कारोबार संवाददाता
बिहिवार, आश्विन ३०, २०७६
632

नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट काठमाडौंंमा सुरु भएर आज (बिहीबार) समापन हुँदैछ । विगतमा झैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा भइरहेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकि थिइन् भने बिहीबार समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तालिका छ । सम्मेलनमा भाग लिन ८१ राष्ट्रबाट करिब २ हजार ५ सय गैरआवासीय नेपाली काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा विभिन्न विषयमा समानान्तर सत्रहरू चलेका थिए । जसमा संसारभर छरिएर रहेका सबै नेपाली एकै सूत्रमा समाहित भई उत्साहका साथ हातमा हात मिलाएर ‘सबै हात एकै साथ’ भन्ने मूलभावका साथ नेपालको समृद्धिको यात्रामा कसरी जोडिने भनेर छलफल गरेका थिए । सम्मेलनले नेपालको समृद्धिको यात्रामा दिशानिर्देश हुने एजेण्डामा बृहत् छलफल गरिएको पनि बताइएको छ । नवौं विश्व सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न ऊर्जा प्रदान गर्दै ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रलाई सार्थक सावित गराउने अपेक्षा पनि संघले राखेको थियो ।
सम्मेलन तथा महाधिवेशनले सन २०१९–२०२१ का लागि नयाँ नेतृत्व चयन गर्न बुधबार राति मतदान स्थगित भएपछि बिहीबार सुरु भएको छ ।  नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष कुमार पन्त तथा कुल आचार्य चुनावी मैदानमा भिडेका छन् । गैरराजनीतिक संस्था गैरआवासीय नेपाली संघमा चुनावका कारण राजनीति मिसाएकोजस्ता विविध आरोप लागे पनि बिहीबार साँझसम्म पन्त वा आचार्यमध्ये एकले संस्था हाक्ने निश्चित छ ।
यस्तै, उपाध्यक्षमा नौजना र महिला उपाध्यक्षमा दुई जनाबीच चुनाव हँुदैछ भने महासचिवमा जानकी गुरुङ र दिपकप्रसाद कँडेल चुनाव लड्दैछन् । सचिवमा ७ जना, कोषाध्यक्षमा तीनजना, सहकोषाध्यक्षमा २ जना, महिला संयोजकमा चारजना उम्मेद्वार चुनावी मैदानमा छन् । यस्तै, ९ पदमा निर्विरोध निर्वाचित भएका छन् । यस्तै दुई पदमा कुनै पनि उम्मेद्वारी दर्ता भएको छैन । क्षेत्रिय उपसंयोजक र युवा उपसंयोजक (अफ्रिका) मा कुनै पनि उम्मेद्वारी परेन । युवा संयोजक हिमाल गुरुङ, क्षेत्रिय महिला संयोजक जानकी पौडेल, क्षेत्रिय महिला संयोजक (ओसियाना) बाट राजकुमार थपलिया, क्षेत्रिय महिला संयोजक (एसिया प्रसान्त) बाट अमृत थापा, क्षेत्रिय संयोजक (अफ्रिका) बाट रोशन थापा निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै, मध्यपूर्व क्षेत्रिय संयोजक, क्षेत्रिय महिला संयोजक र युवा संयोजकतर्फ प्रविण गुरुङ, देवी पौडेल र राजु रेग्मी निर्विरोध निर्वाचित भएका छन् भने क्षेत्रिय युवा संयोजक (अमेरिका) बाट विमल सापकोटा निर्विरोध निर्वाचित भएका छन् । दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने निर्वाचनमा २ हजार ५ सयजना मतदाता छन् ।
‘म, मेरो एनआरएनए र मेरो नेपाल’ मूल विषयमा केन्द्रित रहेर असोज २८ देखि ३० गतेसम्म आयोजना गरिएको विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्वमात्र होइन नयाँ नीतिगत एजेन्डासमेत तय गर्ने हुनाले अबको एनआरएनएको बाटो कस्तो हुने, के कस्ता लगानीका सम्भावनामा संघले छैठौं नेतृत्वले संघलाई कसरी अगाडि बढाउनु पर्दछ भन्ने विषयमा संघका पूर्वअध्यक्षहरूको भनाइको सारसंक्षेप:

विगत र वर्तमानको समीक्षा गर्नुपर्ने समय आएको छ
देवमान हिराचन 
पूर्वअध्यक्ष, एनआरएनए
गैरआवासीय नेपाली संघको ९औं सम्मेलन काठमाडौंमा जारी छ । हालसम्म एनआरएन ८१ देशमा पुगिसकेको छ । ७० लाख नेपाली विदेशमा रहेको तथ्यांक भए पनि ७० हजार एनआरएनको सदस्य छन् । एनआरएनएमा विस्तारै राजनीति हावी हुँदै गएको छ । यो एकदमै दुःख लाग्दो विषय हो । प्रत्येक एनआरएनभित्र राजनीतिक रङ मिसिएको र एकाधिकार रहेको भन्ने आरोप आउने गरेको छ । यही स्थिति रहिरहे एनआरएनएको भविष्य त्यति लामो हुने संकेत देखिएको छैन । एनआरएनलाई सबैको साझा संगठन बनाउनु पर्छ भन्नेमा मेरो जोड रहँदै आएको छ । यसका लागि पूर्वअध्यक्षहरू बसेर संस्थाको विगत र वर्तमानको समीक्षा गर्नुपर्ने बेला आएको छ ।अधिवेशन सकिएपछि संस्थाको भावी योजना र नयाँ सोचका साथ अगाडि बढ्न सक्छकि भन्ने अनुमान पनि गरेका छौं ।
संस्था ठूलो भएर गएपछि संस्थामा आबद्धता पनि बढेर गएको छ । संस्थालाई पुनानै प्रणाली र संरचनामा अगाडि बढाउनका लागि पनि समस्या भएको हामीले महशुस गरेका छौं । ६ महिना अगाडि नै चुनाव गर्ने, डिजिटल प्रणालीमा गएर चुनावमा सहभागी गराउन मिल्ने वातावरण बनाउनु पर्छ भन्ने प्रस्ताव छलफलकै क्रममा थियो । समयअनुसार संस्थालाई परिवर्तन गर्न सकिएन भने संस्थाको भविश्य नै नरहन सक्छ । सबै सथीहरूले एनआरएनको विषयलाई बुझ्न जरुरी छ । दोस्रो कुरा सर्वसम्मत रूपमा अध्यक्षहरू छनोट गर्नसक्ने वातावरण बनाउनु सक्नुपर्छ । साथै एकले अर्कालाई सम्मान गर्नसक्ने वातावरण बनाउन जरुरी छ । व्यक्तिको सीमित स्वार्थबाट संस्थालाई अलग बनाउनु पर्छ । अहिलेको समयमा नेतृत्वले पनि अग्रजहरूसँग सहकार्य गर्न नसकेको देखिन्छ । संस्थाले अग्रजहरू र संस्थालाई सम्मान गर्नसक्ने वातावरण विकास गर्नुपर्छ । पछिल्लो नेतृत्वले संस्थालाई सवल बनाउन नसकेको देखिन्छ । यसमा आन्तरिक सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि सबै एनआरएन सरोकारवाला निकायले छलफल गर्नुपर्ने बेला आएको छ ।
पछिल्लो पुस्ताले अग्रजहरूबाट राम्रो कुरा सिक्दै र भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नु पर्छ । यो पद्धतिको विकास गर्न सकेको खण्डमा मात्र संस्थाले लिएको लक्ष्य प्राप्त गर्न सकिन्छ । पछिल्लो समय एनआरएनमा अनुशासनमा कमी देखिएको छ । संस्था बुझेको व्यक्तिले मात्र संस्थाको नेतृत्व लिनुपर्छ । नेतृत्व हस्तान्तरण सहज रूपमा हुन नसकेको अवस्था छ । टिममा बसेपछि सबैले अपनत्व लिन सक्नुपर्छ । संस्थामै बसेर संस्थाविरुद्ध लागेर संस्थालाई टुक्रयाउने काम कसैले गर्नु हुँदैन । एनआरएनमा मेरो भन्ने भन्दा पनि हाम्रो भन्ने भावनाको विकास हुनुपर्छ । नेतृत्व संस्थाको सवलीकरणका लागि अग्रसर हुनु प-यो । 

नेपालमा लगानी गर्न एनआरएन इच्छुक छन्
जीवा लामिछाने
पूर्वअध्यक्ष, एनआरएनए

एनआरएनएले पछिल्लो समय नेपालको विकासमा धेरै ठूलो योगदान पु-याएको छ । ब्रिटिस आर्मीमा जाने क्रम २ सय वर्षदेखि नै सुरु भएको थियो । तर, २०४६ सालपछि भएको राजनीतिक परिवर्तनपछि मात्रै नेपालीहरू ठूलो संख्यामा विदेश जान थालेका हुन् । २०÷२५ वर्षको यो छोटो समयमा नै नेपालीहरू संसारको सबै कुनामा छरिएर रहेका छन् । संख्यात्मक रूपमा नभइकन पनि गुणात्मक रूपमा पनि नेपाली डायस्फोरा अहिले निर्माण भइरहेको छ । विश्वका विभिन्न मल्टिनेसनल कम्पनीहरूमा, ठूला–ठूला शैक्षिक संघ–संस्थामा मात्र नभई नेपालीहरूले विदेशमा आफूले नै केही गर्नुपर्छ भनेर व्यवसाय गर्ने संख्या पछिल्लो १५ वर्षमा ह्वात्तै बढेको छ । सानो व्यवसाय सुरु गरेर अहिले स्थापित व्यवसायीहरू हाम्रै माझमा हुनुहुन्छ । शेष घलेलगायतका सफल उद्यमीहरूको कथालाई फलो गर्दै अरू नेपालीहरूले पनि केही गर्नुपर्छ भनेर लाग्नुभएको छ । धेरै नेपाली विदेशमा संघर्ष गरेर अहिले स्थापित हुन चाहिरहनुभएको छ । गैरआवासीय नेपालीहरूले हाइड्रोपावर क्षेत्रमा लगानी सुरु गरेका छन् । म आबद्ध सानिमा गु्रपले पनि सानो हाइड्रोपावर प्रोजेक्टबाट लगानी सुरु गरेका थियौं । अहिले ३ वटा १ सय १६ मेगाहर्जको प्रोजेक्ट कन्ट्रक्सन गरिरहेका छौं ।
अब २ वर्षमा ती परियोजना पूरा हुनेछन् । अन्य एनआरएनए साथीहरूले पनि यही क्षेत्रमा काम गरिरहेको अवस्था छ । एनआरएनएको सुरुवातबाट के भन्दै आइरहेका थियौं भने हामीसँग रहेको थोरै थोरै पुँजीलाई पनि सामूहिक रूपमा समाहित गरेर लगानमा विकास गरौं । सुरुका केही वर्षमा विश्वव्यापी नेटवर्कको स्थापना गर्नतिर लाग्यांै । एनआरएनए लगानी कम्पनी पनि त्यसपछि स्थापना भयो । त्यो कम्पनीमा कम्तीमा पनि १ लाख र बढीमा १ करोड लगानी गर्न पाउने व्यवस्था भयो । छोटो समयमै करिब ९ सय साथीहरू उत्साहित भएर त्यसमा लगानी गर्नुभयो ८० करोड रुपैयाँ जम्मा भयो ।
हामी ठूला–ठूला विकासका कुरा गरिरहेका छांै । त्यो ८० करोड रुपैयाँ भनेको विकासका लागि ठूलो रकम नभए पनि के देखायो भने गैरआवासीय नेपालीहरू सामूहिक रूपमा पनि लगानी गर्न सक्छन् । नेपालमा लगानी गर्न एनआरएनए इच्छुक छन् भन्ने कुरा पनि प्रस्ट भयो । यसैको निरन्तरता स्वरूप पनि अहिलेको कार्यसमितिका साथीहरूले धेरै गृहकार्य गर्नुभएको छ । अहिले १० अर्बको कोषको अवधारणाको कुरा आएको छ । नेपाल सरकारले पनि १० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यसले पनि के कुरा प्रस्ट हुनसक्छ भने एनआरएनलाई लगानीको सुरक्षा छ भन्ने विश्वास हुन्छ । यसमा धेरै गृहकार्य भएको छ ।
विदेशी लगानी र गैरआवासीयहरूको लगानीलाई भित्र्याउन तुरुन्तै गर्नुपर्ने भनेको डबल ट्याक्सेसन अभ्वाइडेन्स सम्झौता गर्नुपर्छ । डबल ट्याक्स तिर्नुपर्ने अवस्था छ । तुरुन्त नहोला, विस्तारै समस्या समाधान गर्न सरकारी स्तरबाट पनि पहल हुनुपर्छ । प्रक्रिया सुरु गर्नुपर्छ । नेपालमा राजनीतिक स्थिरता आइसकेको अवस्था छ । लगानी बाहिरबाट लगानी बढाउन गैरआवासीय नेपालीहरू इच्छुक छन् ।

हामीले मातृभूमिप्रतिको दायित्व ठानेर लगानी गरिरहेका छौं
शेष घले
पूर्वअध्यक्ष, एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) भनेको विदेशमा कर्मथलो बनाएका प्रतिनिधिहरू मिलेर बनाएको संस्था हो । यो ठूलो संस्था हो, यो संस्थाप्रति नेपालभित्र र बाहिर पनि ठूलो अपेक्षा छ । संस्थाको वर्तमान र आगामी दिनमा गर्नुपर्ने काम धेरै छ । विगतमा र आगामी दिनमा संस्थाको उद्देश्य प्राप्तिका लागि काम हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
संस्थाको आगामी दिन र संस्थाले कसरी कार्य सञ्चालन गर्ने भन्ने विषयमा अघिल्लो नेतृत्वले भिजन २०२० वियोन्ड दस्तावेज पारित गरी मार्गचित्र स्पष्ट पारिसकेको थियो । अब हाम्रो चुनौती भनेको हामीले तयार गरेका लक्ष्य प्राप्ति गर्ने, विगतमा गरेका वाचा पूरा गर्ने नै हो । यो समुदायमा दोस्रो पुस्ताको संख्या ठूलो छ जो आफूलाई नेपाली हो भनेर चिनाउन चाहान्छ । सबैको एउटै चिन्ता भनेको नेपालसँग अबको सम्बन्ध र नाता कसरी कायम गर्ने भन्ने नै हो । यसका लागि संस्था र नेपाल सरकारले सोच्नु पर्ने समय आएको छ । उनीहरूलाई राजनीतिविहीन अधिकारसहितको नागरिकता माग गरिरहेका छौं । यो चाँडै कार्यान्वयन होस् । स्रोत साधनको प्रयोग गरेर हामीले मातृभूमिप्रतिको दायित्व ठानेर लगानी गरिरहेका छौं ।
संस्थामा चाँडै नेतृत्व परिवर्तनले गाह्रो भइराखेको छ । हरेक दुई वर्षमा नयाँ–नयाँ अनुहारले संस्थाको नेतृत्व लिएको अवस्था छ । संस्थामा विस्तारै राजनीति हावी हुँदै गएको हामीले पाएका छौं । राजनीति त संस्थामा हुन्छ तर, यो धेरै अप्ठ्यारो खालको राजनीति हो । राजनीतिबाट संस्थालाई बाहिर ल्याउन सक्नुपर्छ । संस्थामा राजनीति हावी हुँदै गए पनि संस्थाको साख खस्किँदै जान्छ नै यसको भविश्यमा समेत प्रश्न चिन्ह लाग्न सक्छ । यही अवस्थामा संस्थाको उद्देश्य प्राप्ति गर्नका लागि समस्या उत्पन्न हुनसक्छ यसो भए हामी हाम्रो उद्देश्यअनुसार अघि बढ्नै सक्दैनौ । सबै एनआरएन मिली संस्थाको भावी दिशा तय गरेर संस्था, नेपाली र नेपालको हक हितमा लाग्नु पर्ने समय आएको छ ।

 
वर्तमान कार्य समितिका उपलब्धि
♦एकीकृत लाप्राक नमुना बस्ती निर्माण सम्पन्न र पहिलो चरणको हस्तान्तरण♦ एनआरएनए केन्द्रीय सचिवालयको आफ्नै भवन निर्माण सम्पन्न, 
♦ एनआरएनए शंखमूलघाट उद्यानको निर्माण सम्पन्न र हस्तान्तरण,
♦ ऐतिहासिक सिन्धुलीगढीको पुनर्निर्माणसम्बन्धी मास्टरप्लान तयार, 
♦ नेपाल पत्रकार महासंघमा ई लाईब्रेरी स्थापना, 
♦ प्रथम पटक गैरआवासीय नेपाली संघ सहभागी भएको ८आंै राष्ट्रिय खेलकुदमा ६ स्वर्णसहित १४ पदक प्राप्त गरेको, 
♦ सम्माननीय प्रधानमन्त्रीज्यूको राजकीय भ्रमणदलमा सहभागी भएर भारत तथा चीनको भ्रमणमा यथाशक्य योगदान, 
♦ पहिलो विश्व बौद्धिक सम्मेलनबाट नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई) को स्थापना, 
♦ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ अभियान, 
♦ पर्यटन प्रवद्र्धन गर्न अतिथि देवो भवः अभियान, 
♦ लगानी सम्मेलनको आयोजक कमिटी सदस्य भई सक्रिय सहभागिता तथा १०० मिलियन डलर सामूहिक लगानी फन्ड स्थापनाको सम्झौतामा हस्ताक्षर,
 ♦ एनआरएनए कृषि कार्यक्रम, 
♦ नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटन प्रवद्र्धन कार्यक्रमको शुभारम्भ,
♦ उज्यालो नेपाल अभियान, 
♦ जानकी मन्दिरमा लाइटिङ परियोजना, 
♦ नेपाल सरकारको साक्षरता अभियानमा सहभागिता 
♦ माइतीघर मन्डलामा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झन्डाको झन्डोत्तोलन,
♦ रोड सेफ्टिका आयोजना आदि