कारोबार संवाददाता
सोमवार, बैशाख २९, २०७७
488

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र विश्व मानव समुदाय र अर्थतन्त्र प्रभावित भएको अवस्था छ । यसको प्रभाव नेपालमा पनि उत्तिकै रहेको छ । फलस्वरूप नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि गत चैत ११ गतेदेखि लकडाउन सुरु गरी आगामी जेठ ५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । सोअनुसार अधिकांश उद्योगधन्दा, व्यापार–व्यवसाय ठप्प रहेको अवस्था छ । यो समयमा धितोपत्र बजार पनि बन्द नै रह्यो । अन्तर्राष्ट्रिय रूपमा लकडाउनका समयमा पनि सेयर बजारमा कारोबार जारी रहेको भए पनि नेपालमा भने बन्द नै रह्यो । तर, लामो समयसम्म सेयर बजार बन्द राख्न नहुने निर्णयसहित अर्थ मन्त्रालयले सेयर बजार खुलाउन निर्देशन दिएसँगै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्बन्धित सरोकारवालासँग छलफल गरेर ३० गते मंगलबारदेखि सेयर कारोबार गर्ने तयारी गरिरहेको अवस्था छ । मंगलबार हुने कारोबार पनि नियमित कारोबारभन्दा धेरै नियन्त्रित अवस्थामा हुनेछ । मंगलबारदेखि कारोबार खुलाउन तथा कारोबार गर्ने संयन्त्र निर्धारण गरेर नेपाल धितोपत्र बोर्डले नेप्से तथा अन्य सम्बन्धित संस्थाहरूलाई निर्देशन दिएको छ । बोर्डले लकडाउन खुकुलो भएसँगै सेयर बजार खुलाउने निर्णय गरेको हो । सेयर बजारमा लगानी गरेरै दैनिक जीवन चलाउनेलाई लक्षित गरी कारोबार खुलाउन लागेको सरोकारवालाको तर्क छ ।
अहिलेको अवस्थामा नयाँ कारोबार पद्धतिअनुसार सेयर मूल्यमा धेरै उतारचढाव नहुने भएकाले कारोबारी बजारमा नआउने समेत उनीहरूको दाबी छ । बजारमा अस्वाभाविक उतारचढाव नियन्त्रणको संयन्त्र बनाएर मंगलबारदेखि विद्युतीय भुक्तानीमा आधारित भई सेयर कारोबार सुचारु गर्ने निर्णय गरेको छ । आइतबार र सोमबार आवश्यक तयारी गरी मंगलबारदेखि सेयर कारोबार खुलाउने अर्थात् मेरो सेयरमा नजोडिएका लगानीकर्तालाई मेरो सेयरमा आबद्ध हुन तथा कनेक्ट आईपीएसमा आबद्ध हुनका लागि समय उपलब्ध गराएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार नेप्सेलाई आगामी आइतबारदेखि कार्यालय तथा मंगलबारदेखि बिहान ११ बजेदेखि १ बजेसम्म दैनिक २ घण्टा कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले डिजिटल कारोबारका लागि नेप्से तथा ब्रोकरलाई प्रोत्साहन गर्ने निर्देशन दिएको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्थामार्फत हुने अतिआवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरेसँगै सेयर कारोबार सुचारु हुन लागेको हो । बोर्डले बजारमा उच्च चलखेल हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेप्से परिसूचक २ प्रतिशत घटे वा बढे सर्किट ब्रेकरको प्रयोग गरी बजार बन्द गर्ने व्यवस्था गरेको छ ।
कोरोनाको प्रभाव रहुन्जेल यो व्यवस्था लागू हुनेछ । त्यसैगरी बोर्डले कम्पनीको सेयर कारोबारको हकमा १० प्रतिशतसम्म मूल्य तलमाथि गर्न सकिने व्यवस्थालाई घटाएर ३ प्रतिशतमा झारेको छ । सेयर मूल्यमा ३ प्रतिशत घटबढ हुुने व्यवस्था गरिएको छ । अघिल्लो दिनको कारोबार मूल्यमा १ प्रतिशतमा मात्र घटाएर वा बढाएर कारोबार गर्न सकिने व्यवस्था गरेको छ । कारोबार सुचारु भइसकेपछिको कारोबारमा २ प्रतिशतभन्दा धेरै शेयर मूल्य घटबढ गरेर मात्र कारोबार गर्न सकिने व्यवस्था गरेको छ । मंगलबारदेखि धितोपत्रको कारोबार गर्नका लागि सम्बन्धित निकायहरूको तयारीका विषयमा सरोकारवालासँग कारोबारले गरेको कुराकानी :

नियामक निकायको निर्देशनअनुसार काम गर्ने हो
चन्द्रसिंह साउद
प्रमुख कार्यकारी अधिकृत, नेपाल स्टक एक्सचेन्ज
जटिल परिस्थितिका बाबजुद पनि अर्थ मन्त्रालय धितोपत्र बोर्डले बजार खुलाउनका लागि निर्देशन दिएको हुनाले कानुनअनुसार हामीले बजार खुलाउने तयारी गरेको हो । त्यसमा पछिल्लो समयमा प्रयोग नै नगरी नेप्सेको अनलाइन प्रणालीलाई दोष दिएको अवस्था थियो । त्यसको सन्दर्भमा पनि लगानीकर्ता आफैंले प्रयोग गरेर नै हेर्न पाउने अवस्था छ । यसलाई हामीले सकारात्मक रूपमा लिनु पनि पर्छ । अहिलेको जटिल अवस्थामा पुँजीबजारलाई पूर्ण प्रविधिमैत्री बनाउनका लागि अवसरका रूपमा पनि देखापरेको छ । यसमा हामीले एनसीएचएल, सीडीएसलगायतका धितोपत्र बजारसँग सम्बन्धित पक्षहरूसँग छलफल गरेर उपयुक्त व्यवस्थाको प्रबन्ध पनि गरेको अवस्था छ । अहिलेको अवस्थामा धेरै मानिस जम्मा हुने भीडभाड गर्न नहुने भएकाले पनि त्यसलाई समेत ध्यानमा राखेर काम गर्ने तयारी गरेका छांै । अहिलेको अवस्थामा ब्रोकर अफिस नगई लगानीकर्तालाई अनलाइन कारोबार आईडी र पासवर्ड उपलब्ध हुने अवस्था छ । त्यसका लागि शुल्क पनि नलाग्ने व्यवस्था गरिएको छ । त्यसैगरी अहिलेको अवस्थामा निक्षेप खाता नवीकरण तथा मेरो सेयरको खाता नवीकरण र त्यसमा आबद्ध हुनका लागि समेत उपयुक्त प्रबन्ध मिलाएका छौं । त्यसका लागि लगानीकर्ता फोन वा इमेलमार्फत गर्न सक्छन् । सेयरको कारोबार भइसकेपछि राफसाफका लागि आवश्यक मानिएका ईडीआईएसमार्फत सेयर स्थानान्तरण गर्ने र एनसीएचएलमार्फत कनेक्ट आईपीएसमार्फत रकम भुक्तानी गर्ने व्यवस्था गरिएको छ । सेयर बिक्री गरेको खण्डमा ब्रोकर कम्पनीले बिक्री गर्ने लगानीकर्ताको खातामा जम्मा गरिदिन्छ । खरिद गरेको अवस्थामा कनेक्ट आईपीएसमार्फत वा अनलाइन बैंकिङमार्फत भुक्तानी गर्न सकिने अवस्था तयार छ । यो अनिवार्यजस्तै छ । कनेक्ट आईपीएसमा आबद्ध नभएका लगानीकर्ता पनि दूरी कायम गरेर एकपटक बैंकसम्म पुग्न त्यसमा आबद्ध हुनु प¥यो । बैंकले विश्वास गरेका लगानीकर्तालाई त इमेलमार्फत नै अनुरोध आएको अवस्थामा पनि कनेक्ट आईपीएसमा आबद्ध गराएको अवस्था छ । बैंकका शाखाहरू खुलेको अवस्था हो । विगतका दिनमा पनि बैंकमा निक्षेपकर्ताहरू गएको अवस्था हो । एकपटक बैंकमा गएर कनेक्ट आईपीएसमा आबद्ध भएपछि घरमै बसेर सेयर किनबेच गर्न सकिन्छ ।
अहिलेको विशेष परिस्थितिमा कसैले बजार खोल भन्ने तथा कसैले बजार बन्द गर भन्ने भन्दैमा बजार खोल्ने वा बन्द गर्ने होइन । हामीले नियम–कानुनका आधारमा नियामक निकायले दिएको निर्देशनअनुसार अघि बढ्ने हो । बजार बन्द गर्दा पनि नियामक निकायले बजार बन्द गर्न निर्देशन दिएको अवस्था थियो । अहिलेको अवस्थामा पनि अर्थ मन्त्रालय तथा धितोपत्र बोर्डले बजार खोल्न निर्देशन दिएको हुनाले खोल्न लागेको हो । पुँजी बजारसँग सम्बन्धित सबै अधिकारीले सामाजिक दूरी कायम गरेर सेवा लिन तथा दिनका लागि अनुरोध गरेका छांै । अहिलेको अवस्थामा बजारका कारोबारी लगानीकता तथा अन्य सबै लगानीकर्ता बजारमा कारोबारका लागि आउँछन् भन्ने हाम्रो अनुमान होइन । पुँजीबजारबाट दैनिकी चलाई जीवन निर्वाह गर्ने लगानीकर्ताका लागि केन्द्रित भएर बजार खुलाइएको छ ।
पछिल्लो समयमा पूर्ण अटोमेटेड अनलाइन कारोबार प्रणाली भएन भन्ने गुनासाहरू पनि लगानीकर्ताबाट आउने गरेको थियो । अहिले सामाजिक दूरी कायम गरेर एकपटक गर्ने काम गरेर अनलाइन सिस्टम पूर्ण छ कि छैन, त्यसका लागि कारोबार गरेर हेर्न पनि आग्रह गर्छौं । कहींकतै कमी–कमजोरी रहेको वा अन्तर्राष्ट्रिय अभ्यासअनुसार नभएको अवस्थामा प्रयोग गरेर सुझाव दिएको खण्डमा नेप्से त्यसको सुधारका लागि सधैं तयार छ । अहिलेको अवस्थामा सेयर कारोबार पनि ठूलो मात्रामा नहोला । त्यसैले आइतबार र सोमबार त्यसको तयारीका लागि लगानीकर्ता तथा सम्बद्ध पक्षहरूलाई समय दिएको अवस्था हो । बजारमा लाखांै लगानीकर्ता भएकाले हरेकको कुरा फरक हुन्छ । नियामक निकायको निर्देशनअनुसार काम गर्ने हो । सोहीअनुसार हामीले मंगलबारदेखि बजार खोल्ने तयारी गरेका छौं । यो अवस्थामा लगानीकर्तालाई कुनै जटिलता आयो वा असुविधा भयो भने सबै निकायमा हेल्प डेस्क राख्ने व्यवस्था पनि गरेका छौं । मंगलबारदेखि हुने कारोबारका लागि एनसीएचलसँग पनि छलफल गरेका छौं । त्यसका लागि नेपाल राष्ट्र बैंकसँग समेत सहकार्य गरेर डिजिटल भुक्तानीको सीमा खुकुलो बनाई बजारमा कारोबार गर्न सहज बनाउने कुरा भएको छ ।


सुरक्षित भएर सेवा लिन, दिनपर्ने हुन्छ
धु्रव तिमिल्सिना
अध्यक्ष, मर्चेन्ट बैंकर एसोसिएसन
अहिलेको अवस्था धितोपत्र बजारका सेयर कारोबार भएको अवस्थामा मर्चेन्ट बैंकरले डीपी सेवा प्रदान गर्ने हो । त्यसका साथै हामीले सेयर कारोबार भइसकेपछिको राफसाफका लागि सेवा दिने हो । सीडीएसले विगतमा बाँकी रहेको राफसाफ भोलि गर्ने भनेको छ । त्यसका लागि हामीलाई समस्या छैन । मंगलबारदेखि सेयर कारोबार खुल्दा ईडीआईएस अनिवार्य भनेको छ । त्यसले गर्दा भौतिक डीआईएस थियो । त्यो डीपीसम्म आइपुग्दैन । डीपीमा आउने ईडीआईएस छ त्यसलाई स्वीकृत गर्नका लागि हामीले घरबाटै पनि अधिकार प्राप्त कर्मचारीले गर्न सक्ने अवस्था रहन्छ । सबै मर्चेन्ट बैंकरले सञ्चालन गरेका डीपीका लागि लगानीकर्ताले पठाएको ईडीआईएसलाई घरबाट पनि सिस्टमलाई एक्सेस गरेर स्वीकृत गर्न सक्ने अवस्था बनेको छ । देशैभरिबाट गरिएका ईडीआईएस स्वीकृत गर्न समस्या छैन । यसले गर्दा सेयर कारोबारको राफसाफ गर्नका लागि मर्चेन्ट बैंकरमार्फत समस्या भएन ।
कारोबारको भुक्तानी राफसाफका सन्दर्भमा हामीसँग जोडिएको कुरा भएन । त्यो भनेको ब्रोकर र लगानीकर्ताबीचको कुरा हो । त्यसमा पनि बिक्री गरेको अवस्थामा लगानीकर्ताको खातामा नै धितोपत्र ब्रोकरले पैसा जम्मा गरिदिने कुरा छ । त्यसैगरी खरिद गरेको खण्डमा पनि कनेक्ट आईपीएस वा अनलाइन बैंकिङमार्फत भुक्तानी दिने कुरा भएको छ । त्यसैगरी सेयरको खरिद–बिक्री आदेश दिनका लागि ब्रोकर अफिस जानुपर्ने अवस्था हिजो पनि थिएन । खरिद गरेको सन्दर्भमा कनेक्ट आईपीएस र अनलाइन बैंकिङबाट पर्याप्त हँुदैन कि । यसमा नियामक निकायले पनि ध्यान पु¥याउनुपर्छ । खरिद गरेको खण्डमा सबै लगानीकर्ताले कनेक्ट आईपीएस लिएका छैनन् । सबै लगानीकर्ता अनलाइनमार्फत भुक्तानी दिन सक्ने अवस्थामा पनि छैनन् । त्यसले गर्दाखेरि धितोपत्र बोर्डले प्रोत्साहन गर्ने र आगामी साउन १ गतेदेखि अनिवार्य विद्युतीय भुक्तानी गरेको हुनसक्छ । चासोको विषयले सामूहिक लगानी कोष पनि बजारको लगानीकर्ता भएको नाताले धितोपत्रको दोस्रो बजारमा मूल्य निर्धारण हुँदा विवाद आउन हँुदैन भन्ने नै हो । सिस्टमका कारणले धितोपत्र बजारको खरिद तथा बिक्री पक्षमा असन्तुलन कायम गरेर मूल्य निर्धारण हुने अभ्यासको विकास हुन भएन । त्यस विषयमा धितोपत्र बोर्डले सम्बोधन गर्न खोजेको देखिन्छ । तर, त्यो पर्याप्त हुन्छ कि हँुदैन भन्ने विषयमा हेर्न बाँकी नै छ । यस विषयमा कारोबारको सन्दर्भमा धितोपत्र बोर्डले निगरानी बढाउनुपर्ने देखिन्छ । त्यसका साथै सर्किट ब्रेकरबाट पनि अहिलेको अवस्थामा अनावश्यक चलखेल गर्न नसक्ने अवस्था देखिन्छ । चलखेल गरेपछि धेरै ठूलो रकमको चलखेल गर्न सक्दैन । कोरोनाको असर सबै क्षेत्रमा रहेकाले यो क्षेत्रमात्र अछुतो रहन सक्दैन । त्यसैले संकटको अवस्थामा सबै क्षेत्रले संयमित र सुरक्षित भएर सेवा लिन वा दिनपर्ने हुन्छ ।


बिक्री गर्ने लगानीकर्ता ब्रोकर अफिस जानुपर्दैन
भरत रानाभाट
अध्यक्ष, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल
अहिलेको अवस्थामा बजार खोल्न उपयुक्त हो वा होइन भन्दा पनि पुँजीबजार बन्द गरेर राख्ने अवस्था देखिएन । सरकारले लकडाउन गरेपछि सबैमा त्रास पनि थियो । त्यसले गर्दा बजार बन्द गर्नुपर्छ भन्ने कुरा सबै क्षेत्र तथा व्यक्तिहरूबाट आए । तर, लकडाउन लम्बिरहेको अवस्थामा बजार कहिलेसम्म बजार पनि बन्द गरिराख्ने भन्ने भयो । लामो सययसम्म बजार बन्द हुँदा लगानीकर्ता तथा बजारसँग जोडिएका व्यक्तिहरूको वित्तीय अवस्थालाई पनि हेरेर आफ्नो सम्पत्ति बिक्री गर्न पाउनुपर्ने अधिकारका लागि पनि बजार खुलाउन आवश्यक देखिएको हो । धितोपत्र दलालको सन्दर्भमा कुरा गर्दा पनि बजार खुल्यो भने नै व्यापार हुने हो । ब्रोकर कम्पनीको अन्य खर्च भइरहेको अवस्था थियो । तर, आम्दानीको स्रोत बन्द रहेको अवस्थाले पनि धितोपत्र दलाल पनि बजार खुल्नुपर्छ भन्नेमा पुगेको हो । बजार खुलाउने सन्दर्भमा बजारका सहभागी पक्षहरूले अहिलेको अवस्थाअनुसार आ–आफ्नो स्थानबाट गर्न सकिने प्रयास के हुनसक्छ भनेर हे¥यौं । बजार अस्वाभाविक गतिमा नजाओस् भनेर विगतका व्यवस्थाहरूलाई केही परिवर्तन गरी समयसापेक्ष पनि बनाएको अवस्था छ ।
बजार सञ्चालन गर्दै गर्दा हुनसक्ने जोखिम न्यूनीकरणका लागि लगानीकर्तालाई न्यूनतम सुरक्षाका उपाय अवलम्बन नगरी धितोपत्र ब्रोकर अफिसमा नछिराउने व्यवस्था गरेका छौं । सकभर धितोपत्र दलाल कम्पनीको कार्यालयमा लगानीकर्ता जान नपर्ने अवस्था बनाउनका लागि प्रविधिमा आधारित कारोबारलाई नै जोड दिने प्रयास भएको छ । त्यति गर्दा पनि लगानीकर्ता आउनुपर्ने अवस्था आएको खण्डमा न्यूनतम सुरक्षाका उपायहरू ज्वरो मापन, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिने सहमति भएको छ । ब्रोकर अफिसमा हुने डिस्प्ले बन्द गर्ने सहमति भएको छ । त्यो भए पनि लगानीकर्ता आउने र बस्ने अवस्था रहँदैन । त्यसका साथै अफिसमा आउने ब्रोकर कार्यालयका कर्मचारीहरू पनि पूर्ण रूपमा सुरक्षाका उपायहरू अवलम्बन गरेर काम गर्ने भएका छौं । सेयर बिक्री गरेका लगानीकर्ता पैसा लिन ब्रोकरकोमा लिन जान नपर्ने लगानीकर्ताको खातामा धितोपत्र दलालले जम्मा गरिदिने तथा सेयर हस्तान्तरणका लागि ईडीआईएस अनिवार्य गरिएको अवस्था छ । यसले पनि बिक्री गर्ने लगानीकर्ता ब्रोकर अफिस जानुपर्ने अवस्था भएन । त्यसैगरी खरिद गर्ने लगानीकर्ताले पनि कनेक्ट आईपीएस वा अनलाइन बैंकिङमार्फत भुक्तानी दिन सक्ने भएकाले ब्रोकर कार्यालय जानु नपर्ने अवस्था रह्यो । त्यसैगरी कनेक्ट आईपीएस वा अनलाइन बैंकिङ नगर्ने ठूलो लगानीकर्ताको हकमा धितोपत्र दलाल कम्पनीका कर्मचारी लगानीकर्ताकहाँ गएर चेक लिने व्यवस्था भएकाले जोखिम न्यूनीकरणका लागि यसले थप मद्दत गर्नेछ । सकभर लगानीकर्ता धितोपत्र दलाल कार्यालयमा आउनु नपर्ने अवस्था बनाएका छौं । यसले कारोबार गर्न अप्ठ्यारो नपर्ला । यो कुराको पूर्ण पालना गरेको खण्डमा अनलाइनमार्फत कारोबार गर्न सकिन्छ । कोरोनाका कारणले हामी जान खोजेको गन्तव्यतर्फ पु¥याउँदैछ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । त्यसैगरी कारोबार भइसकेपछि हुने राफसाफका लागि धितोपत्र दलालको म्यानुअल इन्टरभेन्सन आवश्यक हुन्थ्यो । त्यसलाई सीडीएसले सिस्टममा आएकोलाई अटोमेटिक राफसाफमा जाने गरी प्रणालीको विकास गरेको छ । त्यसले गर्दा पनि ब्रोकरको कार्यालयमा राफसाफका लागि मान्छे चाहिन्थ्यो, त्यो पनि नचाहिने अवस्था आएको छ । त्यसका साथै ब्रोकरको ब्याक अफिसलाई पनि मोडिफाइ गर्नका लागि भेण्डर कम्पनीलाई भनिसकेको अवस्था छ । त्यसले गर्दा खासै जटिल हुने देखिँदैन ।