दीपेन्द्र थापा
शुक्रवार, कार्तिक १, २०७६
1302

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा साधारणसभा एक दिन लम्बिएर (आज) शुक्रबारमात्र समापन हुने भएको छ ।
मंगलबारबाट काठमाडौंको ह्यात होटलमा जारी एनआरएनएको नवौं विश्व सम्मेलन तथा साधारणसभाको निर्वाचन प्रक्रियामा समस्या आउँदा थप एक दिन लम्बिएको हो । निर्वाचन समितिले बुधबार अपरान्ह ३ बजेदेखि मतदान गर्ने तालिका सार्वजनिक गरेकोमा प्राविधिक समस्याका कारण मतदान तालिका हेरफेर भएपछि पुनः बिहीबार बिहानदेखि भोटिङ मेसिनको सट्टा मतपत्र प्रयोग गरी मतदान प्रक्रिया सुरु गरिएको थियो । एनआरएनएको नयाँ नेतृत्वका लागि छ दर्जनभन्दा बढी प्रत्यासी मैदानमा उत्रिएका छन् । खासगरी अध्यक्षका प्रत्यासीद्वय कुमार पन्त र कुल आचार्य प्यानल नै खडा गरी उत्रिएका छन् भने उपाध्यक्षमा नौजना र महिला उपाध्यक्षमा दुईजनाको उम्मेद्वारी परेको छ । महासचिवमा जानकी गुरुङ र दीपकप्रसाद कँडेलले उम्मेद्वारी दर्ता गराएका छन् । सचिवमा ७ जना, कोषाध्यक्षमा तीनजना, सहकोषाध्यक्षमा २ जना, महिला संयोजकमा चारजनाले उम्मेद्वारी दर्ता गराएका छन् । ९ पदमा निर्विरोध निर्वाचित भएका छन् भने दुई पदमा कुनै पनि उम्मेद्वारी दर्ता परेको छैन । निर्वाचनमा २ हजार ५ सयजना मतदाता छन् । यसै विषयमा कारोबारकर्मी दीपेन्द्र थापाले सहभागीहरूसंग गरेको वार्तालाभको सार :

राजनीतिमुक्त एनआरएन हुनुपर्छ
शशी पन्थी
पोर्चुगल
एनआरएनको स्थापना कालदेखि विशुद्ध गैरआवासीय नेपाली जो नेपालभन्दा बाहिर रहेका नेपालीहरूको समस्या समाधान गर्ने, उनीहरूलाई सहजीकरण गर्न यो संगठनको स्थापना भएको हो । संस्था केही सालसम्म संस्थाको उद्देश्य प्राप्ति गर्न लागिपरेको भए पनि हाल राजनीति हावी हुँदै गएको छ । नेतृत्वका लागि प्यानल नै घोषणा गरेर चुनावी मैदान उत्रिएकाले राजनीति हावी भएसँगै संस्थाको लक्ष्य प्राप्तिमा समस्या आएको छ । संगठनलाई सुधार गर्न राजनीति तवरबाट मुक्त गर्न आवश्यक छ । विदेशिएका नेपालीहरूको मतदानको अधिकार प्रयोग गर्न पाउने अनलाइन भोटिङ प्रणालीको विकास गर्नुपर्छ । यसो भएको खण्डमा सबैको मताधिकार पाएको नेतृत्वको छनोट हुन्छ र संगठन सशक्त, सबैको विश्वासिलो भएर जान्छ । युवाहरूलाई नेतृत्वदायी भूमिकामा विकास गर्दै लग्नुपर्छ । पार्टीको सर्कुलर जारी गरेर भन्दा पनि सक्षम र सवल नेतृत्व लिन सक्ने लिडरको विकास संस्थाले बनाउँदै जानुपर्छ । नयाँ नेतृत्वबाट हामीले लिएको आशा भनेको राजनीतिमुक्त एनआरएनको संस्था बनाउनु हो । मताधिकार प्रयोगमा पनि समस्या आएको छ । प्रतिनिधि छनोटमा प्रत्येक एनआरएन सदस्यहरूलाई मताधिकार दिएको खण्डमा हाल देखिएको विवाद पनि समाधान भएर जानेछ । सबै गैरआवासीय नेपालीको साझा संगठनको रूपमा संस्थालाई विकास गर्नु आजको आवश्यकता हो ।

राजनीतिक सोचबाट माथि उठेमात्र संस्थाको विकास सम्भव छ
रोबट लिम्वु
पोर्चुगल
गैरआवासीय नेपाली संघमा पछिल्लो पटक केही विवाद र राजनीति हावी भयो भन्ने कुरा बाहिर आएको छ । यो एकदमै दुःखद् कुरा हो । संस्थालाई राजनीति र विवाद रहित संस्थाको रूपमा हामीले अगाडि बढाउनु पर्छ । संस्थाभन्दा व्यक्ति ठूलो हुन सक्दैन । त्यसैले व्यक्तिवादी सोचभन्दा संस्थावादी सोचको विकास आज संस्थाका लागि अपरिहार्य बनेको छ । व्यक्तिवादी र राजनीतिक सोचबाट माथि उठेरमात्र संस्थाको विकास सम्भव छ । विगतमा भएका कमीकमजोरी सच्याएर नयाँ सोच र नयाँ संकल्पसहित संस्थाको नयाँ नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नु पर्छ । यसका लागि हामी एनआरएन प्रेमीहरू सबैको सदैव साथ सहयोग रहनेछ । आगामी नेतृत्वले सोहीअनुसार काम गर्दैै जानेछ भन्ने हामी युवाले विश्वास लिएका छौं । संस्थामा विस्तारै युवा हावी हुँदै गएको अवस्था छ । विगतमा भन्दा पछिल्लो समयमा युवाको उपस्थिति बढेर गएको छ जुन एकदमै सराहनीय पक्ष पनि हो । युवाले नै नेतृत्वदायी भूमिकामा रहेर युवाको साथ र अग्रजको सुझावलाई आत्मसाथ गर्दै संस्थालाई नयाँ परिस्कृत ढंगबाट लानु पर्छ । नेपाल र नेपालीहरूको हितका लागि हामी नेपाली जहाँ रहे पनि मातृभूमिलाई सधै विकासतर्फ लानका लागि तल्लिन रहनुपर्छ । सोहीअनुसार नेपाल सरकारले पनि हामीलाई साथ सहयोग गर्दै जानुपर्छ । पोर्चुगलमा ३० हजारको हाराहरीमा नेपाली छन् भने २३ सय एनआरएनसँग आबद्ध छौं । सम्मेलनमा १ सय २५ प्रतिनिधि सहभागी भएका छौं ।

संस्थालाई प्रभावकारी बनाउनु पर्छ
गोपेन्द्रराज भट्टराई
अमेरिका
एनआरएनएको भावी कार्य समितिले विभिन्न कारणले विदेशिएका नेपालीहरूको माग रही आएको दोहोरो नागरिकतालाई सम्बोधन गर्नुपर्छ । डबल ट्रयाक्सेसन एभ्वाइडेन्स ट्रिटीलाई ध्यान दिनुपर्छ । यदि आगामी नेतृत्वले यो दुई प्रस्तावलाई सरल तरिकाले सम्बोधन गर्न सक्यो भने नेपालमा बस्ने नेपाली र विदेशमा बस्ने नेपालीलाई सवल बनाउने गरी काम गर्न सकेको खण्डमा आगामी पुस्तालाई नेपालप्रति आकर्षित गर्न सकिने छ । विदेशमा रहेको पहिलो पुस्तापछिको दोस्रो पुस्तालाई नेपालसँग सम्बन्ध रहिरहनका लागि पनि सहज बन्छ र आकर्षित गर्न सकिन्छ भन्ने मैले विश्वास लिएको छु । आगामी नेतृत्वले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । यसबाहेकका संस्था सामाजिक उत्तरदायी संस्था भएकाले गर्दा नेपाल र नेपाल बाहिर पनि सामाजिक हितका लागि काम गर्नुपर्छ । जस्तै दैवी प्रकोपबाट बचाउनका लागि जनचेतना, दैवी प्रकोपमा परेका समुदायलाई चाँडै समस्याबाट बाहिर निकाल्ने कार्यक्रम तय गर्नुपर्छ । यसका लागि प्रोएक्टिभ हुनुपर्छ घटना घटिसके पछि भन्दा तत्काल उद्धार गरेको राम्रो, प्रभावकारी र लाभदायी हुन्छ । यसका लागि पहिले पर्याप्त आन्तरिक तयारी हुनुपर्छ । चुस्त व्यवस्थापन र समृद्ध नेतृत्वको कार्यसम्पादन अबको आवश्यकता हो । संस्थालाई सबै र हामी सबैको संस्थाको रूपमा विकास गर्दै लानुपर्छ । नेपाल र नेपालप्रतिको सम्बन्ध स्थापित गर्न र विदेशमा रहेका नेपालीलाई नेपालसँगको नाता यथावत राख्नका लागि संस्था र सरकारबाट पनि ठोस कार्यक्रम, नीति नियम आवश्यक छ । यसतर्फ सबै सरोकारवाला निकायको ध्यान केन्द्रित हुनुपर्छ ।

चुनावले गर्दा मुख्य एजेन्डा ओझेलमा परे
चिरन्जीवी देवकोटा
अस्ट्रेलिया
एनआरएनको भविश्य भावी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयमा धेरै बहस र अभ्यास भइरहेको छ । मुख्यतयाः अधिवेशन, चुनाव, विश्व सम्मेलन एकै पटक हुँदा विकृति बढदै गएको हो । चुनावले गर्दा अन्य मुख्य एजेन्डा ओझेलमा परेका छन् । चुनावको सवालमा भन्ने हो भने सम्मेलनसम्म धाएर सहभागी हुनुभन्दा अनलाइन प्रणाली विकास गरेर विदेशमा रहेका सबै नेपालीलाई समेटेर मतदान प्रक्रियामा सहभागी हुने अधिकार प्रत्यायोजन गर्नुपर्छ । नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई अनलाइन प्रक्रियाबाट नेपालको चुनावमा सहभागी गराउने आन्तरिक तयारी गरिरहेको बेला हामी भने प्रत्यक्ष सहभागी चुनाव पद्धतिमा गएका छौं । यो प्रक्रिया सच्याउनु पर्छ । दोस्रो कुरा भनेको नेपालमा लगानी गर्न भनिएको छ । व्यक्तिगत लगानी भएका छन् तर संस्थागत लगानी अभियानमा जोडिएको छैन । नेपालमा लगानी गरी विकास गर्नेका लागि सामूहिक लगानी गरी मूर्तरूप दिनुपर्छ । दोस्रो पुस्तालाई पनि नेपालसँग जोड्ने वातावरणको विकास एनआरएनए र नेपाल सरकारले गर्नुपर्छ । तबमात्र नेपाल र दोस्रो पुस्ताका एनआरएनएसँगको सम्बन्ध दीर्घकालीन हुनसक्छ । यसका लागि नेपालसँग आकर्षित गर्न बिदाको समयमा नेपाल भ्रमण गर्ने वातावरणको विकास गर्नु आजको आवश्यकता हो । प्याकेज किनेर वा नेपालका नातेदारसँग जोड्ने वातावरण तय गर्न सकेको खण्डमा आगामी दिनमा दोस्रो पुस्ताको एनआरएनए पनि नेपाल आउने वातावरण बन्न सक्छ र बनाउनु पर्छ ।

दलगत राजनीतिले संस्थाको उद्देश्य नै ओझेलमा प-यो
जिज्ञानकुमार थापा
जापान
देश बनाउन सघाउँछु भन्नेले सर्वप्रथम संस्थालाई पारदर्शी, मितव्ययी र अनुशासित बनाउनु पर्छ । हाल देखिएको दलगत राजनीतिले संस्था स्थापनाको उद्देश्य नै ओझेलमा परेकाले एनसीसी, आईसीसी दुवैमा राजनीतिकरण गर्न बन्द गर्नुपर्छ । ज्ञान, सीप र प्रविधि न्यून भएका तर पुँजी हासिल गरेकाले खर्चिलो निर्वाचन गरेको देखिन्छ । यसले भट्किलो चुनाव खर्च थेग्न नसक्ने तर दक्ष जनशक्तिलाई कार्य समितिमा सामेल गराउन सक्दैन । यसलाई सुधार गर्नुपर्छ । एनआरएनले यस्ता कुरामा ध्यान दिएर सुधार गर्नु आवश्यक छ । काठमाडांैको होटेल मात्र हैन, चितवन, पोखराजस्ता अन्य क्षेत्रमा पनि सम्मेलन गरे क्षेत्रिय अर्थतन्त्र र आन्तिरक पर्यटनमा टेवा पुग्नेछ । अन्त्यमा संस्थाले नेपाली वा विदेशीलाई नेपालमा लगानी भित्रयाउन हरेक मुलुकमा ठोस संयन्त्र बनाई काम गर्नुपर्छ । मुख्य कुरा एनआरएनएले नेपालमा लागनी गर्नु पर्छ, व्यक्तिगत लगानीमा मात्र केन्द्रित नभई सामूहिक लगानी आउन सकेको खण्डमा नेपालमा विकास सम्भव छ । नयाँ टिमले विदेशको ज्ञान र सीपलाई नेपालमा हस्तान्तरण गर्नसके र सरकारलाई पोलिसी रिकमेन्डेसन दिनसके नेपालको विकासमा टेवा पुग्छ । जस्तै नेपाल संघीयतामा गएर विभिन्न प्रशासनिक कार्यविभाजनमा अलमल छ । अन्य मुलुकको अनुभवहरू नेपालमा काम लाग्छ । विज्ञ राखेर सहयोग गर्न सक्छन् ।

संस्था फैलिँदै गएको छ
सुजता बस्नेत केसी
अष्ट्रिलिया
एनआरएन सबै विदेशी नेपालीको साझा संगठन हो । विगतमा संस्थाले राम्रो पनि गरेको थियो । तर पछिल्लो समय राजनीतिक रङ मिसिएर गएको छ । राजनीतक हावी हुँदै गएसँगै संस्थाको मार्गदर्शनमा ठूलो धक्का पुगेको छ । अग्रजहरूले अनुशासन सिकाउँदै जानु पर्नेमा साथ सहयोग गर्न छोडेको मैले महशुस गरेकी छु । संस्था विकास हुँदै संगठित रूपमा फैलिँदै गएको छ । नेपालीलाई जोड्न सकेको छ । नेपालमा विपद् परेको बेला साथ सहयोग गर्न सकेका छौं । आगामी दिनमा पनि सरकार र संस्था मिलेर नेपाल र नेपालीको हक हितका लागि काम गर्नुपर्छ । नयाँ नेतृत्वले संस्थाको बृहत्तर हित राखेर अगाडि बढेको खण्डमा हामीजस्ता एनआरएन प्रेमीलाई सच्चा सम्मान कायम हुनेछ ।

नेतृत्वले राजनीतिमुक्त संस्था बनाउनु पर्छ
डा. विष्णुमाया परियार
अमेरिका
एनआरएनएमा विस्तारै राजनीति हावी हुँदै गएको छ । योसँगै संस्थाले आफ्नो दायित्व बिर्सेर गएको मैले महशुस गरेकी छु । एनआरएनभन्दा पनि बाहिरको मान्छे आएर राजनीतिक लबिङ गर्ने, संस्थाको मर्यादामा खलबल पु-याउने काम भइरहेको छ । आगामी नेतृत्वले राजनीतिमुक्त संस्था बनाउनु पर्छ । विगतमा एकै परिवार समुदायजस्तै रहेको संस्थालाई सोही ठाउँमा फर्काउनु पर्छ । मुख्य एजेन्डा गिभिङ व्याक टु नेपाल नेपालको लागि के गर्न सकिन्छ भन्ने थियो यसतर्फ ध्यान केन्द्रित हुनुपर्छ । केही हदसम्म काम भएका छन् तर पर्याप्त काम भएका छैनन् । हामीले हाम्रो संस्था, नेपाल र नेपालीको हितमा काम गर्न सक्ने साझा थलो बनाउन सक्नुपर्छ । सबै विदेशिएका नेपालीलाई एकबद्ध गरेर लानु पर्छ ।