कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६
575

लामो समयदेखि नेपालको वैदेशिक व्यापारमा केही सुधार आएको छ । निर्यात व्यापार बढेसँगै वैदेशिक व्यापारमा झिनो सुधार देखिएको हो । यसै साता भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकमा निर्यातमा केही सुधार भएको र आयातमा पनि गिरावट आएको देखिएको छ । व्यापारघाटालाई न्यूनीकरण गर्न आयात प्रतिस्थापन र निर्यात वृद्धि नै पहिलो कदम हो । यतिखेर निर्यातमा गत वर्षको तुलनामा १४ प्रतिशतले वृद्धि भएको छ भने आयात पनि १० प्रतिशतले घटेको छ, जसका कारण समग्र व्यापारघाटामा समेत कमी आएको छ । तथ्यांकअनुसार गत वर्षको तुलनामा चालू वर्षको तीन महिनाको अवधिमा नेपालले निर्यात १४ प्रतिशतले बढाउँदै २७ अर्ब १६ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । तर, सोही अवधिमा नेपालले गर्ने आयात १०.३४ प्रतिशतले खुम्चँदै ३ खर्ब ३४ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । निर्यातमा भएको वृद्धि तथा आयात खुम्चिन पुग्दा नेपालको व्यापारघाटासमेत १२ प्रतिशतले घटेको छ । सो अवधिमा नेपालको व्यापारघाटा ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ छ । सरकारले पछिल्लो समय निर्यातमा सहुलियत तथा विलासिताका वस्तु आयातमा कडाइ, तयारी वस्तुभन्दा कच्चापदार्थमा लाग्ने भन्सारमा एक तह कम भन्सार दर कायम गरेसँगै समग्र वैदेशिक व्यापारमा सुधार आएको छ । त्यसैगरी सरकारले चिनी, जुस तथा इनर्जी ड्रिंक्स आयातमा प्रतिबन्ध लगाएको छ भने विलासिताको सवारी साधनमा कर वृद्धि गरेको छ । हाल नेपालले १ सय २२ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ, जसमध्ये सबैभन्दा बढी व्यापार भारतसँग हुँदै आएको छ । सो अवधिमा भारतबाट २ खर्ब ७ अर्ब ४१ करोड रुपैयाँ बराबरको आयात हुँदा १७ अर्ब ८७ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । लामो समयपछि निर्यात वृद्धि हुनु आफैंमा सकारात्मक पक्ष हो, तर यो कति समयसम्म दिगो रहन सक्ला, आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न अब के गर्नुपर्ला भन्ने सम्बन्धमा सरोकारवाला पक्षसँग कारोबारले गरेको कुराकानीको सार :

आयात प्रतिस्थापनमा जोड दिनुपर्छ
राजेन्द्र मल्ल
वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
चालू वर्षको तीन महिनामा भएको निर्यात वृद्धि अवस्थालाई एउटा सुरुवातका रूपमा लिन सकिन्छ । आयात घट्नु र निर्यात बढ्नुले व्यापारघाटा न्यूनीकरण गर्नमा केही सहज हुने र यसले आयात–निर्यातबीचको ग्याप कम गर्नेमा झिनो आशा पलाएको छ । हामी नेपालीका लागि सबैभन्दा ठूलो चिन्ताको विषयका रूपमा व्यापारघाटा रहेको अवस्थामा थोरै निर्यात वृद्धि हुनु पक्कै पनि खुसीको कुरा हो । निरन्तर रूपमा व्यापारघाटा कम गर्न सरकारका नीति तथा कार्यक्रमले प्राथमिकता पाउनुपर्छ । देशको उत्पादन बढाउन र आन्तरिक रूपमा भएका उद्योगको संरक्षण र नयाँ उद्योगलाई सहज तरिकाले उत्पादन गर्न प्रोत्साहित गर्नुपर्छ । जुन सामान नेपालका लागि अति आवश्यक छ, आयात गर्नुको विकल्प छैन, त्यस्ता वस्तु आयात गरे पनि आन्तरिक उद्योगमा पाइने सामानका लागि आन्तरिकतर्फलाई ध्यान पुग्ने गरी सरकारले नीति बनाउनुपर्छ । जबसम्म आफ्नो देशमा उत्पादनहरू बढ्न सक्दैनन् तबसम्म आयात बढ्छ भने निर्यातमा हाम्रो उपस्थिति कमजोर अवस्था भइ नै रहन्छ । अहिले देशमा सञ्चालित उद्योगधन्दाले अस्थिर ब्याजदरमा मार खेपेका छन् । साना तथा मझौला उद्योग, कृषि, पर्यटन, उत्पादनमूलक उद्योग क्षेत्रमा कर्जा लिँदा निश्चित समयसम्म ब्याजदर घटबढ नहुने नीति लिनुपर्छ । छिटोछिटो परिवर्तन हुने ब्याजदरका कारण उद्योगी–व्यवसायीहरू मारमा परेका छन् । नेपाल प्राकृतिक रूपमा धनी देश हो, तर हामी जडिबुटी कच्चापदार्थका रूपमा पठाउँदा थोरै मूल्यमा पठाएका छौं भने त्यही सामान आयात गरेर महँगो मूल्य तिर्नुपरेको अवस्था छ । देशमै प्रशोधन गरेमा यसको भ्यालु एड स्वदेशमै रहन्छ । यो समयमा सरकारले उत्पादनलाई जोड दिएमा धेरै लाभ लिन सकिने अवस्था छ । पछिल्लो समय श्रमिक र मजदुरबीचको सम्बन्धमा राम्रो छ भने लगानीका लागि पनि वातावरण बन्दैछ । देशको व्यापारघाटा बढाउनमा पेट्रोलियम पदार्थको ठूलो योगदान छ । पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्छ । विद्युतीय सवारी साधनले एकातर्फ वातावरणीय प्रदूषण कम गर्न टेवा पु-याउँछ भने व्यापारघाटा न्यूनीकरण गर्न उत्तिकै सहयोग पु-याउँछ ।

विदेशी मेलामा नेपाली उत्पादकको उपस्थिति बढाउनुपर्छ
चण्डीप्रसाद अर्याल
अध्यक्ष, नेपाल तयारी पोसाक संघ
देशको सबैभन्दा ठूलो चासो र चिन्ताको विषय अहिले व्यापारघाटा भएको छ । चालू वर्षको तीन महिनाको तथ्यांकले केही संकेत गरेको छ तर यसको दिगोपन कति भन्ने मुख्य प्रश्न हो । यसरी नै सुधार भएर जाने हो भने अवस्य पनि नेपालले व्यापारघाटा कम गर्दै जानेमा आशावादी हुन सकिन्छ तर व्यापारघाटा सानो प्रयासले न्यूनीकरण हुने अवस्थामा भने छैन । हामीले निर्यात अपेक्षाकृत रूपमा बढाउन सकेका छैनौं, तर आयातको अवस्था बढ्दो क्रममा छ । आयात र निर्यातबीचको खाडल निकै बढिसक्यो । सरकारका बजेट तथा कार्यक्रमहरू निर्यात प्रवद्र्धन गरिन्छ भनेर आउँदा उद्योगी–व्यवसायीहरू मक्ख पर्ने तर व्यवहारमा उपलब्धि नहुँदा दिक्क हुने अवस्था पनि आएको छ । गफ धेरै काम थोरै गर्ने जुनसकै सरकारको प्रचलन नै भयो । जो सरकारमा आए पनि स्वदेशी उत्पादन बढाउनु विकल्प छैन, व्यापारघाटा कम गर्न स्वदेशी उत्पादन बढाउनुपर्छ भन्ने तर नीतिगत रूपमा व्यवहार त्यस्तो पाइएन । यदि सरकारले निर्यात बढाउने इच्छा राखेको हो भने प्याकेज बनाएर व्यवसायीसँग सहकार्य गर्नुपर्छ । विदेशी मुलुकको अभ्यास पनि हेर्नु जरुरी छ । हाम्रो प्रतिस्पर्धा अन्तर्राष्ट्रिय बजारमा हो भने यहाँको उद्योगीलाई पनि सोहीअनुसारको सेवा सुविधा दिनुपर्छ । विदेशमा हुने विभिन्न मेला तथा सेमिनारहरूमा नेपाल उद्योगी–व्यवसायीको उपस्थिति कमजोर भयो । जबसम्म अन्तर्राष्ट्रिय मेला–सम्मेलनहरूमा सहभागी हुन सकिँदैन त्यहाँबाट अर्डर आउने सम्भावना कम हुन्छ । क्रेता र बिक्रेताबीचको भेट हुनु र सम्बन्ध विस्तार हुनु व्यवसायको धर्म नै हो । सरकारले अन्तर्राष्ट्रिय मेलामा सहभागी हुनका लागि पहिला केही बजेट दिने गरेको थियो तर अहिले त्यो कटौती भएको छ । सरकारले प्रोत्साहन गर्नुको सट्टा झनै असहयोग गरेको छ । पस्मिना, गलैंचा, तयारी पोसाक, ह्यान्डिक्राफ्टलगायतका सामग्री प्रवद्र्धनका लागि विदेशी मेलामा सहभागी हुनु जरुरी छ । विदेशीहरू सामान किन्नकै लागि नेपाल आउने अवस्था छैन । त्यस्ता मेलामा नेपाली उद्योगीले समान प्रदर्शन गर्न सके मात्रै नेपाली सामानले ठाउँ पाउँछ । अर्कातर्फ लगानीका लागि उत्साहित गर्ने सरकारका कार्यक्रमहरू आउनुपर्ने थियो, तर त्यो हुन सकेन । जति पनि नेपाली उद्योगहरू छन् अधिकांशले कच्चापदार्थ भारत तथा तस्रो मुलुकबाट आयात गर्छन । कच्चा पदार्थ आयात गरेर उद्योग चलाउनुमा खासै प्रगति गर्न सकिन्न । त्यसैले सरकारले वर्षमा कम्तीमा एउटा वस्तुको कच्चा पदार्थ नेपालमै आत्मनिर्भर बन्ने गरी बजेट र कार्यक्रम ल्याउनुपर्छ । विदेशीलाई नेपालमा लगानीको वातावरण बनेको प्रत्याभूति दिनका लागि पहिले स्वदेशकै उद्योगी व्यवसायीहरूमा आत्मविश्वास बढ्नु जरुरी छ ।

निर्यात वृद्धि दिगो बनाउन अन्तर्राष्ट्रिय बजारीकरणमा जोड दिनुपर्छ
सुरेन्द्र श्रेष्ठ
अध्यक्ष, नेपाल निर्यात परिषद्
चालू वर्षको तीन महिनामा निर्यात व्यापार पाम आयलका कारण बढेको देखिएको हो । अन्य देशबाट कच्चा पदार्थ आयात गरी नेपालमा ‘भ्यालू एड’ गरी विदेशमै पठाउने सामग्रीमा पाम आयल पर्छ । गत वर्ष पनि पाम आयल नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु बनेको थियो । नेपाली उत्पादनहरू, गलैंचा, पस्मिना, ह्यान्डीक्राफ्टजस्ता सामानको निर्यात बढ्न सकेको छैन । यी सामान नेपालका आफ्नै कच्चा पदार्थ प्रयोग हुने उत्पादन हुन् । यस्ता सामग्री निर्यात गर्नमा सरकारले अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्न जोड दिनुपर्छ । जुन सामान विदेशमा पढाउने हो, त्यस्ता सामग्रीका लागि विदेशमै प्रचारप्रसार गर्नुपर्छ । नेपाल पर्यटन बोर्डले प्रचार प्रसारमा सघाउनुपर्छ, जसमा अर्थ मन्त्रालयले आर्थिक रूपमा सघाउनुपर्छ । उदाहरणका रूपमा नेपालमा रहेको थाइ दूतावासको अग्रसरतामा नेपालमा विभिन्न मेला आयोजना हुने गरेका छन् । त्यसको प्रभावस्वरूप नेपालमा थाइल्यान्डका सामानहरू छ्यापछ्याप्ती छन् । उनीहरूले नेपालमा व्यापार बढाएका छन्, तर हामीले विभिन्न देशमा भएका दूतावासको प्रयोग गरेर नेपाली उत्पादनको बिक्री बढाउन पहल गर्न सकेनौं । दूतावासले वर्षमा २-३ वटा मेलामात्रै गर्ने हो भने पनि त्यसको बजार प्रभाव निकै पर्छ । नेपाली उत्पादनको बजार बढाउन दूतावासहरूको भूमिका बढाउनु जरुरी छ । तथ्यांकगत रूपमा हेर्ने हो भने साउनदेखि असोजसम्म कुल ३ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँबराबरको वस्तु आयात हुँदा २७ अर्ब १६ करोड ६७ लाख रुपैयाँको निर्यात भएको देखाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासिकमा ३ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको थियो । यसैगरी अघिल्लो वर्षको पहिलो त्रैमासिकमा २३ अर्ब ७४ करोड रुपैयाँको निर्यात भएकोमा यस वर्ष २७ अर्ब १६ करोड पुगेको छ । आयात र निर्यातबीचको ग्याप धेरै ठूलो छ । यसका लागि अब पाम आयलले नभएर पस्मिना, गलैंचा, ह्यान्डिक्राफ्ट र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ । हामीले विस्तारै आयात घटाएर निर्यात वृद्धि गर्न सकिए भोलिका दिनमा व्यापारघाटाको ग्यापलाई साँघुरो पार्दै लैजान सकिन्छ । निर्यातमा थोरै भए पनि वृद्धि हुुुनु सकारात्मक हो, तर धेरै खुसी भइहाल्नुपर्ने अवस्था भने छैन । न्यून मूल्य पर्ने प्राथमिकता र परम्परागत खालका वस्तुहरू निर्यात गरेर मात्र फाइदा हुने अवस्था देखिँदैन । आन्तरिक उत्पादनमा उच्च लागत, औद्योगिक श्रमसम्बन्ध, ऊर्जा संकट, उद्यमशीलताको अभाव, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमताको कमीले गर्दा बजार व्यवस्थापन साँघुरो हुँदै गएको छ । त्यस्तै आयात प्रतिस्थापन गर्दै निर्यातलाई बढाउँदै जाने औद्योगिक क्षेत्रको खस्कँदो अवस्था हाम्रो लागि चुनौती बन्न पुगेको छ ।


व्यापारघाटा कम गर्न पर्यटनको विकास
नवराज दाहाल
अध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल
लामो समयदेखि आयात र निर्यातबीचको ग्याप बढ्दै गएको अवस्थामा चालू वर्षको तीन महिनाको अवस्था हेर्दा भने केही राम्रो मान्न सकिन्छ । सरकारको नीतिगत परिवर्तन र योजनाकै कारण झिनो सुधार देखिएको छ । पर्यटकको संख्यामा वृद्धि भएसँगै व्यापारघाटामा सुधार देखिन्छ । व्यापारघाटा कम गर्न गुणस्तरीय पर्यटक भित्र्याउन जोड दिनुपर्छ । पर्यटन क्षेत्रबाट जति लाभ लिन सकिन्छ त्यो बराबरको लाभ भने लिन सकिएको छैन । नेपाल पर्यटकको सम्भावना बोकेको मुलुक हो, थोरै लगानी र छोटो समयमामा नेपालको व्यापारघाटा कम गर्नका लागि पर्यटनबाट सम्भव छ । विश्वका मुलुकहरूमा सबै किसिमका पर्यटकहरूको सम्भावना बोकेको मुलुकमा नेपाल रहँदारहँदै पनि हामीले प्रकृतिको सही सदुपयोग गर्दा पर्यटक उद्योगको विकास गर्न सकेको छैन । यसतर्फ हामी सबैको ध्यान केन्द्रित हुनु जरुरी छ । नेपालको व्यापारघाटा कम गर्नका लागि कृषि, ऊर्जा र पर्यटनको विकासबाट मात्र सम्भव छ । नेपालको पर्यटन विकासका लागि हाल सरकारले चार विषयमा सम्बोधन गर्नु जरुरी छ । पहिलो भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण सन् २०१५ मा गएको विनाशकारी भूकम्पबाट क्षति पुगेका सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण गर्न सरकारले जोड दिनुपर्छ । सुविधा सम्पन्न पदमार्ग विकास गर्दै पर्यटकलाई सहजीकरण गर्न वातावरण तयार गर्नुपर्छ । दोस्रो, नेपालमा पर्यटक ल्याउने वातावरण विकास गर्नका लागि पूर्वाधारमा जोड दिनुपर्छ । विमानस्थलको निर्माण र भएका विमानस्थलको सुदृढीकरण गर्दै पर्यटनमन्त्री बनाउनुपर्छ । तेस्रो, पर्यटनमैत्री नीति । सरकारले नेपालमा पर्यटक भित्र्याउने वातावरण विकासका लागि नयाँ पर्यटनमैत्री नीति तर्जुमा गर्नुपर्छ । हाल २० वर्ष पुराना नीतिबाट हामी पर्यटन क्षेत्रलाई चलयमान बनाइरहेका छौं । राष्ट्रको उत्पादकत्व बढाउनका लागि पर्यटन सुरक्षा र पर्यटन सरोकारवाला निकायलाई सुरक्षाको प्रत्याभूति दिलाउन सकेको खण्डमा पर्यटन विकासमा सरकारले चाहेको आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । र चौथो, आन्तरिक र बाह्य बजार प्रवद्र्धनमा जोड, सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यसलाई सफल बनाउन आन्तरिक र बाह्य बजार प्रवद्र्धन गर्नुपर्छ ।