कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६
551

गोरखा जिल्लाको फुजेल गाविसमा जन्मेका कुमार पन्त गैरआवासीय नेपाली संघ (एनआरएनए) मा लामो समयसम्म योगदान गर्ने व्यक्तिमध्येका एक हुन । पन्त विगत २३ वर्षदेखि होटल व्यवसायीका रूपमा जर्मनीमा बसेर एनआरएनएका विभिन्न क्रियाकलापमा सक्रिय रहँदै आएका छन् । युरोपको स्विट्जरल्यान्ड र बेल्जियममा चेन होटलहरूमा लगानी गरेका उनीसँग अन्तर्राष्ट्रिय समन्वय समितिमा रहेर काम गरेको अनुभव छ । दुई पटकसम्म संघको उपाध्यक्ष पदमा रहेर योगदान गरेका पन्तले यो पटकको चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सन् २००४ देखि गैरआवासीय नेपाली संघमा आबद्ध रहेका पन्त एनआरएनए क्षेत्रीय समितिको सदस्य हुँदै हाल अध्यक्ष पदका लागि चुनावमा उत्रिएका छन् । २००९ मा केन्द्रीय समितिमा रहेका उनी २०११ मा युरोपियन क्षेत्रको संयोजक बने । आईसीसीको २०१५ र २०१७ गरी दुई पटक उपाध्यक्ष पदमा निर्वाचित भए । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिका सबै सदस्यसँग बसेर काम गरेको अनुभवसमेत हासिल गरेका पन्तसँग कारोबार दैनिकका सम्पादक कुबेर चालिसे र सहकर्मी गोपाल संग्रौलाले गरेको कुराकानीको सार :

दुई दशक पुग्न लागेको एनआरएनएको अभियान कता गइरहेजस्तो लाग्छ ?
एनआरएनए स्थापना गर्दा नेपालमा चरम द्वन्द्वको अवस्था थियो । माओवादी जनयुद्धका बेला नेपालको आर्थिक समृद्धिमा सहयोग गर्ने लक्ष्यसहित स्थापना भएको थियो । त्यस बेला नेपालको भविष्य अन्धकार छ भनेर धेरै युवा विदेश लागिरहेको अवस्था थियो । नेपालमा लगानी त के पर्यटकसमेत आउन नसक्ने अवस्थामा स्थापना भएको एनआरएनए ज्ञान, सीप र प्रविधि तथा गैरआवासीय नेपाली साथीहरूले आर्जन गरेको पुँजीलाई नेपालको हित र समृद्धिका निम्ति लगाउने र त्यो लगाउन ग्लोबल नेटवर्क स्थापना गर्ने भन्ने सोच थियो । यसैगरी विदेशमा रहेका गैरआवासीय नेपालीको साथी बनी ज्ञान, सीप र प्रविधि स्वदेशमा भित्र्याउने भन्ने सोचका साथ स्थापना भएको हो । सुरुका केही वर्ष संगठन निर्माणमा नै समय लाग्यो । त्यस बेला नेतृत्व तहमा कसैले कसैलाई नचिनेको र विभिन्न आरोप–प्रत्यारोप लगाउने अवस्था थियो । राज्य पनि यो अभियानप्रति यति ठूलो होला भनेर कल्पना गरिएको थिएन । हामी साँच्चै राज्यका लागि विश्वनीय, सहयोगी र आर्थिक विकासका लागि पार्टनर बन्न सक्छौं भन्ने अवस्थामा आयौं । अभियानलाई गैरआवासीय नेपाली साथीको सञ्जाल छ, त्यसमा पनि सबै नेपालीका र त्यसभित्र रहेका विभिन्न भाषा, क्षेत्र, धर्म र समुदाय सबैका लागि एनआरएनए हो भन्ने कुरा प्रमाणित भएको छ । संघले बोकेका उद्देश्य प्राप्तिका लागि अब लाग्नुपर्छ । हाम्रो संरचनामा पनि आमूल परिवर्तन गर्नुपर्ने देखिएको छ ।

सुरुमा धेरै मानिसमा धेरै लगानी ल्याउने भन्ने आशा थियो । पछि हेर्दा सामाजिक संस्था हो कि भन्ने पनि भयो । यो संस्था वास्तवमा लगानी ल्याउने पुलको काम गर्ने संस्था हो कि सामाजिक संस्था ?
हामी धेरै कन्फ्युजमा बस्नु हुँदैन । एनआरएनए विशुद्ध सामाजिक संस्था हो । यसले ज्ञान, सीप, प्रविधि र पुँजी हस्तान्तरणको कुरा गरिरहँदा यो संस्थाले लगानीका लागि ब्रिजको पनि काम गरिरहेको छ । यो आफैंमा सामाजिक संस्था हो र हामी यसमा सामाजिक कार्यहरू गर्छांै । यति हँुदाहँुदै पनि हाम्रो नेटवर्कलाई सामाजिक कामका लागि लगाउँछौं भनेको हो । यो आजको दिनसम्म आउँदा राज्यले हामीसँग जति अपेक्षा गरेको थियो त्यति नै पु-याउन नसकेको अवस्था भने जरुर हो । देश गैरआवासीय नेपालीले पठाएको रेमिट्यान्सले धानिरहेको छ । अहिले पनि खर्बौं को रेमिट्यान्स नेपाल आइरहेको छ । अहिले सामूहिक रूपमा नै गैरआवासीय नेपालीले लगानी गर्न थालिसक्नुभएको छ । व्यक्तिगत रूपमा पनि धेरै गैरआवासीय नेपालीले नेपालमा लगानी गर्नुभएको छ । हामीले सुरुमा के भनेका थियौं भने नेपालमा हामी आफैंले लगानी गरेर देखाउनुपर्छ । त्यसबाट हामीले गरेको लगानी सिकेर अरू साथीहरू पनि यहाँ लगानी गर्न उत्साहित हुनुहुन्छ । नेपालमा सम्भावना छ है भनेर त्यो बेला पनि हामीले भनेका थियौं । यसैअनुसार साथीहरूले लगानी ल्याउने काम गरिरहनुभएको छ । नेपालमा भएका लगानीमा मेडिसिटी अस्पताल, शेष घलेले ठूलो होटल बनाइरहनु भएको छ । यसैगरी भवन भट्टले होटल, रिसोर्ट, मिडिया र सडक पूर्वाधारमा समेत लगानी गरिरहनुभएको छ । यसरी गैरआवासीय नेपालीले स्वदेशमा व्यक्तिगत रूपमा ठूलो लगानी गरिरहनुभएको छ । यो ठूला लगानीकर्ताको मात्र मैले चर्चा गरें, तर यहाँ साना लगानीकर्ता साथीहरू पनि धेरै हुनुहुन्छ । गैरआवासीय नेपाली लगानी गर्न कतिको इच्छुक हुनुहुन्छ भनेर सन् २०१३ मा हामीले टेस्ट पाइलट प्रोजेक्ट ल्याएका थियौं । त्यो प्रोजेक्टमार्पmत लमजुङ दोर्दी खोला हाइड्रो पावर निर्माण सम्पन्न हुने चरणमा रहेको छ । अहिले पनि विश्वभरिबाट यसरी सामूहिक लगानी गरेर पैसा कमाउन सकिने रहेछ भनेर सबै क्षेत्रबाट अनुरोध आइरहेको छ । अहिले सामूहिक रूपमा लगानी लिएर जानुप-यो भनेपछि हामीले फेरि १० अर्ब रुपैयाँको म्युचुअल फन्ड बनाएर नेपाल सरकारको सहकार्यमा नेपालमा ल्याउने अन्तिम चरणमा छौं । 

विदेशमा पैसा हुने र पैसा धेरै नहुने दुईवटा समूहमा नेपाली विभाजित छ । यी दुवै समूहलाई कसरी मिलाएर देश विकासका लागि लगानी गर्न सकिन्छ ?
मैले अघि सामूहिक लगानीको कुरा गरें । मान्छेले रेमिट्यान्स स्वतः पठाइरहेका छन, आफ्नो घर चलाउन । गैरआवासीय नेपाली साथीहरूले पठाएको यस्ता धेरै पैसा अनुत्पादनमूलक क्षेत्रमा धेरै खर्च भइरहेको छ । विदेशमा रहेका कतिपय साथीहरू नेपाल फर्किएपछि बेरोजगार भएर बस्नुपर्ने अवस्था देखिएको छ । यसलाई न्यूनीकरण गर्न हामीले उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्छ भनेर काम सुरु गरिसकेका छौं । यो फन्डमा कम्तीमा १० अर्ब भनेका छौं तर यसमा अझ धेरै पैसा आउने सम्भावना रहेको छ । १५ डलरको थोरै लगानीबाट १० अर्बको फन्डको अवधारणा तयार भएको हो । यो मलेसिया र खाडी राष्ट्रमा कम आम्दानी गर्ने गैरआवासीय नेपाली साथीहरूलाई हेरेर बनाइएको योजना हो । 

एनआरएनएको नेतृत्व चयनको बेला ज्ञान, सीप, प्रविधि र पुँजीको कुरा गरिन्छ; तर ज्ञान, सीप, प्रविधि भएका हैन कि पुँजी भएका मात्र नेतृत्वमा आउने गरेको आरोप छ नि, किन होला ?
मैले पहिला नै भनेको थिएँ । हाम्रो संगठनात्मक संरचनामा व्यापक परिमार्जनको आवश्यकता छ । मेरो चुनावी मुद्दा पनि यही हो । अब विदेशमा बसेर घरघरबाट मतदान गर्न पाइन्छ । त्यसपछि सबै पञ्जीकृत सदस्य मतदानमा सहभागी हुन सक्नुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय समितिको चुनावमा यसरी नै सहभागी हुन सक्नुहुन्छ । कोही पनि सदस्यले यसको सदस्यता बनेबापत पैसा तिर्नु पर्दैन । यसले गर्दा यसको व्यवस्थापकीय पक्षको खर्च कम हुन्छ । खर्च कम भएपछि कुनै पनि सदस्यले नेतृत्वमा आउन सक्ने हिम्मत गर्न सक्छ । अब यसलाई कार्यान्वयन गर्ने चरणमा लिएर जान्छौं । ज्ञान, सीप र प्रविधि पहिला आउँछ, तर पुँजी भएका नै अगाडि आउँछन् भन्ने कुरामा पुँजी नै अगाडि आएको भन्ने सत्य हो । यसलाई मनन गरेर दुई वर्षअघि अक्टोबरमा भएको छलफलमा पुँजीलाई देश ल्याउन व्यावहारिक रूपमा सफल भइयो भन्ने निष्कर्ष निकालियो । तर ज्ञान, सीप र प्रविधिचाहिँ पुंजीभन्दा महत्वपूर्ण कुरा हो । यसलाई व्यवहारमा भने उतार्न सकेका थिएनौं । नेपालीहरू बिदेसिने क्रम बढेसँगै विभिन्न प्रकारका ज्ञान, सीप र प्रविधि भएका नेपालीहरू धेरै भइसके । कतिपय अवस्थामा यस्तो सीप भएका मानिस पेन्सन लिएर बस्ने उमेरमा पुगिसकेका पनि छन् । आर्थिक समृद्धिका लागि आफ्नो ज्ञान, सीप र प्रविधि निःशुल्क दिन चहानुहुन्छ तर विदेशमा बस्नुभयो भने दिन चाहनुहुन्न । ज्ञान, सीप र प्रविधि नेपाल ल्याउने सम्बन्धमा हामी केही पछि प-यौं । यसका लागि हामीले विश्वभरका नेपाली साथीहरूलाई बोलाएर विज्ञ सम्मेलन ग-यौं । सम्मेलनले विभिन्न क्षेत्रमा आवश्यक पर्ने विज्ञ साथीहरू हुनुहुन्छ भन्ने कुरा देखायो । सम्मेलनपछि ह्वाइट पेपर जारी गरी सरकारलाई बुझाइसकिएको छ । अब नेपाल सरकारसँग संयुक्त कार्यदल बनाई पहिला सीप अनि त्यसलाई सहयोग गर्न पुँजी परिचालन गर्ने गरी लाग्ने सोचमा छौं ।

कहिलेकाहीं विकास साझेदार भन्नुहुन्छ । कहिले सामाजिक कार्यमा अग्रसर हुनुभएको देखिन्छ । यसरी हेर्दा न उल्लेख्य पुँजी नै आएको देखियो; न ज्ञान, सीप र प्रविधि नै । संस्था स्थीर रूपमा नै बसेको भन्ने पनि छ नि ?
होइन, दुवै कुरा सही र वास्तविक भएन । अब अहिले ज्ञान, सीप र प्रविधिको प्रयोग गर्न विज्ञ सम्मेलनपछि ह्वाइट पेपर नै जारी गरेर अघि बढिसकेका छौं । पुँजी त नेपालमा द्वन्द्वकालमा समेत गैरआवासीय नेपालीले ल्याएका थिए । अहिलेसम्म खर्बौं को लगानी गैरआवासीय नेपालीले गरिसकेका छन् ।

कति लगानी भएको छ त ?
के–कति लगानी भएको छ भनेर आर्थिक पत्रकार समाजलाई अध्ययन गर्न लगाएका छौं । नेपालमा १ सय ५० देखि २ सय नेपाली साथीहरू विदेशमा आर्जन गरेको पुँजी ल्याएर लगानी गरिरहनुभएको छ । लगानीकर्ताको नाम नै भन्नुपर्दा उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, भवन भट्ट, कुमार पन्त— यसरी भन्दा धेरैको नाम आउन सक्छ । नेपालमा २०१३ सालबाटगैरआवासीय नेपालीको लगानी गर्न सुरु भइसकेको छ । दोस्रो चरणमा पनि पुनः लगानी गरिरहेका छन् । पुँजी लगानीको कुरा गर्दा गैरआवासीय नेपालीले व्यापक रूपमा रेमिट्यान्स ल्याउनुभएको छ । 

दोहोरो नागरिकताका विषयमा कतिपय अधिकार पाइसकेको अवस्था छ । तर अझैँ के व्यवस्था हुन बाँकी छ ?
नेपालको संवधानमा गैरआवासीय नेपालीले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिक वा राजनीतिक अधिकारबाहेकको नागरिकता गैरआवासीय नेपालीले पाउनेछन् भन्ने विषयमा कन्फ्युजनमा बस्नुपर्ने अवस्था छैन । अब कति पुस्तासम्मको नागरिकता दिने, सामाजिक र सांस्कृतिक अधिकार के हो, त्यसलाई कसरी व्याख्या गर्ने भन्ने विषय ऐनमा लिपिबद्ध गर्न बाँकी छ । यो विषयमा राज्य र संसद् सकारात्मक छ । अझैँ कति ऐन बन्न बाँकी रहेका छन् । हामीले सबै अधिकारसहितको नागरिकता दिँदा के फरक पर्छ भनेका हौं । आखिर नेपालको माया गर्नेले नै नेपाली नागरिकता लिने हो भनेका छौं । अन्य देशमा पनि पूर्ण अधिकारसहितको नागरिकता गैरनागरिकले पाएका छन् । 

तपाईंले यो निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषण गरिसक्नुभएको छ, तपाईंका एजेन्डा के–के छन् ?
संक्षेपमा भन्नुपर्दा यो संगठनमा व्यापक पुनर्संचनाको आवश्यकता देखेको छु । अहिले ८० लाख नेपाली विदेशमा बसिरहँदा जम्मा ८० हजार पञ्जीकृत सदस्य छन् । यसलाई कम्तीमा केही लाखमा पु-याउने योजनासहित अघि बढिरहेको छु । विभिन्न कर्पोरेट हाउससँग सहकार्य गरिनेछ । यसबाट गैरआवासीय नेपाली साथीहरूले प्रत्यक्ष रूपमा लाभ लिन सक्नुहुनेछ । कतार र टर्कीलगायतका केही एयरलाइन्सले गैरआवासीय नेपाली कार्ड देखाएर डिस्काउन्ट दिने आवश्वासन दिएका छन् । अस्पतालमा समेत निश्चित रूपमा सेवा प्राप्त गर्न सकिने छ । विदेशमा समेत गैरआवासीय नेपाली साथीको व्यावसायिक संस्थामा सहुलियतको व्यवस्था गरिएको छ । गैरआवासीय नेपालीले लिने सदस्यतालाई निःशुल्क गरिने छ । सम्बन्धित देशको एनसीसीले सदस्यताका लागि उठाउँदै आएको पैसा खारेज गरिनेछ । मताधिकारका लागि अब घरघरमै बसेर गर्ने व्यवस्था गर्ने भनेको छु । लगानी कमिटीको संयोजक भएका कारण १० अर्बको कोषको अवधारणा मैले नै ल्याएको हुनाले यसलाई सफल गरी कार्यान्वयनमा ल्याउनेछु । ठूलो संख्यामा विदेशमा रहेका श्रमिक साथीहरू दैनिक अंगभंग हुने अवस्था छ । यहाँको राहतका लागि निर्माण गरिएको फन्डमा पैसा जम्मा गर्ने कार्यलाई तीव्रता दिने गरी काम अघि बढाउनेछु । अब गैरआवासीय नेपाली संघ नेपालमा र श्रमिकका बीच विदेशमा रहनेछ । श्रमिकको राहत, उद्धार र उपचारका निम्ति संघ अब यहाँहरूसँगै विदेशमा नै रहेको वातावरण तयार हुनेछ । यसै भिजन–२०२० लाई अघि बढाउन अग्रसर हुनेछु । सामाजिक कार्यका लागि प्राप्त सहयोग रकमलाई करको दायरामा ल्याई पैसा फिर्ता पाउने वातावरण सिर्जना गर्न विभिन्न स्थानमा फाउन्डेसन स्थापना गरिनेछ, जसले गर्दा सहयोग गर्ने साथीहरूको सहभागिता अझ बढ्ने विश्वास गरेको छु । संस्थामा महिला र युवाको सहभागिता बढाउने कार्यक्रम सार्वजानिक गरी कार्यान्वयन गर्ने योजना छ । 

विगतका एनआरएनएको चुनाव खर्चिलो र तडकभडक हुने गरेका आरोप लाग्ने गरेका थिए । यो पटक कस्तो होला ?
नेपालीहरू स्वभाविक रूपले चुनावमा रमाउने र यसलाई उत्सवका रूपमा मनाउने परम्परा नै हो । अब यसलाई भड्किलो भएर विकृतिका रूपमा नलियोस् भनेर हामी सजग छौं । हामीले तडकभडक र खर्चिलो नबनाउने भनेका छौं । यसका लागि हामीले आचारसंहिता पनि त्यहीअनुसार बनाएका छौं । भड्किलो चुनाव गराउनु संस्थाका लागि पनि राम्रो होइन ।

एनआरएनएको चुनावमा दलहरू पार्टीगत रूपमा बढी हाबी हुने बताइन्छ । यो चुनावमा चाहिँ कस्तो छ माहोल ?
यो विडम्बना नै हो । सबै नेपाली अट्न सक्ने सामाजिक संस्थालाई राजनीतीकरण नगर्नुहोस् भनेर राजनीतिक पार्टीलाई पनि भनेका छौं । उहाँहरू पनि सामाजिक संस्थालाई स्वतन्त्र बनाउनुपर्छ भन्नुहुन्छ तर जबजब यो चुनाव आउँछ त्यो देखिँदैन । हाम्रै साथीहरूले पनि चुनावलाई राजनीतीकरण गर्न नेताको घरदैलो चहारिरहनुभएको छ । 

तपाईंहरूले राजनीतीकरण गर्न नचाहे पनि नेता र पार्टीले नै चासो दिने गरेको देखिन्छ नि ?
यसमा राजनीति हाबी हुनु हँुदैन । त्यसले एनआरएनए र पार्टीलाई समेत फाइदा गर्दैन । म कुनै पनि दलको बुई चढेर यहाँ आएको होइन । सबै राजनीतिक आस्था राख्ने साथीहरूको साथले नै म यहाँ आएको हुँ । म एउटा कुरा के भन्छु भने पार्टीको ह्विप लिएर आउने सबैले चुनाव हारेको देखेको छु । गैरआवासीय साथीहरूको इच्छा यो संस्थालाई राजनीतिक संस्थाको आस्थाबाट टाढा राखौं भन्ने नै हो । 

संस्थामा पूर्वअध्यक्ष हावी भएर आफ्ना–आफ्ना मान्छेलाई अघि बढाएको भन्ने आरोप छ नि ? 
काम गर्ने कुरामा पूर्वअध्यक्ष वा अग्रजको कहीं पनि हस्तक्षेप छैन, जुन काम गर्ने क्रमका कार्यसमितिले स्वतन्त्र रूपमा काम गरेको छ । जहाँसम्म पूर्वअध्यक्षहरूको आफ्ना समर्थक वा सहयोगी व्यक्तिहरू जरुर हुन्छन्, तर मेरो मान्छेलाई अघि बढाउनुपर्छ भन्नुभएको छैन । 

व्यक्ति, राजनीति र अन्य तेस्रो पक्षमा नलागी संस्थालाई राम्रो बनाउने तपाईंको भिजनचाहिँ के हो ?
संगठनको पुनसंरचनाले संस्थालाई राजनीतीकरण गर्नबाट बचाउँछ । अर्को महत्वपुर्ण कुरा, संस्थाले उठाएका राम्रा उजेन्डालाई सफल पार्न लागियो भने संस्थालाई राजनीतिकरण गर्न अघि बढेका मानिस निस्तेज हुन्छन् । आर्थिक रूपमा मैले ल्याएको कोषको अवधारणा सफल भयो भने यसमा राजनीति गर्नुपर्ने कारण नै छैन । सबैलाई नाफा कमाउनुपरेको छ । जब हामी काम गर्न फिल्डमा जान्छौं र त्यसलाई सफल बनाउछौं त्यसबेला राजनीतीकरण हुन सक्दैन । चुनावका बेला राजनीतिक हस्तक्षेप हुने गरेको छ । त्यो राजनीतिक हस्तक्षेप हाबी भएर नेतृत्वमा नराम्रा मान्छे आउन सक्छन् कि भन्ने हाम्रो चिन्ता हो । अहिलेसम्म राजनीतिक हस्तक्षेप भएर एनआरएनएको अध्यक्ष भएको रेकर्ड नै छैन ।