कारोबार संवाददाता
बिहिवार, फाल्गुन १५, २०७६
719

विश्वभर यतिबेला कोरोना भाइरसको संकट छ । चीनलगायत विश्व स्वास्थ्य संगठनले जति प्रयास गर्दा पनि यो रोग नियन्त्रणमा आउन सकेको छैन । नेपालको दोस्रो ठूलो विकास साझेदार चीनलगायत नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरियासम्म यो रोग फैलिसकेको छ भने भारतलगायत नेपाल पनि यसको उच्च जोखिममा छन् । अर्कोतर्फ तत्काल नियन्त्रणमा आउने सम्भावनासमेत नदेखिएको कोरोना भाइरसको समस्या अझै लम्बिए त्यसको प्रत्यक्ष असर नेपालको आर्थिक क्षेत्रमा पनि प्रत्यक्ष रूपमा पर्ने देखिएको छ । कोरोनाले विश्वको आर्थिक वृद्धिदरमा समेत असर पार्ने आंकलन अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतका संघ संस्थाले गरिसकेकाले यसबाट बच्न पूर्वतयारी आवश्यक छ । नेपालका लागि चीन ठूलो व्यापारिक साझेदार भएकै कारण कोरोनाले नेपालको व्यापार तथा आर्थिक गतिविधिमा संकुचन ल्याउने देखिएको हो । नेपालको कुल वैदेशिक व्यापारमा भारतपछि चीनकै हिस्सा ठूलो छ ।
गत वर्ष दुई मुलुकबीच दुई खर्ब सात अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो । यसमध्ये चीनबाट २ खर्ब ५ अर्ब ५१ करोडका सामान आएका थिए भने २ अर्ब १० करोडका सामान चीन निर्यात भएका थिए । यस्तै, चालू आवको ६ महिनामा चीनबाट १ खर्ब १८ अर्ब २५ करोड २७ लाखको सामान आएको छ । त्यसो त कोरोना भाइरसका कारण पछिल्लो तीन सातादेखि चीनसँगका सबै व्यापारिक नाका बन्द छन् । चीनसँगको आयात–निर्यात व्यापार ठप्प भएको छ र नेपालको पर्यटनसहित जलविद्युत् र निर्माण क्षेत्रमा यसको असर देखिएको छ । साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सरकारले तत्काल विकल्प खोज्नुपर्ने देखिन्छ । फलफूल, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री, उद्योगका लागि चाहिने कच्चा पदार्थको ठूलो हिस्सा चीनबाट आयात हुन्छ । यससँगै चीनबाट आउने सामान अन्य मुलुकको तुलनामा सस्तो भएकाले त्यसको मार तल्लो र मध्यम वर्गका उपभोक्तामा पर्नेछ । चीनको विकल्पमा केही व्यापारी भियतनाम, बैंकक, कम्बोडिया, बंगलादेशलगायतका मुलुक यसको विकल्प हुनसक्छ । यसरी दोस्रो ठूलो व्यापारिक साझेदार भएकै कारण कोरोनाले यहाँको आर्थिक गतिविधिमा संकुचन ल्याउने देखिएको छ र यस समस्यालाई समाधान गर्न वा यसको असर कम गर्न नेपालले के गर्नुपर्छ भनेर कारोबारले विभिन्न क्षेत्रका सरोकारवालासँग गरेको कुराकानी :


आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न कठिन हुन्छ
डा. डिल्लीराज खनाल
अर्थविद्
चीनलगायत अन्य एसियाली देशहरूमा फैलिएको कोरोना भाइरसको असर विश्व अर्थतन्त्रमा देखिन सुरु गरिसकेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनमा कोरोनाको संक्रमण फैलिनु समग्र विश्व बजारका लागि दुःखद हो । विश्व अर्थव्यवस्थाका लागि यो भाइरस ठूलो जोखिम मात्रै नभएर यसले लामो समयसम्म असर देखाउन सक्छ ।
नेपाल चीनको नजिकको राष्ट्र पनि हो । चीनले नेपालमा धेरै लगानी गरेको छ, यसले गर्दा नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्छ । आगामी वर्षका लागि पनि चीनले नेपालको विभिन्न क्षेत्रमा लगानी प्रतिबद्धता गरेको छ । यसमा पनि केही न केही असर पर्ने देखिन्छ । नेपालमा विदेशी पर्यटक सबैभन्दा बढी चीनबाट आउँछन् । कोरोनाका कारणले नेपाल सरकारले सुरु गरेको भ्रमण वर्ष २०२० मा पनि धेरै असर पार्ने देखिन्छ । कोरोना भाइरसका कारण नेपालको पर्यटन, यातायात लगायत आन्तरिक उत्पादनमा असर पर्छ । विश्व सञ्जालमा जोडिएपछि कुनै एउटा देशमा परेको विकराल अवस्थाको असर समग्र विश्व अर्थतन्त्रमा देखिन्छ । चीन आफंैमा ठूलो अर्थतन्त्र भएको देश हो त्यसको असर नपर्ने कुरै भएन । कोरोनाकै कारण अहिले अमेरिकाबाहेक अन्य देशको अर्थतन्त्रमा ‘स्लो डाउन’को अवस्था देखिएको छ । अहिले चीनको व्यापार विश्वका धेरै देशमा छ सप्लाई चेन प्रभाव यतिबेला विश्वभर परेको छ । चीनमा साना मझौला उद्योगमा सबैभन्दा धेरै असर परेको छ । मैले यस अघिसम्म ७ प्रतिशतसम्म आर्थिक वृद्धि हुन्छ भन्नेमा आशावादी थिएँ, तर अब पुनः सोच्नुपर्ने अवस्था आएको छ । कोरोनाले अर्थतन्त्रमा प्रतिकूल असर पार्ने हुँदा तुलनात्मक रूपमा महत्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्यमा कम्तीमा शून्य दशमलव ५ प्रतिशत घटाउँछ । चीन नेपालको छिमेकी राष्ट्र भएकाले पनि त्यसको प्रत्यक्ष असर नेपालमा अवश्य नै पर्छ । नेपालमा बढी सामान आयात गर्ने देशमा चीन दोस्रो स्थानमा पर्छ । भाइरसको प्रकोपले नेपालको पर्यटन, यातायात, दैनिक उपभोग्य सामान लगायतमा नराम्ररी प्रभाव पार्छ । नेपालमा आउने पर्यटक मध्येको एक ठूलो देश चीन पनि हो । हाल नेपालका धेरै एयरलाइन्स कम्पनीले चीनको उडान रोकेका छन् । यसले नेपालको पर्यटन क्षेत्रमा धेरै घाटा हुनेछ । नेपाल सरकारले हालै नेपाल भ्रमण वर्ष २०२० सुरु गरेको छ । भ्रमण वर्ष सुरु भएकै समयमा चीनलगायत एसियाली, युरोपलगायतका देशहरूमा कोरोना फैलनु नेपालको पर्यटन क्षेत्रका लागि राम्रो होइन । यो चिनियाँको भ्रमण गर्ने समय हो । भ्रमण गर्ने समयमा कोरोना भाइरसको प्रकोप हुनु नेपालका लागि सुखद होइन । यसले नेपालको पर्यटन व्यवसायमा ठूलो धक्का पु-याउँछ ।

चीनसँगको व्यापारमा प्रत्यक्ष असर पार्छ
पुरुषोत्तम ओझा
व्यापार विज्ञ एवं पूर्वसचिव
कोरोना भाइरसको उत्पत्तिस्थल चाइना नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । चीनमा नेपालको निर्यात त्यति धेरै त छैन । करिब वार्षिक दुई अर्बको निर्यात र आयात दुई सय सात अर्बको आयात रहेको छ । कोरोना भाइरसको कारणले गर्दा निर्यातमा भन्दा पनि आयातमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । निर्यात पनि केही मात्रामा प्रभाव हुने देखिन्छ । किनभने चीनसँगका सीमानाकाबाट हुने कारोबार पनि सुस्त अवस्थामा छ । त्यसैले अहिले चीनसँग हवाई यात्राको आवतजावत स्थिति पनि एकदम कम छ । यसले पनि व्यापारलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
कोरोना भाइरसका कारणले गर्दा नेपालको चीनसँगको व्यापारमा अवश्य पनि कमी ल्याउँछ । अरु मुलुकमा पनि भाइरस फैलिरहेको छ । दक्षिण कोरियामा पनि मुुलुकको आयात व्यापार ठूलो छ । इरानामा पनि भाइरस फैलिएको छ । यसमा नेपालको व्यापारिक सम्बन्ध त त्यति धेरै छैन । आयातमा असर पर्ने देखिन्छ । त्यसैले कोरोना भाइरसको संक्रमण अझै अन्य मुलुकमा बढ्दै गएको सन्दर्भमा यसले मुलुकको वैदेशिक व्यापारलाई प्रत्यक्ष असर गर्छ । आयात निर्यातलाई असर पार्ने प्रष्ट देखिन्छ । अहिलेसम्म नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक भारत र चीन छन् ।
पहिलो दर्जाको व्यापारिक साझेदार मुलुक भारत रहेकाले अहिले त्यति असहज परिस्थिति छैन । तर भारतमा पनि यसको संक्रमण फैलिएको खण्डमा असहज परिस्थिति आई यसले मुलुकको वैदेशिक व्यापारलाई ठूलै असर पार्ने देखिन्छ । तथापि अहिले यसका कारणले गर्दा चीनसँगै अन्य मुलुकसँग हुने व्यापार पनि प्रभावित भएको सन्दर्भमा नेपालको पनि व्यापारमा आयातको परिमाण घटेर जाने प्रष्ट देखिन्छ । निर्यात पनि त्यही अनुपातमा घट्ने देखिन्छ । त्यसैले हामीले आगामी दिनमा कसरी कोरोना भाइरस खुम्चिएर अथवा फैलिएर जान्छ । नेपालको वैदेशिक व्यापारको स्थिति अर्थतन्त्रको बाह्य स्थितिलाई पनि धेरै असर गर्छ । भाइरसको संक्रमण रोक्नका लागि नेपालले तत्काल गर्न सक्ने त केही पनि छैन । तत्काल व्यापारलाई विविधीकरण गर्ने अवस्था पनि सहजै छैन । चीनमा भइरहेको व्यापारलाई अन्य मुलुकमा निर्यात गर्छु भन्ने अवस्था पनि तत्कालका लागि छैन । भारतसँगको व्यापार ठूलो परिमाणमा रहेको छ । त्यसमा पनि यस्तै किसिमका संकटकालीन अवस्था आयो भने अर्थतन्त्रमा ठूलो असर पर्ने भएकाले नेपालले अहिलेदेखि नै दीर्घकालीन योजना बनाएर आयात निर्यातको वैदेशिक व्यापारलाई विविधीकरण गर्नेतिर जोड दिनुपर्छ । भारत र चीनसँगको नेपालको व्यापार हेर्ने हो भने झन्डै ८० प्रतिशत रहेका कारणले गर्दा व्यापारलाई विविधीकरण गर्नेतर्फ नेपालले अहिलेदेखि नै जोड दिनुपर्छ । अन्य मुलुकसँग व्यापार बढाउनेतर्फ नेपालले विशेष जोड दिनुपर्छ । कोरोना भाइसको प्रभाव अन्य मुलुकमा फैलिँदै गयो भने पनि मुलुकको व्यापारलाई प्रत्यक्ष असर पार्ने गर्छ ।

प्रधानमन्त्रीले कोरोनामुक्त देशको सन्देश प्रवाह गर्नुपर्छ
शशिकान्त अग्रवाल
सञ्चालक
मेरियट होटल
कोरोना भाइरसका कारण नेपालको पर्यटन उद्योगमा पर्यटन आगमन घटेर गएको अवस्था छ । ठूलो संख्यामा चीनबाट आउने पर्यटक यो समयमा शून्य भएको अवस्था छ । सम्पूर्ण पर्यटन व्यवसाय यो समयमा मन्दीको मारमा परेका छन् । यो समयमा सरकारले नेपाल कोरोनामुक्त देश भनेर प्रचारप्रसार गर्नु आजको आवश्यकता मैले ठानेको छु । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि प्रधानमन्त्री तहबाट विश्वभर नेपालको प्रचारप्रसार गर्न सरकार लाग्नु पर्छ । पर्यटनमन्त्रीको तहबाट गरिरहनु भएको प्रयास सरहानीय छ । हामी सरोकारवाला निकाय सरकारको यो प्रयासमा साथमा साथ छौं । तर यति मात्र भएर नपुग्ने मैले देखेको छु । प्रधानमन्त्री तवरबाट नेपाल कोरोनाबाट मुक्त रहेको सन्देश अन्तर्राष्ट्रिय मिडियामा दिन सकेको खण्डमा मात्र नेपालमा यो समयमा पर्यटक वृद्धि बढाउन सकिने मैले ठानेको छु । यसका लागि निजी क्षेत्र सरकारको नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि साथ सहयोग गर्न तयार छ ।

पर्यटनमा वैकल्पिक बजारको खोजी आवश्यक
सुमन घिमिरे
पूर्वअध्यक्ष
होटल संघ नेपाल, चितवन च्याप्टर
चीनमा देखिएको नोबेल कोरोना भाइरसका कारण नेपालको पर्यटन आगमनमा कमी आएको छ । छिमेकी मुलुक चीनबाट भारतपछि ठूलो संख्यामा पर्यटक आउने गरेको भए पनि नेपाल भ्रमण वर्षको सुरुवातमा नै देखिएको चीनको महामारीको समस्याले गर्दा भ्रमण वर्षलाई समेत चुनौती थपिएको छ । चीनबाट नेपाल भ्रमणमा आउने पर्यटको संख्या हाल शून्य छ ।
चितवनको सौराहा आउने पर्यटकको संख्यामा कुल अंकको ३० प्रतिशतको हाराहारीमा घटेको हामीले पाएका छौं । यसो भन्दै गर्दा पर्यटक आगमन भने नभएको हैन । आन्तरिक, भारतीय, युरोपियन र अमेरिकन पर्यटकको आगमन छ । चीनबाट आउने पर्यटक भने शून्य नै भएकाले पर्यटन आगमनमा ठूलो ह्रास आएको हामीले अनुभव गरेका छौं । सौराहामा ठूलो मात्रामा चिनियाँ पर्यटक आउने भएकाले हाल शून्य पर्यटक हुँदा स्वतः पर्यटन उद्योगमा मन्दी आएको छ । यो समयमा सौराहाका होटलको अकुपेन्सी ५० देखि ६० प्रतिशत हुनुपर्नेमा हाल घटेर २५ देखि ३० प्रतिशतमा सीमित छ । हाल देखिएको पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि होटल संघ चितवनले आन्तरिक पर्यटनमा जोड दिएको छ । नेपाल कोरोनामुक्त देश भनेर विश्वमा सन्देश प्रवाह गर्नुपर्ने सरकारको दायित्व रहेकाले यसो हुन सकेको खण्डमा पर्यटक आगमनमा वृद्धि गर्न सकिन्छ । सौराहाको पर्यटक आगमन बढाउनका लागि घुमौं सौराहा अभियान चलाएर देश, विदेश प्रचारप्रसार गर्ने योजनासहित अगाडि बढेका छौं । यो योजनालाई अगाडि बढाउनका लागि प्रचार प्रसार गर्न लागिपरेका छौं । नेपालको पर्यटन बजार चीन भारतसँग बढी निर्भर छ । सरकार र नेपाल पर्यटन बोर्ड मिलेर नेपालको पर्यटन बजार विस्तार गरेर वैकल्पिक बजारको खोजी हुन सकेको खण्डमा मात्र हामी छिमेकी मुलुकमा आउने समस्यामा पनि नेपालको पर्यटन बजारलाई चलायमान बनाउन सकिने छ । भूकम्पको समयमा पनि चिनियाँ पर्यटकको संख्यामा कमी आउँदा नेपालको पर्यटन उद्योगमा समस्या परेको थियो । त्यसैले गर्दा हामीले वैकल्पिक बजारको खोजी गर्नुपर्ने आवश्यकता भइसकेको छ । चीनबाट आउने पर्यटकको संख्यामा कमी भएसँगै नेपाल आउने पर्यटकको संख्यामा पनि कमी भएको हो ।