् । अर्गानिक उत्पादनका लागि गोठे मल आवश्यक परेको हुँदा हामीले बाख्रापालन सुरु गरेका हौँ । ५ सय बाख्रापालन गर्ने उद्देश्य छ । कृषिक्षेत्रमा चुनौती पनि छन् । हामीले प्रकृतिसँग जुध्नुपर्छ । हाम्रो खुला खेती भएकाले कहिले असिना–पानी, कहिले चर्को घामबाट बचाउनुपर्ने हुन्छ । विषादी प्रयोग नगरी खेती गर्ने भएकाले कीराहरूबाट बालीलाई बचाउनुपर्नेछ । माटोको सुधार गरेर गएपछि भने यो समस्या स्वतः घटेर जान्छ । प्राङ्गारिक मलको प्रयोग गरेर माटोलाई प्राकृतिक बनाउनुपर्नेछ, जसले मात्र दिगो कृषिको विकास हुन सक्छ । रासायनिक मल हालेर उत्पादन त बढाउन सकिएला, तर त्यो दीर्घकालीन हुँदैन । अर्गानिक उत्पादनलाई व्यापक बनाउने उद्देश्य राखेर झापाको गौरीगन्ज, मोरङको उर्लाबारी, मधुमल्ला तथा उत्तरमा पाँचथरको रविसम्मको क्षेत्रलाई अर्गानिक उत्पादनको हब बनाउनका लागि यस क्षेत्रका कृषि सहकारी र स्थानीय तहसँग सहकार्य गर्ने उद्देश्यले सञ्जाल बनाइएको छ । यसले तराईको उत्पादन पहाडमा र पहाडको उत्पादन तराईमा पु-याउन सहयोग गर्नेछ । चेतना अभावले गर्दा उपभोक्तालाई अर्गानिक नै खानुपर्छ भन्ने चेतना वृद्धि भइसकेको छैन । हामीलाई राज्यका तर्फबाट समेत सहयोग पुगेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, झापाको ५० प्रतिशत अनुदानमा कस्टम हायरिङ खरिद गरिएको छ भने साना सिँचाइ सञ्चालन गरिएको छ ।

स्थानीय स्रोतसाधनको प्रयोग गरेर अर्गानिक खेती गर्नुपर्छ
दधिबल चापागाईं
कृषि प्राविधिक
अर्गानिक उत्पादन हुन्छ भन्नेमा नै धेरै मानिस विश्वस्त छैनन् । अर्गानिक उत्पादनको बजारीकरणको समस्या देखिएको छ । अर्गानिक खेतीमा विभिन्न किसिमका रोग र कीरा लाग्ने हुन्छ । अधिकांश खेतीमा रासायनिक मल र विषादी प्रयोग गरिएको हुन्छ । रासायनिक विषादीको प्रयोग बढी भएकाले प्राङ्गारिक मलले एकैपटक कीरा नमार्ने समस्या हुन्छ । म फिल्डमा नै गएर माटो बनाउने, बिरुवा रोप्ने, प्राङ्गारिक मल बनाउने औषधि निर्माणदेखि प्रयोग गर्ने विषयमा किसानलाई सिकाउने गर्छु । गठन गरिएका १३ वटा समूहमा खेती तालिका बनाएर काम सिकाउने गरेको छु । यसले गर्दा किसान भोलि नयाँ प्रविधिबाट खेती गर्ने तरिकाका विषयमा आफैँ सक्षमसमेत हुनेछन् । निमजन्य विषादीको प्रयोग हामी गर्छौं । किसानहरूबाट गाईको गहुँत खरिद गरेर तीतो, पिरो, अमिलो, टर्रो प्रजातिको वनस्पति मिलाएर १५–२० दिनसम्म कुहाउने र एक भाग विषादी र चार भाग पानी राखेर साँझको समयमा लगाउने हो भने कीराहरू विस्तारै हट्ने गर्छ । एउटा बालीलाई एकपटकमा कुखुराको सुली प्रतिकठ्ठा २० देखि २५ बोरा, उचित नामक प्राङ्गारिक मल, झोल मल र आवश्यक मात्रामा गोबर मल तथा पिना मल प्रयोग गर्छौं । योबाहेक हामी जैविक विषादीहरू पनि प्रयोग गर्छौं । कीरालाई आकर्षण गर्ने पासोसमेत प्रयोग गर्ने गरेका छौँ । सायदै प्रदेश–१ मा एकीकृत उत्पादनले गरिएको अर्गानिक खेती मानसरोवरले गर्न सफल भएको छ । अर्गानिक उत्पादनमा लागत बढ्छ भन्ने भ्रम हटाउनुपर्छ । अर्गानिक खेतीका लागि हर्मन, भिटामिन, विषादीलगायतमा बजारको मात्र निर्भर हुने हो भने यसको लागत बढ्छ । तर, कृषकले अर्गानिक उत्पादन गर्दा स्थानीय स्रोत र साधनको प्रयोग गर्नुपर्छ । यस विषयमा किसानहरूले ध्यान पु-याउनुपर्छ । कृषि ज्ञान केन्द्र, झापाले प्राङ्गारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रमका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ । सरकारले अर्गानिक खेती उत्पादन गर्ने किसानलाई शतप्रतिशत अनुदानका कार्यक्रम ल्याउनुपर्छ । कम्पोस्ट मल उत्पादनका लागि आवश्यक कार्यक्रम र बीउ उपलब्ध गराउनुपर्छ । स्थानीयस्तरमा नै मल बनाउनका लागि तालिम र चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

समृद्धिका लागि कृषि सहकारी आवश्यक
रोशन धिताल
बाली विज्ञान तेस्रो वर्ष अध्यनरत
सरस्वती प्राविधिक शिक्षालय, कमल गाउँपालिका, झापा
हाम्रो क्याम्पसमा पनि खेती गर्ने ठूलो क्षेत्रफल छ । त्यहाँ बाली लगाउँदै आइरहेका छौँ । सहकारीले उत्पादन गर्दै आएको अर्गानिक खेती हाम्रो अध्ययनको मुख्य स्रोत हो । अहिले अर्गानिक कृषि उत्पादन गरेर बजारमा पु-याउन समस्या छ । उत्पादकदेखि उपभोक्तासम्म तरकारी पुग्दा बिचौलीको हाबी भइसकेको हुन्छ । त्यसैले कृषि समृद्धिका लागि मानसरोवरजस्ता कृषि सहकारी हरेक स्थानीय तहमा हुनु आवश्यक छ ।
नेपाल कृषिप्रधान देश भएकाले सामान्य ज्ञान नभए पनि म कृषि अध्ययनमा आकर्षित भएँ । स्वदेशमै कृषि व्यवसाय गर्ने मेरो सोच हो । त्यसैले आफ्नै देशमा कृषिबाट परिवर्तन सम्भव देखेर कृषि अध्ययन सुरु गरेको हुँ । बढ्दो विषादी प्रयोगले माटोलाई असर त पु-याएको नै छ, मानव स्वास्थ्यमा समेत गम्भीर असर पुगेको देखिन्छ ।
हामी कृषि अध्ययनरत विद्यार्थीका लागि समूहिकताबाट नै अर्गानिक तरकारी उत्पादन हुनु थप हौसलाको विषय हो । अर्गानिक उत्पादनले कृषिजन्य वस्तुको गुणस्तर बढ्छ र तुलनात्मक रूपमा कृषिको लागत पनि घट्छ अनि किसानले अधिकतम आर्थिक लाभ प्राप्त गर्न सक्ने परिस्थिति सिर्जना हुन्छ । जो–कोही कृषि कर्ममा होमिनेले यो बुझ्नु आवश्यक छ ।