कारोबार संवाददाता
बिहिवार, चैत्र २७, २०७६
770

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जुधिरहेको सरकारले यसको उपचार तथा राहतका लागि कोष स्थापना गरेको छ । विगतमा २०७२ को भूकम्पका बेला राहत संकलन र वितरणमा बेथिति भएको र आफूखुसी संकलन गर्नेले अनियमितता गरेको पाइएपछि सरकार यसपटक भने सुरुदेखि नै सचेत बनेको छ । संघीय सरकारले यसका लागि ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ स्थापना गरेको छ । कोषमा हालसम्म २ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ । सरकारले स्थापना गरेको कोषमा नेपाल आयल निगमले सबैभन्दा बढी ५० करोड जम्मा गरेको छ भने यसबाहेक नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष, धितोपत्र बोर्ड, बिमा समिति, नेपाल स्टक एक्सचेन्जजस्ता सरकारी संस्थाहरूको योगदान बढी देखिएको छ ।
निजी क्षेत्रबाट भने सबैभन्दा बढी एनसेलले तथा भाटभटेनी, लक्ष्मी समूह, विशाल ग्रुपलगायतले १ करोड रुपैयाँ बराबर सहयोग गरेका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले कोषमा योगदान गरेका छन् भने निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत वस्तुगत संघ संगठनले पनि सहयोग गरिरहेका छन् । यसबाहेक विभिन्न पार्टी तथा सांसदहरूले तलबभत्ताको निश्चित प्रतिशत कोषमा जम्मा गरेको अवस्था छ । तर, निजी क्षेत्रका ठूला व्यावसायिक घरानाको भने अपेक्षित योगदान कोषमा छैन । राहत वितरण र चन्दा संकलनमा सरकारले रोक लगाएपछि निजी क्षेत्र सरकारसँग त्यति सन्तुष्ट देखिँदैन । सरकारी कोषमा रकम अभाव नभएकाले योगदान गर्नुको कुनै अर्थ नरहेको निजी क्षेत्रको बुझाइ छ भने अर्कोतर्फ विपन्न मजदुरले सरकारी कोषबाट राहत पाउन नसकेको समाचारहरू प्रकाशित भएपछि उनीहरू अब रकम जम्मा गर्ने मनस्थितिमा छैनन् । सरकारले मानवीय पक्षलाई समेत बेवास्ता गरेकाले कोषको औचित्य नरहेको बरु लक्षित वर्गसम्म राहत पु-याउन सहयोग गर्नुपर्ने सरोकारवालाको मत छ । प्रस्तुत छ, यसै विषयमा विभिन्न क्षेत्रका व्यक्तित्वसँग कारोबारले गरेको कुराकानी :

कोरोनाले कृषि र औषधिमा आत्मनिर्भर हुनुपर्ने पाठ सिकायो

राजेन्द्र मल्ल
वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श
कोरोना भाइरस (कोभिड १९) का कारण अहिले विश्वको ध्यान कसरी मानवक्षति रोक्ने भन्नेमै केन्द्रित छ । कोरोनाको केन्द्रविन्दु चीनको वुहान सहरमा बुधबारदेखि लकडाउन खुला भए पनि इटली, स्पेन, अमेरिका, फ्रान्सलगायतका देशमा अहिले पनि मानवक्षति बढिरहेको छ । धनी देशहरूलाई पनि कोरोनाबाट बच्न हम्मेहम्मे परेका बेला नेपालजस्तो गरिब मुलुकका लागि घरमै बस्नु नै सावधानीको सबैभन्दा उत्तम उपाय हो ।
कोरोना भाइरसले विश्वमा महामारीको रूप लिइरहेका बेला नियन्त्रण र रोकथाम गर्न तथा संक्रमण फैलन नदिन नेपाल सरकारले लकडाउन गरेको छ । लकडाउनको १६औं दिनमा आइपुगेका छौं हामीले जति सावधानी अपनाउन सक्छौँ त्यति नै कोरानासँग जुध्न सहज हुन्छ । लकडाउन हाम्र्रै सुरक्षा र सावधानीका लागि हो । त्यसकारण जतिसक्दो घरभित्रै बस्ने, बाहिर जानैपर्ने अत्यावश्यक काममा जाँदा दूरी कायम गर्ने, साबुनपानीले हात धने गर्नुपर्छ । नेपालजस्तो देशका लागि लकडाउन बिना यो रोग नियन्त्रणमा जानसक्ने अवस्था पनि छैन । कोरोना संक्रमण नफैलियोस् भनेर घरबाहिर ननिस्कन, भीडभाडमा नजान, होम क्वारेन्टाइनमा बस्न, भेला नहुन, आपतकालीन अवस्थामा कतै जानपरेमा दूरी कायम गर्न, बाहिरबाट आएपछि साबुनपानीले राम्ररी हात धुन, मास्क र स्यानीटाइजर प्रयोग गर्न सरकारले आग्रह गरेको छ । यसलाई अक्षरशः पालना गर्नुपर्छ ।
मुलुक संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । लकडाउन गरेको दुई साता बितिसक्दा नागरिकस्तरबाट पालना र उल्लंघनका घटना पनि उत्तिकै भएका समाचार आएका छन् । लकडाउन आमजनताको सुरक्षाका लागि हो भनेर किन हामीले बुझ्न सकेका छैनाँै भन्ने लागेको छ । जति सुरक्षा अपनायो त्यति नै छिटो यो जटिल परिस्थितिबाट मुक्ति पाउन सकिन्छ । हामीलाई कोरोनाले चुनौती त अवश्य थप्यो तर केही पाठ पनि पढाएको छ । नेपाल कृषिप्रधान देश भनेर के गर्नु आयात नगरी खान पुग्दैन । विगतमा पुर्खाहरूले विदेशमा निर्यात गर्थे अनुदान दिन्थे तर अहिले हामीले आयातमा भर पर्नुपरेको छ । यतिबेला देशमा अप्ठेरो परिथिति सिर्जना परे पनि यसलाई अवसरको रूपमा लिएर कृषि उत्पादन बढाउन जोड दिनुपर्छ । निर्यात गर्न नसके पनि आफ्नो माग पूरा गर्ने अवस्थासम्म जानुपर्ने रहेछ भन्ने यस अवधिले सिकाएको छ ।
सबै देशमा कोरोनाको विकराल अवस्था छ । पहिलो प्राथमिकता भनेको आफ्नो देश र नागरिक नै हुन्छन् । यदि यस्ता समस्या निकै लामो समयसम्म रहने हो भने हामीलाई खानेकुराकै अभाव हुने देखियो । त्यसकारण आफ्नो देशको उत्पादन बढाउन सकिएमा जस्तासुकै परिस्थितिमा पनि हामीलाई अब्बल महसुस गराउँछ । अर्कातर्फ हामीलाई अहिले स्वास्थ्य सामग्रीको अभाव भयो । जटिल रोगका औषधि बनाउन नसके पनि रुघाखोकी, ज्वरोदेखि साधारण औषधिमा आत्मनिर्भर बन्नुपर्छ भन्ने पाठ कोरोनाले सिकाएको छ ।
सरकारले कृषि उत्पादन बढाउन प्याकेज ल्याउनु पर्छ । अहिले गाउँगाउँमा गहुँ पाकेको छ । कोरोना नदेखिएका जिल्लामा तरकारी तथा अन्नबाली थन्काउन दिनुपर्छ । अहिले वैदेशिक रोजगारीमा गएका पनि कतिपय स्वदेशमै छन् भने सहरबाट पनि गाउँ गएको अवस्था छ । कृषि उत्पादन बढाउन सरकारले प्याकेज ल्याएमा धेरै लाभान्वित हुनसक्ने समय आएको छ । पढेका युवालाई विदेश जान पे्र्ररित गर्नेभन्दा आफ्नै देशमा रोजगारीका अवसर खुला गर्ने उचित समय पनि आएको छ । कोरोनाको समस्या समाधान भएपछि यस विषयमा सरकारले विशेष कदम चाल्नेछ भन्ने विश्वास छ ।
नेपालमा काम गर्न बजेट अभाव चुनौती होइन बर्सेनि राजस्व उठ्ने तर बजेट खर्च नहुने रोग लागेको हो । कोरोनाको सबैभन्दा ठूलो असर परेको सेवामूलक क्षेत्र र त्यसमा पनि पर्यटनमा सामान्य प्याकेजले टार्न खोजिएको जस्तो देखियो । त्यसै पनि भ्रमण वर्षका कारण बढी नै लगानी भएको क्षेत्र बढी जोखिममा रहेको र यसको असर रोजगारीमा मात्र नभई वित्तीय क्षेत्रसम्म पर्ने भएकाले राम्रो प्याकेजको अपेक्षित क्षेत्र हो । नेपालको कुल गार्हस्थ्य उत्पादनमा ६० प्रतिशत हिस्सा रहेको सेवा क्षेत्रप्रतिको सरकारी व्यवहारले सिंगो निजी क्षेत्र निराश भएको हो भन्ने लाग्छ । जीडीपीमा रिटेल तथा होलसेलको हिस्सा १५ प्रतिशत छ भने ट्रान्सपोर्ट, कम्युनिकेसन र स्टोरेज ८ प्रतिशत छ । यस्तै, रियल इस्टेट र रेन्टिङको १२ प्रतिशत हिस्सा छ । यसका साथै नेपालको अर्थतन्त्र भनेको दैनिक ज्यालादारी मजदुरको जस्तो हो भन्दा फरक पर्दैन । संघीयताले गर्दा हाम्रो साधारण खर्च बढेको छ । सोही खर्च धान्न विगत केही वर्षदेखि तीनै तहको सरकारको करको बोझमा जनता छन् । एकपछि अर्काे गर्दै सर्वसाधारणको खर्च बढिरहेका बेला कोरोना भाइरसजस्तो महामारीले फेरि जटिल परिस्थिति सिर्जना गरेको छ ।
सरकारको आर्थिक प्याकेजले उद्योगी, ऋण लिएर व्यवसाय गर्ने व्यवसायी, रोजगाादातालाई समेट्न सकेन । घरभाडा छुट घरभेटीले दिने, उद्योग बन्द भए पनि श्रमिकलाई तलब रोजगारदाताले दिने, बैंकको ऋण लिएकालाई पनि केही आशलाग्दो प्याकेज आएन । अब आउने प्याकेज भने बैंकको ऋणदेखि रोजगारी समेतलाई ध्यानमा राखेर आउनेछ भन्ने विश्वास छ । अन्त्यमा सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनेको छ, यो स्वागतयोग्य छ । तल्लो तहसम्म पु-याउन वडा लेभलमा पुगेर राहत वितरण हुनुपर्छ । व्यक्तिगत रूपमा राहत वितरण गर्ने क्रम बढेपछि गएको २१ चैतमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी विभिन्न व्यक्ति, संघसंस्था तथा सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध गराइने राहत सम्बन्धित ठाउँका स्थानीय तहमा जम्मा गराई एकद्वार प्रणालीबाट वितरण गर्न भनेको छ । यो जायज छ । गरिब र असहायले यतिबेला राज्य भएको अनुभूति गर्नुपर्छ ।

राहत चुस्तदुरुस्त रूपले तल्लो तहमा पु-याउनुपर्छ
सीताराम कट्टेल (धुर्मुस)
कलाकार तथा सामाजिक अभियन्ता
एकद्वार प्रणालीबाट राहत तल्लो तहसम्म पु-याउन सबैभन्दा जटिल विषय पहिचानको हो । राहत वितरणका लागि पहिलो काम पनि यही नै हो । कसलाई अभाव छ र राहत आवश्यक छ भन्ने कुराको पहिचान स्थानीय तह र टोलसँग सम्पर्क गरेर तथ्यांक निकाल्नुपर्छ । स्थानीय तहसँग प्रभावकारी समन्वय गरेर राहत वितरण गर्न सकिने अवस्था छ । असहज परिस्थितिमा विपद्मा परेका व्यक्तिलाई जोकसैले पनि सहयोग गर्नसक्छ र गर्नुपर्छ । तर अहिले अवस्था फरक छ । कोरोनाको जोखिम कम गर्न अरुसँग आमनेसामने हुनु हुँदैन । यस्तो जटिल परिस्थितिमा एकद्वार प्रणालीमार्फत नै राहत वितरण गर्नु प्रभावकारी देखिन्छ ।
यद्यपि अहिले पार्टी, आफ्ना मतदाता तथा पार्टी कार्यकर्तालाई मात्र राहत पु-याएको सूचना बाहिरिएका छन् । यो संकटमा सबैले मानवीयता देखाएर काम गर्नुपर्ने समय आएको छ । मानवीय धर्म देखाएर पार्टी, धर्म जाति र अन्य विविध पक्षबाट माथि उठेर राहत वितरण प्रभावकारी बनाउनु पर्ने बेला हो । तल्लो तहसम्म पुग्नका लागि सबै तहमा जनप्रतिनिधि रहेका, वडा कार्यालय, टोल विकास समिति छन् । टोलमा कुन परिवार अभावमा, पीडामा गुज्रिएको छ भन्ने पत्ता लगाउन सहज छ । अरु बेलाको जस्तो विपत्ति नभएकाले गर्दा यो समयमा धेरै व्यक्ति उपस्थित हुन नहुने समय भएकाले गर्दा एकद्वार प्रणाली उचित हो । जसले पाउनु पर्ने थियो उहाँहरूकोमा नपुगेर अन्य व्यक्तिको हातमा पुग्नु विडम्बना हो । लकडाउनको समय बढाउने कि घटाउने भन्ने रिमोट हाम्रै हातमा छ । लकडाउनलाई सबैले पालना गरौं भन्ने मेरो अनुरोध पनि छ । यो महामारीलाई निर्मूल गर्नका लागि हामी सबै सजग र सचेत हुनुपर्ने अवस्था छ । यसका लागि एकद्वार प्रणालीमार्फत राहत वितरण हुनु सकारात्क हो । तर पहिचान गर्न नसकेर राहत विपन्नको चुलोसम्म नपुग्नु भनेको दुःखद कुरा हो । मानवता नै हराउँदै गएको हो कि भन्ने हामी सबैले महसुस गरेका छौं । मानवता सचेत मानवमा हुनुपर्ने रहेछ । सकारात्मक सोच लिएर हिँडनु पर्छ परिस्थितिको सामना गर्न । विपद् बाजा बजाएर नआउने रहेछ विपतका स्वरुप र प्रकार फरक रहेछ, भूगोलले विपद्लाई छेक्न नसक्ने रहेछ भन्ने सन्देश मानव जातिलाई यो समयमा प्राप्त भएको छ जस्तो लाग्छ । संकटक एकै प्रकृतिको हुँदैन भन्ने पनि कोरोनाको यो महामारीबाट थाहा भयो । सहयोग गर्ने तीव्र चाहना हुँदाहुँदै पनि व्यक्ति स्वयं गएर सहयोग गर्न सकिएको छैन, समय र परिस्थितिले गर्दा ।
यो संकटको समयमा आर्थिक अवस्था राम्रो हुदाँहुँदै पनि राहतको प्याकेज लिनु भनेको मानवता हराएको हो भन्ने भान भएको छ । हरेक विपद्मा यस्तो बखेडा बाहिरिँदा आधारभूत आवश्यकता पूर्ति गर्न नसक्ने समुदायमा राहत पुग्न नसकेको अवस्था छ । जसले गर्दा राहतका धेरै कार्यक्रम भए पनि लक्षित वर्ग समुदायमा राहत पुग्न सकेन भने हाम्रो राहत वितरणको अभियान असफल हुन्छ । हामी यो देशका सचेत नागरिक हो हामी सकारात्क भएको खण्डमा मात्र देशले विकासको मार्ग प्रसस्त गर्नसक्छ भन्ने मैले ठानेको छु । हामी चेतनशील प्राणी भएकाले गर्दा संकटको समयमा राहतलाई तल्लो तहसम्म पु-याउनका लागि सहयोग गरौं । जोसँग भएर पनि राहत लिइरहेका छौं उहाँहरूले एक छाक खान नपाउँदाको पीडा महसुस गर्नुस् । जोसँग छ उहाँहरूले पनि खुला ह्रदयले सहयोग गर्नुपर्छ । र जसले राहत वितरणको जिम्मा लिनुभएको छ, उहाँहरूले पनि वास्तविक अभावमा रहेको व्यक्ति र परिवारको पहिचान गरेर दियौं । यदि हामीमा इच्छाशक्ति छ र मनमा खोट छैन भने यो पहिचान गर्न गाह्रो छैन ।
सबै नागरिकले लकडाउनको पालना गरौं, घर भित्रनै बसांै र अन्यलाई पनि घरमा बस्नका लागि आग्रह गरौं । हाम्रो देशमा हाल संक्रमणको संख्या कम भएको भए पनि हामी सचेत बन्नु आवश्यक छ । हाम्रो सानो कमजोरीले भोलिका दिनमा संक्रमितको संख्या बढेको खण्डमा भयावह अवस्था आउन सक्छ सबै जना सचेत र सजग रहौं । विश्वको शक्तिशाली राष्ट्र नै यो भाइरसको नियन्त्रण गर्न चुकिरहेको अवस्थामा हामी सीमित साधन र स्रोत रहेको मुलुकमा थप जटिलता निम्तिन सक्छ त्यसैले लकडाउनको पूर्ण पालना गरौं । जहाँ छौं सुरक्षित र सहज बनौं सबैले आफनो भूमिका पूर्णरूपमा निर्वाह गरौं । हालसम्म हामी नियन्त्रणकै परिधिभित्र रहेका छौं, त्यसैले हामी संयमित रहौं, सरकारको नीति निर्देशन पालन गरौं । सरकारले पनि दैनिक ज्यालादारी मजदूरी गर्ने श्रमिकको संख्याका साथै यो समयमा खानबाट वञ्चित भएकाको पहिचान गरेर त्यो तहका व्यक्तिमा राहत पु-याउन जिम्मेवार बन्नुपर्छ । एकद्वार प्रणाली चुस्तदुरुस्त र पारदशी ढंगले यथासक्य चाँडो राहत वितरण आधारभूत आवश्यकता पूर्ति गर्न नसक्ने समुदायमा पुग्नुपर्छ । सचेत नागरिकलाई म हाम्रो सानो लापरबाहीले पनि ठूलो दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्छ सचेत, सजग बन्दैं घरमा बसै र समयलाई सही सदुपयोग गर्न गराउन आग्रह गर्छु ।