कारोबार संवाददाता
मंगलबार, असार २३, २०७७
504

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अन्नबाली उत्पादनको कुल क्षेत्रफलको करिब ४३ प्रतिशतमा धान खेती हुने गरेको तथ्यांक छ । कुल अन्नबाली उत्पादनमा २३ प्रतिशत धानको हिस्सा रहेको छ । नेपालमा वार्षिक करिब १.५ खर्ब रुपैयाँबराबरको धान तथा यसका सहउत्पादन हुने गरेको सरकारी अध्ययनले देखाएको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषिक्षेत्रको गार्हस्थ्य उत्पादनमा १५.३५ प्रतिशत योगदान छ । अझै महत्वपूर्ण पक्ष भनेको धानले कुल गार्हस्थ्य उत्पादनमा पार्ने प्रभाव पनि छ । धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत तलमाथि हुने भएकाले धान उत्पादनको सांस्कृतिकदेखि आर्थिक महत्व पनि उत्तिकै छ । धान उत्पादनका लागि बीउ, मल, सिँचाइ, प्र्रविधि र वर्षाको उत्तिकै महत्व हुन्छ र यो पटक समयमा वर्षा आएका कारण धान उत्पादनलाई सकारात्मक प्रभाव परेको देखिन्छ । तर, यस वर्ष कोरोना र मल आपूर्तिको समस्या भने चुनौतीका विषय बनेका छन् ।
नेपालमा धान उत्पादन परापूर्वदेखि गरिँदै आएको छ । धानलाई खाद्यान्न मात्र नभएर संस्कृतिको धरोहरका रूपमा लिने गरिन्छ भने हरेक वर्ष धान दिवस तथा राष्ट्रिय रोपाइँ महोत्सव पनि मनाउने गरिन्छ । यो वर्ष पनि ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ सत्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७७ मनाइएको छ । नेपालमा समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३ हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो) का रूपमा धानखेती हुने गर्छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धानखेती गरिन्छ, जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । धर्म, संस्कृति, खाद्य आपूर्तिदेखि अर्थतन्त्रमा समेत महत्वपूर्ण भूमिका खेल्ने धानको उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने सिंचाइ र मल आपूर्तिसमेतको व्यवस्था गर्न भने सरकार बर्सेनि चुक्ने गरेको छ । समयमै टेन्डर आह्वान गरे पनि कोरोनाका कारण कम मात्र भित्रिँदा आपूर्तिमा केही कमी भएको सरकारी स्पष्टोक्ति छ भने मल अभाव भएको किसानको गुनासो छ । प्रस्तुत छ, यिनै पृष्ठभूमिका नेपालको धान उत्पादन र कृषि सामग्रीको आपूर्ति अवस्था चित्रण गर्ने उद्देश्यले कारोबारले सरोकारवालाहरूसँग गरेको कुराकानीको सार :

आउँदो वर्ष उत्पादन बढ्छ, आत्मनिर्भरता सरकारको प्राथमिकता
कञ्चनराज पाण्डे
महानिर्देशक, कृषि विभाग
विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो । विश्वको ३.५ अर्ब जनसंख्याको आधारभूत खाद्य वस्तुका रूपमा रहेको धान खाद्य तथा पोषण सुरक्षाका लागि मानिसलाई आवश्यक पर्ने क्यालोरीको प्रमुख स्रोत हो । उत्पादनका हिसाबले नेपाल विश्वमै १७ औं स्थानमा पर्छ । धान नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा समेत महत्वपूर्ण बाली हो । नेपालको हिमाल, पहाड, तराई सबै भूगोलमा चामलको उत्तिकै महत्व र वैभव रहेको छ । नेपालमा ०७६-७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भई ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको छ । सम्भाव्य उत्पादकत्व र वास्तविक उत्पादकत्वबीच रहेको करिब ३० प्रतिशत फरकलाई कम गरी धानको उत्पादकत्व वृद्धिका लागि गुणस्तरीय मल, उन्नत बीउ, भरपर्दो सिँचाइ सुविधा तथा उपयुक्त प्राविधिक सेवाको सुनिश्चतता तथा रोजगारीका अवसरहरूको सिर्जना गर्न धान क्षेत्रलाई उद्योगसँग आबद्ध गरी आत्मनिर्भरता र समृद्धि हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई हासिल गर्न तीनै तहका सरकारहरूबाट रणनीतिक प्रयासको सुरुवात भइरहेको छ । यसका लागि वर्षे धानमा उत्पादकत्व वृद्धि तथा चैते धानको क्षेत्रफल विस्तार, सम्भावनाका आधारमा बोरो तथा घैया धानको क्षेत्रफल र उत्पादकत्व वृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
उत्पादन वृद्धिका लागि उन्नत जातको प्रयोगलाई बढावा दिन हालसम्म नेपालमा तराई, मध्यपहाड र उच्च पहाडका लागि सूचित गरिएका खुला सेचित र हाइब्रिड गरी जम्मा १ सय ३० वटा धानका जातहरू सिफारिस भइसकेका छन् भने वर्णशंकर जातको बढ्दो मागलाई सम्बोधन गर्न दुईवटा स्वदेशी हाइब्रिड धानका जातहरू सूचित हुने प्रक्रियामा रहेका छन् । साथै, सुक्खा तथा अर्धसिञ्चित अवस्थालाई मध्यनजर राखी डुबान तथा सुक्खा सहन गर्न सक्ने केही धानका जातहरूसमेत विकास भई कृषकहरूमाझ लोकप्रिय भएका छन् । धानको उत्पादकत्व वृद्धिका लागि रासायनिक मलको सहज तथा सुलभ उपलब्धताका लागि अनुदानमा मलखाद वितरणलाई विशेष प्राथमिकतामा राखिएको छ । उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि अन्य कार्यक्रम निरन्तर चलिरहेका छन् । यो वर्ष ‘संरक्षित कृषि, सुनिश्चित बचत’ को नीति कार्यान्वयनका लागि न्यूनतम समर्थन मूल्य एवं कृषि बिमा कार्यान्वयनको व्यवस्था गरिएको छ । न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयनका लागि इतिहासमै पहिलो पटक बाली लगाउनुभन्दा अघि मूल्य निर्धारण गर्ने कार्य आरम्भ गरिएको तथा स्थानीय तहमा खाद्य बैंक र स्टोरलगायतका पूर्वाधार तथा संरचना विकासका लागि विशेष जोड दिइएको छ । नेपालको भौगोलिक परिवेश सुहाउँदो कृषि यन्त्रहरूको प्रयोगबाट धानखेतीमा चाहिने मानव श्रमलाई विस्थापित गर्न तथा उत्पादन लागत घटाउन तिनै तहको सरकारबाट कृषि यान्त्रिकीकरण प्रवद्र्धन तथा प्रविधि प्रसारका कार्यक्रमहरू कार्यान्वयनमा रहेका छन् । नेपालको संविधानमा खाद्य सुरक्षा तीनै तहका सरकारको साझा अधिकार सूची रहेको र धान र चामलको पर्याप्त उपलब्धता नै खाद्य सुरक्षा प्रत्याभूतिको प्रमुख आधार भइरहेको हालको सन्दर्भमा धानबाली प्रवद्र्धनका लागि तीनै तहको सरकारबीच सामञ्जस्यता, सहकार्य र सुदृढ समन्वयका लागि ठोस पहलको सुरुवात गरिएको छ ।
कोभिड–१९ को चुनौतीका बाबजुद पनि यो वर्ष प्रि–मनसुन र मनसुन समयमै भएकाले अहिलेकै अवस्था रहिरहेमा धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौं । बीउबिजनको आपूर्तिदेखि समयमै मलखादको आपूर्तिसम्ममा हामी गम्भीर छौं । कतिपय स्थानमा कोरोनाका कारण कम मल आयात भएपछि कमी भएको देखिएको छ । तर, हामी अभाव हुन नदिने गरी कमाइ गरिरहेका छौं । संघीयतामा गइसकेपछि तीन तहका सरकार र सरकारी संयन्त्रबीच समन्वयमा केही अलमल हुँदा यसको असर कृषि उत्पादनमा पनि नपरेको होइन । तर, अबका दिनमा संघ, प्रदेश र स्थानीय तहबीच विभिन्न तहमा समन्वय निरन्तर भइरहेको छ । बीउ, मल, प्रविधि, प्राविधिकदेखि मलखादको आपूर्तिसम्म तीनै तहका सरकारको समन्वयमा सहज रूपमा गर्ने गरी काम भइरहेकाले आगामी वर्षमा समन्वयको समस्या हटेर जानेमा विश्वस्त छौं । सरकारको प्राथमिकतामा आत्मनिर्भरता रहेका कारण हामी यसैअनुरूप काम गरिरहेका छौं । आगामी वर्षहरू धान उत्पादनका लागि थप सरकारी प्राथमिकताका वर्ष हुनेछन् ।


चैते धान प्रवद्र्धन र कृषि सामग्री आपूर्तिले आत्मनिर्भरतामा सघाउँछ
भोलामान सिंह बस्नेत
धान विज्ञ, पूर्ववैज्ञानिक, नार्क
धान यस्तो अन्न बाली हो, जुन मान्छेलाई जन्मदेखि मृत्युसम्म मात्र नभई मृत्युपर्यन्त पनि आवश्यक पर्छ । जन्मकर्मदेखि मान्छे मरेपछि पनि श्राद्ध गर्दा पिण्डका रूपमा धानबाट बनेको चामलको प्रयोग गर्ने गरिन्छ । संस्कृति मात्र होइन, दैनिकी पनि हो धान । जापानका जनतामा मौसमका बारेमा कुरा गरेर भेटघाटको कुराकानी सुरु हुन्छ, नेपालमा ‘भात खानुभयोे ?’ बाट कुरा गर्ने चलन पनि छ । विश्वको कुल जनसंख्याको आधा हिस्साको मुख्य खाना नै धान हो । हामीले पढ्दादेखि पृथ्वीमा धानको उत्पत्ति १० हजार वर्ष पहिलेदेखि भएको भन्ने तथ्यलाई मान्दै आएका छौं । केही वर्षअघि बीबीसीले तयार गरेको समाचार सामग्रीमा १५ हजार वर्षअगाडि धानको सुरुवात भएको भन्ने प्रस्तुत गरेको पाएको थिएँ । जे होस्, यो हजारौं वर्षदेखि अस्तित्वमा रहेको बाली हो । उत्पत्तिका हिसाबले हेर्दा नेपाललाई पनि धानको उद्गम स्थलका रूपमा लिइन्छ । धानको जातलाई चार प्रकारले वर्गीकरण गर्न सकिन्छ, परम्परागत वा रैथाने जात, उन्नत धान, वर्णसंकर (हाइब्रिड) र जिनेटिकल्ली मोडिफाइड अग्र्यानिज्म (जीएमओ) जातको धान । चारै प्रकारका जातहरूमा विश्वभर उत्पादन र उत्पादकत्व बढाउने तथा वातावरणीय असर कम हुने खालका जातहरू संरक्षण र विकास गर्ने काम भइरहेको छ । जीएमओ बीउ नेपालमा प्रतिबन्धित छ । बाँकी तीन प्रकारका धानका जातहरूको प्रयोग भइरहेको छ । नेपालमा जीवनशैलीको परिवर्तन तथा उत्पादन र उत्पादत्व बढी भएका जातको विकास हुँदै गर्दा छायामा परेका ८ हजारभन्दा बढी धानका प्रजाति (जर्मप्लाज्म) जिन बैंकमा सुरक्षित गरिएका छन् ।
आजभन्दा १२ वर्षअघि विश्व खाद्य संकटको अवस्था आएको थियो । खानै पाइएन भने लडाइँ–झगडा हुन्छ भन्ने मान्यता नै छ । त्यसैले उत्पादन वृद्धिमा संयुक्त राष्ट्रसंघ नै सक्रिय भएर लाग्नुप¥यो । विश्वमा कुनै समय फेरि खाद्य संकट आयो वा नाकाबन्दी वा यस्तै प्राकृतिक विपत्तिले आयात गर्न नसक्ने अवस्था आयो भने के खाएर बाँच्ने ? त्यसैले कम्तीमा मुख्य खाद्यान्न बालीमा मुलुकलाई नै आत्मनिर्भर बनाउनैपर्छ । खाद्यान्नमध्ये मुख्य बाली भएकाले पनि धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा पर्नुपर्छ । यो कुरा मैले विगतदेखि नै गर्दै आएको छु । अहिले कोरोना भाइरसले विश्वमा खाद्य संकट ल्याउने देखिएको छ । अब त झन् सरकारको प्राथमिकतामा धान उत्पादन पर्नुपर्छ । गुणस्तरीय बीउ, मल, सिँचाइ र प्रविधि आत्मनिर्भरताको आधार हो । यससँगै विज्ञको पनि उत्तिकै महत्व छ । विज्ञलाई परिचालन गर्नमा सरकारले कम मात्र ध्यान दिएको देखिन्छ । पढेर, परेर सफलता हासिल गरेका विज्ञको संख्या बढाउनुपर्छ । मलमा ढैंचाको प्रयोग, धानमा बढी उत्पादकत्व भएको चैते बाली प्रवद्र्धन र कृषि सामग्रीको सहज उपलब्धता बढाउन सकेमा आत्मनिर्भर टाढा छैन । अहिलेसम्म हेर्दा धानले धेरै दिएको छ मुलुकलाई, तर मुलुकले धानलाई खासै दिएको छैन । धानलाई थप प्राथमिकतामा राखेर अगाडि बढ्नु जरुरी छ । यो वर्ष मौसमको अनुकूलताले धान उत्पादन वृद्धि हुने संकेत देखिएको छ । यो राम्रो पक्ष हो । यसलाई जोडबल गर्न सरकारी नीति तथा कार्यक्रम धान उत्पादन वृद्धिलाई प्रवद्र्धन गर्ने खालका हुनुपर्छ । उन्नत बीउको प्रयोगमा जोड दिंदै आवश्यक कृषि सामग्रीको आपूर्ति गर्न सकियो भने धान उत्पादनमा आकाशे पानीको मात्र भर पर्नु पर्दैन । यद्यपि सबै कुरा पुग्दा पनि आकाशे पानीको पनि उत्पादनमा उत्तिकै महत्व भने रहन्छ ।

सम्भावित खाद्य संकट रोक्न धान उत्पादनलाई प्राथमिकता
उद्धव अधिकारी
संयोजक, खाद्यका लागि कृषि अभियान
कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै विक्षिप्त बनिरहेको छ । रोजगारीका बाटाहरू बन्द भएका छन् । विश्व खाद्य संकटउन्मुख भएको तथ्यहरू बाहिर आइरहेका छन् । नेपालमा पनि यसको प्रभावलाई कम आँक्ने अवस्था छैन । सबै सुरक्षित हुन लकडाउनको नियम पालना गर्नुपर्नेछ । सबै खाले व्यापार–व्यवसाय र कामहरू ठप्प हुँदा कृषि कर्मलाई भने रोकिने छुट छैन । मुख्यबाली धान र मकै रोप्ने सिजन भएकाले किसानहरू जोखिम मोलेरै तर सकेसम्म भौतिक दूरी र मापदण्ड पालना गरेर खेतीपाती गरिरहेको अवस्था छ । धान मुलुकको प्रमुख बाली भएकाले पनि धानमा अलिक बढी केन्द्रित हुनु स्वाभाविक छ । हाम्रो प्रमुख खाना भात भएकाले पनि धान उत्पादनको तथ्य र तथ्यांकले हाम्रो खाद्य सुरक्षाको अवस्थालाई दर्साउँछ । हाम्रो खाने बानीमा भएको परिवर्तनका कारणले पनि धानमा थप निर्भर हुनुपरेको पनि यथार्थ हो । ढिडो वा रोटीभन्दा भात नै खाने प्रचलन नेपालमा छ । नेपालमात्र नभई दक्षिण एसियामै यस्तो प्रचलन छ । सबै खाले अन्न मिलाएर खाएमा अहिले पनि हामीलाई ३०–४० अर्बको चामल आयात गर्नुपर्ने अवस्था आउने थिएन । तर, हामीले नचाहेरै नपुग चामल आयात गरेर खानुपरेको छ । जनतालाई खाद्य संकटको अवस्था सामना गर्न नदिने धान उत्पादनलाई प्राथमिकता दिनुपर्ने अवस्था छ । तीन तहका सरकारबीच आवश्यक समन्वय हुन नसक्दा समस्यामा परेको कृषिको मूल्य श्रृंखला सुधार भएमा पनि उत्पादन र उत्पादनकत्व बढाउन धेरै मद्दत पुग्छ । यो वर्ष सरकारले धान रोप्नुअघि नै धानको समर्थन मूल्य तोकेर सराहनीय काम गरेको छ । हामी किसानहरू यसको कार्यान्वयनको पर्खाइमा छौं । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश मन्त्रालयलाई कार्यान्वयन र समन्वयका लागि परिपत्र पनि गरेको छ । जे–जस्तो अवस्थामा रहेको भए पनि समर्थन मूल्यको कार्यान्वयनले किसानको आत्मबल बढाउँछ ।
यो वर्षको धान दिवस मनाइरहँदा समयमा सुरु भएको मौसम किसानका लागि खुसीको कुरा हो । यस अर्थमा समर्थन मूल्य र मौसमको अनुकूलता दुवै पक्ष आगामी वर्ष धान उत्पादनका लागि सकारात्मक विषय हुन् । यससँग मलको आपूर्तिमा देखिएको समस्याको विषय पनि उत्तिकै चुनौतीको विषय हो । कोरोना भाइरसका कारण होस् वा अन्य कारण होस्, विगतको जस्तै मल अभावको समाचार यो वर्ष पनि सुन्नुपरेको छ । यो वर्ष कोरोनाका कारण होला, तर विगतदेखि वितरण प्रणालीमा हुने कमी–कमजोरीका कारण किसानले समयमा मल नपाएको पनि साँचो हो । सरकारले यो समस्यालाई छिटै समाधान गर्नुपर्छ । जहाँसम्म रासायनिक मल आपूर्तिको कुरा छ, रासायनिक मललाई पूरै रोक्न त गाह्रो छ, तर प्रांगारिकको प्रयोगलाई पनि सँगसँगै अगाडि बढाउनुपर्छ । कोरोनालाई अवसरका रूपमा बदल्ने कुरा पनि चलिरहेको छ । हिजो बाँझिएका जमिनलाई कृषिभूमिमा परिणत गर्न सकेमा धानमात्र नभई अन्य उत्पादन पनि बढाउन सकिन्छ । उन्नत बीउ–बीजनको समयमा उपलब्धता र प्रविधि तथा प्राविधिक सेवा उपलब्ध गराउन सरकारी निकाय सक्रिय हुनुपर्छ । करिब ८ हजार कृषि प्राविधिकको दरबन्दी खाली रहेको वर्तमान अवस्थालाई सरकारले सम्बोधन गर्नुपर्छ । आधुनिकताका नाममा रैथाने बीउको संरक्षणलाई पनि बेवास्ता गरिनु हुन्न । सरकारको प्राथमिकतामा पर्नुपर्छ । सधैं आकाशे पानीमा मात्र भर नपरेर सिँचाइको क्षेत्र बढाउन सकियो भने धान उत्पादन र खाद्य सुरक्षामा मद्दत हुन्छ । अन्तरसरकारी निकाय समन्वयको समस्या पनि कृषि उत्पादनमा भूमिका रहने हुँदा सरकारको भूमिका बढी छ । किसानले पनि सरकारको भर नपरेर स्थानीय निकायमार्फत सरकारलाई दबाब दिने काम पनि गर्नुपर्छ । खाद्य सुरक्षा तपाईं–हामी सबैको जिम्मेवारी हो ।