कारोबार संवाददाता
शुक्रवार, कार्तिक ८, २०७६
688

ठूलो घरानामा जन्मेर चार पटक मन्त्री बन्न सफल तथा स्याङ्जाबाट राष्ट्रिय राजनीतिमा अहम् भूमिका निर्वाह गर्दै आएका गोपालमान श्रेष्ठ २०७४ को संघीय संसद्को प्रतिनिधिसभा निर्वाचनमा पराजित हुन पुगे । निर्वाचनमा विजयी हुन वा पराजय, देश विकासका लागि सधैं सिर्जनशील र चिन्तनशील हुने श्रेष्ठ पछिल्लो समय नेपाली कांग्रेसमा देखिएको कमजोर अवस्थालाई मूल्यांकन गर्दै पार्टीलाई बलियो बनाएर आमसर्वसाधारणको पार्टी बनाउने अभियान सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा छन् । प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिएका श्रेष्ठ पटक–पटक गरी सात वर्ष जेल र झन्डै दुई वर्ष निर्वासित जीवन बिताएका छन् । कांग्रेसले थालेको विभिन्न समयको आन्दोलनमा अग्रभागमा रहेर संघर्ष गरेका, कांग्रेस पार्टी स्याङ्जाको २०४२ देखि २०४८ सम्म जिल्ला सभापति, कांग्रेसको केन्द्रीय उपसभापति हुँदै कार्यवाहक सभापतिसमेत बनेका कांग्रेस केन्द्रीय सदस्य, पूर्वउपप्रधान तथा शिक्षामन्त्री तथा वरिष्ठ नेता श्रेष्ठसँग स्याङ्जाका कारोबारकर्मी प्रकाश डोटेलले गरेको कुराकानीको सार :

वर्तमान राजनीतिक अवस्था र सरकारको कामलाई कसरी लिनुभएको छ ?
वर्तमान राजनीतिक अवस्था सरकारकै कारण धुमिल बन्दै गएको छ । गणतन्त्रको संस्थागत विकासमा सरकारले कुनै ध्यान दिन सकेको छैन । संघीयता कार्यान्वयनमा सरकार विमुख बन्दै गएका कारण संघीयताप्रति आमनागरिकको भावनाविपरीत बन्दै गएको छ ।
हाम्रो नेतृत्वमा भएको निर्वाचनपछि बनेको सरकार स्थायी त बन्यो, तर हरेक क्षेत्रमा सरकार अस्थिर बन्यो । हत्या, हिंसा, बलात्कार, असुरक्षा, महँगी, जथाभावी कर लगाउँदा आमनागरिक आहत बनेका छन् । प्रधानमन्त्रीले भ्रष्टाचार पनि गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने तर वर्तमान सरकार बनेपछि वाइडबडी, ठूला–ठूला सुन तस्करी, बालुवाटार जग्गा काण्ड, बूढीगण्डकी आयोजना बिनाप्रतिस्पर्धा चीनलाई दिनु र मेलम्चीमा रकमकै चलखेलले ठेकेदार हटाइनु सब भ्रष्टाचारका उदाहरण हुन् । भ्रष्ट सरकारसँग के अपेक्षा गर्नु ? मन्त्रालयमा मन्त्रीहरू प्रवेश गर्दा काम गर्न होइन, कमिसन कहाँबाट आउँछ भनेर ढोकाबाट पस्छन् ।

नेकपा नेतृत्वको सरकारले जनअपेक्षाअनुरूप काम गरेका छौं, केही समयमा विकासले गति लिन्छ र देखिन्छ भन्छन् नि ?
चुनावी घोषणपत्र र नाराअनुसार काम गर्न सरकार पूर्णतया असफल बनेको छ । नारा लगाएजस्तो कुनै क्षेत्रमा पनि विकासले गति लिन सकेको छैन । अर्थतन्त्रका हरेक सूचकांक नकारात्मक बन्दै गएको छर्लंग छ । नागरिकसँग जथाभावी कर लगाएको छ । विकासका हरेक गतिविधि शून्यप्रायः छन् । शान्ति–सुरक्षा कमजोर बन्दै गएको छ । निर्मला हत्या काण्ड १५ महिना भयो, दोषी पत्ता लगाउनेतर्फ सरकार मौन छ । नेपाली जनताले दिएको मतको अपहेलना भएको छ । आमनागरिक सरकारबाट दिक्क छन् र दिएको मतलाई लिएर आफंैले आफंैलाई धिक्कारेका छन् । सरकार कामको कुराभन्दा हल्ला फैलाएर नागरिकलाई भ्रममा राखेको छ । तानाशाह बन्दै गएको छ । कांग्रेसको नेतृत्वमा १ सय ४ वर्षे राणाशासन होस् वा ३० वर्षे पञ्चायती शासन किन नहोस्, २ सय ४० वर्षे शाह शासन फालेर नेपालमा गणतन्त्र स्थापना भएको हो । हामी अब सदन र सडकबाट दबाबमूलक तबरबाट खबरदारी गर्छौं । धैर्यको बाँध टुट्न लागेको छ, अब नागरिकस्तरबाट पनि सरकारको विरोध हुनेछ ।

सरकारको विरोध कांग्रेसले गर्न सकेन, नागरिकस्तरबाटै हुन्छ भन्न खोज्नुभएको हो ?
त्यस्तो होइन, सदनमा होस् वा सडकमा, कांग्रेसले सरकारले असल काम गर्न सकेको छैन भनेर भन्दै आएको छ । हामीले सरकारले गरेको राम्रो कामलाई राम्रो पनि भनेका छौं र नराम्रो कामको विरोध पनि गरेको छौं । हामीले भद्र शैलीमा विरोध गरेका छौं, रेलिङ भाँच्ने काम, तोडफोड गरेका छैनौं । सरकार यति धेरै कमजोर र निकम्बा बन्यो, अब कांग्रेस मात्र होइन, नागरिकस्तरबाटै पनि सरकारको विरोध हुन्छ भनेको पो । नेपालको इतिहासमा हरेक शासनकाल जनस्तरबाटै आन्दोलन उठेपछि ढलेका छन् । सरकारमा बस्नेहरूले आफूलाई लोकतान्त्रिक आचरणमा लैजान नसके उनीहरूको पतन समयसँगै हुन्छ । सरकार जनविरोधी गतिविधि बढाउँदै गएको छ ।

सरकारले गर्न सक्ने भए पनि गर्न नखोजेको काम छन् ?
सरकारले कुन क्षेत्रमा व्यवस्थित तबरबाट काम गरेको छ र ? जता हे¥यो उतै लथालिंग छ । स्वास्थ्य, शिक्षा क्षेत्र दलालीको पञ्जामा पर्दासमेत सरकार मूकदर्शक छ । वैदेशिक रोजगार क्षेत्र सुधारका नाममा भताभुंग बन्दै गएको छ । विद्युत्, खानेपानी र सडक निर्माणमा कमिसनको जालो छ । सरकार भ्रष्टहरूको चंगुलमा फसेको छ । भ्रष्ट र दलालहरूले सरकारलाई घेराबन्दीमा पारेका छन् । हावादारी गफ गर्न छाडेर सरकारले यस्ता क्षेत्रमा सुधार गर्न सक्ने थियो । संघीय सरकार होस् वा प्रदेश, सबैतिर दण्डहीनता मौलाएको छ । सिंहदरबारको अधिकार घरमा भनिए पनि स्थानीय सरकारका जनप्रतिनिधिहरू उदण्ड र अराजक बनेका छन् । शान्ति–सुरक्षा कमजोर बन्दै गएको छ । स्वतन्त्र रहनुपर्ने निकाय अदालतहरू राजनीति नियन्त्रित बन्दै जानु दुःखद संकेत हो । दैनिक रूपमा सिर्जित आवश्यक समस्याको हल गर्नुको सट्टा हावादारी भाषण गर्दै प्रधानमन्त्री र मन्त्रीहरूको दिन गएको छ ।

हत्या–हिंसा बढेको छ, ठूला नेताहरूले नै फौजदारी अभियोग भोगेका छन्, राजनीति फोहोरी खेलमा परिणत हुन लागेको हो ?
यो दुःखद कुरा हो । सभामुखजस्तो गरिमामय पदमा रहेको व्यक्तिबाट पनि यस्तो गतिविधि हुनु लज्जास्पद हो । सभामुखसहित संघीय संसद्का ४-५ जना माननीय सदस्यलाई फौजदारी अभियोगको मुद्दा छन्, यसले राजनीतिलाई बदनाम बनाएको छ । कांग्रेसबाट निर्वाचित संसद् सदस्यलाई पनि अभियोग लागेको छ, त्यसलाई निष्पक्ष छानबिन गर्न अदालतको प्रक्रियामा कांग्रेस सहयोग गर्छ । राजनीतिमा मात्र होइन, हरेक क्षेत्रमा भएका र रहेका दण्डहीनताको अवस्था अन्त्य गर्नु आवश्यक छ । राजनीतिक दलका नेताका गतिविधिले नागरिकस्तरमा नकारात्मक भावनाको विकास भएको छ । फोहोरी बन्दै गएको राजनीतिलाई सही दिशामा ल्याउन राजनीतिज्ञले आफ्नो आचरणमा आमूल परिवर्तन गर्न सक्नुपर्छ । दण्डहीनता बढ्दै जाँदा वर्तमान व्यवस्था नै बदनाम भएर जाने हो कि भन्ने चिन्ता छाएको छ ।

भर्खरै चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण सम्पन्न भएको छ, भ्रमणले नेपाललाई दीर्घकालीन के फाइदा भयो ?
चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि भ्रमण भएको छ । यसले नेपाल र चीनबीचको हार्दिकता बढेको छ । हाम्रो सम्बन्ध अरनिकोदेखि नै सामाजिक सद्भाव कायम हुँदै आएको हो । १९६० मा बीपी कोइरालाले चीन भ्रमण गर्दा माओसँग वार्तालाप गरेर नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा पु¥याउनुभएको थियो । राजा महेन्द्र, वीरेन्द्रसमेतले चीनसँगको सम्बन्धलाई बलियो बनाउन सक्दो प्रयास गरेका थिए । सीले नेकपाका नेतालाई बढी बोल्ले मात्र होइन, कामप्रति बफादार र इमानदारी भएर जनताको सेवा गर्न सुझाव दिएका छन् । सोहीअनुरूप नेकपाका नेताहरू कर्तव्यनिष्ट हुनेछन् भन्ने विश्वास लिएका छौं । भारत र चीनसँगको सम्बन्ध समदूरीमा हुनुपर्छ । नेपालले सकेसम्म पुलको काम गरेर दुवैलाई जोड्न सके राम्रो । चीन–काठमाडौं, काठमाडौं–लुम्बिनी रेलमार्ग ऋणमा होइन, सके अनुदानमा बनाए नेपालको विकासमा कोसेढुंगा सावित हुने थियो । चिनियाँ राष्ट्रपति सीले नेपालका राष्ट्रपतिलाई बढी महत्व दिए, तर प्रधानमन्त्रीलाई कम महत्व दिएको बुझिन्छ ।

भनेपछि कार्यकारी पदका नेपालका प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपति सीले महत्व दिएनन् ?
हो त, चिनियाँ राष्ट्रपतिले अघिल्लो दिन भारतमा हुँदा भारतीय प्रधानमन्त्रीलाई १२-१५ घष्टा समय दिएर विकासमा साझेदार गर्ने योजना बनाए, तर नेपाल हुँदा प्रधानमन्त्रीसँगको कुराकानी औपचारिकतामा मात्र निर्वाह गरे चिनियाँ राष्ट्रपतिले । प्रधानमन्त्रीलाई कम समय दिएर खासगरी विकासमा चीनले सघाउन सक्ने विषयमा समेत लामो समय छलफल हुन सकेन । अझ चिनियाँ राष्ट्रपति आउँदा नेपालले सुरक्षाको प्रबन्ध गर्न सक्दैन भनेर चिनियाँ सेनासमेत नेपाल आयो । चीनले दिने भनेको सहयोग रकम पनि किस्ताबन्दी शैलीमा दिन खोज्नुले पनि राष्ट्रपति सीले वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा गाम्भीर्य छैन । भ्रमण सकारात्मक भए पनि अपेक्षाकृत लाभ लिन सरकार चुकेको छ ।

कांग्रेसको आन्तरिक राजनीति भागबन्डामा आधारित बन्दै जाँदा पार्टी कमजोर बन्यो नि ?
त्यस्तो होइन, हामी एक छौं तर सभापतिले सबैको बन्न सकेर काम गर्नुपर्छ । उचित क्षमता भएका नेताहरूलाई उचित स्थान दिनुपर्छ । कांग्रेसलाई चलायमान बनाउनका लागि भ्रातृ संगठनको तत्काल निर्वाचन र विभागहरू गठन गर्नु आवश्यक छ । काम गर्दा भएका कमी–कमजोरीलाई सुधार गर्दै लैजानुको विकल्प छैन र पार्टीको सभापतिलाई काम गर्न दिनुपर्छ । पार्टी नेतृत्वलाई अन्य साथीहरूले कहिलेकाहीं सल्लाह दिने हो । यो भाग मेरो र त्यो भाग तेरो भन्ने चलनको अन्त्य हुनु आवश्यक छ र आमकार्यकर्ताको दबाबले नेतृत्व त्यसतर्फ लागिसकेको छ ।

भ्रातृ संगठन, पार्टीका विभाग र संवैधानिक निकायमा पठाउने नेता, शुभेच्छुक त्यो र यो भन्नु भागबन्डा होइन ?
भ्रातृ संगठनको नेतृत्व यसले लिनुपर्छ र त्यसले लिनुपर्छ भन्नु भागबन्डा होइन । त्यो त यो नेताभन्दा अर्को भए संगठन राम्रो हुन्छ कि भनेर सम्भावनाको खोजी गरिएको हो । विभागको कुरोचाहिँ विभिन्न विषयका विभाग भएका करणले विषयविज्ञ साथीको नेतृत्वमा गठन गरौं भन्दा भागबन्डाजस्तो देखिएको हो, तर यसलाई मिडियाका साथीहरूले अलि बढी प्रचार गरिदिने भएकाले कार्यकर्तामा नैराश्यता उत्पन्न भएको जस्तो देखिन्छ । सरकार र प्रतिपक्ष दलबीच संवैधानिक निकायमा पठाउने प्रतिनिधि त हामीले साझा तवरको छनोट गर्दै आएका छौं । यसलाई भागबन्डा भनेर नबुझिदिन म आग्रह गर्छु ।

तपाईं त पार्टी सभापतिको विश्वासिलो नेता, कांग्रेसलाई पुनर्जागृत गर्ने कुनै कार्ययोजना बनाउनुभएको छ ?
हामीले कांग्रेस पुनर्जागृत गर्नका लागि दुई चरणका जागरण अभियान सक्यौं । कांग्रेस आमनागरिकको पार्टी बनाउनका लागि हामी नेताहरू समयअनुकूलका योजना ल्याएर कार्यकर्तालाई नागरिकसँग जोड्न सक्नुपर्छ । आन्तरिक कार्ययोजनालाई प्रभावकारी बनाएर लैजानका लागि आन्तरिक रूपमा हामीले तयारी गरिरहेका छौं, केही समयमा त्यसको परिणाम देखिन्छ । आमनागरिकले पनि बुझेका छन्, कांग्रेसबिना केही हुँदो रहेनछ । कांग्रेसबिना केही हँुदैन भन्ने प्रमाण २०६४ देखि २०७० सम्ममा कम्युनिस्ट नेताहरूको नेतृत्वमा संविधान बन्न सकेन, तर कांग्रेसको नेतृत्वमा संविधान बनेर गणतन्त्रको संस्थागत विकासमा पाइला चालिएको हो ।

ढिलै गरी भए पनि कांग्रेसको संगठन संघीय संरचनातर्फ उन्मुख छ, पार्टीको अधिवेशन समयमै हुन्छ, नेतृत्वको तयारी के छ ?
संविधान जारी भएपछि संघीय संरचनाले स्थायित्व पाएको हो । संविधान बनेपछि कांग्रेस संघीय लोकतान्त्रिक पद्धतिको संस्थागत विकास गर्नुपर्छ भनेर निर्वाचनमा केन्द्रित बनेका कारणले ढिला गरी कांग्रेसको संगठन संघीय संरचनाअनुरूप बनेको छ । हामीले तीन चरणमा निर्वाचन गर्न नसकेको भए प्राप्त उपलब्धिको अन्त्य हुने थियो । आन्तरिक रूपमा पार्टीको निर्वाचनका विषयमा पनि छलफल चलेको छ । कांग्रेसलाई दक्षिण एसियाकै लोकतान्त्रिक पद्धतिको पार्टी बनाउने गरी विधान बनेको छ । तोकिएको समय सीमामा कांग्रेस आन्तरिक प्रजातन्त्रको अभ्यास गर्नेछ । पार्टी नेतृत्वका लागि धेरै आकांक्षी भए पनि पार्टीमा सबैलाई मिलाएर हाँक्न सक्ने क्षमता वर्तमान नेतृत्वसँग पनि छ, सोहीअनुसारको नेतृत्व चयन गरिन्छ ।

निर्वाचनका समयमा अन्तर्घात गर्नेलाई कारबाही गर्न अनुशासन समिति बनेको छ, तपाईंविरुद्ध पनि उजुरी परेको छ, कारबाही कस्तो हुन्छ ?
अन्तर्घात गर्नेलाई कडा कारबाही हुन्छ । अनुशासन समितिले छानबिन गरिरहेको छ । स्पष्टीकरण सोध्ने काम भएको छ । स्पष्टीकरण चित्तबुझ्दो आएन भने अन्तर्घातको भार (क्षतिका) आधारमा ५ वर्ष १० वर्ष पार्टी सदस्यता निलम्बन गरिनेछ । मेराविरुद्ध उजुरी दिनेले उजुरीका लागि उजुरी दिएका हुन् । त्यसको कुनै अर्थ छैन । म आफैं चुनाव लडेको मान्छेले कसलाई कहाँ अन्तर्घात गरें र ? हावाका भरमा दिएको उजुरीउपर के कारबाही हुन्छ ? कारबाही गर्न त प्रमाण आवश्यक पर्ला नि होइन र ? बरु पार्टी छाडेर अन्यन्त्र गएकालाई पुरानो घर फर्काउन सकिन्छ, तर अन्तर्घात गर्नेलाई कारबाही गर्नैपर्छ । अन्तर्घातीहरू त जनस्तरबाटै कारबाहीमा परेका छन् र पर्छन् पनि । अबको कांग्रेस अन्तर्घातीहरूको घेराबन्दीबाट बाहिर आएर स्वच्छ र पवित्र संगठनका रूपमा विकसित हुनेछ ।

अन्त्यमा एक राजनीतिज्ञका तर्फबाट केही भनाइ छन् ?
नेपालको दिगो विकास र विकसित राष्ट्र बनाउनका लागि हामी राजनीतिज्ञ कडा मेहनत र सहकार्यबाट अगाडि बढ्नुको विकल्प छैन् । सरकारलाई खबरदारी गर्दै नागरिकका पक्षमा काम गर्न प्रेरित गर्न सक्नुपर्छ । आरोप–प्रत्यारोपमा मात्र राजनीतिलाई केन्द्रित गरिरहे गणतन्त्रप्रतिको आमनागरिकको बुझाइ कमजोर बन्दै जान्छ । लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नका लागि व्यक्तिगत स्वार्थ त्यागेर नागरिकको सेवामा केन्द्रित हुनु जरुरी छ ।