कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६
897

कोरोना भाइरस नियन्त्रणका उपायहरू 
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व नै तरंगित बनाएको छ । यो भाइरस अहिले विश्वका अधिकांश देशमा पुगेको डब्लूएचओले जनाएको छ । यस भाइरसबाट २८ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने करिब ६ लाख प्रभावितमध्ये १ लाखभन्दा बढी स्वस्थ भई घर फर्केका पनि छन् । यो भाइरस नियन्त्रणमा आउने भन्दा पनि यसले विश्वव्यापी महामारीको रूप लिने देखिएको छ । यो भाइरसले शक्तिशाली राष्ट्रलाई चुनौती पनि दिएको छ । अहिलेसम्म यसको नियन्त्रण गर्ने कुनै उपाय कुनै पनि चिकित्सक तथा वैज्ञानिकले पत्ता लगाउन पनि सकेका छैनन् । अहिलेसम्मको यसको नियन्त्रणको प्रभावकारी उपाय भनेको सरसफाइ, भीडभाडमा नबस्ने र सफा स्वच्छ खाना, साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने नै उत्तम उपाय विज्ञहरूले औंल्याएका छन् । नेपालमा पनि हालसम्म ५ जनामा यसको लक्षण देखापरे पनि १ जना स्वस्थ भई घर फर्किसकेका छन् भने ४ जना उपचाररत रहेको शुक्रराज ट्रपिकल अस्पताल टेकुले जनाएको छ । नेपाल सरकारले पनि यसको रोकथाम र प्रभावकारी नियन्त्रणका लागि चैत ११ गतेबाट देशव्यापी लकडाउन गरेको छ । यसको प्रभाव समग्र जनतामा परेको छ । तीनै तहका सरकारले यसको कार्यान्वयन गरी यदि कसैमा यसको लक्षण देखापरे तत्काल क्वारेनटाइन र आइसोलेसनमा राख्ने व्यवस्था गरेको छ । महामारीलाई कसरी नियन्त्रण गर्ने र यसको रोकथामको उपायबारे विभिन्न स्वास्थ्यकर्मीसँग कारोबारकर्मीहरूले गरेको कुराकानीको सारसंक्षेप :

लकडाउन पालना नै उत्तम विकल्प
डा. मंगल रावल
अस्पताल निर्देशक, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला

कोरोना भाइरसको संक्रमणबाट बच्ने उत्तम उपाय नै लकडाउनको पालना गरी होम क्वारेन्टाइनमा बस्नु हो, तर कर्णालीका शिक्षाको अभाव र इन्टरनेटको पहुँचमा कमी भएकाले लकडाउनको अर्थ बुझेका छैनन् । डाक्टर रावलले भने, दिउँसो पार्टीको बन्दजस्तै ठानेर घरमा बस्ने, चार बजेपछि रोडमा कुर्लिने, घरमै बस्न नमान्ने यी कारणले पनि कर्णालीमा जोखिम बढेको छ ।
जहाँ छौं त्यहीं बसौं, आफू बचौं र अरूलाई बचाऊँ भनेकै लकडाउन हो । तर, लकडाउनकै बीच जुम्लामा हजारौंको संख्यामा भारतबाट आएका नागरिक भित्रिए । प्रहरी प्रशासनदेखि स्थानीय सरकारले लकडाउनको पूर्ण कार्यान्वयनका लागि गाउँगाउँमा सचेतनाका कार्यक्रमलाई तीव्रता दिनुपर्नेछ ।
स्थानीय तहले पूर्वतयारीलाई निकै राम्रो गरेका छन् । सबै स्थानीय तहमा २० बेडभन्दा बढी क्वारेन्टाइन पनि बनाएका छन्, तर पनि एक क्रियाशील टोली बनाउन आवश्यक देखिन्छ (जसले गाउँमा आउने रहेक व्यक्तिको निगरानी गरेर क्वारेन्टाइनमा राखोस्) भने सचेतनाका कार्यक्रमलाई बढी जोड दिनुपर्छ ।
रोग लाग्नुभन्दा लाग्न नदिनु नै बेस हो, तर पनि भाइरस हो भन्न सकिँदैन, विपत्ति आइहालेमा सजिलै प्रतिकार गर्नका लागि ठोस योजना, आवश्यक उपकरण हुन जरुरी नै छ । बाहिरबाट आउने हरेक नागरिकले अनिवार्य स्वास्थ्य चेक गराउने, १४ दिन हामे क्वारेन्टाइनमा बस्ने, खानपानमा ध्यान दिने, लकडाउनको पालना गर्ने, पटक–पटक साबुन–पानीले हात धोएमा कोरोनाबाट आत्तिनुपर्ने अवस्था आउँदैन ।
त्यसैले पनि कर्णालीमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश र संघले जुम्ला अस्पतालमा तत्कालै कोरोना परीक्षण सेन्टर स्थापना गर्न आवश्यक पहल गर्नु जरुरी छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा कर्णाली रहेको छ । लकडाउनका बीच पनि भारतबाट आउनेको संख्यामा वृद्धि, जोडिएका घर तथा ठूलो परिवार एकै ठाउँमा बस्ने र शिक्षाको अभाव, इन्टरनेटको पहुँच नहुनु लगायतका कारणले कर्णाली कोरोना संक्रमणको जोखिम छ । हालसम्म जुम्लाको तथ्यांक हेर्ने हो भने करिब ३५ सय नागरिक लकडाउनकै बीच पनि भित्रिएका छन्, जसमध्ये करिब ६४ जना क्वारेन्टाइनमा र २ जना आइसोलेसनमा छन् ।
दुर्गम क्षेत्रको सबैभन्दा ठूलो स्वास्थ्य संस्थाका रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लिइन्छ, तर केही पूर्वाधार अभावले जटिल खालको उपचारमा कठिनाइ हुने गरेको छ । हालका लागि कोरोना परीक्षण सेन्टरको अभाव कर्णालीमा खट्किएको छ । दुईजना आइसोलेसनमा रहेकाहरूको स्याम्पल टेस्ट गर्न एम्बुलेन्स प्रयोग गरेर नेपालगन्ज हुँदै काठमाडौँ पठाउनुपर्ने बाध्यता छ ।
भोलि कर्णालीका १० वटै जिल्लाका जटिल उपचार गर्न जुम्ला नै ल्याउने हो । त्यो अवस्थालाई मध्यनजर गरेर पनि दुर्गमको विशेषज्ञ सेवालाई विश्वसनीय बनाउन तथा नागरिकलाई आफ्नै ठाउँमा कोरोनाको उपचार गराउन परीक्षण सेन्टर अत्यावश्यक छ ।
कर्णाली प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कर्णालीकै आइसोलेसन बनाउने निर्णय गरेको छ । भारतबाट आउनेहरूको संख्या हेर्दा कोरोना संक्रमणको जोखिममा कर्णाली भइरहँदा कोरोना परीक्षण सेन्टर नहुने हो भने निकै समस्या हुन्छ ।
अत्यावश्यक उपकरण अभावका बीच पनि कोरोनासँग जुध्न पछि परेका छैनौं, जनचेतना अभिवृद्धि, पूर्वाधार व्यवस्थापन, लकडाउनको पूर्णपालना भएमा कोरोनासँग आत्तिनुपर्ने अवस्था नरहेको लड्ने सामथ्र्य कर्णालीसँग छ ।
कर्णालीका १० वटै जिल्लामा कसैलाई कोरोना संक्रमण भइहालेमा ल्याउने जुम्लामै हो । तर, कोरोना परीक्षण सेन्टर नहुँदा स्याम्पल काठमाडौँ पठाउने अवस्थाले उपचारमा समस्या हुने देखिन्छ । कोरोना भाइरस रोकथामको पूर्वतयारीका लागि पनि कर्णालीका कोरोना परीक्षण सेन्टर आवश्यक छ ।
त्यस्तै, हाल प्रतिष्ठानमा ५ वटा मात्रै भ्यान्टिलेटर छन् । करिब २५ भन्दा बढी भ्यान्टिलेटर आवश्यक छ । भ्यान्टिलेटरबिना कोरोनाको उपचार सम्भव छैन । कर्णाली सरकारले प्रदेशकै आइसोलेसन प्रतिष्ठानलाई बनाउने निर्णय गरे पनि उपकरणका हिसाबले अझै कसरत गर्न आवश्यक देखिन्छ । करिब ५५ जना विशेषज्ञ डाक्टरसहित २ सयभन्दा बढी चिकित्सक कर्णालीमा अस्पतालमा छन् ।
तर कोरोनासँग जुध्नका लागि कर्णालीमा मुख्य गरी ‘कोरोना परीक्षण सेन्टर, चिकित्सकलाई (पीपीई) र भ्यान्टिलेटर’ अत्यावश्यक छ । यसका संघ तथा प्रदेश सरकारले बेलैमा ठोस निर्णय गरेको खण्डमा कोरोना रोकथाम सजिलै हुन्छ । प्रतिष्ठानका करिब ३ सय जति चिकित्सलाई बिदा नबस्न र हाई अलर्ट रहनसमेत निर्देशन गरिएको छ ।
संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले नेपालका सबै प्रतिष्ठानसहित नेपालगन्ज र बुटवलमा समेत कोरोना परीक्षण सेन्टर स्थापना गरिसकेको छ । अन्य ठाउँभन्दा कर्णाली भौगोलिक रूपमा विकट भएकाले पनि आउजाउमा निकै समस्या छ ।
तर कर्णालीकै स्वास्थ्य क्षेत्रको हब प्रतिष्ठानमा परीक्षण सेन्टर छैन, जहाँ कोरोना संक्रमणको जोखिम बढेको छ । त्यसैले पनि भोलि हुनसक्ने जोखिमलाई सजिलै व्यवस्थापन गर्न स्वाथ्यकर्मी (पीपीई), कोरोना परीक्षण सेन्टर र भ्यान्टिलेटर व्यवस्थापनका लागि संघ र प्रदेशको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।
यद्यपि जुम्ला अस्पतालमा कारोना परीक्षण सेन्टर राखेमा कर्णालीका १० वटै जिल्लामा कोरोना शंका गरी क्वारेन्टाइनमा रोखिएकाको परीक्षणका लागि काठमाडौँ पठाउने बाध्यताको अन्त्य हुनेछ । डब्लूएचओले भनेअनुसार सबै सरकारलाई माग्ने भन्दा केही आफैं गरौं भनेर स्यानिटाइजर र केही थान पीईई आफैं उत्पादनसमेत गरिएको छ ।
प्रस्तुति : सागर परियार

कोरोना लागेको थाहा भइहाल्छ नि भन्नु गलत हो
डा. मनोहर जोशी
वरिष्ठ चिकित्सक (फेमिली फिजिसियन)
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ हस्पिटल (यूसीएमएस), भैरहवा
कोरोना आरएनए भाइरस हो र जीवकोषमा पाइने सबै अवयव (अंगहरू) यसमा पाइँदैन । त्यसैले भाइरस जीवित प्राणी हो या मृत हो भन्ने विषयमा अझै पनि छलफल चलिरहेको छ ।
हाल आएका कोभिड–१९ वा पछि वैज्ञानिक नामकरण गरिएका सार्सकोभ–२, पहिले–पहिले आएका सार्स, मार्सकै परिवर्तन भाइरस भनिन्छ र यसका प्रकार, आकार र लक्षण सर्ने प्रक्रिया, औषधि तथा खोपका पनि नयाँ तरिकाले अनुुसन्धान गर्नुपरेको छ ।
कोरोनालाई लिएर विश्व समुदायमै विभिन्न विचार भ्रम र यथार्थ रहेको देखिन्छ । तीमध्ये केही भ्रम र यथार्थको छलफल आज आवश्यक देखिएको छ, जुन धेरैलाई चिन्ताको विषय पनि बनेको हुनसक्छ ।
कोरोना लागेको त थाहा भइहाल्छ नि भन्नु गलत हो । ८६ प्रतिशत व्यक्तिलाई कोरोना लागेको थाहा हुँदैन । सामान्य रुघाखोकीजस्ता समस्या देखिन्छ, तर अरूलाई सार्न सक्छन् । त्यसैले यदि हामी कोही विदेश अथवा भारतलगायतका देशहरूमा हालसाल अर्थात् केही महिना दिनअघि भ्रमण गरी फर्किएका छौ वा विदेशीको सम्पर्कमा आएका छौं भने क्वारेन्टाइनमा बस्नुपर्छ । त्यो भनेको छुट्टै पनि हुनसक्छ वा घरमै पनि ।
अर्को भ्रम भनेको नुन–पानी वा तातो पानी पिउँदो घाँटीमा रहेका भाइरस पखालेर पेटमा लैजान्छ र पेटमा पुगेर मार्छ । तातो पानी पिउनु राम्रो हो । नुन–पानीले घाँटी घालघुल गर्नु राम्रो हो । तर, बगाएर पेटमा लैजान्छ र मर्छ भन्ने भ्रम हो । नुन–पानी र तातो पानीसँग कोरोना भाइरस कमजोर हुने त्यस्ता केही वैज्ञानिक आधार प्रमाणित भएका छैनन् । रह्यो कुरा कोरोना भाइरसले सिधै श्वासप्रश्वासमा समस्या बनाउने हो । कोरोनाले फोक्सोमा संक्रमण बढी हुने हो ।
ओजोन उपचारले भाइरस मार्छ भन्ने कुरा पनि भ्रम हो । यसले भाइरस मार्दैन, बरु शरीरमा रहेका जीवकोषलाई पनि प्रभाव पारी नोक्सान पु¥याउँछ । तर, यो कीटनाशक भने हो, त्यसैले कुनै ठाउँमा यसको प्रयोग प्रतिबन्धित पनि छ ।
रक्त समूहले पनि कोरोना भाइरस संक्रमण बढी हुने भन्ने कुरा पछिल्लो समय मात्र आएको हो । यो हुन पनि सक्छ र नहुन पनि सक्छ । यसको अध्ययन पनि हाल चीनको महामारीमा मात्रै गरिएको थियो । त्यहाँको अध्ययनको रिपोर्टले रक्त समूह (ब्लड ग्रुप) ओ भएकालाई कम संक्रमण भएको र ‘ए’ रक्त समूहका बढी संक्रमित देखिएको र मृत्यु पनि बढी भएको थियो चीनमा । यसो भन्दैमा ‘ए’ रक्त समूह चिन्तित हुनपर्ने र ‘ओ’ समूह खुसी हुनुपर्ने पनि होइन ।
गर्मी मौसममा यो भाइरस हराएर जान्छ भन्नु पनि भ्रम नै हो । वैज्ञानिकहरूका अनुसार कोरोना भाइरसको संक्रमण गर्मी मौसम भएका देशहरू सिंगापुर, मलेसिया, थाइल्यान्ड, इन्डोनेसियालगायत खाडी देशहरूमा पनि फैलिएको छ र त्यहाँ मृत्यु पनि भएको छ । तर, १८ औं शताब्दीमा आएको इन्फ्लुएन्जाको महामारीमा बिरामीहरूलाई अस्पतालबाहिर घाममा वा अन्यत्र पनि घाममा राखेर उपचार गर्दा बिरामीको मृत्युदर कम पाइएको थियो । अप्रिलबाट गर्मी बढी हुन्छ, आफैं हराएर जान्छ भनेर त्यसै बस्यौं भने प्रकोप झन् बढ्छ । त्यसैले भ्रम पालेर बस्नु हुँदैन । सचेतना अपनाउनुपर्छ । घाम तापेर बस्नु भनेर स्वास्थ्यका लागि राम्रो हो ।
सास रोक्न सक्ने क्षमताले कोरोना भाइरस संक्रमण हुँदैन भन्ने कुरा पनि भ्रम नै हो । यो पनि गलत कुरा हो । हो, तपाईंले लामो–लामो श्वास लिने र केही बेर रोक्ने अभ्यास गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा पु¥याउन मद्दत गर्छ, तर कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउन भने सक्दैन ।
दुई सातासम्म संक्रमणका लक्षण देखिन सक्छ । यो सही कुरा हो । यदि कसैलाई पनि भाइरसको संक्रमण भएको अवस्थामा १४ दिनसम्म रोगको लक्षण देखिन र रोग अरूलाई सर्न सक्छ । १४ दिनसम्ममा केही समस्या नभएमा ऊ स्वस्थ मानिन्छ । ऊ संक्रमित होइन भन्ने पुष्टि हुन्छ । त्यसैले १४ दिन क्वारेन्टाइनमा राख्ने भनेको हो ।
तातो पानीले नुहाएमा, साउनामा तातोपानीको बाफ लिने गरेमा र हेयर ड्रायरको तातो हावाले कोरोना भाइरस मर्छ भन्ने कुरा पनि भ्रम र असत्य कुरा हो । तातो हावा र पानी भाइरस बसेको जीवकोषसम्म पुग्ने होइन र भाइरस पनि मार्दैन । त्यसैले त्यस्ता असत्यको पछि लाग्नु हुँदैन । तातो पानीले नुहाउनु र तातो पानीको बाफ लिनु स्वास्थ्यका लागि राम्रो भने हो ।
यो नयाँ कोरोना भाइरस हावाबाट पनि सर्न सक्छ भन्ने कुरा हुन पनि सक्छ । किनभने यो भाइरस हावामा ३ देखि ४ घण्टासम्म रहन्छ भने सतहमा या अन्य वस्तुमा ठाउँ हेरि केही घण्टादेखि दिनसम्म भाइरस रहन्छ । त्यसैले नागरिकहरू बाहिर सम्पर्कमा नआउन् भनी लकडाउन गर्ने गरिएको हो । यो भाइरस खोक्दा, हाच्छ्युँ गर्दा संक्रमित रोगीको थूक, ¥याल, सिंगानसँगै बाहिर आउँछ र त्यहीबाट अरूलाई सर्छ । बाहिर सतहमा भएका भाइरसहरू हाम्रा हातमा लाग्ने र हातबाट मुख, नाक र आँखाको माध्यमबाट शरीरमा प्रवेश गर्दछ । त्यसैले साबुन–पानीले बारम्बार हात धुने वा स्यानिटाईजर हातमा लगाउने भनिएको हो ।
कोरोना भाइरसको संक्रमण वृद्धवृद्धालाई बढी हुन्छ भन्ने कुरा पनि भ्रम हो । यसबाट जो–कोही बिरामी भएका छन् । अहिले त जन्मिएका बच्चामै संक्रमण भएको समेत भेटियो, तर मृत्युदर वृद्धहरूमा वा ६० वर्षभन्दा माथिकोमा धेरै देखिएको छ । वृद्धवृद्धाहरूको शरीरको प्रतिरोध शक्ति अन्य उमेर समूहका भन्दा अलि कमजोर हुने भएकाले समस्या बढी हुने हो ।
भिटामिनको प्रयोगले रोगसँग लड्न सक्ने शरीरको प्रतिरोध शक्ति बलियो बनाउँछ भन्ने कुरा पनि गलत नै हो । हुन त चीनमा भिटामिन सीको प्रयोग भएको थियो उपचार गर्न, तर यसले हाम्रो प्रतिरोध शक्ति वृद्धि गर्छ भन्ने प्रमाणित गर्दैन, तर पनि भिटामिन सी, बी पाइने फलफूल, तरकारी खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । चिनियाँ अध्ययनले शाकाहारी व्यक्तिलाई यो रोगको संक्रमण कम रहेको भने देखाएको छ ।
शरीरको तापक्रम नापेर रोग छुट्याउन सकिन्छ भन्ने कुरा पनि अलि भ्रमात्मक देखिएको छ । विमानस्थल, सीमा नाकाहरूमा यो राखिएको थियो । आगन्तुकहरूको शरीरको तापमान यसबाट लिने गरिन्थ्यो । तर, कतिलाई तत्कालै ज्वरो नभए पनि पछि संक्रमण भएको देखियो । यसबाट ज्वरो बढी देखिए सचेत गराउँदै अस्पताल अथवा क्वारेन्टाइनमा पठाउन भने सजिलो हुन्थ्यो । तर, शरीरको तापमान बढी हुँदैमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भने हुँदैन । त्यसका लागि विशेष परीक्षण नै हुनुपर्छ ।
कोरोना भाइरसको संक्रमण भए–नभएको पत्ता लगाउन परीक्षणपश्चात् तीन–चार दिन नै लाग्छ भन्ने कुरा साँचो हो । अहिलेको परीक्षण पीसीआर पद्धतिबाट गरिन्छ, यो अति राम्रो छ । तीन–चार दिन नै लाग्छ रिपोर्ट आउन । तर अहिले सेरोलोजिकल टेस्ट गरी आधा घण्टामै रिपोर्ट दिने पनि भइसकेको छ । कोरोना भाइरस संक्रमण भए–नभएको पत्ता लगाउने आधार नै टेस्ट (परीक्षण) हो । त्यसैले बढीभन्दा बढी टेस्ट गर्न सकिए राम्रो हुन्छ । त्यसतर्फ सरकारले छिटोभन्दा छिटो काम गर्नुपर्छ ।
घर पालुवा कुकुर, बिरालोबाट पनि कोरोना भाइरस सर्छ भन्नु भ्रम र असत्य हो । यो मानिसबाट मानिसमा सर्ने गर्छ । हङकङमा आएको सार्स महामारीमा कुकुरमा पनि यो रोग देखियो, तर कुकुरबाट मान्छेमा सरेको देखिएन ।
हात धुनेभन्दा हात स्यानिटाइजर गर्नु राम्रो हो भन्नु पनि भ्रम र असत्य नै हो । यथार्थ के हो भने साबुनपानीले हात धुनु एकदम राम्रो हो । फिंज निकाली कम्तीमा पनि हातको पन्जाको अगाडि–पछाडि औंलाको कापमा समेत राम्ररी कम्तीमा पनि २० सेकन्डसम्म धुनुपर्छ । हात धुनु नै सबैभन्दा राम्रो हो । स्यानिटाइजर अहिले धेरै थरीका आइरहेका र स्थानीयमा पनि बन्ने गरेकाले त्यसको गुणस्तर पनि थाहा नहुने र साबुनभन्दा अधिक महँगो पर्ने भएकाले सबैभन्दा राम्रो भनेको धेरैभन्दा धेरै साबुनपानीले हात धुनु नै हो । साबुनको उपलब्धता भएन भने विकल्पका रूपमा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।
हातमा पन्जा र मुखमा मास्क लगाएर कोरोनाभाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने कुरा पनि सधैं सत्य हुँदैन । पन्जा वा मास्क लगाए पनि एउटै पन्जा लामो समय वा धेरै दिनसम्म लाइरहे वा सामान्य कपडाको मास्क लगाउने र पटक–पटक त्यही फोहोर पन्जा लाएको हातले मुख, आँखा, नाक छुनुभयो भने रोग सर्ने सम्भावना बढ्छ । पन्जा लगाएपछि कुन कामका लागि लगाएको हो, काम सकिएपछि अरू कामको सम्पर्कमा नहुने गरी पञ्जा फाल्ने र साबुनपानीले हात धुनुपर्छ । त्यस्तैगरी मास्क पनि एपटक प्रयोग गरिसकेपछि फाल्नुपर्छ । एउटै मास्क धेरै दिन लगाए अन्य रोग पनि सर्ने सम्भावना हुन्छ ।
कोरोना भाइरस संक्रमणसम्बन्धी यथार्थभन्दा भ्रम बढी आएका छन् अहिले, त्यसैले सबैभन्दा राम्रो सचेतना अपनाउनु हो ।
कुनै समस्या देखिए नजिकको स्वास्थ्य चौकी, अस्पताल वा प्रहरी प्रशासनमा जानकारी गराउनु अहिलेको आवश्यकता हो ।
प्रस्तुति :मनोरञ्जन शर्मा

सेल्फ क्वारेन्टाइन नै राम्रो विकल्प
डा. सरोज आचार्य
मेडिकल अधिकृत, महाकाली अस्पताल, महेन्द्रनगर
कोरोना भाइरस भिरिडी परिवारअन्तर्गत पर्छ । यसले प्रत्यक्ष रूपमा मानिसको श्वास–प्रश्वास प्रणालीमा संक्रमण गर्छ । यस भाइरसका लक्षणहरू सामान्य रुघाखोकी लाग्नु, कडा ज्वरो आउनु र श्वासप्रश्वासमा समस्या आउनु हुन् ।
सुरुमा यो भाइरस सन् २००२ मा पनि सार्स नामक भाइरसबाट चीनमा देखिएको थियो । दोस्रो पटक भने सन् २०१२ मा मर्स नामक अझ फेरि चीनमै फेला परेको देखिन्छ । त्यसपछि अहिले आएर कोरोना भाइरसकै नौलो प्रजातिका रूपमा नोबेल कोरोना भाइरस भनेर फेला परेको छ । यस भाइरसबाट लाग्ने रोग कोभिड–१९ भएकाले यसलाई कोभिड–१९ भनेर भन्ने गरिएको छ ।
यो भाइरस कुनै पनि संक्रमित मानिसको नजिक जाँदा तुरुन्तै सर्ने गर्छ । मानिसले हाछ्युँ गर्दा, एकले अर्कालाई छुँदा, हात मिलाउँदा, अँगालो हाल्दा सर्ने गर्छ । यसबाट बच्न व्यक्तिगत सरसफाइमा महत्वपूर्ण ध्यान दिनुपर्छ । बिहानदेखि बेलुकासम्म दिनहुँ गरिने कामपछि आफ्नो हात साबुन–पानीले राम्ररी मिची–मिची हात धुनुपर्छ । हातमा साबुन लगाइसकेपछि २० देखि ३० सेकेन्डसम्म साबुन–पानीले मिची–मिची हात धुनुपर्छ । खोक्दा वा हाछ्युँ गर्दा नाकमुख छोपेर खोक्ने गर्नुपर्छ । बाहिर नयाँ ठाउँबाट आएको मानिसबाट टाढै बस्नुपर्छ र रुघाखोकी तथा ज्वरो आएको व्यक्तिमा भाइरसको संक्रमण भएको अवस्थामा टाढै रहेपछि कोरोना भाइरस संक्रमण हुने जोखिम कम हुन्छ । कुनै पनि व्यक्तिको ३ फिट टाढै बसेर कुराकानी गर्ने, धेरै भीड भएको ठाउँ वरपर हिँडडुल नगर्ने र घरमै बसेर आराम गर्दा पनि स्वास्थ्यलाई कोरोना भाइरसले संक्रमण गर्न सक्दैन ।
सामान्य रूपमा ज्वरो आउने, टाउको दुख्ने तथा मौसम परिवर्तनबाट रुघाखोकी पनि लाग्ने भएकाले पनि नआत्तिएर घरमै बसेर सावधान हुन सकिन्छ । कुनै व्यक्तिको लक्षणका आधारमा संक्रमण भएको पुष्टि गर्न नसकिने भएकाले कुनै पनि व्यक्तिले डराउनुपर्ने अवस्था रहँदैन ।
कुनै त्यस्तो प्रभावित क्षेत्रबाट आएको भएपछि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ । आफूलाई १ देखि १५ दिनसम्म घरमै बसेर आराम गरिरहे कोरोना संक्रमण भए–नभएको थाहा पाउन सकिन्छ । केही व्यक्तिमा भने ५ देखि ६ दिनसम्म संक्रमण भएको लक्षण देखिने भएकाले सो व्यक्तिले कुनै शंका हुनासाथ तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गरेर नियमित रूपमा क्वारेन्टाइन तथा आइसुलेसन कक्षमा बस्ने गर्नुपर्छ ।
कोरोना भाइरसबाट टाढा रहन मुख्यतया घरमै बसेर नियमित आराम गर्ने, पानी बढी पिउने, तातो खानेकुरा तथा झोलिलो पदार्थ पिउने गर्नुपर्छ । कोरोना भाइरस जनावरबाट फैलिएको तथा आएको भन्ने पुष्टि नभए पनि मासुजन्य कुराहरूलाई राम्ररी पखालेर पकाएर खानुपर्छ ।
कोरोना भाइरसका लागि जाडो–गर्मीले केही हुँदैन । मुख्यतया मौसम परिवर्तनको समय हुने भएकाले भाइरसलाई पनि आफ्नो प्रभाव बढाउन मौसम परिवर्तनकै समयमा सजिलो हुन्छ । मौसम परिवर्तनमा अरू रोग पनि लाग्ने भएकाले कोरोनाले पनि बढी संक्रमण हुने खतरा बढी हुन्छ ।
कोरोना भाइरसले मुख्यतया ५०–६० वर्षमाथिका वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गर्छ । उनीहरूको रोगसँग लड्ने रोग प्रतिरोधात्मक शक्ति कम हुने भएकाले संक्रमणको जोखिम उच्च रहन्छ । सुगर, प्रेसर, दमका बिरामीलाई अझ झन् जोखिम हुने गर्छ । युवालगायत महिला, बालबालिकालाई संक्रमण नहुने भन्ने नभएको र उनीहरूसँग रोगसँग लड्ने क्षमता बढी हुन्छ ।
कोरोना भाइरसको औषधि बनेको अवस्था नभएकोमा व्यक्तिले सावधानी तथा सुरक्षा अपनाएर बच्न भए पनि जतिसक्दो सेल्फ क्वारेन्टाइनमै बस्नु उपयुक्त हुने देखिन्छ । कोरोना भाइरस एकदमै खतरनाक भएकाले यो भाइरसको नेपालको एक ठाउँमा मात्रै परीक्षण गरिने भएकाले नागरिकले स्वयम् थप सुरक्षित भएर बस्नुपर्छ । कोरोनाबाट बच्न व्यक्तिगत रूपमा बच्न सेनिटाइजर, मास्क, ग्लोबलगायत सामग्रीभन्दा ग्रामीण भेगका नागरिकले पनि साबुनले हात धोए पनि संक्रमणको जोखिम धेरै कम हुने गर्छ ।
प्रस्तुति :चन्द्रकान्त जोशी