धर्मेन्द्र कर्ण
आइतवार, कार्तिक १७, २०७६
682

गणेश शाह
स्थायी समिति सदस्य
नेपाल कम्युनिस्ट पार्टी
निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा वाम लोकतान्त्रिक समूह तथा प्रजातन्त्रवादी शक्तिको एकताद्वारा नै नेपालमा प्रजातन्त्रको पुनःस्थापना भएको हो । शान्तिपूर्ण संघर्षको माध्यमबाट नेपालमा गणतान्त्रिक शासन प्रणालीको विकास भएको जगजाहेर छ । राजनीतिमा सक्रिय भई नेपाल कम्युनिष्ट पार्टी संयुक्तको अध्यक्षसमेत बनेका इन्जिनियर गणेश शाह विज्ञान तथा प्रविधि मन्त्रीसमेत बने । सबै कम्युनिस्ट पार्टीहरूको एउटै पार्टी बनाउने भनी माओवादीसँग एकता गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यसमेत रहेका इन्जिनियर गणेश शाहसँग कारोबारकर्मी धर्मेन्द्र कर्णले गरेको कुराकानीको सार :

आफैं पार्टीको अध्यक्ष भइरहेका बेला एकता प्रक्रिया समर्थन गर्दै अहिले नेकपाको स्थायी समितिको नेताको रूपमा र सत्ताधारी पार्टीको नेताका रूपमा रहेर हेर्दा देशको राजनीतिक अवस्था कस्तो रहेको पाउनुभएको छ ?
तपाईंको प्रश्नको जवाफ दिनुअघि शनिबार देशमा छठपर्व मनाइएको छ । यसलाई स्थानीय लोकभाषामा सँझिया अघ्र्य वा अस्ताउँदो सूर्यको उपासना गरिने र आज (आइतबार) बिहान अर्घ वा उदाउँदो सूर्यको पूजा गरिने छठ पर्वका अवसरमा तपाईंका सबै पाठक, शुभचिन्तक तथा आमनेपाली जनतामा शुभकामना व्यक्त गर्न चाहान्छु । नेपाली समाजमा छठ पर्व अन्त्यतिर आउने भएकाले अब सबैले नयाँ सिर्जनशिलतमा लाग्ने अवस्थाको सुरुवात हुने सन्दर्भमा अब तपाईंले सोधेको प्रश्नको जवाफमा दिँदा दुई वर्ष अगाडि असोज २५ मा एकीकरण गरेका थियौं । पार्टीको अध्यक्ष भएपछि पार्टीको सबै राजनीतिक, आर्थिक, संगठनात्मक सबै परिचालनको जिम्मेवारी लिनुपर्ने र गर्नुपर्ने हुन्छ । तर, जब मुलुकको राजनीतिक परिस्थितिमा परिवर्तन भयो, परिवर्तन भनेको मुलुकमा संविधान जारी भयो, चुनावको तयारी थियो । त्यतिखेर डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसमेत गरी तीन दल पछि छोडेर दुई प्रमुख दल मिलेर चुनावमा जाने वातावरण बनेको थियो । त्यतिखेर हाम्रो पार्टीले एकीकरण गरी पार्टी एउटा बनाउने विचार गरेर त्यसक्रममा हामीले माओवादीसँग एकीकरण गरेका थियौं । त्यसपछि चुनावको माहौल आयो । दुई पार्टी एमाले र माओवादीबीच चुनावमा सिटको तालमेल गरी जाने निर्णय भयो, चुनाव भयो ।

चुनावपछि के भयो ?
चुनावपछि नेपाली राजनीतिमा नयाँ मोड आएको जस्तो मलाई लाग्छ । नेपालभित्रै नेपाल कम्युनिस्ट पार्टीले चुनावमा यति ठूलो परिमाणमा भोट पाएको पहिलो पटक हो । कम्युनिस्ट पार्टीले बेग्लै बेग्लै भोट पायो । त्यसपछि दुवै पार्टीको एकीकरण भयो । विश्वभरि कम्युनिस्ट पार्टीप्रति अलिकति नकारात्मक दृष्टिकोण रहेको पाइन्छ । त्यसमा पनि हामी जुन भूराजनीतिक अवस्थामा छौं, जसमा एकातर्फ चीन त्यहाँ कम्युनिस्ट पार्टी सत्तामा छ, अर्कातर्फ हिन्दुत्व वर्चस्व भएको भारतीय जनता पार्टी (भाजपा) सत्तामा छ । दुवै देशका सत्ताधारी राजनीतिक शक्तिले नेपाललाई आफ्नोतर्फको झुकावमा राख्न खोज्ने विश्व राजनीतिक दृष्टिकोण हो । यस्तोमा यो दुई पार्टीको एकीकरण र सरकार बन्यो । उपेन्द्र यादवको संघीय समाजवादी पार्टी (नयाँ शक्तिसँगको एकतापछि समाजवादी पार्टी) लाई सरकारमा ल्याउने काम भयो । यसैगरी पृथकतावादी एजेन्डा बोकेको डा. सीके राउत समूहलाई मूलधारमा ल्याउने प्रयास भयो । यस्तो अवस्थाका आधारमा नेपालको राजनीतिमा विपक्ष कमजोर देखिएको र सरकार बलियो देखियो ।
यसका अतिरिक्त नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणले नेपालको राजनीतिले तरंग पैदा गराएको हो । यो तरंग हामीलाई मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमा पनि पुगेको छ ।

यसले नेपालको हितमा कस्तो प्रभाव पारेको जस्तो देखिन्छ त ?
गैरसरकारी संघसंस्था (एनजीओ) हरूले ठूलो चलखेल गर्ने ठाउँका रूपमा नेपाल रहेको छ । धेरै समयअघि मलाई केही विदेशी मित्रले भन्ने गर्थे– नेपाल विकसित भएको हुनुपर्छ (नेपाल मस्ट बी डेभलप्ड) । उनीहरूले यसो भन्नुको पछाडि नेपालका गाउँगाउँमा एनजीओ पुगेको खबर उनीहरूलाई हुन्थ्यो । उनीहरूले यसका आधारमा यसो भन्ने गर्थे । तर, हामीहरूले एनजीओ पुग्नुलाई गलत रूपमा बुझ्ने गथ्र्यौं । उनीहरूले एनजीओ नेपाल पठाउँदा राम्रो काम गर्ने भन्ने बुझाइ लिएका थिए भने हामी गाउँमा एनजीओ जाँदा नकारात्मक बुझाइका रूपमा लिने गरेका थियौं ।

पार्टीको सन्दर्भमा भन्नुपर्दा कस्तो अनुभव गर्नुहुन्छ ?
पहिले पार्टीको अध्यक्षका रूपमा हुँदा सबै पार्टीको सबै गतिविधिको जिम्मेवारी लिनुपर्ने हुन्थ्यो । अहिले पार्टीको एकीकरण भएको छ । पार्टीका नेताहरूमा कसैको जिम्मेवारी छ, कसैको छैन । जिम्मेवारी पाएका नेताहरूले जुन किसिमले कार्य परिचालन गर्न सक्नुपर्ने थियो त्यसअनुरूप परिचालन हुन सकेको छैन ।

किन भएन त ?
दुःखको साथ भन्नुपर्छ । केन्द्रीय समितिको बैठक अहिलेसम्म बसेको छैन । पार्टी एकीकरण गर्ने बेलामा एकीकरणको औपचारिकता पूरा गर्न एकपटक केन्द्रीय समितिको बैठक बसेयता केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । यो औपचारिकता पूरा गर्न भएको बैठक भयो । केन्द्रीय समितिको बैठक भने पछि त्यहाँ एजेन्डा हुन्छ, एजेन्डामा छलफल हुन्छ । निर्णय हुन्छ । त्यसपछि त्यो निर्णय कार्यान्वनका लागि अगाडि बढ्ने काम हुन्छ । सामूहिक निर्णयपछि व्यक्तिगत जिम्मेवारी हुन्छ । हामीले बुझ्दा पार्टीको सर्वोच्च एकाइ भनेको केन्द्रीय समिति हो, जसले नीतिगत निर्णय गर्छ । सम्पूर्ण राजनीतिक परिस्थिति, आर्थिक–सामाजिक परिस्थितिको विश्लेषण गर्छ । त्यसैले महŒवपूर्ण मानिएको केन्द्रीय समितिको बैठक एक–डेढ वर्षयता बसेकै छैन । अब स्थायी समितिको कुरो गरौं । स्थायी समितिको बैठक दुई पटक बसेको हो । एउटा बैठक अलि लामै भयो, त्यतिखेर तीन महिनापछि अर्को बैठक बस्ने थियो । तर, त्यो बैठक बसेको ६ महिनाभन्दा बढी हुन थालेजस्तो छ । मुख्य रूपमा अहिले पार्टीको निर्णय सचिवालय स्तरबाटै हुने गरेको छ ।

यसले के बिगार गरेको छ त ?
यसले गर्दा केही मूलभूत समस्या निम्त्याउन थालेको छ । संघीय, प्रदेश, स्थानीय तह र अन्तर्राष्ट्रिय क्षेत्रका विषयका राजनीतिक, आर्थिक सामाजिक विषयमा नीतिबारे छलफल हुन नसकेपछि पार्टीमा एक किसिमको सोच तथा दृष्टिकोणको निर्माण हुन सकेको छैन । यो ठूलो चिन्ताको विषय हो । प्रादेशिक र जनवर्गीय संगठनका जिम्मेवारी दिइएकाले त्यहाँ बैठकहरू बसेको देखिन्छ ।
पार्टी हितमा संगठनात्मक गतिविधि केही बढेको देखिन्छ । तर, ती गतिविधि गतिविधि हुनका लागि मात्रै भएको हो । हामी भन्छौं, ठोस वस्तुको ठोस विश्लेषण । तर, पार्टीको केन्द्रिकृत ठोस बुझाइ नै बनेको अवस्थामा गतिविधिले के ठोस दिने हो । अन्तर्राष्ट्रिय रूपमा विकसित भइरहेका आर्थिक–सामाजिक गतिविधिले नेपाललाई अलग्याएर राख्न सक्दैन । सूचना–प्रविधिको विकासले दुनियाँलाई एक गाउँको रूपमा विकास गराएको छ ।

यसबारे तपाईंले के पहल लिनुभएको छ ?
पार्टीका नेताहरू समक्ष मैले विज्ञान, प्रविधि तथा नवप्रवर्तनले दुनियाँमा ल्याएको परिवर्तन र यसले पारेको आर्थिक सामाजिक क्षेत्रमा पारेको प्रभावबारे गहन रूपमा विचार गर्न भनेको छु । यो परिवर्तनलाई माक्र्सवादीहरूले कसरी लिने त्यसबारे हाम्रो सैद्धान्तिक अवधारणा बनाउनुपर्ने आवश्यकताबारे नेतासमक्ष कुरो राखेको छु । यस्ता विषयमा केन्द्रीय समितिको बैठकबाट अरूले कसरी लिने त्यसबारे हाम्रो सैद्धान्तिक अवधारणा बनाउनुपर्ने आवश्यकताबारे नेतासमक्ष कुरो राखेको छु । यस्ता विषयमा केन्द्रीय समितिको बैठकबाट छलफल र दस्तावेजीकरण गरी ठोस अवधारणा बनाउनुपर्ने काम हुन सकेको छैन । बैठक बस्न सकेको छैन ।

तपाईंले उल्लेख गरेका विषयका आधारमा पार्टी नेता तथा पार्टी कार्यकर्ताहरूले राजनीतिक, आर्थिक, समाजिक परिवर्तनका दिशमा कसरी अगाडि बढेको जस्तो लाग्छ ?
पार्टी नेता तथा पार्टी कार्यकर्ताहरू सबै गतिमा त देखिन्छन् तर कुन दिशामा गतिमान छन् भन्न गाह्रो छ । गति र दिशाको विषयमा त्यति स्पष्टता (क्लियारिटी) छैन । हामी समाजवाद उन्मुख अर्थतन्त्रको कुरो गर्छौं, सामाजिक न्यायको कुरो गर्छौं, बलियो राष्ट्रियताको कुरो गर्छौं, सार्वभौमिकताको कुरो गर्छौं, संविधान परिपालनाको कुरो गर्छौ । संवैधानिक सर्वोच्चताको कुरो गर्छौं । पार्टी र सरकारको आधारमा बन्नुपर्ने निकाय र आयोगहरू बनेका छन् भने तिनले पूर्णता पाउन सकेको छैन ।
अहिले संरचना नै तीन किसिमको बनेको छ । संघ, प्रदेश र स्थानीय तह । यी तीनै तहबीचको समन्वय गर्ने संयन्त्रको अभाव छ । तीनबटै तहका लागि संविधानमा हक–अधिकारको बाँडफाँड भएका छन् । कतिपय हक अधिकार एक–आपसमा खप्टिएका पनि छन् । त्यस अनुसारको समझदारी, ऐन कानुन र दैनिक जीवनमा लागू गर्नुपर्ने कुराहरू हेर्दा अवस्था त्यसअनुरूपको छैन ।
सरकारका तीनै तहका प्रमुखले आफू नै सबैभन्दा ठूलो रहेको भन्ने पाइएको छ । स्थानीय सरकारका प्रमुखले आफूलाई सर्वोच्च प्रमुख ठानेर मनलाग्दी निर्णय गर्ने गरेको देखिएको छ । प्राकृतिक स्रोत–साधनको कुरो होस् वा कर निर्धारण गर्ने कुरो होस्, सबैमा यस्तो भइरहेको छ । तर, समस्या यस्तो मात्रै पनि होइन् ।

समस्या यस्तो मात्रै पनि होइन भन्नुभएको छ नि, त्यो भनेको के हो ?
मैले अघि सूचना प्रविधि तथा नवप्रवर्तनको कुरो गरेको थिएँ । तर, यसैमा वातावरणको विषय धेरै महŒवपूर्ण बनेर आइरहेको छ । नेपाल विविध वातावरण र हावापानी भएको देश हो । यहाँ वातावरणको विषयलाई ध्यान दिइएन भने यहाँ विकासभन्दा विनाश हुने खतरा बढ्नेछ । हाम्रो देशको भौगोलिक अवस्थालाई राम्ररी हेरचाह नगरिए कहाँ कतिबेला केही भइहाल्छ ठेगान छैन । अंग्रेजीमा यसलाई ‘फ्रजाइल’ भनेर बुझिन्छ । हामीले कहिले हिमालको कुरो गर्छौं, कहिले पहाडको कुरो गर्छौं, कहिले चुरोको कुरो गर्छौं, कहिले तराईको कुरो गर्छौं । यस्तो विविधिता भएको भौगोलिक अवस्थालाई फ्रजाइल अवस्थाले बुझिन्छ ।
यस्तो भौगोलिक अवस्थामा हाम्रा विकास योजनाहरूमा विशेष ध्यान दिइएको पाइँदैन । विकास योजनामा अभियान्त्रिकी (इन्जिनियरिङ) दृष्टिकोणबिना नै तयार पार्ने गरेको देखिन्छ । वातावरणको त कुरै छोडौं । हामीले भन्दै आएको डोजर विकास त अब डोजर आक्रमण बन्न पुगेको देखिएको छ । विकासको हाम्रो सामान्य बुझाइ भनेको डोजरले गाउँ घरमा खन्दै गयो भने विकास भएको बुझ्छौं । तर, त्यो डोजरले स्थानीय रूपमा रोजगारी सिर्जना गरेको छ÷छैन । यसले गर्दा अहिले गाउँबाट रोजगारीका लागि सहरमा प्रवासन (माइग्रेसन) बढ्दै गएको पाइन्छ । यसैगरी देशबाट विदेशमा जाने गरेको प्रवृत्ति बढेको छ । देशका युवाहरूले राजनीतिक पार्टीमाथि विश्वास गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता बढ्दै गएको यसले दर्शाउँछ । पार्टीले समृद्ध नेपाल सुखी नेपालीको नारा बोकेको छ । देशका युवाहरूले पार्टी र सरकारको यो नारामा विश्वस्त बनाउन पार्टी र सरकारले सैद्धान्तिक र व्यावहारिक रूपमा प्रदर्शन गर्नुपर्ने हुन्छ । संविधानमा हामीले मौलिक अधिकारको व्यवस्था गरेका छौं । ती अधिकारका प्रत्याभूति दिने कामहरूलाई हामीले देखिने गरी अगाडि बढाउन सकेका छैनौं । यस सन्दर्भमा पार्टी र सरकारबाट जुन किसिमको अपेक्षा थियो त्यसअनुरूप गर्न नसकेकाले यसलाई पार्टीले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ ।

तपाईंले सम्पन्न चुनावअगाडि जनताका अपेक्षा र अहिलेको अवस्थालाई तुलना गरी यस्तो भन्नुभएको हो ?
हो, तर हामीले केही काम गरेका छौं । उच्च नेतृत्वले बेलाबखत भाषणमा भन्ने गरेको देखिन्छ । केही विकासको कुरोमा गति लिएको पनि देखिन्छ । सामाजिक सुरक्षाको कुरो, रोजगारी सिर्जनाको कुरो, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको कुरो, बैंकिङको कुरो गरेका छौं ।
तर हामीले भनेको समाजवाद उन्मुख दिशामा जुन वर्गलाई समेटनुपर्ने थियो, यसमा हामी कतै न कतै अलमलिएको जस्तो छौं ।

यसका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
पार्टीले विधानसम्मत नियमअनुसार नियमित विभिन्न एकाइहरूको बैठक बसी तत्काल आवश्यकता पूरा गर्नुपर्नेछ । हामीले चुनावअघि जुन घोषणापत्र लिएर गएका थियौं त्यसलाई पूरा गर्न जुन गतिमा सरकार जानुपथ्र्याे र त्यसलाई पार्टीले थप गतिशील बनाएर जानुपथ्र्याे त्यसो हुन नसकेकै हो । यसका लागि हामीले निर्मम तथा कठोर समीक्षा गर्नुपर्ने पार्टीभित्र आवश्यकता छ ।
सरकारका बारेमा भन्नुपर्दा सरकारले कहिले काम ठीक गरे जस्तो लाग्छ । कहिले कतै अलमलिएको जस्तो लाग्छ । सरकारले गरेको काममा संघ, प्रदेश र स्थानीय तहका पार्टी निकायले सघाउनुपर्नेमा त्यसको अभाव देखिएको छ । सरकारले गरेको कामलाई जनतासम्म लान सकेको देखिएको छैन । निर्यात यो वर्ष बढेको देखिएबाट हामी खुसी भएर रमाउने बेला होइन । सरकारी तथ्यांककै आधारमा अझ स्कुल जानुपर्ने १ लाखभन्दा बढी बालबालिका स्कुल जान नपाएको अवस्था छ । एकातर्फ हामीले औद्योगिक क्रान्तिको चौथो चरणको कुरो गर्ने, अर्कातर्फ हाम्रा स्कुल जानुपर्ने १ लाखभन्दा बढी बालबालिका स्कुल जान नपाएको अवस्था छ । यसबारे विचार पु¥याइएन भने यो देश र समाजका लागि ठूलो भार हुनेछ । हामीले सबैलाई शिक्षा दिने मौलिक अधिकारमा लेख्यौं, तर त्यसअनुरूपको संयन्त्र बनाउन नसकिएको देखियो । त्यसअनुरूप पार्टी कार्यकर्ताको परिचालन गर्न नसकेको देखियो । भोट माग्न जाँदा हामी जनताको दैलामा जाने गर्छौं । जनताको दैलामा पुगेर तिनका छोराछोरीको स्कुलमा नाम लेखाइयो कि लेखाइन, त्यसमा ध्यान दिने काम पनि हामीले गर्नुपर्छ । यसका लागि पार्टी कार्यकर्ता परिचालन गर्नुपर्ने हुन्छ । पार्टी निकट शिक्षकहरूले हिजो राजनीतिक आन्दोलनमा सघाएका छन् भने अहिले फेरि यस्ता विषयमा ध्यान दिनुपर्ने आवश्यकता छ । स्कुलमा पढाइ राम्रो भयो कि भएन, जनताका छोराछोरी स्कुल भर्ना भए कि भएनन्, यस्ता विषयमा ध्यान दिनुपर्ने कामलाई पनि पार्टीनिकट शिक्षकले प्राथमिकतामा राख्नुपर्ने हुन्छ । तर, पार्टीनिकट शिक्षकहरूले घरपायक सरुवा–बढुवामा मात्र बढी ध्यान दिने बानी छोड्नुपर्छ र छोड्न लगाउने वातावरणको निर्माण गर्नुपर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा ब्रह्मलुट हुने गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको मनपरीतन्त्रलाई नियन्त्रण गर्न र निरुत्साहित गर्न उचित वातावरणको निर्माण गर्नुपर्छ । अहिले समाचारहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रको दुरवस्थाको कुरा बढी आउने गरेको छ । तर, समस्या कहाँ छ भने हामी हाम्रा विश्वविद्यालयमा उपकुलपतिसम्म नियुक्ति गर्न ढिलाइ गर्नुपर्ने अवस्थामा हुन्छौं । विभिन्न आयोग बनाएका छौं, त्यसलाई पूर्णता दिन सकेका छैनौं । हामीले विदेशी लगानी ल्याउने कुरो गर्छौं, तर हामीले हाम्रै देशभित्रका जनशक्तिको परिचालन गर्न सक्दैनौं । पार्टीले यसको निगरानी गर्न नसके डोजर विकासले विनाश गर्छ ।

त्यो कसरी गर्छ ?
म वातावरणसँग सम्बन्धित व्यक्ति हुँ । १ इन्च माटो बन्न २ सय वर्ष लाग्छ । हिजो रूख काट्यो । आज डोजर चलाइरहेको छ । जथाभावी विकास गर्छौं । खोलानालाको उत्खनन गरेका छौं । यस्ता विषयमा ध्यान दिनुपर्ने, जसको निर्माण गर्न सयौं वर्ष लाग्छ । यो त देशभित्रको समस्या भयो । वातावरणको समस्या त बाहिरबाट पनि आउँछ । अहिले सुन्नुभयो होला, दिल्ली ग्यास चेम्बर भएको छ । यो भन्नुको पछाडि दिल्लीमा प्रदूषणको (प्रदूषण) मात्रा बढेर गएको छ । हावाको प्रदूषणलाई मैले हनुमानजी भन्ने गरेको छ । हनुमानजीलाई लंका जान भिसा चाहिएको थिएन । दिल्लीको प्रदूषण सबै विस्तारै हाम्रो हिमालमा जान्छ । त्यसले हाम्रो हिमक्षेत्रलाई पगाल्छ ।
त्यसैले देशभित्रका समस्या त छँदै छन्, अन्तर्राष्ट्रिय विषयहरूका लागि परराष्ट्रले अब वैज्ञानिक कूटनीतिज्ञको विकास गरी यस्ता विषयमा बनाउनुपर्ने नीतिलाई गहनता र गम्भीरताका साथ ध्यान दिनुपर्छ । सूचना–प्रविधिको क्षेत्रमा आएको कृत्रिम बौद्धिकता (आर्टिफिसल इन्टेलिजेन्स) का विषयले पनि आर्थिक–सामाजिक क्षेत्रमा पार्ने प्रभावलाई पार्टी र सरकार दुवैले ध्यान दिन ढिला भइसकेको छ ।