यादव हुमागाई
सोमवार, माघ १३, २०७६
538

नेपालमा २० निर्जीवन, १९ जीवन र एक पुनर्बिमा गरी ४० वटा कम्पनीमार्फत नेपालमा बिमा व्यवसाय सञ्चालन भइरहेको छ । पछिल्लो समयमा बजारमा नयाँ कम्पनी थपिएको र सर्वसाधारणमा सचेतनासमेत वृद्धि भइरहेकाले बिमाको पहुँच विस्तारसमेत उत्साहजनक रूपमा भइरहेको छ । अहिले २० प्रतिशतमाथि उकालो लागेको बिमाको पहुँच केही वर्षमै ५० प्रतिशत नाघ्ने सम्भावना देखिएको बताउँछन् यस क्षेत्रका विज्ञ भोजराज शर्मा । बिमा क्षेत्रमा ५ दशकभन्दा बढी अनुभव सँगालेका उनी हाल बिमा समितिको सल्लाहकारका साथै इस्योरेन्स इन्स्टिच्युट नेपालका प्रमुख कार्यकारी अधिकृतका रूपमा समेत रहेका छन् । पछिल्लो समयमा बिमाको शिक्षालाई विकास र विस्तारमा केन्द्रित हुँदै आएका उनी बिमालाई संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिन्छन् । उनीसँग नेपाली समाजमा रहेको बिमाप्रतिको बुझाइ र बिमा साक्षरताको अवस्थाबारे केन्द्रित भई कारोबारकर्मी यादव हुमागाईले गरेको कुराकानीको सार :

बिमा क्षेत्रमा तालिम सञ्चालन गर्ने संस्थामा व्यवस्थापनको नेतृत्व सम्हाल्नुभएको छ । एक वर्षको अनुभव कस्तो रह्यो ?
बिमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित नियामक निकाय बिमा समिति र बिमा कम्पनीहरूको संयुक्त लगानीमा अघिल्लो वर्ष साउनबाट इन्स्योरेन्स इन्स्टिच्युट नेपाल स्थापना भएको हो । दर्ता प्रक्रियालगायतका आवश्यक तयारीका कारण माघ ८ गते दर्ता गरी काम सुरु गरेका हौं । एक वर्षको अनुभव उत्साहप्रद रह्यो । इन्स्टिच्युट स्थापनापछि बिमा कम्पनीहरू दक्ष जनशक्ति तयार गर्न तालिम दिनुपर्ने रहेछ भनेर यसतर्फ उन्मुख हुन थालेका छन् । पहिला बिमा तालिमका लागि कम्पनीहरूले बजेट नछुट्याउने, बजेट छुट्याएकाले पनि तालिमका लागि भारत पठाउने प्रचलन थियो । नेपालमै तालिम दिने संस्था भएपछि अहिले कम्पनीहरूले ग्रुपका गु्रप तालिमका लागि पठाउन थालेका छन् । अधिकांश बिमा कम्पनीले नयाँ कर्मचारीहरू तालिमपछि मात्र नियुक्ति दिन सुरु गरेका छन् ।
यसअघि कम्पनीहरूले कर्मचारी नियुक्तिपछि व्यवसायको टार्गेट दिएर मात्र काममा पठाउने गर्थे, जसले गर्दा कर्मचारीमा कसरी काम गर्ने भन्ने अन्योल हुन्थ्यो । यस्ता कर्मचारीबाट कम्पनीमा व्यवसाय आए पनि कसरी दीर्घकालीन हुने गरी व्यवसाय गर्ने भन्ने विषयमा जानकारी थिएन । अहिले हामी फिल्डमा तालिम लिएर जाँदा पनि कर्मचारीहरू १०–१५ वर्षपछि यस्तो कुरा थाहा पायौं भन्ने प्रतिक्रिया सुनाउनुहुन्छ । संस्था स्थापनाले बिमामा तालिम प्राप्त जनशक्ति वृद्धि भइरहेको छ । हामीले प्रारम्भिक तहदेखि माथिल्लो तहसम्म तालिम गरिरहेका छौं । हामीले सञ्चालकहरूलाई समेत सचेतना कार्यक्रम पनि गरिरहेका छौं । यो अवधिमा हामीले १२ सयभन्दा बढीलाई तालिम दिएका छौं । काठमाडौंका साथै अन्य जिल्लामा पनि तालिम सञ्चालन गरिरहेका छौं । कतिपय कम्पनी वर्षभरिका लागि तालिम सम्झौता गरौं भनेर पनि आउनु भएको छ ।

बिमा कम्पनीहरू आफैंले अभिकर्ताका लागि तालिम सञ्चालन गरिरहेका छन् । यो कत्तिको प्रभावकारी पाउनुभएको छ ?
अभिकर्तालाई कम्पनीहरूले नै तालिम दिने भएकाले त्यसमा समग्र बिमाबारे जानकारी दिनेभन्दा पनि आफ्नो प्रोडक्टमा फोकस भएको पाइन्छ । कसरी प्रतिस्पर्धामा जाने भनेर तालिम केन्द्रित छ, जसका कारण अभिकर्ताहरूलाई बिमासम्बन्धी सम्पूर्ण ज्ञानको भने अभाव छ । समिति वा इन्स्टिच्युटका तालिममा बिमाबारे सम्पूर्ण ज्ञान प्रदान गरिन्छ । त्यो व्यक्ति भोलि कम्पनीमा आबद्ध भएपछि ज्ञानलाई कम्पनीको व्यवसायअनुसार ढाल्ने हो । कर्मचारीको हकमा पनि कम्पनीभित्र सञ्चालन गर्ने तालिमहरू पनि सीमित दायरामा केन्द्रित छ । तालिममै केन्द्रित स्वतन्त्र संस्थाहरूबाट लिनेहरूसँग अझै बृहत् ज्ञान पाइन्छ । हामीले त तालिमका लागि भारतको कलेज अफ इन्स्योरेन्स, यूकेको कलेज अफ इन्स्योरेन्सको मोडलमा अन्तर्राष्ट्रियस्तरको तालिम दिन्छौं । तालिम आज कम्पनीको व्यवसाय वृद्धिमा मात्र केन्द्रित नभई भोलिको दिनमा पनि काम लाग्ने गरी ज्ञान दिन्छौं ।

कम्पनीहरूले अभिकर्ताका लागि सञ्चालन गर्ने तालिममा पारदर्शिता छैन, तालिम नै सञ्चालन नगरी लाइसेन्स दिन सिफारिस गर्छन् भन्ने सुनिन्छ नि ?
यसमा यदाकदा विकृतिहरू होलान् । यसबारेमा त्यति टिप्पणी नगरौं । पहिला बिमा समिति आफैंले अभिकर्ताको तालिम सञ्चालन गर्ने गरेको थियो । पछि कम्पनी र अभिकर्ताहरूको संख्या वृद्धि हुँदै गएपछि समितिले कम्पनीहरूलाई नै तालिमको अधिकार दिएको हो । इन्स्टिच्युटमार्फत अहिलेसम्म हामीले अभिकर्ताहरूका लागि तालिम दिएका छैनौं । तर, सक्रिय अभिकर्ताका लागि एड्भान्सस्तरको रिफ्रेस तालिम दिने कार्यक्रम सुरु गर्दैछौं । नयाँ अभिकर्तालाई तालिम दिनका लागि समितिले कानुनी प्रावधानमा नै परिवर्तन गर्नुपर्छ ।

अभिकर्ताको तालिम पनि इन्टिच्युटमार्फत सञ्चालन गर्न सकिन्छ ?
समितिले कानुनी व्यवस्था गरी जिम्मेवारी दिने हो भने त्यसका लागि हामी तयार छौं । कम्पनी पिच्छेका लागि फरक–फरक तालिम सञ्चालन गर्न त नसकिएला, समूह समूह बनाएर तालिम सञ्चालन गर्न सकिन्छ ।

बिमा कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको बिमासम्बन्धी दक्षता कस्तो पाउनुभयो त ?
अहिले बिमाका कर्मचारीहरू व्यवसाय विस्तारमै केन्द्रित छन् । जसरी भए पनि व्यवसाय ल्याउने र कम्पनीले दिएको लक्ष्य पूरा गर्नेतर्फ नै उनीहरू केन्द्रित देखिन्छन् । यो माइन्ड सेट बदल्नकै लागि धेरैभन्दा धेरै तालिमको जरुरी छ । कम्पनीको ग्रोथका लागि व्यवसाय त चाहिन्छ नै, तर यो स्वस्थ रूपमा आओस् भन्नका लागि कर्मचारीलाई बिमासम्बन्धी बृहत् ज्ञान आवश्यक छ ।

अभिकर्ता र कर्मचारीले सर्वसाधारणलाई बिमा बुझाएर व्यवसाय ल्याउने गरेका छन् त ?
ग्राहकसम्म पुग्ने कर्मचारी हुन् या अभिकर्ता अधिकांशले आफ्नै कम्पनी र प्रोडक्टको गुनगान गाउने हुन् । उनीहरूले बिमाबारे पर्याप्त नबुझाएपछि सर्वसाधारणले बिमा पोलिसी रोज्ने अवसर त पाएनन् नि ! हुन त कर्मचारी वा अभिकर्ताले आफ्नै कम्पनीको प्रोडक्टबारे नै बताउने हुन् । तर, अलि फोर्सफुल्ली ट्याकल गरेको हो कि जस्तो पनि देखिन्छ । हाम्रै प्रोडक्ट राम्रो छ भन्ने र अन्य हत्कण्डा अपनाउने, राम्रोसँग अन्डराइटिङ नगर्ने, जसरी पनि पोलिसी बिक्री गरौं, प्रिमियम लेराऊँ भन्नेमै केन्द्रित भएको पनि देखिन्छ । यो प्रवृत्तिलाई नियामकले नियन्त्रण गर्न जरुरी छ ।

आममान्छेमा बिमा भनेकै निश्चित समयपछि दोब्बर भुक्तानी पाइन्छ भन्ने बुझाइ छ । यस्तो गलत बुझाइ हुनुमा जिम्मेवार को ?
सामान्य बिमाको भुक्तानी दोब्बर हुँदै हुँदैन । दोब्बर भुक्तानी हुने बिमा पनि पाइन्छ । तर, त्यसका लागि पहिल्यै बिमा शुल्क बढी तिर्नुपर्छ । बिमा गर्नेबित्तिकै दोहोरो भुक्तानी हुन्छ भन्ने विषयमा अभिकर्ता र कर्मचारीहरूले यसमा मिसलिड गरेका हुन् । हामी फिल्डमा जाँदा पनि सर्वसाधारणले दोब्बर हुन्छ भनेकाले बिमा गरेको खै भएन त भनेर गुनासो गरेको पाइन्छ । दोब्बर भुक्तानी ग्यारेन्टी छ भने मात्र हुन्छ, नत्र सामान्य रूपमा हुँदैन । शतप्रतिशत बोनस त अहिलेसम्म कुनै कम्पनीको छैन नि ! बिमा समितिमार्फत सचेतना कार्यक्रम गरी सर्वसाधारणमा रहेको भ्रम हटाउने प्रयास गरिरहेका छौं ।

सर्वसाधारणलाई बिमा पोलिसी बिक्री गर्न कम्पनीहरूले जथाभावी आश्वासन बाँडेका हुन् ?
बिमा कम्पनीहरूमा काम गरिरहेका कर्मचारीहरूले नै सीधै त गरेनन् होला । यसमा अभिकर्ता वा एजेन्टहरूको भूमिका होला । कहिले कहाँ जीवन बिमा गरेको छु, ‘जे’ भए पनि भुक्तानी दिन्छु भनेको छ भन्ने गुनासो सुनिन्छ । ‘जे’ भए पनि भनेको अर्थ के हो ? कसैको काम गर्दागर्दै एउटा हात गुमायो भने दाबी भुक्तानी दिन्छु भनेको त होइन होला । कि त त्यो पोलिसीले दुर्घटना जोखिमसमेत कभर गरेको हुनुप-यो । कोही व्यक्ति कमाउनै नसक्ने अवस्थामा पुग्यो भने प्रिमियम तिर्नु नपर्ने सुविधा बिमा गर्दा लिएको छ भने मात्र पाउने हो । बिमा लेखमा धेरै जोखिम छनोट गर्ने व्यवस्था हुन्छ । यसबारे पर्याप्त जानकारी नहुँदा समस्या हुने गरेको छ ।
सबै कुरा एजेन्ट र कम्पनीलाई मात्र दोष नलगाऔं । बिमा पोलिसी किन्ने व्यक्ति आफैं पनि सचेत हुनुपर्छ । हामी एउटा सानो सामान किन्न त अनेकतिर बुझ्छौं भने बिमा पोलिसी किन्न पनि बुझेर किन्नुप-यो । बिक्रीकर्ताले बताएको कुरा आफूले पनि परीक्षण गर्नुपर्छ । सर्वसाधारणलाई यो अवस्थामा पु-याउन समितिले बिमा शिक्षा प्रवद्र्धन गर्नुपर्छ । समितिले अन्तरक्रिया, सूचना पाटी, सञ्चारमाध्यमबाट बिमा शिक्षाको प्रवद्र्धन गर्नुपर्छ । हामी बिमाको विकाससँगै बिमा शिक्षाको प्रवद्र्धन गर्न पछाडि प-यौं । अहिलेसम्म विस्तारमा मात्र केन्द्रित भयौं । जानेर बुझेर आफ्नो आवश्यकताअनुसारको बिमा किन्न सक्ने बनाउन बिमा साक्षरता विस्तार गर्न जोड दिनुपर्छ ।

सर्वसाधारणलाई सबै कुरा बुझायो भने बिमा नगर्लान् भन्ने चिन्ता होला नि ?
बिमा दुई पक्षबीच गरिएको करार सम्झौता हो । बिमा पोलिसी करारको कागज हो । व्यक्तिले आवेदन भर्दा मलाई यो–यो जोखिम कभर आवश्यक छ भनेर छान्ने हो । बिमा गराउँदा पहिला फाइदा त बताउनैपर्छ । त्यसपछिका छनोटमा पर्याप्त कुरा नबताइएको पनि हुनसक्छ । बिमा गराउने व्यक्तिले नै यसो अनुहार हेरेरै भरिदिन्छ र गर्ने व्यक्तिले हतार–हतार हस्ताक्षर गर्छ । सबैको सर्तहरूको वर्णन गराई–गराई बुझाएर बिमा गर्ने हो भने समस्या कम हुन्थ्यो । यसमा बिमा गर्ने व्यक्ति पनि चनाखो बन्न जरुरी छ ।

बिमा साक्षरतासम्बन्धी काममा समितिको भूमिका भयो हैन ?
अन्तर्राष्ट्रियस्तरमा आदानप्रदान हुने बाहेक सबै बिमा पोलिसी नेपालीमै छन् । स्वास्थ्य बिमा केही समय अंग्रेजीमा भए पनि अहिले नेपालीमै छ । बिमा पोलिसी सरल र सर्वसाधारणले बुझ्ने बनाउने भने पनि कानुनको भाषा कहिलेकाहीं सरल नहुन पनि सक्छ । त्यसले केही प्राविधिक विषय सर्वसाधारणले नबुझ्ने र अप्ठ्यारो भएको हुनसक्छ । विभिन्न कार्यक्रममार्फत जनतालाई बुझाउन समिति सक्रिय छ ।
दाबी भुक्तानीमा कम्पनीहरूले झमेला गर्ने गरेको सर्वसाधारणको गुनासो सुनिन्छ । बिमा साक्षरता नहुँदा पनि यो समस्या भइरहेको छ नि ?
जीवन बिमामा दाबी भुक्तानीको समस्या एकदमै न्यून छ । कुनै–कुनै समस्या भए पनि मुद्दामार्फत बिमितले न्याय पाएका छन् । धेरैजसो समस्या हुने भनेको निर्जीवन बिमा व्यवसायमा नै हो । किनकि एक त व्यक्ति आफ्नो सम्पत्ति बिमा गर्ने बेलामा जस्तो छ त्यस्तै दाबी लिन खोज्छ । आफूले उपयोग गरेको समय बिर्सन्छ । कहिलेकाहीं कम्पनीहरूले पनि जथाभावी दाबी भुक्तानीमा कटौती गरेको पनि देखिन्छ । विवाद भएपछि मुद्दा पर्छ । हामी आफैं यहाँबाट निक्यौंल गर्छाैं । यहाँको निर्णय नमाने अदालतबाट हुन्छ । अहिले यस्ता समस्या एकदमै कम भएर गएको छ ।

बिमा कम्पनीले झमेला गर्दा न्याय माग्न कहाँ जाने भन्ने त थाहा छैन सर्वसाधारणलाई ?
सर्वसाधारणलाई पहिला बिमा समिति के हो भन्ने थाहा थिएन । अहिले हामी बैंकहरूको नियामक राष्ट्र बैंक भएजस्तै बिमा कम्पनीको नियामक समिति हो भनेर जनचेतना कार्यक्रम गरिरहेका छौं । अब विस्तारै थाहा हँदैछ ।

बिमाको पहुँच वृद्धि भई २० प्रतिशत नाघेको छ । यसबाट कत्तिको उत्साहित हुनुहुन्छ ?
धेरै वर्षदेखि न्यून वृद्धिदर भइरहेको बिमा पहुँचदरमा अब उच्च वृद्धि देखिन थालेको छ । यो गर्व गर्ने लायक विषय हो । यही दरमा बढ्दै जाने हो भने केही वर्षमै ५० प्रतिशत पुग्ने देखिन्छ । कुल जनसंख्याको ५० प्रतिशतमा बिमाको पहुँच हुने भनेको आर्थिक रूपमा सक्रिय जनसंख्याको ६०–७० प्रतिशत पुग्नु हो ।
अहिले हामी कतिको बिमा भयो भन्दा पनि कति जनाको बिमा भयो भन्ने विषयमै फोकस छौं । यसले अर्को पुस्तासम्म पुग्दा बिमा राम्रोसँग हुन्छ । अहिले बाबुले १ लाखको रुपैयाँ बराबरको पोलिसी किनेको छ भने छोराले १० लाखको पोलिसी लिन्छ । किनकि उसलाई बिमा गर्ने बानी त बस्यो । २–३ लाखको पोलिसी लिएर हुँदैन । व्यक्तिको आर्थिक आवश्यकताअनुसार बिमा गर्नुपर्ने हो । तर थोरैको बिमा भए पनि यसले बिमा संस्कृतिको विकास गर्न त सहयोग गरेको छ नि ।
निर्जीवन बिमा गाउँ पुग्न सकेको छैन । सहरमै पर्याप्त भएको छैन । सहर–बजारमा शिक्षित व्यक्तिले पनि बिमा गरेका छैनन् । त्यसैले शिक्षित भएर मात्र बिमा नहुने रहेछ । त्यसका लागि भित्रैबाट जागरुकता आउनुपर्छ । बिमाको संस्कार बसेपछि मात्र बिमा हुन्छ । विकसित देशमा जन्मदेखि मृत्युसम्म सबै आवश्यकताका लागि बिमा गरेको हुन्छ । काजक्रियाको खर्चका लागि समेत इन्स्योरेन्स गर्ने संस्कार छ । हामीकहाँ अहिलेसम्म जोडबल वा अनिवार्य गरिएको अवस्थामा मात्र बिमा भएको अवस्था छ । यसैगरी बिमा गर्नका लागि व्यक्तिको आम्दानी पनि बढ्नुपर्छ ।

बिमाको पहुँच बढाउन सुविधा दिएर आकर्षित गराउने वा अनिवार्य गर्नेमध्ये कुन नीति प्रभावकारी होला ?
सधैं अनिवार्य गर्दा संस्कार विकास हुँदैन । कसैले थोपरिदिएको बोझजस्तो हुन्छ । यसको विकास गर्न मनैबाट उत्साह आउनुपर्छ । आज मैले बिमा गरिने भने भोलि समस्यामा पर्छु भन्ने बोध हुनुपर्छ । त्यसपछि मात्र बिमाको पहुँच विस्तार हुन्छ ।
समितिले स्थानीय जनप्रतिनिहरूसँग बिमाबारे छलफल सुरु गरेको छ, उनीहरूको धारणा कस्तो पाउनुभएको छ ?
बिमाप्रति सरकारको धारणा सकारात्मक बन्दै आएको छ । स्थानीय सरकारहरूको प्राथमिकतामा बिमा पर्न थालेको छ । कर्णाली प्रदेश सरकारले प्राकृतिक जोखिमसम्बन्धी बिमा गर्न छलफल अघि बढाएको छ । कतिपय ठाउँमा स्थानीय सरकारहरूले कृषि बिमामा थप अनुदान दिन आफैंले फन्ड बनाएको पाएका छौं । बिमाको महत्व बुझेर नै धेरै सकारात्मक दृष्टिकोण आइरहेको छ ।

नयाँ कम्पनीहरू थपिएपछि बजारको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
पहिला बिमा कम्पनीहरू सहर केन्द्रित मात्र थिए । जीवन बिमाका अभिकर्ताहरू मात्र गाउँ पुगेका थिए । नयाँ कम्पनी आएसँगै बजार केन्द्रित कम्पनीहरू पनि गाउँ जान थालेका छन् । पहिला बिमा बजारमा मागअनुसार आपूर्ति थियो, तर अब आपूर्तिले माग सिर्जना गर्दैछ । यसमा भइरहेको प्रतिस्पर्धा स्वस्थ बनाउन समितिले आफ्नो भूमिका पनि बढाइरहेको छ । नियमन क्षमता वृद्धि भएको छ । विभिन्न निर्देशिका जारी गरेर कम्पनीहरूलाई व्यवस्थित बनाउन समिति क्रियाशील छ ।

अर्थतन्त्रको आकारका आधारमा त निर्जीवन कम्पनीहरूलाई बजार पुग्दैन भनिन्छ नि ?
अहिलेको अर्थतन्त्रको आकारका आधारमा त्यसो भन्न सकिएला । देश लामो समय समस्यामा भएकाले आर्थिक वृद्धि राम्रो भएन । अहिले आर्थिक वृद्धि गर्ने वातावरण बनिरहेको छ । गाडी, हवाईजहाज थपिएका छन् । ठूला–ठूला बिल्डिङ बनिरहेका छन् । घरेलु उद्योग, निर्वाहमुखी कृषि ठूलो उद्योगका रूपमा विकास भइरहेको छ । यसले निर्जीवन कम्पनीहरूका लागि समेत पर्याप्त व्यवसाय विस्तार गर्ने अवस्था आइरहेको छ ।