कारोबार संवाददाता
सोमवार, चैत्र १०, २०७६
513

 

कोरोना संक्रमणको त्रास

सहकारी विभागको तथ्यांकअनुसार देशभर ३५ हजारभन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । यी संस्थामा ६५ लाखभन्दा बढी सर्वसाधारण आबद्ध भई सेवा लिइरहेका छन् । सहकारीहरूले वित्तीय सेवाका अतिरिक्त कृषि, दूध उत्पादन तथा वितरण, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, कृषिजन्य उत्पादनमा काम गरिरहेका छन् । सहकारीको योगदानबारे औपचारिक अध्ययन नभए पनि सहकारीबाट ५० हजारले प्रत्यक्ष र ५ लाखले अप्रत्यक्ष रोजगारी पाएको, कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ५ प्रतिशत तथा वित्तीय क्षेत्रको पहुँचमा २० प्रतिशत योगदान गरेको बताइन्छ ।
बाणिज्य बैंकपछि ठूलो वित्तीय कारोबार सहकारी संस्थामार्फत हुने गरेको छ । विभागको तथ्यांकअनुसार सहकारीमा ७३ अर्ब १७ करोड सेयर पुँजी ३ खर्ब २ अर्ब बचत संकलन र २ खर्ब ७३ अर्ब ऋण लगानी भएको छ । तर यथार्थमा सहकारीमार्फत १० खर्ब हाराहारीमा वित्तीय कारोबार हुने गरेको छ । विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले अत्यावश्यक बाहेकका सेवाहरू चैत ९ गतेदेखि २१ गतेसम्मका लागि बन्द गरेसँगै सहकारी संस्थाहरूमा सेवा कसरी नियमित रूपमा सञचालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । विशेषगरी वित्तीय कारोबार गर्ने सहकारीहरूले पर्याप्त तरलता नराखेको र निक्षेप फिर्ता गर्ने दबाब अत्यधिक भएकाले संस्था सञ्चालनमा समस्या हुन थालेको सञ्चालकहरू बताउँछन् । यही अन्योलका बीच आइतबार राष्ट्रिय सहकारी महासंघसहित विभिन्न संघले विज्ञप्ति जारी गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेका छन् । उनीहरूले संक्रमण हुन नदिने सुरक्षात्मक उपाय अपनाउँदै सेवा सञ्चालन गर्न आग्रह गरेका छन् । यस्तो अवस्थामा सहकारीले कसरी सदस्यलाई प्रभावकारी रूपमा सेवा दिन सक्छन् भन्ने विषयमा कारोबारले केही सरोकारवालासँग गरेको कुराकानी :

केही सहकारीमा तरलताको समस्या हुनसक्छ
शिवजी सापकोटा
सीईओ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ
कोरोना भाइरसको महामारीको त्राससँगै सरकारले विभिन्न निर्देशन जारी गर्दै आएको छ । राज्यले गरेको निर्देशनअनुसार सहकारी संस्थाहरूलाई आफ्नो सेवा सुचारु राख्नका लागि हामीले पनि अनुरोध गरेका छौं । सहकारी संस्थाले कसरी सकेसम्म सुरक्षित रही सेवा प्रदान गर्ने मुख्य विषय हो । संस्थाहरूले सेवा सञ्चालन गर्दा संक्रमणको जोखिम नहुने गरी आवश्यक सुरक्षात्मक उपाय अपनाएर गर्नुपर्छ । यसैगरी सदस्यलाई पनि यसबारे सचेतना गराउने जिम्मेवारी पनि सहकारी संस्थाहरूको हुन्छ । संस्थाहरूले आफ्ना सदस्यलाई सचेत गराउनका लागि भूमिका निर्वाह गर्न सक्छन् ।
कोरोना त्रासका कारण आर्थिक गतिविधिहरू ठप्प भएका छन् । यसका कारण सहकारी संस्थाले गरेको ऋण लगानी असुली तत्काल हँुदैन । बजारबाट निक्षेप संकलन पनि कम हुने भएकाले संस्थाहरूलाई तरलताको समस्या हुनसक्छ । सहकारी संस्था सञ्चालन गर्दा मापदण्डअनुसार आवश्यक तरलताको व्यवस्था गरेका संस्थाहरूमा त्यति समस्या नहोला । मापदण्डअनुसार सहकारीहरूले २० प्रतिशतसम्म तरलता व्यवस्था गर्नुपर्छ । तर, यहाँ केही सहकारीले १–२ प्रतिशतमात्र तरलता राखेर पनि कारोबार गर्ने गरेका छन् । अहिलेको अवस्थामा संस्थाबाट रकम झिक्ने धेरै भएकाले तरलताको समस्या भने हुनसक्ने देखिएको छ ।
यस्तो अवस्थामा सहकारी संस्थाले सचेत ढंगले काम गर्नसक्छ । पैसा लिन आउने सदस्यलाई सम्झाइ–बुझाइ गरेर काम गर्न सकिन्छ । सदस्यलाई घरमा पैसा लगेर थुपारेर मात्र हुँदैन । अप्ठेरो परेको अवस्थामा सहकारी संस्था तपार्इंहरूसँगै छ भनेर विश्वास दिलाउन सक्नुपर्छ । सदस्यहरूलाई आवश्यक परेको अवस्थामा जुनसुकै बेला पनि पैसा निकाल्न सकिन्छ भन्ने निश्चिन्त बनाउन सकियो भने काम गर्न सजिलो हुन्छ । अप्ठ्यारो परिस्थितिसँग डराएर संस्था भाग्नु हुँदैन । सदस्यहरूलाई काउन्सिलिङ गरेर सहजीकरण गर्न सक्नुपर्छ । यसका लागि संस्थाले प्रभावकारी सूचना प्रवाह पनि गर्नसक्छ ।
सदस्यहरूलाई परिस्थितिको जानकारी गराएर पर्याप्त मात्रामा सूचना प्रवाह गर्दै सहजीकरण गर्न सकियो भने संस्थाहरूलाई पनि सजिलो हुन्छ । संस्थाले सदस्यलाई आवश्यक परेको वित्तीय सेवा दिन्छौं भन्ने विश्वास दिलाउन सक्नुपर्छ । सहकारी भनेकै सदस्यहरूकै संस्था हो । उनीहरू सचेत भए भने अप्ठ्यारो अवस्थामा संस्थाहरूलाई सहयोग गर्न सक्छन् । यसका लागि संस्था, सञ्चालक समिति र व्यवस्थापनले सदस्यको विश्वास जितेको हुनुपर्छ ।
अहिलेको अवस्थामा सहकारीमा तरलताको समस्या नहोस् भनेर केन्द्रीय संघले पनि पर्याप्त तयारी गरेको छ । संघको भल्ट बिमाअनुसार पर्याप्त नगद मौजाद राखिएको छ । त्यसबाहेक बढी रकम आवश्यक परेको अवस्थामा पनि रकम अभाव नहुने गरी हामीले राष्ट्रिय सहकारी बैंकका साथै कारोबार गर्दै आइरहेका अन्य वाणिज्य बैंकसँग पनि एक चरणमा कुरा गरिसकेका छौं । हाम्रा सदस्य संस्थाहरूलाई अप्ठ्यारो पर्न दिँदैनौं । संघले आजैमात्र आह्वान पनि गरेका छौं । संस्थाहरूलाई स्वास्थ्य सतर्कता अपनाई सेवा प्रदान गर्न, पुराना र साना नोट कारोबारको सट्टा ठूला नोट कारोबार गर्न र निश्चित सीमाभन्दा माथी चेकमार्फत कारोबार गर्न भनेका छौं । यसैगरी संस्थाहरूलाई सकेसम्म सहकारीको नेटवर्कभन्दा बाहिरको तरलता प्रयोग गर्न, संस्थाहरूमा रकम राख्न र झिक्नका लागि अत्यावश्यक कर्मचारी मात्र राखेर सेवा प्रवाह गर्न आग्रह गरेका छौं ।

सहकारीले सेवा बन्द गर्न मिल्दैन
चित्राकुमारी थाम्सुहाङ सुब्बा
महाप्रबन्धक, राष्ट्रिय सहकारी महासंघ
विश्वव्यापी रूपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले अत्यावश्यकबाहेकका सेवाहरू चैत ९ गतेदेखि २१ गतेसम्मका लागि बन्द गरेको छ । प्रधानमन्त्रीको सम्बोधनपछि सहकारी संस्थाहरूमा आफ्नो सेवा कसरी नियमित रूपमा सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । देशभरका सहकारीकर्मीबाट महासंघमा विभिन्न किसिमका सुझाव तथा सल्लाह प्राप्त भएका छन् । सहकारीकर्मीहरूको सुझावकै आधारमा आइतबार महासंघ सञ्चालक समितिका सदस्यहरूसँग अनौपचारिक रूपमा छलफल गरी सहकारीका सेवा सुचारु राख्न आग्रह गरिसकेका छौं ।
सहकारी संस्था सदस्यहरूका लागि सदस्यहरूकै व्यवस्थापनबाट सञ्चालित भएकाले समुदायप्रति समेत जिम्मेवार भई सञ्चालन हुनुपर्छ । यस विषम परिस्थितिमा सदस्यहरूलाई अत्यावश्यक सेवा प्रवाह गर्न समेत तत्पर रहनुपर्छ । यसैगरी सहकारीको सेवा अत्यावश्यकभित्र पर्ने भएकाले संस्था बन्द गर्न मिल्दैन । सहकारीहरूले अझ जिम्मेवार रूपमा सेवा दिनुपर्छ । अप्ठेरो अवस्थामा सहकारीले भाग्न मिल्दैन । यसलाई डटेर सामना गर्नुपर्छ । अहिले सहकारीमार्फत बचत ऋणका अतिरिक्त स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामानको बिक्री–वितरणजस्ता काम पनि भइरहेका छन् । यसैले अहिलेको अवस्थामा सहकारीले दिने सेवा अझै प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
महासंघले यो अवस्थामा स्वास्थ्य सहकारी संस्थाहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न, उपभोक्ता सहकारीहरूलाई अत्यावश्यक वस्तुको आपूर्ति गर्न र वित्तीय सेवा प्रवाह गर्र्ने संघ-संस्थालाई आंशिक समय मात्र भए पनि कार्यालय खोली तरलताको व्यवस्थापन हुने गरी सदस्यहरूको आवश्यकताका आधारमा वित्तीय सेवा प्रवाह गर्न आग्रह गरिसकेको छ । यो अवस्थामा सर्वसाधारण त्रासमा भएकाले बैंकबाट पैसा झिक्ने र दैनिक उपभोग्य सामान जम्मा गर्न थालेकाले विशेषगरी वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूमा तरलताको समस्या हुनसक्छ । समुदायमा आधारित र सदस्य केन्द्रित भएका संस्थाहरूलाई त्यति अप्ठ्यारो नपर्ला । तर, व्यापारिक ढंगले चलेका सहकारीहरूमा केही समस्या हुनसक्छ । यस्तो बेला सहकारी संस्थालाई होलसेल ऋण दिने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंकलगायतको भूमिका महत्वपूर्ण हुन्छ । यस्ता संघहरूसँग हामीले अनौपचारिक छलफल पनि गरेका छौैं । अप्ठ्यारो परेको अवस्थामा यी संस्थाहरूले सहयोग गर्न सक्छन् ।
यसैगरी संस्थाहरुलाई कारोबार संचालन गर्दा पनि सचेतना अपनाउन पनि भनेका छौं । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर राख्दै सदस्य तथा कर्मचारीहरूमा संक्रमण नहुने उपायहरू अवलम्बन गर्ने, जनचेतना अभिवृद्धिका साथै मास्क तथा सेनिटाइजरलगायतका सरसफाइका वस्तुहरूको प्रयोग गर्न गराउन पनि हामीले आव्हान गरेका छौं । विश्व अत्यन्त कठिन परिस्थितिमा समुदायको प्रत्यक्ष संलग्नता रहेको सहकारी क्षेत्रको विशेष भूमिका रहनुपर्ने हु“दा अत्यावश्यक सेवा वाहेकका अन्य सेवा बन्द गरी भीडभाड नगर्न–नगराउन, कालोबजारीलाई रोक्न, सबैलाई संयमित रहन आ–आफ्नोे तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नसमेत सम्पूर्ण सहकारी संघ-संस्थाहरूलाई यस महासंघले अपिलसमेत गरेको छ ।
अहिलेको अवस्थामा महासंघले कर्मचारीहरूलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, अर्काे सूचना जारी नभएसम्म कुनै पनि वैदेशिक भ्रमण नगर्न, आफ्नो जिम्मेवारीमा परेका कार्यक्रमहरूसमेत स्थगित गर्न र नियमित रूपमा सम्पर्कमा रहनसमेत निर्देश गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरण गर्न र कर्मचारीको स्वास्थ्यलाई मध्यनजर राख्दै भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाएका छौं । आफ्नै सवारी साधान नभएका कर्मचारीलाई घरमै बसेर काम गर्ने व्यवस्था मिलाइएको छ । जोखिम न्यूनीकरणका लागि कर्मचारीलाई मास्क, सेनिटाइजरसमेत उलब्ध गराइएको जानकारी गराइन्छ । साथै कर्मचारीलाई आर्थिक समस्यासमेत पर्न नदिने व्यवस्था गरिएको र सकेसम्म डिजिटल कारोबार गर्नसमेत प्रोत्साहन गरेका छौं ।

सहकारीले डिजिटल कारोबार मिस गरिरहेको छ
बद्रीकुमार गुरागाईं
सीईओ, राष्ट्रिय सहकारी बैंक
सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न अत्यावश्यकबाहेकका सेवाहरू चैत ९ गतेदेखि २१ गतेसम्मका लागि बन्द गरेको छ । सहकारी संस्थाहरूले प्रदान गर्ने वित्तीयदेखि अन्य सेवाहरू पनि अत्यावश्यकभित्रै पर्ने भएकाले सहकारीहरूले नियमित रूपमा सेवा प्रदान गर्नुपर्छ । सहकारीले सेवा प्रदान गर्दा संस्थाका कर्मचारी र सेवाग्राहीको स्वास्थ्यलाई ख्याल गर्दै सचेत भएर काम गर्नुपर्ने अवस्था देखिएको छ । भाइरसरको संक्रमण हुन नदिन सुरक्षाका उपाय अपनाउँदै सेवा प्रवाह गर्नका लागि बैंकले शाखाहरूलाई निर्देशन दिएका छौं ।
बैंकका शाखा कार्यालयहरूमा कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि सुरक्षात्मक उपाय अपनाएका छौं । कार्यालयका कर्मचारीहरूलाई मास्क, पञ्जालगायतका सुरक्षा सामग्रीको व्यवस्था गरेका छौं । यसैगरी सेवाग्राहीका लागिसमेत स्यानिटाइजरको समेत व्यवस्था गरेका छौं । यसैगरी तापक्रम नाप्ने थर्मामिटरको समेत प्रयोग गर्ने योजनामा छौं । सदस्य संस्थाहरूलाई कारोबार गर्दा सकेसम्म ठूला नोटहरू प्रयोग गर्न आग्रह गरेका छौं । साना नोट प्रयोग गर्दा नोटको संख्या धेरै हुने भएकाले सम्भव भएसम्म साना दरका नोटहरू संस्थामै राख्न समेत भनेका छौं ।
नियमित बैंकिङबाहेकका अन्य सेवाहरू बन्द गरेका छौं । नगदमा काम गर्नेबाहेकका कर्मचारीहरूलाई कार्यालयमा नआई काम गर्न मिल्ने व्यवस्था गरेका छौं । आफ्नो सवारी साधान नभएको र सार्वजनिक सवारी प्रयोग गरेर कार्यालयमा आउने कर्मचारीहरूलाई सकेसम्म कार्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था पनि मिलाएका छौं ।
कोरोना त्रासका कारण आर्थिक कारोबार बन्द भएकाले सहकारीमा तरलताको समस्या पर्नसक्छ । सहकारी ऐन कानुन र पल्सले भनेअनुसार तरलता व्यवस्थापन नगरेका संस्थाहरूमा अप्ठेरो पर्न सक्ने सम्भावना छ । सहकारीको तलरलता व्यवस्थापनको विषय पनि अन्योल छ । संस्थाले दैनिक-साप्ताहिक-मासिक-वार्षिक कुन आधारमा तरलता व्यवस्थापन गर्ने भन्ने स्पष्ट छैन । त्यसैले सहकारीहरूमा यथेष्ठ तरलता नपुग्न सक्छ ।
यो अवस्थामा संस्थाहरूले सदस्यको विश्वास जितेर सेवा सञ्चालन गर्नुपर्छ । सदस्यलाई प्रभावकारी रूपमा सूचना प्रवाह गर्नु संस्थाको दायित्व हो । सदस्यलाई वित्तीय शिक्षा दिएर घरमा अनावश्यक रूपमा नगद राख्ने प्रवृत्ति कम गर्न सकिन्छ । जस्तो कुनै एक सदस्य १ लाख रुपैयाँ नगल झिक्न आएको छ भने उसलाई बुझाएर आवश्यकताअनुसार पैसा लैजानुहोस् भन्न सकिन्छ । यसरी काम गर्न सक्यो भने तरलताको समस्या नपर्ला ।
अहिले हामीलाई आवश्यक परेको भनेको विद्युतीय कारोबारको विषय हो । बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गरिरहेका बेला हामी अझै नगद कारोबार गर्नुपर्ने बाध्यतामा छौं । विभिन्न कानुनका कारण सहकारीहरू बैंकले जस्तो विद्युतीय कारोबार सेवा दिन सकेका छैनन् । अझै हामीले विद्युतीय चेक क्लियरिङ गर्न पाएका छैनौं । यही कारण पनि सदस्यहरू शाखामै आएर नगद कारोबार गर्नुपर्ने बाध्यता छ । यो अवस्थामा सहकारी क्षेत्रले विद्युतीय कारोबार मिस गरिरहेको छ ।
सहकारीले आफ्ना सदस्यलाई सेवा दिनुका अतिरिक्त समुदायप्रति पनि दायित्व रहेको हुन्छ । त्यसैले कोरोना संक्रमण न्यूनीकरण र रोकथाममा सचेतना जगाउन सहकारी संस्थाहरूले काम गर्न सक्छन् । यसैगरी सहकारी संस्थाका भौतिक पूर्वाधारहरू भोलि आवश्यक परेको अवस्थामा क्वारेन्टाइनका लागिसमेत प्रयोग गर्न सकिन्छ । देशलाई परेको अवस्थामा सहयोग गर्न सहकारी क्षेत्र तयार छ ।