सरस्वती ढकाल
बिहिवार, कार्तिक ७, २०७६
586

मुलुकको वैदेशिक व्यापार यतिबेला कठिन अवस्थामा छ । बर्सेनि बढिरहेको व्यापारघाटाले अर्थतन्त्रका आधारभूत संरचना नै अस्थिर बनिरहेका छन् भने अर्कातर्फ पछिल्लो समयको मन्दीले व्यापारघाटा वृद्धिको गति केही सुस्त देखिए पनि सन्तोष मान्न सकिने अवस्था छैन । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७५-७६ मा कुल वस्तु व्यापारघाटा १३.५ प्रतिशतले विस्तार भई १३ खर्ब २१ अर्ब ४३ करोड पुगेको छ भने व्यापारघाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८.१ प्रतिशत छ । यस्तै, केन्द्रीय बैंककै तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७६-७७ को पहिलो दुई महिनासम्ममा कुल वस्तु व्यापारघाटा ३.१ प्रतिशतले संकुचन भई २ खर्ब ११ अर्ब भएको छ, जसमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत थियो । यसरी हेर्दा व्यापारघाटामा थोरै राहतजस्तो देखिए पनि नेपालमा आन्तरिक उत्पादनको अवस्था र निकासीका क्षेत्रमा देखिएका सदावहार समस्याजस्ता कारणले ढुक्क हुनसक्ने अवस्था छैन । नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, फ्रान्स, चीन, जापान, बंगलादेश, इटाली, क्यानडा, अस्ट्रेलिया आदि प्रमुख रूपमा रहेका छन् । यीमध्ये सबैभन्दा ठूलो बजार भारत हो भने मूल्य अभिवृद्धिका हिसाबले नेपालको व्यापार जर्मनी, टर्की, अमेरिकालगायतका मुलुकसँग बढी फाइदामा छ । विश्व बैंकले केही वर्षअघि गरेको एक अध्ययनअनुसार अर्थतन्त्रको आकारमा व्यापारघाटा उच्च हुने देशमा नेपाल विश्वकै १३औं नम्बरमा पथ्र्याे । दक्षिण एसियामै अफगानिस्तानपछि अर्थतन्त्रको आकारमा बढी व्यापारघाटा हुने देशमा नेपाल पथ्र्याे । अर्थतन्त्रको आकारको करिब ४० प्रतिशतको अनुपातमा पुगेको व्यापारघाटाले नेपाली अर्थतन्त्र जहिले पनि समस्यामा जान सक्ने खतरामा रहेको विज्ञहरूको भनाइ छ भने सरकारका जिम्मेवार अधिकारीहरू भने यो मान्न तयार छैनन् । बरु उच्च अंकको आर्थिक वृद्धिका लागि अघि बढेका बेला ठूलो परिमाणमा विदेशी प्रविधि र उत्पादन खरिद स्वाभाविक रहेको र यसले भोलिका दिनमा आन्तरिक उत्पादन बढ्दै व्यापारघाटा साँघुरिँदै जाने तर्क उनीहरूको छ । सिद्धान्ततः यस्तो तर्क बेठीक नभए पनि नेपालको आर्थिक वृद्धिदरबारे विश्व बैंकलगायत अन्य संस्थाले गरेको प्रक्षेपणले भने तर्कलाई पुष्टि गर्दैन, बरु सरकारको लाचारीमात्र देखाउँछ । समस्या लुकाएर नभई खुलाएर समाधान गर्न सकिन्छ भन्ने मान्यतामा सरकार नपुगेसम्म व्यापारघाटाका कारण लुकाएरमात्र समाधान खोज्न सकिँदैन । नेपालले निकासीका लागि पहिचान गरेका नेपाल एकीकृत व्यापार रणनीतिअन्तर्गत समेटिएका वस्तुको निकासी नै टीठलाग्दो देखिन्छ भने व्यापारीले फितलो राज्यव्यवस्था तथा भन्सार प्रशासन र करका दरहरूमा खेल्दै स्वदेशमै उत्पादन नहुने वस्तु निकासीबाट पनि मनग्य आम्दानी गरिरहेका छन् । व्यापारघाटा कहालीलाग्दो तरिकाले बढिरहे पनि नेपालले निर्यात व्यापारमा कुनै सुधार गर्न सकेको छैन । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र चलिरहेको छ । यसैले आन्त्तरिक उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र लागतमा प्रतिस्पर्धी भएपछि निकासी व्यापार नै मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्ने अचुक अस्त्र हो । यसै सम्बन्धमा नेपालले निकासी व्यापार बढाउन सक्ने सम्भावना भएका केही मुलुकमा व्यापार गरिरहेका र यस्ता व्यवसायीको नेतृत्व तहमा पुगेका व्यवसायीसँग सरस्वती ढकालले गरेको कुराकानी :

अस्ट्रेलियामा नेपाली उत्पादनको निर्यात बढाउन चुनौती
अखिलकुमार चापागाईं
अध्यक्ष, नेपाल–अस्ट्रेलिया चेम्बर अफ कमर्स
नेपाल–अस्ट्रेलियाबीचको कूटनीतिक सम्बन्धमा चेम्बर अफ कमर्सको भूमिका महŒवपूर्ण छ । २१ वर्षअगाडि व्यापारिक सम्बन्ध विस्तार, दुई देशबीचको व्यापारिक प्रतिनिधि–मण्डलको भ्रमणलगायत पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ नेपाल–अस्ट्रेलिया चेम्बर अफ कमर्सको स्थापना भएको हो । हामीले दुई देशको हितमा रहेर व्यापार–व्यवसाय वृद्धि गर्ने र सरकारका कामहरूलाई पनि सघाउँदै आएका छांै । नेपालमा लामो समयपछि दुईतिहाइको बलियो सरकार आएको छ भने सरकारका ऐन–नियमहरू पनि समयअनुसार परिमार्जन गरिँदै छन् । यस्ता विषयलाई अस्ट्रेलियन लगानीकर्तामाझ पु-याएर लगानी ल्याउन, व्यापार बढाउन र हाल भइरहेको व्यापारघाटाको अवस्था न्यूनीकरण गर्न चेम्बर अफ कमर्स प्रयासरत छ । अस्ट्रेलियासँगको सम्बन्ध थप उचाइमा पुगेकाले भोलिका दिनमा आर्थिक कूटनीति पनि राम्रोसँग अगाडि बढ्दै जान्छ भन्ने हाम्रो विश्वास हो ।
अस्ट्रेलियामा नेपाली उत्पादनहरू निर्यात गर्न सक्ने पर्याप्त सम्भावना भएपछि हामीले सोअनुसारको लाभ लिन भने सकेका छैनौं । २०१८ को जुनदेखि २०१९ को जुनसम्मको व्यापार अवस्था हेर्ने हो भने ६.१ मिलियनको निर्यात भएको छ त ७३ मिलियन बराबरको आयात भएको देखिन्छ । निर्यात र आयातबीचको ग्याप निकै बढ्दो छ । यो व्यापारघाटा कम गर्नका लागि हामीले विभिन्न समयमा दूतावाससँग मिलेर व्यापार वृद्धिका विषयमा छलफल पनि गरेका छौं । शैक्षिक पराशर्मदाता कम्पनीसँगकोे समन्वयमा नेपाली प्रडक्टहरू कसरी चिनाउन सकिन्छ भन्ने सम्बन्धमा पनि काम भएको छ । अर्कातर्फ भर्खरै नवांै विश्व सम्मेलनबाट गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति चयन भएको छ । एकजना गैरआवासीय नेपालीबराबर १ पर्यटक नेपाल पठाउने प्रतिबद्धता पनि सो कार्यसमितिले जनाएकाले अस्ट्रेलियामा धेरै नेपाली हुनुको फाइदा पर्यटन आगमनमा हुन सक्छ । १ लाखभन्दा धेरै नेपाली अहिले अस्ट्रेलियामा अध्ययन र व्यवसायका रूपमा रहेका छन् । खास गरी अस्ट्रेलियामा नेपाली युवाशक्ति धेरै भएकाले हामीले पनि सोहीअनुरूपका उत्पादनहरू निर्यात बढाउनका लागि जोड दिएका छौं । अस्ट्रेलियामा पढेर फर्कने नेपाली विद्यार्थीलाई लक्षित गरेर व्यवसायमा केन्द्रित गर्न विभिन्न गोष्ठी, छलफल गर्ने, जागिरका लागि पनि अवसर दिने र जोसँग ज्ञान, सीप हुन्छ तर पैसा हुँदैन यस्ता विद्यार्थीलाई व्यवसायमा लगाउन सहयोग गर्दै आएका छौं । अस्ट्रेलियासँगको कूटनीतिक सम्बन्ध ५० वर्ष नाघेको छ भने विकास साझेदारका रूपमा पनि अस्ट्रेलिया अगाडि नै छ । पछिल्ला वर्षमा विकास–निर्माणमा लक्षित भएर अस्ट्रेलियाले सहयोग बढाएको छ ।

ह्यान्डिक्राफ्ट निर्यात गरेर हेलिकप्टर र मेसिनरी किन्नुपरेको छ
श्याममोहन श्रेष्ठ
अध्यक्ष, नेपाल–फ्रान्स चेम्बर अफ कमर्स
नेपाल र फ्रान्सबीचको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । यस अवसरमा हामीले दूतावाससँग मिलेर विभिन्न कार्यक्रमहरू गरिरहेका छौं । निकै लामो समयपछि नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स भ्रमण गर्नुभएको छ । झन्डै डेढ दशकपछि हाई लेभल भ्रमण भएको छ । यसले पनि दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ । प्रधानमन्त्रीको भ्रमणमा व्यावसायिक जगत्बाट पनि प्रतिनिधि–मण्डल गएको थियो । सरकार–सरकारबीच मात्रै नभएर व्यवसायी–व्यवसायीबीचमा पनि नयाँ आयाम थपिएको छ । यसले भोलिका दिनमा सामञ्जस्यता कायम गर्दै अगाडि बढ्न सहयोग पुग्ने नै छ । फ्रान्स सरकारले सफ्ट लोन, प्राविधिक सहयोगलगायतबाट विषयमा सहयोग गर्दै आएको छ ।
फ्रान्ससँग हामी व्यापारघाटामा छौं । नेपालबाट ह्यान्डिक्राफ्ट, पेपर प्रडक्टजस्ता सामग्री निर्यात भएका छन् भने फ्रान्सबाट मेसिनरी सामान, हेलिकप्टर र धेरै मूल्य पर्ने सामग्री आयात भएका छन् । कम मूल्यका सामग्री निर्यात गरेर बढी मूल्य पर्ने सामग्री आयात गर्नुपर्दा व्यापारघाटा बढ्दै गएको हो । नेपाली उत्पादन बढाउन नसकेमा यो व्यापारघाटा बढ्दै जान्छ, त्यसैले हाम्रा उत्पादनलाई गुणस्तरीय बनाएर फ्रान्समा पठाउन सक्नुपर्छ । निर्यात बढाउने योजनामा हामी पछाडि भयौं । नेपालले निर्यात गर्न सक्ने क्षेत्र पहिचान गरेर केही सहज अवस्था सिर्जना गर्न सकिए व्यापारघाटा कम गर्न सकिन्छ ।
व्यापारघाटा कम गर्न पर्यटन क्षेत्रबाट पनि सकिन्छ । प्रधानमन्त्री ओलीको भ्रमणले पर्यटन क्षेत्रलाई पनि उत्तिकै सहयोग गर्ने अपेक्षा छ । २० लाख पर्यटक ल्याउने भनेर प्रचार गर्दा पूर्वाधार विस्तारको अवस्थालाई पनि मध्यनजर गर्नुपर्छ । एकै वर्षको अन्तरालमा १० लाख पर्यटक बढाउन लक्ष्य लिंदा पूर्वाधार विस्तारतर्फ हामी चुकेका छौं । त्यसतर्फ सरकार, निजी क्षेत्र सबैको उत्तिकै सक्रियता आवश्यक छ । हामीले पनि व्यावसायिक रूपमा पर्यटन बढाउन पहल गरेका छौं । अहिलेको मुख्य चुनौती नै निर्यात बढाउनु हो । फ्रान्सको लगानी बढाउनका लागि व्यावसायिक तवरबाट हामीले प्रयास जारी राखेका छौं । अहिले टेलिकम, ट्रान्सपोर्टलगायतका क्षेत्रमा फ्रान्सको सहयोग बढ्दैछ भने फ्रान्सको लगानीमा ठूला उद्योग खोल्नुप-यो भनेर हामीले पनि लगानीको सम्भावना देखाएका छौं । सरकारले दिने सुविधा, जग्गा, पानी, जनशक्तिलगायतको विषयमा जानकारी गराएका छौं । साथै नेपालमा दुई–ठूला देशको बीचमा रहेकाले बजारको पनि प्रवल सम्भावना छ, तर अन्तर्राष्ट्रिय निकायमा यो कुरा बुझाउन सकिएको छैन ।

जर्मनहरूले नेपाल र नपालीलाई हेर्ने दृष्टिकोण निकै राम्रो छ
अनुपबहादुर मल्ल
अध्यक्ष, नेपाल–जर्मन चेम्बर अफ कमर्स
जर्मन सरकारसँग नेपालको दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको छ । यस अवसरमा व्यावसायिक जगत्बाट पनि विभिन्न कार्यक्रम भएका छन् । जर्मनहरूले नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोण निकै राम्रो छ । त्यसैगरी नेपाली उत्पादनहरू पनि जर्मन निर्यात हुने गरेको छ भने त्यहाँका उत्पादन पनि नेपालमा आयात भइरहेका छन् । सन् २०११ सम्म जर्मनीसँग नेपालको व्यापार निकै राम्रो थियो । त्यतिबेलासम्म हाम्रो आयातको तुलनामा निर्यात बढी थियो । जब १० वर्षे द्वन्द्वको अवस्था सिर्जना भयो तब जर्मनीसँगको सीधा सम्पर्क लुफ्थान्सा उडान बन्द भयो । अन्य युरोपका सीधा उडान पनि रोकिए । यसले व्यापारमा ठूलो असर प-यो । एक हिसाबले भन्दा द्वन्द्वपछि सम्बन्ध टुट्यो भन्दा पनि हुन्छ । नेपाली आकाश सुरक्षित छैन भनेर आधिकारिक वेबसाइटमा राखेर प्रचार भयो, यसले पर्यटक आगमन ह्वात्तै घट्यो । हामीले आयातमात्रै गर्ने भयौं, तर निर्यातको भोलुम बढाउन सकेनौं । त्यतिमात्रै होइन, हाम्रा सामान धेरै मूल्यवान हुन सकेनन् । महँगा सामान आयात गर्दा हाम्रा समान पनि उत्तिकै प्रतिस्पर्धी र गुणस्तरीय बन्नु जरुरी छ । भर्खरै नेपाल–जर्मनी बिजनेस फोरमसँगको मिटिङ सम्पन्न भएको छ । यसले पनि नेपालको व्यापार–व्यवसायमा अवश्य टेवा पुग्नेछ । क्षेत्रगत रूपमा बिजनेस डेलिगेसन जर्मनी जाने र जर्मनीबाट पनि नेपालमा डेलिगेसन आउने विषयमा छलफल भएको छ ।
सरकारले अगाडि सारेको भ्रमण वर्ष २०२० का लागि हामीले हाम्रो क्षेत्रबाट पहल गरिरहेका छौं । नेपालको विज्ञापन जर्मनीको रेलवे स्टेसन, बेसलगायत खाली ठाउँमा देख्न पाइन्छ । यो सकारात्मक हो । यतिले मात्रै पुग्दैन, पाहुनालाई दिने सेवा–सुविधा बढाउनुपर्छ । यातायात, बाटो, प्रदूषणरहित वातावरणलगायतका धेरै पूर्वाधार विस्तारमा जोड दिनुपर्नेछ । नेपाल प्रवेश गर्ने गेट वे एयरपोर्ट अहिले पनि सबल बन्न सकेको छैन । यसमा सुधार गर्नुपर्छ भने पूर्वाधार विस्तार पहिलो प्राथमिकता बन्नुपर्छ ।