कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६
1718

२० वर्षअघि गोरखाबाट अध्ययनका लागि जापान गएका भवन भट्ट गैरआवासीय नेपाली संघका पाँचौ अध्यक्ष हुन् । जापानमा मात्र होइन नेपालमा पनि एक सफल युवा व्यवसायीका रूपमा स्थापित भट्ट सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाई विश्वविद्यालयमा अध्ययनका लागि जापान गएका थिए । श्रमलाई सम्मान गर्नुपर्छ भन्ने उनी हाल नेपालमा पनि टीबीआई समूहको अध्यक्ष हुन् । टीबीआई समूहले नेपालमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गरेको छ । एनआरएनको स्थापनाकाल २००३ मा सम्पन्न भएको गैरआवासीय नेपाली संघको पहिलो विश्व सम्मेलनदेखि नै सक्रिय तथा गैरआवासीय नेपालीको हकहितमा समर्पित भट्टको गैरआवासीय नेपाली संघको सन् २०१७-१९ को कार्यकाल अध्यक्षको रूपमा नवौं अधिवेशनले नयाँ नेतृत्व चुनेपछि बिहीबार विधिवत् रूपमा सकिन्छ । २००३-०४ मा जापान एनसीसी तदर्थ समितिका सदस्य, सन् २००४-०६ का निर्वाचित सदस्य, २००६-०८ का पनि निर्वाचित सदस्य, २००८-१० का जापान एनसीसीका अध्यक्ष, सन् २०१०-११ का जापान एनसीसीका सल्लाहकार, त्यसपछि अन्तर्राष्ट्रिय परिषद्को कोषाध्यक्ष र २०१३-१५ मा उपाध्यक्ष तथा २०१५-१७ मा पनि उपाध्यक्ष भएपछि सन् २०१७-१९ को कार्यकालमा अध्यक्ष भएका उनले आफ्नो कार्यकालमा के कस्ता वाचा गरेका थिए, के के काम गरे तथा भविष्यको उनको योजना के छ भन्नेबारे कारोबारसँग गरेको कुराकानीको सार संक्षेप :


गैरआवासीय नेपाली संघको अध्यक्षको रूपमा यहाँको कार्यकाल बिहीबारदेखि सकिँदैछ । तपाईंको २ वर्षे कार्यकालको उपलब्धि के हो ?
पहिलो कुरा त यस गरिमामय संस्थाको अध्यक्षको हैसियतमा भन्नुपर्दा २ वर्षको कार्यकाल २ महिना बितेको झैं महशुस गरेको छु । यसका साथै, विगत २ वर्ष साँच्चै सबै हात एकै साथ गर्दै बिते । यी २ वर्षका मुख्य उपलब्धि भनेकै गैरआवासीय नेपाली, गैरआवासीय नेपाली संघ तथा नेपाल आमाको सबै हात झन् बढी एकै साथ हुनु नै रह्यो । बितेका २ वर्षमा म सानो हुँदै आयो र हामी ठूलो हुँदै गयो । हामीले सहकार्य, सम्मान, त्याग र कर्मको संस्कारलाई अझ बढवा दियौं ।
यसका साथै गैरआवासीय नेपालीहरू विगतमा झैं नेपाल तथा नेपालीको विपद्मा पनि विकासमा पनि साझेदार थियौं, छौं र मेरो कार्यकालमा पनि हामी आफ्नो लक्ष्यमा अडिग नै रहिरह्यौं । बाढीपहिरो तथा भूकम्पजस्ता विपद् आए पनि गैरआवासीय नेपालीहरू नेपाल आमाको सेवामा तत्काल उपस्थित भै रहे ।
साथै, म स्थापनाकालदेखि आजसम्म गैरआवासीय नेपालीको यही अभियानमा निरन्तर सक्रिय भइरहेका कारणले पनि संस्थापकहरूको भावनादेखि वर्तमान नेतृत्वको आगामी सोचसम्मलाई नजिकबाट अनुभव गर्न पाएँ । यसै बीचमा म एनआरएनएको अध्यक्ष भएर मेरा अग्रजहरूले सुरु गर्नुभएको अभियानलाई विभिन्न चुनौतीका बाबजुद निरन्तरता दिन पाएँ । यसको मूल्यांकन साथीहरूले पक्कै गर्न हुने नै छ । मैले सुरुदेखि नै सबै गैरआवासीय नेपाली साथीहरूको सक्रिय सहयोग र सद्भाव पाएँ, जसका कारण पनि संघको सुरुदेखि अहिले अध्यक्षसम्मका सबै पदीय जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै आउन सकें । यो अभियानलाई स्वाभाविक रूपमा अघि बढाउने चुनौतीलाई मैले सहजतापूर्वक स्वीकार गरेर अब नयाँ नेतृत्वलाई हस्तान्तरण गर्दैछु ।

संघको आठौं अन्तर्राष्ट्रिय महाधिवेशन २०१७ मा चुनावमा उठ्दै गर्दा तपाईंका केही चुनावी एजेन्डा पनि थिए । त्यसको प्रगति के छ ?
मैले गैरआवासीय नेपाली संघको आठौं अन्तर्राष्ट्रिय महाधिवेशनमा दुई वर्षअघि अध्यक्षको चुनाव लड्दा विशेषतः तीन प्रमुख मुद्दा उठाएको थिएँ । पहिलो, शंखमूल पार्कको निर्माण सम्पन्न तथा हस्तान्तरण गर्ने । शंखमूल पार्कको निर्माण सम्पन्न भएर स्थानीय सरकारलाई हस्तान्तरण गरिसकिएको छ । तपाईंहरू शंखमूल पार्क जानुभयो भने प्रत्यक्ष देख्न सक्नुहुन्छ । शंखमूल पार्क हाल स्थानीय मानिसका लागि बिहान वा साँझमात्र नभएर दिनमा पनि टहलिने एक सुन्दर स्थल भएको छ ।
दोस्रो, गैरआवासीय नेपाली संघको आफ्नै भवन निर्माण सम्पन्न गर्ने र आफ्नै घरबाट सेक्रेटेरियट सञ्चालन गर्ने । बालुवाटारमा रहेको गैरआवासीय नेपाली संघको आफ्नै भवन आज प्रत्येक गैरआवासीय नेपालीका लागि गौरव तथा गर्वको विषय भएको छ । यस नवौं सम्मेलनमा हामीले साथीहरूको नाम दर्तादेखि सम्पूर्ण कार्य आफ्नै सेक्रेटेरियटबाट सम्पन्न ग-यौं ।
तेस्रो, गोरखाको लाप्राकको नमुना बस्ती निर्माण सम्पन्न गर्ने । यस काममा पनि मेरा सबै अग्रज, समकालीन तथा मभन्दा पछिका भाइबहिनीहरूको सक्रिय सहयोग तथा लामो मेहनतको परिणामस्वरुप निर्माण सम्पन्न भएको छ र आज (बुधबार) पहिलो चरणको हस्तान्तरण कार्यक्रम हुँदैछ । नमुना बस्ती गैरआवासीय नेपाली संघको इज्जतको विषय पनि भएकाले यसमा संघले धेरै ठूलो प्राकृतिक चुनौतीका बाबजुद सम्पन्न गर्न पाउँदा सम्पूर्ण गैरआवासीय नेपाली संघका साथीहरूलाई म बधाई दिन चाहान्छु ।
यी तीन महत्वपूर्ण कामबाहेक मेरो कार्यकालमा अन्य विशेष एजेन्डाहरूमा पनि काम भएका छन् । जस्तैः ऐतिहासिक सिन्धुलीगढीको पुनर्निर्माणसम्बन्धी मास्टरप्लान तयार गरी हस्तान्तरण गरिएको छ भने जनकपुरको प्रसिद्ध जानकी मन्दिरमा लाइटिङ परियोजना पनि सुरुवात भएको छ । अब ऐतिहासिक सिन्धुलीगढीको पुनर्निर्माण एनआरएनएको सहयोगमा तयार मास्टर प्लानअनुसार हुनेछ । साथै जानकी मन्दिरमा लाइटिङ परियोजनाले उक्त मन्दिर यस क्षेत्रकै उत्कृष्ट पर्यटकीय स्थल बन्नेमा कुनै शंका छैन । यसबाट गैरआवासीय नेपालीहरू नेपालको इतिहास, संस्कृति तथा सम्पदा बचाउने तथा संरक्षण गर्ने कुरामा नेपाल सरकार तथा स्थानीय सरकारको विकास साझेदार बन्न सक्छन् भन्ने कुरा फेरि पुष्टि भएको छ ।
साथै, यही कार्यकालमा नेपाल पत्रकार महासंघमा ई लाइब्रेरीको स्थापना भएको छ । यसबाट नेपाल पत्रकार महासंघ तथा गैरआवासीय नेपाली संघबीचको लामो सम्बन्धको धरोहरमा एउटा अर्को ढुंगा थप्ने काम भएको छ । यस्तै, मेरै कार्यकालदेखि नै गैरआवासीय नेपाली संघ प्रथम पटक सहभागी भएको ८औँ राष्ट्रिय खेलकुदमा ६ स्वर्णसहित १४ पदक प्राप्त गरेको छ । यसबाट भावी पुस्तालाई खेलकुदमार्फत् स्वस्थ्य देश तथा स्वस्थ्य जनशक्तिको गैरआवासीय नेपालीको कथन पूरा हुने बाटोमा छ । मानसिक तथा शारीरिक रूपमा स्वस्थ्य जनशक्तिले मात्र देश विकासमा योगदान दिन सक्दछन् भन्ने मान्यता नयाँ होइन ।
गैरआवासीय नेपालीहरू मेरै कार्यकालदेखि सम्माननीय प्रधानमन्त्रीज्यूको तथा राष्ट्रपतिज्यूको राजकीय भ्रमणमा सहभागी हुने परम्परा पनि सुरु भएको छ । सम्माननीय प्रधानमन्त्रीज्यूको राजकीय भ्रमणदलमा सहभागी भएर यसै पटकदेखि गैरआवासीय नेपाली संघले भारत तथा चीनको भ्रमणमा सहभागिता जनाएको छ र यथासक्य योगदान पनि गरेका छौं । यसबाट गैरआवासीय नेपालीहरू नेपाल सरकारको विकास साझेदार हुन् भन्ने एकपटक फेरि प्रमाणित भएको छ ।
यसका साथै, गैरआवासीय नेपाली संघले पर्यटकहरू नेपाल भित्रिने ढोका अर्थात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफाइ अभियान सञ्चालन गरेर एउटा गर्वको काम गरेको छ भने, एकदिन एकदान अभियान, अतिथि देवो भवः अभियान, एनआरएनए कृषि कार्यक्रम, पर्यटन प्रवद्र्धनको शुभारम्भ, उज्यालो नेपाल अभियान,
नेपाल सरकारको साक्षरता अभियानमा सहभागिता, रोड सेफ्टिका आयोजनाजस्ता दर्जनौं कार्यमा सरकारसँग एकसाथ भएर नेपाल निर्माणमा काम गर्ने परम्पराको सुरुवात पनि गरेका छौं ।
यसबाहेक पनि एनआरएनए भर्सन–२ बनाउने मेरो अभियानअन्तर्गत आवश्यकताअनुरुप योजनाबद्ध कार्यक्रम र नतिजामूलक क्रियाकलाप गर्ने, संघलाई बृहत् विस्तार गरेर एनआरएनएको सदस्यतालाई दोब्बर बनाउने तथा एनआरएनए जुनियर सर्कल बनाउने कार्य पनि सुरु भएको छ । जसका कारण दोस्रो पुस्ताका युवा तथा वयस्कलाई एनआरएन अभियानमा भाषा तथा संस्कृति, साहित्य-संगीत तथा मनोरञ्जन तथा खेलकुदमार्फत समाहित गराउने हाम्रो सपना यथार्थमा परिणत हुने क्रममा छ ।
साथै, गैरआवासीय नेपाली संघको अगुवाइमा हामीले नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झन्डाको झन्डोत्तोलन ग-यौं । जुन अहिले पनि माइतीघर मन्डलामा फर्फराइरहेको छ । हरेक पटक त्यो बाटो हिँड्दा मलाई मेरो झन्डाले मेरो देशप्रतिको जिम्मेवारी सम्झाउँछ ।

यहाँको कार्यकालमा नेपालको अर्थतन्त्रमा एनआरएनए कसरी जोडिएको छ ?
नेपालको अर्थतन्त्रमा एनआरएनएको स्मार्ट सहभागिताका लागि मैले मेरो कार्यकालमा एनआरएनएलाई नेपालको अर्थतन्त्रसँग जोड्ने स्पष्ट, मापनयोग्य, उपलब्धिमूलक, यथार्थपरक तथा समयावधि तोकिएको कार्यक्रहरू ल्याउने वाचा गरेको थिएँ । यसैअन्तर्गत सबै एनआरएनए संलग्न हुनसक्ने सामूहिक लगानी संयन्त्र बनाउने हाम्रो पहल सफलताउन्मुख छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको आयोजक कमिटी सदस्य भई गैरआवासीय नेपाली संघले सक्रिय सहभागिता जनाएको मात्रै होइन र यसै क्रममा सरकारसँग १०० मिलियन डलर फन्ड स्थापनाको हस्ताक्षर पनि गरेको छ । यसबाट गैरआवासीय नेपालीले भन्दै आएको गैरआवासीय नेपालीको अनुभव, ज्ञान, सीप तथा पुँजीमार्फत नेपालको विकास साझेदार बन्ने हाम्रो सपना यथार्थमा परिणत हुने क्रम सुरु भएको छ । अर्थतन्त्रमा पुँजीजस्तै ज्ञान, अनुभव तथा प्रविधि हस्तान्तरणको पनि ठूलो भूमिका हुन्छ । त्यसैले गैरआवासीय नेपालीसँग राष्ट्रिय योजना आयोगले पनि नियमित रूपमा छलफल तथा संवादमार्फत गैरआवासीय नेपालीलाई नेपालको विकास साझेदार बनाएको छ । त्यसैले गैरआवासीय नेपाली संघले मेरै कार्यकालमा पहिलो पटक नेपालमा विज्ञ सम्मेलनको आयोजना पनि गरेको थियो । मैले चुनाव लड्दा वाचा गरेको थिएँ– नेपालमा विश्वका विभिन्न देशमा भएका विकासक्रम तथा प्रक्रियाका बारेमा जान्न तथा सिक्न मद्दत गर्न गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा गएर सिकेका सीप तथा ज्ञान भिœयाउन हामी सहयोग गर्नेछौं । त्यसैले गैरआवासीय नेपाली संघले पहिलो पटक नेपालमा गरेको विज्ञ सम्मेलनले नेपाललाई विश्वका विभिन्न देशमा भएका ज्ञान, सीप तथा प्रविधिको विकासक्रम तथा प्रक्रियाका बारेमा जान्न तथा सिक्न मद्दत गरेको कुरामा दुईमत छैन ।
विज्ञ सम्मेलनले विश्वको ज्ञान तथा अनुभवको साटासाट गर्न मद्दत गरेर त्यो अभाव केही हदसम्म पूरा गर्न योगदान गरेको मेरो विश्वास छ । एनआरएनए एकेडेमी हाम्रो एउटा परिकल्पना छ, जसले रिसर्च एन्ड इनोभेसन डिभिजनअन्तर्गत खोजमूलक तथा नियमित कार्यक्रमहरूको मूल्यांकन तथा ग्लोबल वेस्ट प्राक्टिसेसहरूको आदानप्रदान गर्नेछ र विश्वभर रहेका अभियन्ताहरूको क्षमता अभिवृद्धिका लागि आवश्यकता पहिचान गरी व्यवस्थापन तथा व्यक्तित्व विकाससम्बन्धी तालिमलगायतका कार्यक्रहरू सञ्चालन गर्ने तथा क्षमता अभिवृद्धि गर्ने काम गर्नेछ । पहिलो विश्व बौद्धिक सम्मेलन त्यसको सुरुवात पनि हो ।
प्रयास नै प्रयासबीच पनि हामी गैरआवासीय नेपालीहरूले नेपालको अर्थतन्त्रमा कस्तो र कति टेवा पु-यायौं र पु-याउन सक्यौं, हामी खुला हृदयले समीक्षा गरिरहने छौं । गर्न धेरै बाँकी छ, हामीलाई थाहा छ । हामी झन्झन् सबल, झन्झन् दृढ र झन्झन् सुधारिएको नेपालको विकासका योद्धा बनेर अगाडि बढ्न प्रतिबद्ध छौं ।

दोहोरो नागरिकताको कुरा संविधानले सुनिश्चित गरे पनि अझै लागू भएन भन्ने गुनासो छ नि ?
यस विषयमा पनि गैरआवासीय नेपाली संघले संसदीय समितिमा नै उपस्थित भएर एक पटकको नेपाली सधंै नेपाली भन्ने हाम्रो मन्त्रअनुरुप दोहोरो नागरिकता तथा चुनावमा मत हाल्न पाउनु पर्ने कुराको फेरि पनि लबिङ गरेको छ । मंगलबारको उद्घाटन समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो सम्बोधनमा भनेका कुरा पनि सुन्नु भयो होला । सरकारले अब संविधानमा लेखिएबमोजिम कानुन बनाएर यसलाई लागू गर्दैैछ । हामी आशावादी छौं, यो चाँडै नै लागू हुनेछ ।

नयाँ आउने अध्यक्ष तथा कार्यसमितिले गर्नैपर्ने केही काम छन् ?
गैरआवासीय नेपाली संघको अबको नयाँ कार्यसमिति तथा अध्यक्षले गर्ने पर्ने केही काम छन् । जस्तैः गैरआवासीय नेपाली र गैरआवासीय नेपाली संघको पहुँच भएका संस्थाहरूबाट नेपालमा लगानी ल्याउन पहल गर्ने आवश्यक छ । यस्तै, बैदेसिक रोजगारीलाई अझ बढी सम्मानित र सुरक्षित बनाउन ध्यान दिने, गैरआवासीय नेपालीहरू उपस्थित देशहरूमा सम्भाब्यता मापन गरी नेपाली राजदूतावासमा ब्यापार सहचारी, पर्यटन सहचारी, श्रम सहचारी राख्ने र उनीहरूको कार्यसम्पादनलाई सहज बनाउन पहल गर्ने पनि अर्को महत्वपूर्ण काम हो । साथै, नेपालका ठूला आयोजनामा नेपाल लगानी बोर्डसँगको सहकार्य गरी सहजकर्ताको भूमिका निभाउने, सम्बन्धित देशका लगानीकर्तासँग समन्वय गराउने र सहजीकरण गरिदिने, गैरआवासीय नेपाली तथा विदेशी लगानी भिœयाउनका लागि धेरै सम्भावना भएका तर धेरै वर्षदेखि बनाउन नसकिएका आयोजनाहरूमा नेपाल लगानी बोर्डको सहकार्यमा बास्केटमा ल्याउने र लगानीकर्ता खोज्न मद्दत गर्ने, अझ बन्द रहेका संस्थानहरू पनि सम्भव भएसम्म सञ्चालन गर्न गैरआवासीय नेपालीको सहकार्यमा विदेशी वा नेपाली लगानीकर्ता खोज्न मद्दत गर्ने कार्य पनि अत्यन्त महत्वपूर्ण छ ।
यसका साथै, दोहोरो करमुक्ति सम्झौता (डीटीएए), द्विदेशीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (विप्पा)जस्ता सम्झौताहरू नेपालमा लगानी बढाउन अत्यन्त आवश्यक छ । विभिन्न देशसँग यी सम्झौताहरू गरी ती देशहरूबाट लगानी ल्याउन सम्बन्धित देशका गैरआवासीय नेपालीहरूले सहजकर्ताको भूमिका खेल्नु पर्ने देखियो ।
ग्लोबल पासपोर्ट इन्डेक्समा नेपाल १९९ मुलुकमध्ये अन्तिम १०औं स्थानमा पर्दछ । अर्थात् नेपालको पासपोर्ट कमजोर भन्ने थाहा पाउँदा हामी सबैलाई दुःख लाग्छ । सिंगापुरजस्तो विकसित मुलुकले नेपालको पासपोर्टलाई गरेको सम्मानलाई विश्वब्यापीकरण किन नगर्ने ? नेपाललाई माया र सम्मान गर्ने धेरै देश छन् । पहलको खाँचो छ, गैरआवासीय नेपाली संघले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर अन्य देशमा पनि सिंगापुर झैं नेपालको पासपोर्टको सम्मान बढाउने काम गर्न पनि ढिला गर्नु भएन । यस्तै, हाल विश्वमा वातावरणको परिवर्तनको मुद्दा प्रमुख बन्दै गएको छ । सगरमाथालाई थर्ड पोल पनि भनिन्छ, तर वातावरण परिवर्तनका कारण सगरमाथालगायत विभिन्न हिमालमा हिउँ पग्लिएर घट्दै गएका कारण हाल विश्व नै चिन्तित बन्दा हामी के गरिरहेका छौं ? गैरआवासीय नेपाली संघले यस लडाइँंमा नेपालको योद्धा किन नबन्ने ? यसमा एनआरएनएले नेतृत्व गर्न आवश्यक छ । साथै, गैरआवासीय नेपाली संघले विभिन्न मुलुकमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरी भ्रमण वर्ष सफल बनाउन सहकार्य गर्ने तथा नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गर्न गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गर्ने कार्यमा पनि एनआरएनए सक्रिय हुनुप-यो ।

नेपालीहरूले एनआरएनएबाट के सिक्न सक्छन् ?
विश्वका ८० देशमा फैलिएका गैरआवासीय नेपालीहरूले विश्वमा नेपालको प्रतिनिधित्वमात्र गरेका छैनांै, ती देशमा भएको विकासका साक्षी तथा सहभागी पनि भएका छौं । हामीले विश्वका विभिन्न देशमा बसेर सिकेको एउटा सबैभन्दा महत्वपूूर्ण पाठ के हो भने समय सबैभन्दा महत्वपूर्ण हँुदो रहेछ । आज जुन देशले विकास गरेका छन्, उनीहरूले समयलाई पहिचान गरे । समयअनुसार आफ्ना निर्णयहरू लिए । त्यसैअनुसार काम गरे र आज उनीहरू विकसित देशको सूचीमा छन् । नेपालमा हामी विकास किन भएन भनेर धेरै छलफल गर्छौं, तर्क–वितर्क गर्छौं तर समयको महत्वबारे पटक्कै सचेत छैनौं । समयमै कुनै काम गर्दा त्यसको महत्व तथा बजारमूल्य प्राप्त गर्न सकिन्छ, तर यदि समयभन्दा ढिलो त्यही काम गरे न त्यसबाट फाइदा लिन सक्छौं, न त्यसको कुनै मूल्य नै हुन्छ । अर्थात् कुनै पनि कामको मूल्य एउटा निश्चित समयमा अत्यन्त धेरै हुन्छ तर समय घर्किसकेपछि लगानीको मूल्य हुँदैन । विश्वका विकसित देशलाई हेरौं त । जापान विकास भएको प्राकृतिक सम्पदा धेरै भएर होइन । त्यस्तै अफ्रिकन देशहरूको कम विकास भएको प्राकृतिक सम्पदाहरू नभएर होइन । प्राकृतिक सम्पदा कुनै पनि देश विकासका लागि चाहिने एउटा प्रमुख सर्त हो, तर अन्तिम र पर्याप्त सर्त भने होइन । विकासको प्रमुख सर्त त्यस देशमा समयको महत्व, अनुशासन, शिक्षाको गुणस्तर, मानव संसाधनको स्तर तथा प्रयोगात्मक एवं नवप्रवर्तनमा लगानी हो । नेपालमा हाल भएको जनसांख्यिक लाभ तथा ती युवा जनशक्तिले विदेशमा सिकेका ज्ञान तथा विज्ञानलाई जति छिटो नेपालको विकासमा प्रयोग गर्न सकिन्छ, त्यति नै नेपालले छिटो विकास गर्न सक्दछ ।
गैरआवासीय नेपाली साथीहरूले नेपालमा र आफ्नो कर्मभूमि विभिन्न देशमा रही नेपाल र गैरआवसीय नेपालीका लागि गर्नु भएका कामहरूको अभिलेख राख्न पनि सम्भव छैन, किनकि हाम्रा साथीहरूले साँच्चिकै धेरै काम गर्नु भएको छ । तर पनि उहाँहरूको पुँजीमात्र नभएर ज्ञान, सीप तथा अनुभवबाट पनि नेपालले फाइदा लिन सक्दछ ।

अब निवर्तमान अध्यक्ष भइसकेपछि के गर्नुहुन्छ ?
नेपालको अर्थतन्त्रको दुईवटा लाइफ लाइन छ, एउटा पानी अर्को पर्यटन । म नेपालमा गैरआवासीय नेपालीको लगानी बढीभन्दा बढी ल्याउन सक्रिय रहनेछु । राजनीतिक स्थिरतापछिको आजको नेपाललाई एनआरएनएको ज्ञान, सीप तथा लगानी झन् धेरै चाहिएको छ । त्यसैले म नेपालका पूर्वाधार निर्माण तथा जलविद्युत् आयोजनाको विकासका साथै पर्यटनमार्फत अतिथि देवो भवःको कार्यक्रमलाई सफल निरन्तरता दिन चाहान्छु ।
नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन लागेको परिप्रेक्ष्यमा पनि पर्यटन प्रवद्र्धनमा सघाउनु म मेरो व्यक्तिगत तथा एनआरएनएको निवर्तमान अध्यक्षको हैसियतले पनि कर्तव्य ठान्दछु ।
एनआरएन साथीहरू आफू पनि नेपालमा छुट्टी मनाउन आउने तथा उहाँहरूका विदेशी साथीहरू पनि आउने वातावरण बनाउने मेरो लक्ष्य छ । होटल व्यवसायीहरू, रिसोर्ट व्यवसायीहरूसँग एनआरएनमात्र नभई नेपालमा आउने हरेक पर्यटकलाई आवश्यक पर्ने क्षेत्रमा कनेक्सन गराएर उहाँहरूले पर्यटकलाई विशेष छुट तथा सम्मान दिनुहुन्छ ताकि एनआरएनहरूलाई अन्त जानुभन्दा आफ्नै जन्मभूमि जाऔं भन्ने होस् । जस्तै एनआरएन कार्ड बोकेर साथीहरूसँग रेस्टुराँ वा होटलमा पार्टी मनाउन जाँदा छुट दिनेजस्ता कुराले नेपालमा गैरआवासीय नेपालीलाई सुविधा पनि हुने र अन्त गएर खर्च गर्ने भन्दा आफ्नै देशमा खर्च गर्न प्रोत्साहन पनि हुने हुनाले यस्ता विविध उपायहरू पर्यटन प्रवद्र्धनमा लाग्न पनि म मेरा साथीहरूलाई अनुरोध गर्दछु । यसबाट नेपलका होटल, रिसोर्टको व्यवसाय बढ्छ र नेपालमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रमा धेरै ठूलो टेवा पुग्छ भन्ने मेरो विश्वास छ । यसबाट गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोडी राख्न मद्दत पनि पुग्दछ ।
साथै, म सदाझैं एनआरएनए अभियानमा आफ्नो व्यक्तिगत तथा संस्थागत हैसियतले साथीहरूसँगै हुनेछु । मेरो एनआरएनएको अभियान अध्यक्ष नहुँदा पनि कायमै रहनेछ । एनआरएन साथीहरूले एकान्तमा बसेर छातीमा हात राखेर यदि यसको मूल्यांकन गर्ने हो भने जो–कोही एनआरएन अभियानमा आबद्ध हुनुभएका गैरआवासीय नेपालीहरूले गर्व गर्न लायक यो संस्थामा म सधै जोडिएकै हुनेछु ।
मैले मेरो कार्यकालमा विभिन्न संघसंस्था, सरकारका विभिन्न अंग, राजनीतिक नेतृत्व, सामाजिक जीवनका विभिन्न गन्यमान्य व्यक्ति तथा व्यक्तित्व, साथै मिडियाबाट पनि राम्रो साथ र सहयोग पाएँ, सबैप्रति मेरो नमन । यहाँहरूको साथ, सहयोग तथा माया कायम रहोस् ।
नेपालको विकास नेपालीले नै गर्ने हो, हाम्रा छिमेकी, विकास साझेदार आदिले त केही सहयोगमात्रै गर्ने हो, हाम्रो देश विकास गर्ने, समृद्ध नेपाल बनाउने प्रमुख दायित्व तथा कर्तव्य दुवै हाम्रै हो । त्यसैले हाम्रो यो पुस्ताले अनुशासित भएर कडा मेहनत तथा परिश्रम गर्नैपर्छ । एनआरएनको यस महान् अभियानको पछिल्ला दुई वर्ष नेतृत्व गर्दा पनि मैले सिकेको पाठ के हो भने, अरूको आलोचना गर्नुभन्दा आफ्नो क्षमता अभिवृद्धि गर्दै हाम्रो सामूहिक अभियानका ‘सबै हात एकैसाथ’ भएर अगाडि बढ्दा नै हामी सबैको जित हुनेछ ।
पछिल्ला दुई वर्षमा एनआरएनएको अध्यक्षको कामको व्यस्तताले मैले मेरो परिवार, श्रीमती र छोरी तथा मेरो व्यवसायलाई यथेष्ट समय दिन सकिनँ । आशा छ, अब म आफ्नो परिवार र श्रीमती तथा छोरी एवं व्यवसायमा समय दिन सक्नेछु ।
मैले भन्ने गरेको छु, म एनआरएनको यस महान् अभियानको सवारीबाट ओर्लेको हैन, ड्राइभरको सिटबाट पछाडि सरेको मात्रै हो । म यहीं तपाईंहरूसँगै छु ।

अन्त्यमा केही भन्नु छ ?
नेपाल सरकारलगायत विभिन्न संघसंस्थाहरूले गैरआवासीय नेपाली संघलाई दिएको यो महत्व प्रति पनि म कृतज्ञता ज्ञापन गर्दछु । गैरआवासीय नेपाली संघको महत्व दिनानुदिन वृद्धि हुँदै गइरहेको छ । यसबाट गैरआवासीय नेपाली संघ झन् जिम्मेवार र अझ बढी उत्साहित पनि बनेको छ । गैरआवासीय नेपाली संघलाई नेपाल सरकारले दिएको प्राथमिकता, सहकार्यका अवसर, समावेशिता र प्रेमले गैरआवासीय नेपाली संघलाई चम्काएको त छ नै, गैरआवासीय नेपाली संघले नेपालका लागि गर्नुपर्ने पहलहरूमा पनि ब्यापक प्रगति हात पार्न सकेको छ । नेपाल सरकार र यो राष्ट्रका गैरसरकारी संस्था, सामाजिक संस्था, मिडियालगायत सबै साझेदारहरूको मलजलमा गैरआवासीय नेपाली संघ उदाहरणीय रूपमा अगाडि बढेको छ । विगत २ वर्ष २ महिना जत्तिकै बिते । कुनै पनि दिन मैले मेरो टिमलाई निराश देखिन । खुसी नै खुसीको बीच केही सफलता, केही सिकाइ हात पार्दै मेरो नेतृत्वमा मेरो टिमले जे जति कार्य गरे गर्न सहयोग गरे, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।
तर, जाँदाजाँदै मेरो कार्यकालको अन्त्यमा म समापन समारोहमा एउटा घोषणा पनि गर्न गइरहेको छु । यो घोषणाले पनि एउटा तरंग सिर्जना गर्नेछ भन्ने मेरो आशा छ ।