किरण आचार्य
मंगलबार, कार्तिक २६, २०७६
732

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बाली हो— धान । धानको उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतले तलमाथि हुने तथ्यांकीय यथार्थका बीच खाद्य सुरक्षाको हिसाबले पनि उत्तिकै महत्वपूर्ण बाली हो । नेपालमा मात्र नभई विश्वमै धेरै धान फलाउने चीन र त्यसपछिको भारतमा पनि धानको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक महत्वसमेत छ । गत वर्षको तथ्यांकअनुसार मुलुकभर १४ लाख ८९ हजार ७ सय ४४ हेक्टरमा धानखेती भएकोमा ५५ लाख ८४ हजार मेटन उत्पादन भएको तथा उत्पादकत्व प्रतिहेक्टर ३ हजार ७ सय ४८ किलो छ ।
चालू आर्थिक वर्षमा करिब ४० लाख मेटन चामल आवश्यक पर्नेमा ३४ लाख मेटन स्वदेशमै उत्पादित धानबाट प्राप्त हुने र ६ लाख मेटन अपुग हुने देखिएको छ । वार्षिक करिब १ खर्ब ५० अर्ब रकम बराबरको धान तथा धानका सहायक उत्पादन हुने गरेको छ भने चामल आयातका लागि २५ अर्ब रकम बाहिरिने गरेको तथ्यांक छ । अरू बालीमा जस्तै धानमा पनि बीउ, मल, पानी र उचित प्राविधिक सेवाको महत्व रहन्छ । र, नेपालमा बर्सेनि कुनै नै कुनै खालको समस्या धान उत्पादनको क्षेत्रमा आइ नै रहेको देखिन्छ । पछिल्ला वर्षमा बीउबिजनका कारण किसानहरू मारमा पर्ने गरेको गुनासो बढ्ने गरेको छ । धानका पर्यायजस्तै मानिने डा. भोलामानसिंह बस्नेतले ३५ वर्षको आफ्नो सरकारी सेवासहित २०२३ सालमा एसएलसी पास गरेयता जीवन नै धानबालीका अध्ययनमा समर्पित गरेका वैज्ञानिक हुन् । कृषि र धानमा अध्ययन अनुसन्धानका ५३ वर्ष बिताएका बस्नेतसँग किसानले भोग्दै आएका समस्यादेखि धानबालीका प्राविधिक, नीतिगत, आर्थिक तथा सामाजिक लगायतका अवधारणामा केन्द्रित भई कारोबारकर्मी किरण आचार्यले गरेको कुराकानीको सार :

तपाईंको नजरमा धान के हो ? मानव सभ्यतामा यसको के–कस्तो महत्व छ ?
धान यस्तो अन्न बाली हो जो मान्छे जम्मेदेखि मृत्युसम्म मात्र नभई मृत्युपर्यन्त पनि आवश्यक पर्छ । जन्मकर्मदेखि मान्छे मरेपछि पनि श्राद्ध गर्दा पिण्डका रूपमा धानबाट बनेको चामलको प्रयोग गर्ने गरिन्छ । संस्कृति मात्र होइन, दैनिकी पनि हो धान । जापानी जनतामा मौसमका बारेमा कुरा गरेर भेटघाटको कुराकानी सुरु हुन्छ, नेपालमा ‘भात खानुभयोे ?’ बाट कुरा गर्ने चलन पनि छ । अर्कातिर धानले धानेको मुलुकका रूपमा हामी नेपाललाई हेर्न सक्छौं । धानको उत्पादन बढ्दा आर्थिक वृद्धिदर माथि जाने, घट्दा तल जाने अवस्था भएकाले धान अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पनि हो । धानले देशलाई धेरै दिएको छ । देशले भने धानलाई खासै दिन सकेको छैन । समग्रमा हेर्दा धान नै जीवन हो ।

ब्रह्माण्डमा धानको उत्पत्ति र विकासक्रमलाई कसरी नियाल्नुभएको छ ?
हामीले पढ्दादेखि पृथ्वीमा धानको उत्पत्ति १० हजार वर्षपहिलेदेखि भएको भन्ने तथ्यलाई मान्दै आएका छौं । केही वर्षअगाडि बीबीसीले तयार गरेको समाचार सामग्रीमा १५ हजार वर्षअगाडि धानको सुरुवात भएको भन्ने प्रस्तुत गरेको पाएको थिएँ । जेहोस् यो हजारौं वर्षदेखि अस्तित्वमा रहेको बाली हो । उत्पत्तिका हिसाबले हेर्दा नेपाललाई पनि धानको उद्गम स्थलका रूपमा लिइन्छ । विश्वको कुल जनसंख्याको आधा हिस्साको मुख्य खाना नै धान हो । त्यसैले पनि धान उत्पादनदेखि बजारीकरणसम्ममा विभिन्न अध्ययन, अनुसन्धान र विकासलाई विश्वभर प्राथमिकताको विषयका रूपमा मानिँदै आइएको छ । त्यसमा पनि धान उत्पादनको ९० प्रतिशत हिस्सा र खपतसमेत यति नै हिस्सा एसिया क्षेत्रको छ । एसियालीहरूलाई सँगै ल्याउन सेतुको काम पनि धानले गर्दै आएको छ । संसारमै चीन र भारत ठूला धान उत्पादक मुलुक हुन् । यी दुई देशमा धान उत्पादनमा उथलपुथल भयो भने विश्वभर तहल्का मच्चिने अवस्था विद्यमान छ । त्यसैले हाम्रा छिमेकी मुलुकमा धानको अनुसन्धानमा पनि उत्तिकै प्राथमिकताका साथ काम गरिरहेको पाइन्छ ।

धान उत्पादन घट्न नदिनु र वृद्धि गर्नु उत्पादक मुलुकको चुनौतीपूर्ण देखिएको तपाईंको विश्लेषण छ । विश्वभर कस्ता–कस्ता धानका जात विद्यमान छन् ?
धानको जातलाई चार प्रकारले वर्गीकरण गर्न सकिन्छ, परम्परागत वा रैथाने जात, उन्नत धान, वर्णसंकर (हाइब्रिड) र जिनेटिकल्ली मोडिफाइड अग्र्यानिज्म (जीएमओ) जातको धान । चारै प्रकारका जातमा विश्वभर उत्पादन र उत्पादकत्व बढाउने तथा वातावरणीय असर कम हुने खालका जातहरू संरक्षण र विकास गर्ने काम भइरहेको छ । नेपालमा जीएमओ बीउ प्रतिबन्धित छ । बाँकी तीन प्रकारका धानका जातको प्रयोग भइरहेको छ । सबैभन्दा बढी उन्नत जातका धानको बीउ किसानमाझ लोकप्रिय छन् भने हाइब्रिडको प्रयोग पनि नेपालमा बढी नै छ । नेपालमा जीवनशैलीको परिवर्तन तथा उत्पादन र उत्पादत्व बढी भएका जातका विकास हुँदै गर्दै छायाँमा परेका ८ हजार ३ सय ८९ धानका प्रजाति (जर्मप्लाज्म) जिन बैंकमा सुरक्षित गरिएका छन् । संरक्षित धानका जर्मप्लाज्महरू जलवायु परिवर्तनलाई सहन सक्ने क्षमता भएका नयाँ–नयाँ जातको विकास गर्न काम लाग्छन् । नेपालभरबाट संकल गरिएका स्थानीय तथा जंगली जातका धानका प्रजातिहरूमध्ये २ हजार ४ सय प्रजाति नेपालको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) मा संरक्षित गरिएका छन् भने अन्य विभिन्न देशमा रहेका जिन बैंकमा सुरक्षित रूपमा राखिएको नार्कको तथ्यांक छ । नार्कले वर्षे सिजनका लागि १ सय १६ र चैते सिजनका लागि ७ गरी १ सय २३ उन्नत धानका जात विकास गरेको छ । ४७ प्रजाति हाइब्रिड जातका छन् ।

रैथाने, उन्नत, हाइब्रिड र जीएमओ जातका धानबारेमा जनतामा एक खालको अन्योलता पनि देखिन्छ । यी जातहरूबीचको तात्विक फरक के–कस्तो छ ?
रैथाने जातहरू कहिलेदेखि आए भनेर भन्न सकिँदैन । जंगलमा भइरहेका धानका जातहरूलाई समयक्रममा मानिसले खेती गर्न थालेको रैथाने जातबाटै हो । हामीले थाहा पाउँदा थाप्चिने, तौली, मौली, मन्सरा भन्ने धानका रैथाने जात बीउ थिए । अहिले नाम नै सुनिँदैन । विभिन्न जातका धानका फरक–फरक विशेषतालाई मिलाएर विकास गरिएका जातहरू उन्नत जातका धान हुन् । रैथाने बीउभन्दा उन्नत बीउ १५ देखि २० प्रतिशत बढी उत्पादन दिने क्षमताका हुन्छन् । उन्नतभन्दा बढी उत्पादन दिने जात हाइब्रिड हो । हाइब्रिडको फरक विशेषता भनेको इन्ब्रेट लाइन अर्थात् धानको जातको बाउआमा उत्पादन क्षमता अत्यधिक बढी हुन्छ । यस्तो पत्ता लगाउन धेरै समय र पुँजी खर्च हुने भएकाले हाइब्रिड धान उत्पादन बढी दिने हुन्छ, तर बीउ नै महँगो हुन्छ । उन्नत बीउ ६०–७० रुपैयाँ प्रतिकिलो हुँदा हाइब्रिडको ४–५ सय रुपैयाँ किलो पर्छ । हाइब्रिडको नकारात्मक पक्ष भनेको रैथाने जस्तो हाइब्रिड बीउबाट फलेको धानलाई पुनः बीउको प्रयोग गर्दा उत्पादन नदिन सक्छ । रैथाने, उन्नत र हाइब्रिड विकास गर्दा धान–धानमात्र क्रस गरिन्छ । जीएमओ भने अलिक फरक खालको प्रविधिबाट विकास गरिएका धानका जातहरू हुन् । धानका प्रजातिबाट मात्र नभई फरक खालका कृषि उपजका विशेषतासमेत लिएर बनाइन्छ । जस्तै चिसो सहने जातको जीएमओ धानको विकास गर्नका लागि माछाको जिन (चिसो सहन सक्ने क्षमता) समेत लिन सकिन्छ । यद्यपि जीएमओको नकारात्मक पक्ष भनेको यस्ता बीउबाट उत्पादित अन्न खाने मानिसको आफ्नो जिनसमेत परिवर्तन हुन सक्ने मानिन्छ । यसले गर्दा जीएमओको विश्वभर समर्थन र विरोध दुवै हुने गरको पाइन्छ ।

धानको नयाँ जात विकास गर्न कति समय लाग्छ ? प्रक्रियागत हिसाबले नेपालमा धानको बीउको उन्मोचन र पञ्जिकृत गर्ने प्रक्रिया कस्ता छन् ?
लामो अनुसन्धानबाट धानका नयाँ जातहरू विकास वा उन्मोचन वा पञ्जिकृत गर्ने गरिन्छ । धानको रैथाने वा उन्नत जातको नयाँ धानको जात विकास गर्न १० वर्ष लाग्छ । उन्नत बीउमा पनि चार तह हुन्छन् । पहिलो निकालिएको प्रजनन बीउ, प्रजनन बीउ लगाएर मूलबीउ निकालिन्छ र मूलबीउ लगाएर प्रमाणित एक र प्रमाणित दुई भन्ने हुन्छ । प्रमाणित बीउ किसानले लगाउने बीउ हो । नेपालमा नेपाल कृषि अनुसन्धान परिषद्ले मुख्य भूमिका निर्वाह गरिरहेको छ । उन्नत बीउ निकाल्ने प्रक्रियालाई उन्मोचन गरेको भनिन्छ । बीउबिजन समिति छ, जसको जात उन्मोचन र दर्ता उप समितिले यो काम गर्छ । र, राजपत्रमा प्रकाशित भएपछि मात्र नयाँ जात उन्मोचन (विकास) हो । बाहिरको बीउ ल्याउँदा पनि यस्तै प्रक्रिया अपनाउने हो । तर, पछिल्लो समयमा उन्मोचनको समय घटाउने अभ्यास पनि भएको छ । अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठान (इरी) को पहलमा नेपाल, बंगलादेश र भारतले सम्झौता गरेका छन् । यो सम्झौताअनुसार तीन देशमा एक–अर्काले आफ्नो मुलुकमा उन्मोचन गरेका जातहरू अर्कोदेखिले दुईदेखि तीन वर्ष उत्पादन परीक्षण गरेर सम्बन्धित देशमा उन्मोचन गर्ने अभ्यास सुरु पनि भएको छ । यो राम्रो अभ्यास हो । खडेरी सहने सुक्खा धान १ देखि ६ सम्मका जात, डुबान सहने साँवा, सववानहरू यस्ता जातहरू हुन् ।

एकातिर हाइब्रिड बीउ उत्पादकत्व बढी भएको भन्दै किसानले प्रयोग गर्ने क्रम बढ्दो छ भने अर्कातिर हाइब्रिडका कारण कृषक डुबेका कथा पनि छन् । २०७० सालमा भक्तपुरमा चिनियाँ बीउ डिबाई–६९ र अहिले भारतीय बीउ गरिमा, दुवै जातको हाइब्रिड बीउ लगाउने किसानले पीडा भोगिरहेका छन्, यसलाई कसरी हेर्नुभएको छ ?
हाइब्रिड भने नेपालमा विकास गरिएका छैनन् । ठूला–ठूला कम्पनीले मात्र हाइब्रिड उत्पादन गर्छन् । हाइब्रिड बीउ विकास गर्ने विश्वको पहिलो मुलुक चीन हो, चीनका युवान लंग पिङले पहिलो हाइब्रिड बीउ निकालेका थिए । त्यसपछि भारतमा यसको प्रयोग बढ्दो छ । हामीले पनि आयात गरेर हाइब्रिड लगाउँछौं । हाम्रो नियमअनुसार दुई सिजिन परीक्षण गरेपछि पञ्जीकरण (दर्ता) र सिफारिसअनुसार हाइब्रिड बीउ लगाउन मिल्छ । निश्चित क्षेत्रका लागि बीउको सिफारिस गरिन्छ । अहिलसम्मको अभ्यासमा हाइब्रिडको सिफारिस तराई र भित्री मधेस क्षेत्रका लागि मात्र सिफारिस भइरहेको छ । समुद्र सतहदेखि ७ सय मिटरसम्म लगाउन सिफारिस गरिन्छ । भक्तपुरमा डीबाई–६९ मा नेकब्लास्ट लागेर क्षतिपछि किसानले क्षतिपूर्ति मागेका थिए, तर दिइएन । सरकारले तराईका लागि सिफारिस गरेको भनेर सिफारिस दिएन तर बीउ बिक्री गर्नेले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था भए पनि दिइएन । अहिले गरिमाको कुरा आएको छ । भारत हैदरावादको रेनोवा सिड साइन्स इन्डिया प्रालिले निकालेको रहेछ । २०७२ को पञ्जीकरण छ । विशेषगरी चितवनमा बढी लगाइएको रहेछ । यसपालि बाला नै नलागेपछि कैफियत भएको यसै पनि थाहा हुन्छ । १४ सय हेक्टरको धान क्षति भएको छ । सरकारी स्तरबाट क्षतिसमेतको विवरण लिन समिति खटाएको छ । बोरामा गरिमा लेखिएको तर भित्र अर्कै बीउ हालिएको देखिन्छ । कसले यसो ग-यो भन्ने सरकारी संयन्त्रले पत्ता लगाउलान् तर जे भयो नराम्रो भयो । यो बीउको जातको कुरा भन्दा पनि वितरण प्रणालीमा देखिएको समस्या हो । यसलाई सुधार्नुपर्छ ।

हाइब्रिड बीउका कारण पटक–पटक देखिएका समस्यालाई मध्यनजर गर्दै भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्ला जस्तो लाग्छ ?
समस्या विगतमा पनि आयो, भविष्यमा पनि नआउला भन्न सकिँदैन । गरिमाको मात्र अहिले नै ३० टन बीउ आयात भएको छ । यो बढ्दै जान्छ । समस्या पनि बढ्दै जान सक्छ । समस्या आउनुपूर्व सजगता अपनाउनुपर्छ । हाइब्रिड जातको पञ्जीकरण, आयात, वितरण र उत्पादनसम्मको अवस्थालाई व्यवस्थित रूपले नियमन गर्नु नै समस्या दोहोरिन नदिने उपाय हो । उन्नत जातको विकास गर्न १० वर्ष लाग्छ तर हाइब्रिड बीउको परीक्षण अवधि अलिक थोरै भयो भन्ने मेरो बुझाइ छ । दुई सिजन मात्र परीक्षण गरेर पञ्जीकरण गरेर आयात अनुमति दिनु समयका हिसाबले कम व्यावहारिक देखिन्छ । दुई सिजन हेरेर मात्र पुग्दैन, कम्तीमा तीन वर्ष गरियो भने थप अनुसन्धान गर्न सकिन्छ । गरिमामा देखिएको समस्या अध्ययन गर्दा फिंगरप्रिन्ट परीक्षण गरिएको छ, यो राम्रो पक्ष हो । अब वितरण गर्नुअगाडि नै फिंगर प्रिन्ट गर्ने व्यवस्था गरिएमा किसानसम्म गुणस्तरीय बीउ पुग्न सक्छ । बीउ भित्र्याउनुअघि नै भनिएको जातलाई परीक्षण गरिएर भित्र्याइयो भने समस्या झेल्नु पर्दैन । खुला सिमानाका कारण कम गुणस्तरको बीउ आउन सक्छ । यस्तोमा सरकारी नियमन प्रणाली कसिलो बनाउनुपर्छ भने किसानले पनि यस्ता विषयमा सजग हुनुपर्छ । किसानलाई हाइब्रिड बीउका बारेमा सचेत बनाउनुपर्ने देखिन्छ ।

समग्रमा धानको उत्पादन र उत्पादकत्व वृद्धिका मुख्य समस्या पहिल्याउँदै अबका दिनमा अपनाउनुपर्ने सावधानीका कदमहरू के हुन सक्छन् ? धानमा आत्मनिर्भरताको कुरा पनि छन् ।
आजभन्दा १२ वर्षअगाडि विश्व खाद्यसंकटको अवस्था आएको थियो । खानै पाइएन भने लडाइँ–झगडा हुन्छ भन्ने मान्यता नै छ, त्यसैले उत्पादन वृद्धिमा संयुक्त राष्ट्रसंघ नै सक्रिय भएर लाग्नुप-यो । आयातको ९० प्रतिशतभन्दा बढी त्यतिबेला भारतले आफ्ना नागरिकलाई खान नपुग्ला भनेर सर्वसाधारणले खाने मोटा चामल चार वर्षसम्म निर्यातमा रोक लगायो । त्यो बेलादेखि विस्तारै आत्मनिर्भरताको कुरा उठ्न थालेको हो । हामी हाल हरेक वर्ष २ अर्बभन्दा बढी आयात गर्छौं । विश्वमा कुनै समय फेरि खाद्य संकट आयो वा नाकाबन्दी वा यस्तै प्राकृतिक विपत्तिले आयात गर्न नसक्ने अवस्था आयो भने के खाएर बाँच्ने ? त्यसैले कम्तीमा मुख्य खाद्यान्न बालीमा मुलुकलाई नै आत्मनिर्भर बनाउनैपर्छ । खाद्यान्नमध्ये मुख्य बाली भएकाले पनि धानमा आत्मनिर्भरता सरकारको प्राथमिकतामा पर्नुपर्छ । गुणस्तरीय बीउ, मल, सिँचाइ र प्रविधि आत्मनिर्भरताको आधार हो । तर, यससँगै विज्ञको पनि उत्तिकै महत्व छ । विज्ञलाई परिचालन गर्न सरकारले कम मात्र ध्यान दिएको देखिन्छ । पढेर, परेर सफलता हासिल गरेका विज्ञको संख्या बढाउनुपर्छ । मलमा ढैंचाको प्रयोग, धानमा बढी उत्पादकत्व भएको चैते बाली प्रवद्र्धन र कृषि सामग्रीको सहज उपलब्धता बढाउन सकेमा आत्मनिर्भर टाढा छैन । अहिलेसम्म हेर्दा धानले धेरै दिएको छ मुलुकलाई, तर मुलुकले धानलाई खासै दिएको छैन । धानलाई थप प्राथमिकतामा राखेर अगाडि बढ्न जरुरी छ ।