राजेन्द्र बस्नेत
आइतवार, जेठ १८, २०७७
700

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका प्रायः सबै मुलुकमा फैलिसकेको छ । नेपालले पनि कोभिड–१९ को संक्रमण फैलन नदिन चैत ६ गतेबाट एसईई परीक्षा रोकी चैत ११ गतेबाट मुलकभर बन्दाबन्दी गराएको छ । बन्दाबन्दी हुँदा स्वदेशमै मजदुरी तथा रोजगारीका लागि गएकाहरू घर फर्केका छन् । वैदेशिक रोजगारीमा रहेकाहरू पनि स्वदेश फर्कन आतुर छन् । यतिबेला गाउँघर प्रायः भरिभराउ छन् । विदेश गएका बाहेकका सबै सदस्य घरमै छन् । वर्षौंदेखि बाँझो रहेको जग्गा–जमिन खानजोत गरिएको छ । बन्दाबन्दी खुलेपछि पनि मानिसहरूलाई गाउँमै बसेर काम गर्ने वातावरण र्सिजना गर्न संघीय सरकारले आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रम र बजेट ल्याइसकेको, प्रदेश तथा स्थानीय सरकारले धमाधम नीति तथा कार्यक्रम ल्याइरहेको र बजेट बनाउने क्रम सुरु भएको सन्दर्भमा धुनीबेसी नगरपालिका तथा गजुरी, त्रिपुरासुन्दरी र खनियावास गाउँपालिकाका प्रमुख÷अध्यक्षसँग काराबोरकर्मी राजेन्द्र बस्नेतले गरेको कुराकानीको सार :

कृषि पेसालाई व्यवसायमा रूपान्तरण गर्छौं
बालकृष्ण आचार्य
प्रमुख, धुनीबेसी नगरपालिका
बन्दाबन्दी कहिलेसम्म जान्छ र यसको प्रभाव कुन–कुन क्षेत्रमा पर्छ भन्ने यकिन छैन । नागरिकको घरदैलोको सरकारका रूपमा नगरपालिका बन्दाबन्दी अवस्थामा पनि सामाजिक तथा भौतिक दूरी कायम गरी काममा खटिरहेका छौं । यो नगरपालिकाका अधिकांश परिवारको मुख्य पेसा कृषि भएकाले व्यावसायिक तरकारी उत्पादन क्षेत्रको पहिचान बनाएको छ । बन्दाबन्दीमा पनि किसानको तरकारी बारीमै नकुहियोस् र काठमाडांैका उपभोक्तालाई तरकारी खान पनि पाइएन भन्ने नहोस् भनेर होम भेलीभरी गरी तरकारी बिक्री गर्ने प्रबन्ध गरिएको छ । कृषिलाई पहिलो प्राथमिकतामै राख्छौं । त्यसपछि खानेपानी, स्वास्थ्य र सडकसहितका पूर्वाधार विकास नगरपालिकाको प्राथमिकतामा रहनेछ । अहिले हामी किसानहरूको पहिचान गर्दैछौं । कुन परिवार निर्वाहमुखी कृषि गर्दैछ ? कुन परिवार व्यावसायिक कृषि गर्दैछ ? व्यावसायिक कृषि गर्ने परिवारमध्ये पनि उहाँको मुख्य व्यवसाय के हो । तरकारी उत्पादन, दूध उत्पादन, खाद्यान्न उत्पादन, कुखुरा पालन, बाख्रा पालन छुट्याएर त्यसका आधारमा नीति तथा कार्यक्रम र बजेट व्यवस्था गर्छौं । कृषि पेसालाई व्यवसायमा रूपान्तरण गरेर युवाहरूलाई आकर्षित गरी कृषि व्यवसायलाई मर्यादित र सम्मानित बनाउने प्रयास गर्नेछौँ । पढेलेखेकाले मात्र आधुनिक सूचना–प्रविधिको प्रयोग गर्नसक्ने भएकाले युवाहरूलाई नै कृषि क्षेत्रप्रति आकर्षित गर्नुपर्नेछ । नेपाल सरकारको सहयोगमा चारवटा सहकारीसँग सहकारी बजार विकास कार्यक्रम रहेका छौं । ती सहकारीहरूमा तीनवटा तरकारी संकलन केन्द्र निर्माण गरिसकेका छौँ । अब तरकारी ढुवानी गर्न गाडी ल्याउने तयारी छ । नगरपालिकाका ९ वटै वडामा तरकारी संकलन केन्द्र बनाउने योजना छ । तरकारी बजार निर्देशनालयको नाममा रहेको वडा नं. ६ धार्केस्थित जग्गा भोगाधिकारका लागि प्रयासरत छौँ । त्यो जग्गा प्राप्त भएपछि तरकारी बजार सञ्चालन गर्ने योजना छ । राष्ट्रिय र मुख्य राजमार्गमा रहेको धुनीबेसी नगरपालिकाका किसानले उत्पादन गरेको तरकारी मौसमअनुसार सबै जिल्लामा पु-याउन सकिन्छ ।

नागरिकको खाद्य सुरक्षा पहिलो प्राथमिकता
राजेन्द्रविक्रम बस्नेत
अध्यक्ष, गजुरी गाउँपालिका
स्वस्थ रहन खाद्य तथा पोषण अपरिहार्य छ । खाना मानिसको पहिलो सर्त नै हो । खानकै लागि १८ घण्टा काम गर्नुपर्ने नागरिक छन् । उहाँहरूलाई नै मध्यनजर गरेर एक घर एक धारा कार्यक्रम पहिलो वर्षको नीति तथा कार्यक्रममा राखेर काम गरिरहेका छौं । नागरिकको खाद्य सुरक्षाका लागि ‘आर्थिक तथा समाजिक समानता, भोकभरीमुक्त गजुरी गाउँपालिका’ परिकल्पनासहित नेपालमै पहिलो पटक खाद्य तथा पोषण सुरक्षा रणनीति योजना बनाएर काम गरिरहेका छौं । कोराना भाइरसले मुलुक बन्दाबन्दी अवस्थामा रहेका बेला ज्याला–मजदुरी गरी खानुपर्ने अवस्थाका परिवारलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यले फुड बैंक स्थापना गरेर राहत वितरण गरिरहेका छौं । फुड बैंक पनि पहिलो नै हुनुपर्छ । संविधानले नै मौलिक हकका रूपमा स्थापित गरेका खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई प्राथमिकता दिनुपर्छ । परम्परागत कृषिलाई व्यावसायिक बनाउनुपर्छ । त्यसका लागि एक परिवार एक सदस्य रहने गरी कृषक समूह वा संस्थामा आबद्ध गराउने गरी काम गर्नेछौं । त्रिशूली किनारदेखि महाभारत लेकसम्मको भूभागलाई तीन वर्गमा विभाजन गरेर हावापानी सुहाउँदो बाली लगाउन र पशुपन्छी व्यवसाय गर्न युवालाई आकर्षित गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउँछौं । रोजगारीका लागि स्वदेश तथा विदेश गएर कोभिड–१९ को संक्रमण फैलन नदिन गरेको बन्दाबन्दीबाट नराम्री प्रभावित भएका छन् । उनीहरूलाई गाउँमै स्वरोजगार र व्यवसायी बनाउनु हाम्रो दायित्व पनि हो । वर्षभरि खान नपुग्ने परिवारलाई खान पुग्ने बनाउने र खान पुग्ने परिवारलाई बिक्री गर्ने बनाउने योजना छ । कृषिजन्य उत्पादन र बजारीकरण गर्न चारवटा कृषि सहकारीहरूसँग साझेदारी सुरु गरेका छौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा सहकारी बजार विकास कार्यक्रम गरिरहेका छौं । अब सहकारीलाई तरकारी ढुवानी गर्न गाडी व्यवस्था गर्दै छौं । किसानको उत्पादनलाई उपभोक्तासम्म पु-याउन गर्नुपर्ने सबै काम गरेर निर्वाहमुखी किसानलाई व्यावसायिक किसान बन्न आकर्षित गर्ने गरी बजेट बनाउँछौं । सबै परिवारले न्यूनतम रोजगारी तथा उत्पादनसँग जोडिएपछि भोको बस्नुपर्ने अवस्था आउँदैन र ‘आर्थिक तथा सामाजिक समानता, भोकमरीमुक्त गजुरी गाउँपालिका’ हुने विश्वास छ ।

युवा रोजगार केन्द्रित बजेट बनाउँछौं
शम्भुकुमार थापा
अध्यक्ष, त्रिपुरासुन्दरी गाउँपालिका
कोरोना भाइरस संक्रमण फैलन नदिन गरेको बन्दाबन्दीले स्वदेश तथा विदेशमा रोजगारी गर्न गएका उत्पादनशील जनशक्तिको रोजगरी गुम्ने अवस्था देखापरेको छ । श्रीमान् वैदेशिक रोगजारीमा जाँदा श्रीमती बच्चा पढाउन भन्दै गाउँ छाडेर सहरबजार गएसँगै गाउँघर बसेका वृद्धहरूले खेतीपाती गर्न नसक्दा जग्गाजमिन बाँझिएको छ । बन्दाबन्दी अवस्थामा पानी परेका कारण केही जग्गाजमिन खनजोत भएका छन् । बन्दाबन्दीमा घर बसेका युवाहरूलाई र वैदेशिक रोजगारीबाट स्वदेश फर्कन चाहेकाहरूलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम र बजेट बनाउन छलफल सुरु गरेका छौं । अहिले करिब २ सय ५० परिवार अस्थायी रूपमा धादिङबेसी, काठमाडौंसहितका सहरबजारमा बस्दै आएका छन् । अमेरिका, युरोपसहित खाडी मुलुकमा २ हजार ३ सय जनाको हाराहारीमा रोजगारीमा छन् । तीमध्ये ५ सय जनाजति व्यवसायमा होलान् । बाँकी अरू ज्याला–मजदुरीमै छन् । उनीहरू घर पर्कन पाए हुन्थ्यो भन्ने पक्षमा छन् । गाउँमै युवा रोजगार सिर्जना गर्ने एउटा माध्यम हो–कृषि व्यवसाय । सल्यानटारको मासलाई प्रवद्र्धन गर्नेसहित कृषि उत्पादन क्षेत्रमा नयाँ प्रविधि भिœयाउन आवश्यक छ । खाद्यान्न उत्पादन, दलहन बाली, मसला बाली, पशुपालनको सम्भावना भएकाले पुरानै कामलाई नयाँ प्रविधिमा आधारित भएर काम गर्ने अवसर छ । कोभिड–१९ को महामारीबाट उत्पन्न समस्या तथा चुनौतीलाई अवसरका रूपमा लिएर काम गर्न सके वरदान सावित हुन्छ । ख्यालख्याल सोचेर काम ग-यौं भने ठूलो आर्थिक संकट तथा भोकमरी सिर्जना हुने अवस्था आउन सक्छ । त्यसकारण युवा रोजगार केन्द्रित भएर उत्पादनमुखी नीति तथा कार्यक्रम र बजेट बनाउन छलफल चलाएका छौं ।

एकजना पनि कृषि प्राविधिक छैन
रणबहादुर तामाङ
अध्यक्ष, खनियावास गाउँपालिका
कोरोना भाइरसको संक्रमण फैलन नदिन गरेको बन्दाबन्दीमा गाउँबाट अस्थायी रूपमा अन्यन्त्र गएकाहरू घर फर्किआएका छन् । वर्षौंदेखि बाँझो रहेका जग्गा खनजोत गरिएका छन् । अप्ठ्यारोमा आफ्नै गाउँ प्यारो भएको छ । उनीहरूलाई गाउँमै राखेर रोजगारी दिन सके मात्र स्थानीय सरकार भएको ठहरिन्छ । तर, नेपाल सरकारले आवश्यक जनशक्ति दिएको छैन । कृषि तथा पशुपन्छी प्राविधिक कर्मचारी नपठाउँदा फरक मतबाट जितेर गरेको व्यवहार हो कि जस्तो लाग्छ । अधिकांश परिवारको जीविकोपार्जन कृषि तथा पशुपालन हो, तर प्राविधिक छैनन् । अहिलेको अवस्थामा स्वास्थ्य अनिवार्य सर्त हो । त्यसबाहेक शिक्षालाई दोस्रो प्राथमिकतामा राखेका छौं । त्यसपछि कृषि र भौतिक पूर्वाधार पर्छ । श्रीमान् स्वदेश तथा विदेश रोजगारीमा जानेबित्तिकै श्रीमती बच्चा पढाउने बहानामा सहरबजार छिर्ने प्रवृत्ति रोक्न अंग्रेजी माध्यममा नमुना दिनुपर्र्नेे भएकाले कृषिभन्दा शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौं । यस शैक्षिक सत्रबाट वडा नं. ५ को बच्छलादेवी माध्यमिक विद्यालय, वडा नं. ३ को ल्याक्चेकुण्ड आधारभूत विद्यालय र वडा नं. २ को लेकाली आधारभूत विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गर्ने योजना छ । आगामी शैक्षिक सत्रमा सबै विद्यालयमा सुरु गरी बालबच्चा पढाउन घर छोडेर कोठामा बस्नुपर्ने अवस्थालाई अन्त्य गर्ने योजना बनाएका छौं । बालबालिकालाई शिक्षासँगै उनका अभिभावकलाई रोजगारी नदिए फेरि गाउँमा बसेको अर्थ पनि हुन्न । गाउँमा बसेर बजारकै खाद्य सामग्री किनेर खानुपर्ने अवस्था आए झन् परिवारको खर्च बढ्छ । त्यसकारण कृषिलाई उत्पादन र बजारीकणसँग जोडेर रोजगारी सिर्जना गर्न कृषि क्षेत्रको विकास गर्नु आवश्यक छ । विकट बस्तीहरूमा सडक सञ्जाल जोड्नु र वर्षभरि सञ्चालन गर्नु अर्को काम हो । नेपाल सरकार र प्रदेश सरकारले कस्तो कार्यक्रम र बजेट पठाउँछ, त्यसमा पनि निर्भर हुन्छ । बजेट पठाएर मात्र भएन, कर्मचारी पनि चाहिन्छ ।