सरस्वती ढकाल
बिहिवार, मंसिर ५, २०७६
489

अढाइ दशकभन्दा लामो समयदेखि फोटोग्राफी क्षेत्रमा संलग्न दिनेशराज अर्याल फोटो कन्सर्नका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । नेपालको फोटोग्राफी क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने श्रेय पाएको फोटो कन्सर्नको साढे ६ दशक लामो इतिहास छ । युवा अवस्थामै फोटो कन्सर्नको सीईओ बनेका अर्यालले अध्ययनका हिसाबले विज्ञान विषय अध्ययन गरे पनि हाल डिजिटल टेक्नोलोजीमा विद्यावारिधि गर्दैछन् । व्यवस्थापन विषय पनि अध्ययन गरेका उनलाई प्रविधि पछ्याउँदै फोटो कन्सर्नको नाम चम्काउने श्रेय पनि जान्छ । फोटोग्राफीका विभिन्न उपकरण आयात र स्थानीय अधिकृत बिक्रेतासमेत रहेको यो कम्पनीले सयौं दक्ष जनशक्ति उत्पादन गरे पनि शैक्षिक योग्यताको प्रमाणपत्र नहुँदा समस्या हुने गरेको अवस्थालाई दृष्टिगत गरी अर्याल हाल यसको व्यावसायिक जनशक्ति उत्पादनमा लागेका छन् । प्रविधिको विकाससँगै फोटोग्राफीको शैली फेरिए पनि फोटो कन्सर्नले सधैं यसको नेतृत्व गरिरहेको बताउने अर्याल डिजिटल प्रविधिमा पनि कन्सर्नले नै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउँछन् । ‘डिजिटल प्रविधिको डिस्टिब्युटर्स लिएर मुलुकभर हाल कन्सर्नले नै मेसिन वितरण गर्ने तथा त्यसका लागि आवश्यक सुविधा पनि प्रदान गर्दै आइरहेको छ । हाल मानिसले फोटो खिचेर धुलाइ गर्ने भन्दा पनि मोबाइल फोटोको प्रयोग बढी गर्न थालेका छन् भने कतिपयले पोटे«ट खिच्न थालेका छन् । तर, कन्सर्नले यसलाई पनि व्यावसायिक स्वरूप दिएको छ । यस्ता फोटोलाई टिसर्ट, कपडा, मग र वाटर बोतलमा प्रिन्ट गर्न रुचाउने ग्राहकलाई समेत सेवा दिइरहेको फोटो कन्सर्नले यसलाई औद्योगिक रूप दिन प्रयास गरिरहेको छ । पछिल्लो समय उत्पादनमूलक उद्योगमा पनि प्रवेश गरेको फोटो कन्सर्न के–कस्ता उद्योगमा लगानी गर्दैछ, रोजगारी सिर्जना र नेपालमा लगानी गर्न के–कस्ता चुनौती छन् भन्ने सवालमा सीईओ अर्यालसँग सरस्वती ढकालले गरेको कुराकानीको सार :

कलरल्याबको क्षेत्रमा एउटा इतिहास बनाइसकेको फोटो कन्सर्नले अब नयाँ गन्तव्य पहिचान गर्न लागेको हो ?
कलरल्याबको क्षेत्रका फोटो कन्सर्नलाई अब सर्वसाधारणमा थप चिनाउनुपर्ने अवस्था छैन भन्ने मलाई लाग्छ । नेपालको सबैभन्दा पुरानो फोटो स्टुडियोका रूपमा फोटो कन्सर्न स्थापित भइसकेको छ । नेपालमा कोड्याकको आधिकारिक बिक्रेता फोटो कन्सर्न नै हो । फोटोग्राफीका क्षेत्रमा नेपालमा सबैभन्दा धेरै सञ्जाल भएको कम्पनी मात्रै नभएर मानिसलाई फोटो संसारमा छुट्टै अनुभव दिने पनि हामी नै हौँ भन्ने लाग्छ । डिजिटल प्रविधिको प्रयोग बढेसँगै नेगेटिभको विलय हुनु, पुरानो ढर्राबाट सञ्चालित कम्पनीहरू हराउनु र नयाँ कम्पनी माथि जाने नौलो कुरा होइन । यो प्रवृत्ति नेपालमा पनि नदेखिएको होइन, उदाहरण प्रशस्तै छन् । कतिपय कलरल्याबले समयअनुसार आफूलाई अपडेट गरे, तिनीहरू बजारमा रहन सके भने जसले आफूलाई अपग्रेड गर्न सकेनन् तिनीहरू हराएर पनि गए । फोटोग्राफीकै क्षेत्रमा काम गरेका ठूला–ठूला कम्पनीहरू पनि बन्द भएका उदाहरण छन् । अर्कातर्फ डिजिटल मेसिन ल्याउने पनि फोटो कन्सर्न नै हो भने डिजिटल मेसिन सबैभन्दा धेरै बेच्ने पनि हो । त्यसका बाबजुद फोटोसँग सम्बन्धित अन्य काम गर्न लागेका छौँ । फोटो कन्सर्न हिजोको दिनमा भन्दा परिष्कृत भएर आएको छ भने समयको मागअनुसार थप परिष्कृत हुनु पनि पर्छ । यसका साथसाथै अबको हाम्रो गन्तव्य उत्पादनमूलक क्षेत्रमा मोडिएको छ ।

के–कस्ता उद्योगहरू सञ्चालन हुँदैछन्, फोटोसँग नै सम्बन्धित हुन् या अन्य ?
हामीले तत्काल ल्याउन लागेका चार उद्योग हुन्, जसमध्ये फोटो फ्रेम, टुथपिक, बन्टिङ पाइप र फ्याब्रिक झोला हो । यीमध्ये फोटो फ्रेम र बन्टिङ फोटोसँगै सम्बन्धित हुन् भने अन्य दुई सम्बन्धित छैनन्, तर यिनले अर्थतन्त्रमा दिने योगदान महत्वपूर्ण हुनेछ । निर्यात गर्नु मात्रै ठूलो कुरा होइन, आन्तरिक बजारलाई चाहिने सामान उत्पादन गर्नु पनि उत्तिकै महत्वपूर्ण छ । हामीले उत्पादन गरेका समानहरू आन्तरिक बजारका लागि निकै महत्वपूर्ण छन्, भविष्यमा निर्यात गर्न सक्ने सम्भावना पनि प्रशस्तै छन् । उत्पादनमूलक क्षेत्रमा फोटो कन्सर्नले पाइला चाल्ने प्रयास गरेको छ, सफलतासँगै नयाँ उद्योगहरू थप गर्दैै जान्छौँ ।

फोटो व्यवसाय गरिरहेको एक घराना कसरी उद्योगतर्फ जान मन लाग्यो ?
प्रविधिको विकाससँगै नयाँ–नयाँ संस्करणको विकास भएको छ । हामीले पनि नयाँपन गर्र्नु जरुरी देखियो, चाहे त्यो फोटोसँग सम्बन्धित होस् या अन्य । देशमा आवश्यक रहेको तर कसैले नगरेको काम अध्ययन गर्दै जाँदा यस्ता उद्योगहरूमा हामीले हात हालेको हो । मुख्यतः केही समयअगाडि चीनको एक मेला अवलोकन गर्न जाँदा त्यहाँबाट प्रेरित भएर मैले पनि नेपालमा अध्ययन गरेँ र सम्भावना देखेर नै लगानी गरेको हो ।

उद्योग सञ्चालन भइसके वा सञ्चालनको तयारीमा छन् ?
फोटोसँग सम्बन्धित नै रहेर उत्पादनमूलक उद्योग स्थापना गर्ने लक्ष्यअनुसार हेटौंडा औद्योगिक क्षेत्रभित्र फोटो फ्रेम उद्योग सुरु गरेका छौँ । चीनबाट मेसिन ल्याएका छौँ भने सुरुका दिनमा चीनबाटै प्राविधिक पनि ल्याएर दैनिक सय डलर तिर्न बाध्य भयौँ । नेपालमा यस्ता खालका प्राविधिक पाउन मुस्किल छ । यस विषयमा आइडिया भएका व्यक्ति नै छैनन् । हामीसँग प्रविधि थिएन भने चीनसँग भाषाको समस्या हुने थियो । चीनका प्राविधिकलाई तीन महिनासम्म राखियो, उनीहरू गएपछि उद्योग बन्द भयो । फेरि हामी भारत गएर अर्काे टिम ल्याएर दुईवटा प्रडक्सन लाइनले २४ घण्टा प्रडक्सन गर्दा पनि मागअनुसार पूर्ति गर्न सकेका छैनौँ । यही उद्योगमा जति बजारको साइज थियो त्यो देखेर अहिले नेपालमै रिसाइकल प्लान्ट पनि सुरु गरेका छौँ । तेस्रो प्लान्ट ल्याउनका लागि गृहकार्य भइरहेको छ । पहिले शतप्रतिशत आयात हुने सामान अहिले ९० प्रतिशतभन्दा धेरै स्वदेशी उत्पादनको खपत भएको छ । नेपालको अर्थतन्त्रलाई रोजगारी सिर्जना गरेर होस् या कर तिरेर या अन्य अप्रत्यक्ष रूपमा कुनै न कुनै रूपमा हामीले टेवा पु-याइरहेका छौँ ।
अर्काे फोटो व्यवसायमा प्रिन्टिङपछि ह्याङ्गिङ गर्ने गरिन्छ, त्यसका लागि प्रयोग हुने पाइप वन्टिङ पाइप हो । त्यो पाइप शतप्रतिशत चीनबाट आयात हुन्थ्यो । त्यसलाई केही गरेर उत्पादन गर्न सकिए वार्षिक २० देखि २५ करोडसम्म भए पनि देशको व्यापारघाटा कम गर्न सकिन्छ भनेर हामीले त्यसको अध्ययन ग-यौँ । १-२ पटक यसैसँग सम्बन्धित चीनको मेला अवलोकनपछि थप आइडिया आएको हो । यसको उद्योग फर्पिङ दक्षिणकालीमा सञ्चालनमा आएको छ । त्यसैगरी टुथपिक उत्पादन गर्नका लागि मेसिन आएको छ । देख्दा सानो भए पनि कसैले नसोचेको मध्ये टुथपिक उद्योग पर्छ । र, अर्काे बजारमा प्लास्टिक मुक्त गर्ने भन्ने सरकारको योजना छ, वातावरणमैत्री नन–ओभन ब्याग ल्याउन लागेका छौँ । यसको उत्पादन फरक तरिकाले गर्न लागिएको छ । यसरी उत्पादनमूलक क्षेत्रमा चारवटा उद्योग एकैसाथ आएका छन् । ट्रेडिङ व्यवसाय भने पुरानै हो, निरन्तर चलिरहेको छ ।

फोटो फ्रेमको अहिलेको बजार माग कति हो ? तपाईंहरूको उत्पादनले कति प्रतिशत मागलाई सम्बोधन गर्न सक्ला ?
फोटो फ्रेम दुई तरिकाले आउने गरेको छ, एउटा तयारी सामान र दोस्रो कच्चा पदार्थ ल्याएर आफ्नो साइजअनुसारको बनाउन मिल्छ । नेपालमा वार्षिक ३५ देखि ४० करोडको बजार छ । अधिकांश अहिले पनि रेडिमेड फोटो फ्रेम आउँछ जसले थोरै नाफा दिन्छ र छिटो बेच्न सकिन्छ । अर्कातर्फ कच्चा पदार्थ ल्याएर आफ्नो साइजअनुसार फोटो फ्रेम बनाउन सकिन्छ । हामी यस्तो परम्परागत सोचाइ भंग गर्दै नेपालमै उत्पादन गर्नुपर्छ भनेर उद्योग राखेको हो । सुरुका दिनमा निकै कष्टपूर्ण अवस्था रह्यो । धेरै संघर्ष गर्दै चार वर्ष पूरा भएको छ, जुन चार वर्ष घाटा खाएर उद्योग सञ्चालन भयो । अहिले भने हामी नाफामा जान थालेका छौँ । चार वर्षको दौरानमा नेपाली फ्रेम भनेपछि नकिन्ने प्रचलन तोड्दै नेपाली हो कि होइन भनेर चिनेर किन्ने बानी बसाल्न सफल भयौँ । हेटौंडा औद्योगिक क्षेत्रबाट दुईवटा प्लान्ट महिनाको २६ देखि २८ दिनसम्म चल्छ । त्यसले देशको कुल मागको ७० प्रतिशतसम्म पूरा गरेको छ । अहिले ३५ हजार किलो प्रतिमहिना कच्चा पदार्थको माग हुन्छ, हामी अहिले २५ हजार किलोको सप्लाई गर्न सक्षम भएका छौँ । फाइनल गुड वर्षको ३० देखि ३५ करोडको कारोबार हुन्छ । अहिले रेमिमेड फ्रेमहरू आइरहेको अवस्था पनि छ । हामीले फ्रेममा निर्भर रहेर उद्योग चलाउने ४ सयजना जनशक्ति उत्पादन गरिसकेका छौँ । विकट मानिने रुकुमपूर्वमा पनि फ्रेमको उद्योग सुरु गरिसकेका छौँ । १ सय २५ भन्दा धेरै फ्रेम उद्योगी बनाइसकेका छौँ । यिनीहरूले फ्रेम बनाएर बेचिरहेका छौँ ।

तपाईंहरूले उद्योग चलाउने हो कि उद्योगी उत्पादन गर्ने ?
हामी कच्चा पदार्थ सप्लाइ गर्छाैं । यो कच्चा पदार्थबाट सामान्य रूपमा ४-५ लाखको पुँजीमा उद्योग खोेलेर व्यवसाय सुरु गर्न सक्छन्, त्यस्ता व्यवसायीहरू अहिले २० देखि २५ लाखको पुँजी बनाएर काम गर्न सक्ने भएका छन् । बजारमा १ सय २५ जना नयाँ उद्योगी हामीले थपेका छौँ ।

फोेटो फ्रेममा नयाँ प्रविधिको चुनौती कत्तिको छ ?
यस क्षेत्रमा नयाँपन अवश्य चाहिन्छ । हामीले एकपटक एउटा डिजाइनको फ्रेम बनाएर दिएपछि सोही ग्राहकलाई अर्को डिजाइन मन पर्ने रहेछ । पहिले हामीसँग ६० वटा डिजाइन थियो भने अहिले थप ६० वटा डिजाइन थप गरेर १ सय २० वटा डिजाइन राखेका छौँ । हरेक महिनामा फ्रेमका भेराइटिजहरू थप गरिरहेका हुन्छौँ, किनभने ग्राहकको इच्छाअनुसार फ्रेमको भेराइटी परिवर्तन हुन्छ । नयाँ फोटोमा फ्रेम गर्दा नयाँपन खोज्ने भएकाले मासिक तीन–चारवटा नयाँ भेराइटी थप गरेका हुन्छौँ ।

कसरी उद्योगी बनाउनुहुन्छ ? सार्वजनिक सूचना दिने हो या आफ्नो सर्कल प्रयोग गर्ने ?
नेटवर्कका लागि हामीलाई समस्या छैन । बलियो नेटवर्क भएकाले ग्राहकलाई इन्करेज गर्दै फोटो स्टुडियो मात्रै चलाएर बस्नेलाई नयाँ अफर लिएर जान्छौँ । लागतदेखि सम्पूर्ण विवरणको जानकारी दिएपछि उत्सुक हुनेलाई हामीले उद्योगमा ल्याएर तालिम प्रदान गर्छौं । तालिम गरेपछि कच्चा पदार्थ, मेसिन हामी दिन्छौँ र सामान बनाएर स्थानीय बजारमा उनीहरूले बेच्दै आएका छन् । उनीहरूलाई दिने तालिम पूर्ण रूपमा निःशुल्क हुन्छ ।

अर्काे उद्योग बन्टिङ पाइपको कत्तिको सम्भावना छ ?
मैले चीनको एउटा मेलामा जाँदा प्लास्टिकसम्बन्धी एउटा विभागमा हेर्दा यो मेसिनका बारेमा जान्ने अवसर पाएँ, नेपाल आएर गृहकार्य गरेँ । अहिले यसको उत्पादन सुरु भइसकेको छ । फर्पिङमा उद्योग छ भने वार्षिक १५ करोडको बजार नेपाली बजार भएकाले सम्भावना राम्रो छ । मध्यम खालको व्यापारका लागि यो राम्रो क्षेत्र हो । अहिले यस उद्योगमा सात जनाले रोजगारी पनि पाएका छन् । देशकै बिजुली खर्च गरेर गाउँकै युवालाई रोजगारी दिएका छौँ । यसको मुख्य उद्देश्य आयात प्रतिस्थापन गर्ने हो ।

नेपाली बाँसको उच्चतम प्रयोग गरिने टुथपिक कहिलेदेखि बजारमा आउँछ ?
सुन्दा यो निकै सानो कुरा हो, तर यसको खपत पछिल्लो समय घर, रेस्टुराँ, होटलहरूमा अत्यधिक बढेको छ । यसमा पनि कसैको ध्यान गएको पाइएन । सुरुमा अनौठो लागेर नै काम सुरु गरेको छ । अहिले मेसिन आइसकेको छ । नेपालमा बाँस धेरै छ, सहज रूपमा पाउन पनि सकिन्छ । कतिपय बाँस यत्तिकै खेर गएका छन्, तर हामीले टुथपिक भारत र चीनबाट आयात गरिरहेका छौँ । यसले देशमा केही व्यक्तिलाई रोजगारी, आफ्नै देशको बिजुली खपत र व्यापारघाटामा केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर उद्योग स्थापना गरेका हौँ । मासिक कम्तीमा डेढ करोडसम्मको व्यापार हुन्छ भन्ने अनुमान छ । घरेलु उद्योग भए पनि यसको प्रभाव राम्रो हुन्छ भन्ने मलाई लाग्छ । शनिबारदेखि उद्योगले परीक्षणका रूपमा उत्पादन गर्दैछ । यसले दिनमा २ देखि ३ लाख पिस निकाल्न सक्छ । नेपाली बजारको माग धान्न सकिन्छ ।

विज्ञापनको नयाँ तरिका फ्याब्रिक झोला उद्योग सञ्चालनमा आएको हो ?
भारत तथा चीनमा प्लास्टिकका झोला हटाइएको छ भने नेपालमा पनि हटाउने क्रम जारी छ । विभिन्न नगरपालिककाले सूचना जारी गरिसकेका छन् । अहिले ह्वाइट प्लास्टिकलाई रिप्लेस गरेर नन–ओभन फ्याब्रिक झोला बजारमा पाउन सकिन्छ । नेपालमा २४ वटा यस्ता झोला बनाउने उद्योग छन् । सबै उद्योग जेनतेन चलेका हुन्, उल्लेख्य नाफामा जान सकेको अवस्था छैन । किन नाफामा जान सकेनन् त भनेर बुझ्दा पार्ट टाइममा रूपमा उद्योग चलेको देखियो । चुनौतीका बाबजुद मैले यही उद्योग चलाउने सोच बनाएर मेसिन खरिद गरेँ । अहिले उद्योग चितवनमा छ । केही समयमा उत्पादन बजारमा आउँछ । एउटा टिभीसी बनाउँदा लाख रुपैयाँभन्दा धेरै जान्छ, त्यही विज्ञापन झोलामा बनाउने र ग्राहकसम्म पु-याउने हो भने लागत कम पर्छ । हामी शतप्रतिशत प्रिन्टेड झोला दिन्छौँ र नगन्य रूपमा प्रिन्टिङ खर्च लिन्छौँ । प्रिन्टिङ सुविधा अहिले काठमाडौँका कोर ठाउँमा छैन । हामीले फोटो कन्सर्नको मातहतमा न्युरोडमै यो उद्योग राखेका छौँ । ग्राहक आफैं आएर छनोट गर्न सक्छन् । यसबाट विज्ञापन व्यवसाय नयाँ तरिकाले अगाडि जान्छ भन्ने विश्वास छ ।

अरू उद्योगीहरू उत्पादनबाट ट्रेडिङमा गएका छन्, तपाईंहरू ट्रेडिङबाट विस्तारै उत्पादनतिर जान खोज्दै हुुनुहुन्छ, किन ?
धेरैजसो व्यवसायीले उद्योग चलाउन कठिन मान्दै सजिलो व्यापार ट्रेडिङतिर लागेको यथार्थ हो । ट्रेडिङ सजिलो व्यवसाय हो, यसमा च्यालेन्जिङ भन्ने भएन । अरूले नगरेको काम गर्दा चुनौती पनि धेरै हुन्छ र त्यसमा रिटर्न पनि हुन्छ भन्ने हो । उत्पादनमूलक उद्योगमा लाभ धेरै छ भने सामाजिक स्टेटस पनि राम्रो बनाउँछ । राष्ट्रले पनि आयातलाई निरुत्साहित गर्दै उत्पादन बढाउने नीति लिएको छ । हामी जस्ता अरू युवाले पनि देशमै सानो ठूलो उद्योग खोले भने त्यसको लाभ देशलाई हुन्छ । वैदेशिक रोजगारीमै किन जाने, आफ्नो देशमा केही गर्न सके देश र उद्योगी दुवैलाई लाभ हुन्छ । यसका साथै सोलार ब्याट्री र रबरब्यान्डको उत्पादन गर्नेतर्फ पनि काम अगाडि बढेको छ । सानै पुँजीको मात्रै किन नहोस्, उद्योग गर्नुस्, त्यसले तपाईंलाई विदेश जान नपर्ने अवस्था सिर्जना गर्छ ।

उत्पादनमूलक उद्योगमा बढी लाभ छ त भन्नुभयो, कच्चा पदार्थ कत्तिको सहज छ नि ?
टुथपिक शतप्रतिशत नेपाली कच्चा पदार्थ प्रयोग हुन्छ । फोटो फ्रेमको कच्चा पदार्थ भारत र चीनबाट आयात गर्छौं । फ्याब्रिक झोलाको कच्चा पदार्थ पनि प्लास्टिक हो यसको नेपालमा केही उद्योगले यसको उत्पादन गर्छन्, हामी त्यो किन्छौँ । यसका लागि इन्डियन आयल कर्पाेरेसनसँग किन्नुपर्छ । जुन भारतले आफ्नो माग पूरा भएपछि मात्रै नेपाललाई बिक्री गर्ने हो । ब्याट्रीका लागि पनि लिड आयात नै गर्नुपर्छ । भोलिका दिनमा नेपालमा पनि केही पहल होला, तर अहिले भने कच्चा पदार्थ आयात नै गर्नुपरेको छ ।

तपाईंहरू कच्चा पदार्थ उत्पादनतिर जाने सोचमा हुनुहुन्न ?
नेपालमा भएको ब्याट्रीमा प्रयोग हुने कच्चा पदार्थ कवाडीको भाउमा भारत पठाउँछौं, फेरि फाइनल गुडका रूपमा किन्छौँ । यसको कम्तीमा पनि ५० प्रतिशतको भ्यालु थपिन्छ । यही कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सकेमा धेरै लाभ हुन्छ । सरकारले अहिले विद्युतीय गाडीको अवधारणा ल्याएको छ, त्यसको सबैभन्दा मुख्य पार्ट ब्याट्री हो । एउटा गाडीमा १० देखि १२ लाख रुपैयाँसम्मको ब्याट्रीको कुरा आइरहेको छ । त्यसैले हामीले लिड रिसाइकल प्लान्ट र मिथेन आयल प्लान्ट नेपालमा उत्पादन गर्न सकेमा विद्युतीय गाडीको कस्ट धेरै घट्न सक्छ ।
र अन्त्यमा, यी सबै उद्योगमा कति लगानी हुँदैछ ?
हेटांैडामा औद्योगिक क्षेत्रको जग्गा भएकाले त्यो लिजमा हो । मेसिन र प्लान्ट तथा अन्य बजारीकरणका लागि खर्च गर्ने हो, यसमा १० करोड बराबरको लागत छ । त्यसैगरी टुथपिक १ करोड, फ्याब्रिक झोलामा ५ करोडबाट सुरु हुन्छ । अहिले २० देखि २५ करोडको लागत छ । आवश्यकताअनुसार लगानी थप्दै जाने हो ।