कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
697

प्रमुख चाडपर्वहरूमध्येको दसैं पर्व चलिरहेको छ । भोलि फूलपाती हो र आजबाटै केही दिन दसैं मनाउनका लागि अत्यावश्यक सेवा प्रवाह गर्ने निकायबाहेकका अन्य सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरू बन्द रहन्छन् । अध्ययन, जागिर, पेसा-व्यवसायलगायतका कार्यलाई केही दिन थाति राखेर हर्षोल्लासका साथ दसैं मनाउने गरिन्छ ।
दसैं महत्तम् महत्व बोकेको सांस्कृतिक पर्व भएकाले यसलाई विविध रूपले मनाउने गरिन्छ । खासगरी मान्यजन्यसँग टीका थापेर आशीर्वाद लिनु यस चाडको मुख्य विशेषता हो भने यससँगै नयाँ परिधान लगाउनु, मिष्ठान परिकारहरू खानु, पाहुना सत्कार गर्नु तथा घर रंगरोगन गर्नुका साथै घुमफिर गरिन्छ । आफ्नो गच्छेअनुसार दसैंको परख गरिन्छ । यसै सन्दर्भमा केही व्यवसायीसँग ‘दसैं कसरी मनाउँदै हुनुहुन्छ ?’ भन्ने विषयमा केन्द्रित रही कारोबारकर्मीहरूले गरेको कुराकानीको सार :

नेपालगन्जको दसैंको आफ्नै विशेषता
कृष्णप्रसाद श्रेष्ठ
सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
हिन्दूहरूको महान् चाड दसैंको आफ्नै महत्व छ । खासगरी धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यो पर्वमा एकआपसमा आफन्त मान्यजनसँग भेटघाट गर्ने, खुसी साटासाट गर्ने, आफूभन्दा ठूलासँग आशीर्वाद लिने, आपसी सद्भाव, भाइचारा र बन्धुत्व कायम गर्ने गरिन्छ । विशेषगरी हामी व्यावसायिक क्षेत्रको प्रतिनिधित्व गर्ने भएकाले अरू समयभन्दा दसैंका बेला अलि बढी नै व्यस्त भइन्छ । विभिन्न व्यावसायिक तथा सामाजिक संघसंस्था, कार्यालयहरूले दसैंको अवसर पारेर शुभकामना आदान–प्रदान गर्नुका साथै बजार, सार्वजनिक मठ–मन्दिर, धार्मिकस्थल सरसफाइलगायत अनेक कार्यक्रम गर्ने भएकाले त्यस्ता सामाजिक क्रियाकलापमा सहभागी हुने गर्छु ।
उद्योग वाणिज्य संघ आफैंले पनि प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसँग दसैंको शुभकामना आदानप्रदानको कार्यक्रम राखेको छ । त्यसका साथै नेपालगन्जमा वर्षौं पहिलेदेखि ऐतिहासिक रामलीला मञ्चन गर्ने कार्यक्रम छ । जहाँ दैनिक हजारांैको संख्यामा दर्शकहरू सहभागी हुने गर्छन्, त्यहाँ सहभागिता जनाउने गर्छु । यस्ता कार्यक्रमहरूबाट आत्मीयता बढ्नुका साथै व्यावसायिक एकतामा समेत बल पुग्ने गर्छ । दसैंको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम भए पनि त्यहाँ विभिन्न व्यवसायीका दु:ख, पीडा, गुनासाहरू पनि राख्ने र सुन्ने अवसर पाइने भएकाले दसैंले व्यावसायिक हित र एकताका लागि समेत अवसर जुराउने गर्छ ।
नेपालगन्जमा धेरै व्यवसायी विभिन्न पहाडी जिल्लाहरूबाट आएर व्यवसाय गर्ने गर्छन् । दसैंको समयमा सबै व्यवसायीहरू आ–आफ्नो घरमा गएर सबै परिवार एकै ठाउँमा बसेर मनाउँछन् । हाम्रो पनि ठूलो परिवारका अधिंकाश सदस्य यतै भए पनि बुबाआमा, प्युठानमा भएकाले दसैंको समयमा बुबाआमालगायत गाउँघरका मान्यजनको हातबाट टीका लगाउन त्यहाँ गएर टीका ग्रहण गर्ने चलन छ । पूर्णिमासम्ममा प्युठानबाट नेपालगन्ज फर्केर चेलीबेटी र अन्य आफन्तजनलाई टीका लगाइदिने र आफूभन्दा ठूलासँग टीका ग्रहण गरेर दसैं सम्पन्न गर्ने गरेका छौं ।
नेपालगन्ज देशकै पुरानो ऐतिहासिक सहर भएकाले दसैंको यहाँ आफ्नै विशेषता छ । खासगरी विभिन्न जातजाति, धर्म, संस्कृनि मान्ने मान्छेहरू यहाँ सामाजिक सद्भाव कायम गरेर यहाँ बसेका छन् । विभिन्न फरक धर्म मान्ने समुदायका व्यक्तिहरू पनि दसैं मनाउने गर्छन् । उनीहरू दसैंमा हिन्दूहरूको घरमा गएर टीका लगाउने, सँगै रमाउने गर्छन् । यस्ता धार्मिक तथा सामाजिक सद्भाव कायम हुने क्रियाकलापमा हामी पनि सहभागी हुने गर्छाैं । यसरी दसैंको अवसरमा परिवारका सदस्यहरूसँग मात्र नभएर साथीभाइ, इष्टमित्र, व्यवसायी, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, पत्रकार सबैसँग जमघट हुने अवसर मिल्छ । अन्त्यमा विजयादशमी, तिहार, छठलगायतका पर्वका अवसरमा सम्पूर्ण देशवासीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

खसीबोका नकाटिए हुन्थ्यो
सहनलाल प्रधान
अध्यक्ष, उद्योग वाणिज्य संघ चितवन
अरू बेला खासै फुर्सद हुँदैन । चाडबाडका बेला केही फुर्सदको समय निस्कन्छ । घरपरिवारसँग धेरै समय बिताउन पाइन्छ । पुराना साथीहरूसँग भेटघाट हुन्छ । पुराना यादहरूको सम्झना गरिन्छ । यसपालिको दसैंमा उपन्यास किनेर पढ्ने सोचमा छु । पुस्तक पसलबाट चर्चामा रहेका केही उपन्यास किन्दैछु । उपन्यासको स्वाद लिने रहर छ । हाम्रो परिवार शाकाहारी हो । दाइको परिवार पनि । खसी काट्ने योजना छैन । तर पनि पनिरका परिकार, मिठाइँ, सेलरोटी, काजुलगायत नै हाम्रो ‘स्पेसल’ खाना हुन्छ । ८५ वर्षको बुबाको हातबाट टीका ग्रहण गर्छौं । नजिकै ससुराली छ । आफन्तहरू पनि नारायणगढ क्षेत्रमै धेरै हुनुहुन्छ ।
यसपालिको दसैंमा चितवनमै हुन्छु । नारायणी नदी किनारमा बनाइएको लिंगेपिङमा खेल्छौँ । साथीभाइ बसेर रमाइलो गर्छौं । फूलपातीदेखि पूर्णिमासम्म बजार सुनसान जस्तै हुन्छ, तर परिवार, साथभाइसँग भेटघाट हुने भएकाले निकै रमाइलो लाग्छ । दसैंलगत्तै पारिवारिक भ्रमणमा दिल्ली जाने योजना छ । दुई छोरी छन् । अरू बेला घरमा समय दिन नसके पनि दसैंतिहारमा प्राय: परिवारसँगै हुन्छु ।
सिनर्जी एफएम, भरतपुर गार्डेन रिसोर्ट, गोर्खा रिसोर्ट, सिराइचुली रिसोर्टहरूमा व्यावसायिक लगानी छ । टाढा–टाढा घर भएका कर्मचारीलाई बिदा दिँदै आएका छौँ । नजिकै घर भएकाहरू आलोपालो काममा आउने वातावरण बनाएका छौँ । रेडियोमा पनि दसैंतिहारमा फोनकल, गीतसंगीतकै कार्यक्रम बढी सञ्चालन हुन्छन् । रेडियो, टेलिभिजन हेर्दै, सुन्दै बसिन्छ ।
दसैंमा खसीबोकाको बध धेरै हुँदा दु:ख लाग्छ । शाकाहारी धेरै हुने हो भने यो संस्कृति सुधार हुन्थ्यो जस्तो लाग्छ । दानदक्षिणा आफ्नो गच्छेअनुसार दिनु ठीकै हो । तर, ऋण खोजेर दक्षिणा दिनु गलत हो । पहिलेको जस्तो अहिलेको दसैंमा नारायणगढ बजारमा भीड छैन । गाउँघरमै पसल खुल्ने क्रम बढ्दो छ । बजार सुनसानजस्तै भए पनि परिवारसित बस्न पाउँदा निकै खुसी लाग्छ । बुधबार संघमा सामान्य शुभकामना आदानप्रदान कार्यक्रम गरियो । पूर्णिमालगत्तै व्यावसायिक काममा फर्कन्छौँ ।

नाफा–नोक्सान बिर्सेर खुसीले दसैं मनाउँछु
शिव पौडेल
मुक्तिनाथ प्रालि, सिमरा, बारा
म सारा कारोबार, व्यापार, नाफा–नोक्सान बिर्सन्छु फूलपातीदेखि । आफन्त, बडाहरूसँग वर्षभरि दुर्लभ हुने भेटघाटलाई प्राथमिकता दिन्छु । यो समयले वर्षभरिको ऊर्जा दिने गर्छ मलाई । साथीभाइसँग भेटघाट, मनोरन्जन खानपिन बाक्लो हुने गर्छ यो समय मेरा लागि । काम त जिन्दगीभर नै गर्ने नै हो, तर उल्लासको यो पर्वलाई एक साता पूरै उमंगमा बिताउँदाको पलले सधैं पुनर्ताजगी गर्छ मेरो जीवनमा सायद । अरूले पनि यस्तै गर्दा हुन् ।
थोरै मासु, हल्का मद्यपान, खुलेर हाँसो र परिवारको चाहनामा केन्द्रित हुन्छ यो समय मेरो । संगीत त मन पराउँछु नै, तर यो समय यादगार संगीतमा आफूलाई प्रफुल्लित बनाउँछु । पिताजीको आशीर्वाद र उहाँको श्रमबाट सुरु भएको सानो हार्डवेयरबाट उद्योग सञ्चालनको यो अवस्थासम्म आइपुग्दा यसको श्रेय मातापिता नै हुन् । त्यसैले दसैंको आशिष नचुहियोस् भन्दै कामनासमेत गर्ने गरेको छु ।
दैवी शक्तिमा विश्वास राख्ने, म त्यही संस्कारबाट हुर्केको हुँदा दसैको महत्व बुझेको छु । म यो समयलाई व्यापारको समयभन्दा भिन्दै मनाउन रमाउँछु । आगामी योजना, उत्पादन, बजेट, बजार वित्तीयलगायतका विषयमा यो समय पनि लगाउने हो भने जीवन सार्थक बन्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । सबैको सोच पनि त एउटै हुँदैन ।
जीवनमा चाहना असीमित हुन्छन्, आवश्यकताको त पहाड नै बन्ने गर्छ, तर पनि धैर्य, कुशल व्यवस्थापन, कार्यान्वयन महत्वपूर्ण कुरा हो त्यो । त्यही समयमै हुन जान्छ जति बेला पर्छ र सुन्दर अठोटले पूरा पनि हुन्छ हँुदै जान्छ मेरो अनुभव हो यो । भन्नैपर्ने हुन्छ, देशमा राजनीति गर्नेहरूसँग बुद्धि त छ नै, तर मति भएन, देवीको कृपा उनीहरूको यो विषयमा रहोस् ।
प्रस्तुति : प्रकाश लम्साल


परिवार, आफन्त र साथीभाइसँग भेटघाट गर्नेछु
राजेन्द्र राउत
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य संघ, प्रदेश–१
कतिपयले दसैंलाई विदेश र स्वदेशका पर्यटकीय स्थलहरू घुमेर मनाउने गरेका छन् । मेरो विचारचाहिं फरक छ । वर्ष दिनमा आउने बडादसैंमा घुम्न जानेभन्दा पनि घरपरिवार बसेर मनाउनु उत्तम हो । अरू बेला पनि घुम्दा हुन्छ । दसैं भनेको सधैं आउँदैन । वर्ष दिनमा आउने चाडलाई उमंगका साथ मनाउनुपर्छ । यसपटक मात्रै होइन, हरेक वर्षको दसैंमा परिवारका सदस्यहरू बसेर मनाउने गरेका छौं । आफन्त र साथीभाइसँग भेटघाट गर्ने, दु:ख सुखका गफ गर्ने योजना छ । साथै वर्षभरि उद्योग र व्यवसाय आइपरेका समस्या, चुनौती र समाधानका विषयमा पनि परिवारसँग बसेर छलफल गरिन्छ । बडादसैंको सबैभन्दा महत्वपूर्ण दिन भनेको विजयादशमी अर्थात् टीका हो । टीकाका दिन मान्यजनका गएर टीका र जमरासँगै आशीर्वाद ग्रहण गरिन्छ । हाम्रा धर्म, संस्कृति र परम्परालाई हामीले नै हो संरक्षण र संवद्र्धन गर्ने । आज युवापुस्तामा धर्म, संस्कृतिसँगै परम्पराप्रतिको आकर्षण घट्दै गएको हो कि भन्ने महसुस हुन थालेको छ । युवा पुस्तालाई चाडबाडको महत्व बुझाउनुपर्छ ।

बाल्यकालमा खेलेको लिङ्गेपिङ खेल्नेछु
भीम घिमिरे
अध्यक्ष, उद्योग संगठन मोरङ
बडादसैं हाम्रो घर आँगनमा भित्रिसकेको छ । फूलपातीदेखि पूर्णिमासम्म विशेष महत्वका साथ दसैं मनाउने गरिन्छ । हुन त घटस्थापनादेखि नै दसैं सुरु हुन्छ । नवरात्रमा माता दुर्गाको पूजा आराधना गरिन्छ । मुख्य त दसैं भनेको आफन्त र साथीभाइ भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि हो । काम विशेषले टाढा–टाढा रहेका साथीभाइहरू दसैंमा घर फर्कन्छन् । विद्यालय र कलेज पढ्दाका साथीहरू विभिन्न क्षेत्रमा हुनुहुन्छ । मेरो धेरै समय सुनसरीको चकलघट्टीमा बित्यो । त्यसो भएकाले दसैंमा पनि चकलघट्टी जानेछु । श्रीमती र छोराहरूसँग बसेर रमाइलो गर्नेछु । गाउँको दसैं धेरै रमाइलो हुन्छ । सहरमा त खासै लिङ्गेपिङ लगाइँदैन । चकलघट्टीमा गएर लिङ्गेपिङ खेल्नेछु । मलाई पिङ खेल्न मन पर्छ । यसरी पिङ खेल्दा केटाकेटीको याद आउँछ । केटाकेटीमा आफैं पिङ लगाउँथ्यौं । गाउँका घर–घर पुगेर टीका लगाउँथ्यौँ । केटाकेटी हुँदाको दसैंको रमाइलो बेग्लै थियो । गाउँमा गएर केटाकेटीमा मनाएको दसैंलाई ताजा बनाउनेछु । मान्यजनको घरमा गएर टीका र जमरासँगै आशीर्वाद ग्रहण गर्नेछु । घुम्नका लागि कतै जान्न । पुरानो घर, आफन्त र दाजुभाइहरू चकलघट्टीमा हुनुहुन्छ । त्यही भएर सुनसरीसम्म चाहिं जानेछु ।

मुक्तिनाथ र जोमसोम घुम्ने योजना छ
महेश जाजू
उद्योगी
मारवाडी समुदायले पनि दसैंलाई विशेष रूपमा मनाउने गरेका छन् । मुख्य रूपमा मारवाडीले दीपावलीलाई भव्य रूपमा मनाउँछन् । तर, दसैं पनि मारवाडी समुदायले मनाउने गरेका छन् । मैले पनि हरेक वर्ष दसैंमा नवरात्रको पाठ गर्ने गरेको छु । परिवारका सदस्यसहित बसेर नवरात्रको नौ दिन नै माता दुर्गाको पूजा गर्ने गर्छाैं । नवरात्रको अन्तिम दिन दुर्गा माताको पूजालाई विसर्जन गर्दछौं । दसैंमा सबै कलकारखाला छुट्टी हुने भएकाले घुम्न जाने योजनामा छु । विगतका वर्षमा विदेश घुम्न जाने गरेको थिएँ । यसपटक चाहिँ नेपालकै पर्यटकीयस्थल घुम्न जाँदैछु । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा घोषणा गरेको छ । यसलाई सफल बनाउन हामी सबैको दायित्व पनि हो । हामी आफैंले नघुमी अरूलाई नेपाल घुम भन्न गाह्रो हुन्छ । त्यसैले यसपटकको दसैंमा मुक्तिनाथ, जोमसोम, मुस्ताङलगायतका धार्मिक र प्राकृतिक पर्यटकीयस्थल घुम्नेछु । आफूले घुमिसकेपछि अरूलाई नेपालका बारेमा भन्न सजिलो हुन्छ । तीन महिनाअघि मात्रै युके, अस्ट्रेलिया र युगोस्लाभिया घुमेर आएकाले विदेश नजाने निर्णयमा पुगेको हुँ । नेपालमा पनि घुम्नका लागि धेरै सुन्दर ठाउँ छन् । अरूलाई पनि म आग्रह गर्छु कि विदेशमात्रै होइन, स्वदेश पनि घुमौं, नेपाललाई बुझौं र विदेश जाँदा विदेशीलाई नेपालका बारेमा भनौं ।

दसैंलाई आफन्त र साथीभाइसँग भेटघाट गरेर सदुपयोग गर्नेछु
भीम पौडेल
अध्यक्ष, इटहरी उद्योग वाणिज्य संघ, इटहरी
दसैंमा बाहिर गएका आफन्त, साथीभाइ पनि घर फर्किन्छन् । दसैंको बेग्लै विशेषता र महत्व छ । राष्ट्रिय पर्व पनि भएकाले सबै नेपालीमा दसैंमा उत्साह देखिन्छ । दसैंमा म कहिल्यै घर छाडेर घुम्न जान्न । घरपरिवारसँग बसेर रमाइलो गरेर दसैं मनाउने गरेको छु । यसपटक पनि घरपरिवारलाई नै समय दिने हो । अरू समयमा उद्योग, व्यापार र व्यवसायसँगै संगठनको कामले व्यस्त रहने भएकाले परिवारलाई समय दिन सकिँदैन । दसैंमा सबै उद्योग, व्यापार बन्द हुन्छ । कार्यालयहरू पनि बन्द हुन्छ । परिवार, आफन्त र साथीभाइलाई समय दिने उपयुक्त अवसर पनि हो दसैं । कतिपय साथीभाइ र आफन्तसँग एक वर्षसम्म भेट भएको हुँदैन । कम्तीमा दसैंमा त भेट हुन्छ । साथीभाइसँग दु:ख सुखको गफ गरेर दसैंका परिकार खाएर मनाउने योजनामा छु । मान्यजनको घरमा गएर टीका र जमरा थाप्ने गरिन्छ । मुख्यतया दसैंलाई आफन्त र साथीभाइ भेटघाटकै अवसरका रूपमा सदुपयोग गर्ने योजना बनाएको छु ।
प्रस्तुति : मीनकुमार नवोदित


दसैंमा पहिलाजस्तो उत्साह छैन
रामगोपाल गोयन्का
अध्यक्ष, गोयन्का सिमेन्ट-गोयन्का स्टिल
अहिले दसैं मात्र होइन, अरू चाडपर्वहरूमा पहिला–पहिलाको समयजस्तो उत्साह देखिँदैन र भएको पनि पाइएन । हुन त उमेर ढल्कँदै गएपछि पनि चाडपर्वप्रति उत्साह नदेखिएको हुन सक्छ । तर, त्यो कुरा आफ्नो ठाउँमा छ । वास्तवमा भन्ने हो भने त्यो बेलाको दसैं अनि बजार व्यवसायको कुरै भिन्दै हुन्थ्यो । दुई–तीन महिनादेखि नै अब दसैं आउन लाग्यो भन्ने भान सबैमा हुन्थ्यो । चंगा हुन्थे आकाशमा, पिङ देखिन्थ्यो धेरै । अहिले सबै हराइसके ।
त्यति बेला दसैं आउन यति बाँकी भनेर औँला गनेर बस्थे । तर, अब पहिलाको त्यो समय कहाँ पाउनु ? दसैं मात्र होइन, कुनै पनि पर्वमा रौनक भएको पाइँदैन, तर पनि चाडपर्वहरू आआफ्नो परम्परा, रीतिरिवाज, धर्म–संस्कृतिअनुसार मनाउनुपर्छ । हामीहरू पनि यो नौरथाको समयमा नवै दिन घरमा देवी माताको पूजाआजा गर्छौं । घरमा जमरा रोप्छौं । नित्य पूजा गर्छौं । नवमीको दिन कन्या पूजा गर्छौं । उनीहरूलाई दक्षिणा, उपहार दिन्छौँ । हाम्रो परिवारमा दसैंको टीका भने हुँदैन । दसैं अवधिभर सबै पूजा गर्छौं, तर घरमा दसैंको टीका लगाउने हाम्रो त्यस्तो चलन छैन, तर पनि हामी यो पर्वलाई श्रद्धापूर्वक लिन्छौं । मेरो श्रीमती, दुई भाइ छोरा र दुई छोरीको परिवार छ । दसैंमा टीका नलगाउने भएकाले पारिवारिक जमघट त्यस्तो हँुदैन ।
हामी उद्योगमा पनि दसैंभर पूजा गर्छौं । गोयन्का स्टिल उद्योगमा नौ दिन नै दुर्गा पूजा समारोह हुन्छ । त्यहाँ पनि कन्या पूजा, प्रसाद वितरणलगायतका कार्यक्रम हुन्छ । दसैंको समयमा कम्तीमा पनि ५ दिन उद्योग प्रतिष्ठान पूर्ण बन्द हुन्छ । वर्षमा सबैभन्दा लामो समय उद्योग बन्द हुने भनेकै दसैं पर्वमा हो । त्यसैले पनि यो पर्वको महत्व कस्तो रहेछ भनेर बुझ्न सकिन्छ ।
उद्योगका कामदार, कर्मचारीबीच शुभकामना तथा उपहार आदानप्रदान कार्यक्रम गर्छौं ।
साथीभाइहरूसँग पर्वका बेला भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने नियमित प्रक्रिया हुन् । पहिला–पहिला शुभकामना कार्ड नै छापेर बाँढिन्थ्यो । अहिले सबै डिजिटलाइजेसन भयो, मोबाइल फोनबाट म्यासेज पठाउने, फेसबुकमा शुभकामना पोस्ट गर्ने, म्यासेन्जर, ह्वाटस एप, भाइबरबाट शुभकामना पठाउने गर्छाै । प्रत्यक्ष भेटेर या फोन गरी शुभकामना दिने पनि हुन्छ ।
अर्को मुख्य कुरा हाम्रो घरमा दसैंको टीका लगाउने प्रचलन नभए पनि म टीकाको दिन भैरहवा रहेको खण्डमा जहिले पनि मेरो आदरणीय दाइ समाजसेवी यदुनाथ सिलवालको घरमा गएर टीका, जमरा ग्रहण गर्ने गरेको छु, सिलवाल दाइलाई म निकै सम्मान गर्छु र उहाँको हातबाट टीका लगाउने गरेको छु ।
त्यसै गरी दसैंको समयमा कहिलेकाहीं बाहिर पनि जाने गरेको छु । हुन त उद्योगको कामले त्यति फुर्सद हुँदैन, तर दसैंमा ५ दिन जति उद्योग बन्द हुने भएकाले पनि यो पटकको बिदामा दिल्ली मेदान्ता गएर स्वास्थ्य परीक्षण गर्ने गरेको छु । म स्वास्थ्यप्रति अति सचेत छु । खानपिनमा ध्यान दिन्छु । यो चाडबाडमा हामी नेपालीहरूले खानपानमा बिशेष ध्यान दिन सबैलाई आग्रह गर्छु ।
अब समय परिवर्तन भएको छ । उतिबेलाको चाडबाड मनाउने शैली कहाँ पाउनु ? व्यापार पनि पहिलाभन्दा धेरै खस्केको छ । उत्साह छैन पहिलाजस्तो तर उत्साहलाई मार्नु हुँदैन भन्छु म ।
आ–आफ्नो तरिकाले दसैं पर्व मनाउनुहुने सबैलाई विजया दशमीको शुभकामना दिन चाहन्छु ।

दसैंमा स्वदेशमै रमाउने गर्छु
राम थापा
प्रबन्ध निर्देशक, बाग्मती चिनी मिल-सिद्धि विनायक एग्रो-जगत मोटर्स
अहिले दसैंलगायतका अन्य चाडपर्वहरू नासिँदै गएको जस्तो भान भएको छ । न्यू इएर इभ, भ्यालेन्टाइन डे, क्रिसमस, गुड फ्राइडेजस्ता विदेशी संस्कृति हाबी भएका छन्, हाम्रो चाडपर्वमाथि । अझ त्यसमाथि पनि सरकारले पर्बको बिदा काटेर जनतालाई पर्वदेखि टाढा राख्न खोजेको भान भइरहेको छ । त्यसैले विगतमा जस्तो उत्साह, रौनक दसैंलगायतका पर्वमा हुन छाड्यो । उतिबेलाको दसैंमा चंगा उडाउनेदेखि लिएर पिङ खेल्ने उत्साह हुन्थ्यो । अहिलेका पुस्ताले त अब चंगा र पिङ भनेको पनि बुझ्दैनन् । दसैंमा पहिला–पहिला टोलटोलमा सार्वजनिक रूपमा नाचगान हुन्थ्यो, रामलीला हुन्थयो, त्यो सबै हरायो । अहिले सार्वजनिक दुर्गापूजा भए पनि श्रद्धालुहरू खासै पुग्दैनन् । मन्दिरमा समेत उपस्थिति देखिँदैन । हाम्रा सांस्कृतिक पर्व नासिँदै गएको भान हुन थालेको छ ।
हुन त अब हामीलाई उमेरले पनि साथ नदिएर होला, तर पनि कता–कता मनले सोच्छ, यस्तै भयो भने हाम्रो पर्व, संस्कृति हराउने त होइन ?
अर्को कुरा, उद्योग, व्यापार, बजारमा पनि चहलपहल छ्रैन । जुन पहिला–पहिलाको समयमा उत्साह देखिन्थ्यो बजारमा त्यो सबै हराउँदै गएको छ । अहिले बजारमा आर्थिक मन्दी पनि छ । केही वर्षदेखि बजारमा शून्यता देखिन्छ । चाडपर्व बढी व्यापार हुने समय हो । तर, खुसी हुन सकेका छैनन् साना–ठूला व्यवसायी कोही पनि । आममानिसको क्रयशक्ति पनि खस्कँदै गएकाले दसैंमा उत्साह नहुनु स्वाभाविक नै हो, तर पनि ऋण काढेर भए पनि पर्व मनाउनुपर्ने अवस्था आइसक्यो ।
मेरो मन पर्ने पर्वमा दसैं पनि हो । यो वर्ष आमालाई गुमाउनुपरेकाले दसैं टीका छैन, तर पनि पारिवारिक मिलन, साथीभाइ भेटघाट, खानपिन भैहाल्छ । दसैं भनेको सबैलाई एकत्रित गराउने पर्व पनि हो मेरो विचारमा । देश–विदेशबाट आफन्त, साथीभाइहरू दसैंतिहार भन्दै स्वदेशमा आउँछन् । त्यसैले मेरो धारणा के छ भने दसैंमा हाम्रा आफन्त, साथीभाइहरू हामी भन्दै आउँछन्, तर हामी दसैंमा घुम्न जाने संस्कृति बनाउँछौ । मेरो विचारमा यो त्यति उपयुक्त होइन । म दसैंमा स्वदेशमै रमाउनुपर्छ भन्छु । घरमा पनि भन्न्ने गरेको छु । घुम्नका लागी दसैं पर्व नै किन रोज्नुप-यो र ? दसैं, तिहारजस्ता चाडपर्व भनेको परिवार, साथीभाइ, इष्टमित्रसँग मिलेर, रमेर मनाउने पर्व हो । विदेशबाट आफन्त, साथीभाइ हामी छौं भन्दै आउँछन्, तर हामी घुम्न गयौं भने उनीहरूको मनमा कस्तो पर्ला ? त्यसैले दसैंतिहारमा घुम्न जानु हुँदैन भन्छु म । यही हो, साथीभाइसँग भेटभाट, परिवार मिलन, रमाइलो गरी दसैं मनाउने गर्छौं । अर्को कुरा, उद्योग व्यवसायमा लागेको हुँदा आफूले मात्र होइन, उद्योगमा काम गर्ने कामदार, मजदुरहरूले पनि पर्व मनाउने वातावरण सिर्जना हामीले गर्नुपर्छ । पर्वका बेला उनीहरूलाई शुभकामना मात्र होइन, तलब, दसै पेस्की, उपलब्ध गराउनु हाम्रो दायित्व हो । जे होस्, दसैं पर्व मनाउने तरिका आआफ्नो हुन्छ, तर पर्व आयो भन्दैमा भड्किलो, समाजलाई नै अपाच्य हुने कुनै काम गर्नु हुँदैन । संस्कृति, धर्म बचाउने गरी पर्व मनाउनु पर्छ । जे होस्, दसैं भनेको आफूमात्र खुसी हुने नभई अरू पनि खुसी भएको, रमाइलो गरेको हेर्न पाइने पर्व हो । बिजया दशमीको सबैलाई हार्दिक मंगलमय शुभकामना ।
प्रस्तुति : मनोरञ्जन शर्मा