कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
561

राजधानीलाई विभिन्न पेसा–व्यवसाय र कर्मथलो बनाई स्थायी तथा अस्थायी बसोबास गरेका सर्वसाधारण ठूलो संख्यामा दसैंमा गाउँ फर्किरहेका छन् । फूलपातीदेखि कार्यालयहरू बिदा हुने भएकाले सवारी र हवाई यात्रुको चाप बढेको छ । सरकारसँग उपत्यकाबाट बाहिरने सर्वसाधारण्को यकिन तथ्यांक त छैन, ट्राफिक प्रहरीको अनुमानअनुसार दसैंंका बेला करिब ३० लाख मानिस उपत्यकाबाट बाहिरिन्छन् भने झन्डै त्यत्तिकै संख्यामा अन्य सहरी क्षेत्रबाट अर्कातर्फ आवतजावत गर्ने बताइन्छ । यता राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार दसैंको घटस्थापनादेखि नवमीसम्म करिब उपत्यकाबाट २० लाख सर्वसाधारण बाहिरिने गरेका छन् । नियमितभन्दा अस्वाभाविक रूपमा यात्रुहरू एकै समयमा उपत्यका बाहिरिने भएपछि यातायात र हवाई सेवाप्रदाक संस्थाहरूलाई व्यवस्थापन हम्मे–हम्मे पर्छ । सबैले सहज रूपमा टिकट पाउँदैनन् । सरकारी निकाय, निजी क्षेत्र, सरोकारवाला र उपभोक्ताकर्मीहरू यात्रुलाई सहज रूपमा गन्तव्यमा पु-याउन लागिपरेका छन् । यति हुँदाहँुदै पनि यात्रुले सहज टिकट र यात्रा गर्न नपाएको उपभोक्ता अधिकारकर्मी बताउँछन् भने सरकारको नियमनकारी निकाय, यातायात व्यवसायी महासंघ, हवाई सेवाप्रदायक संस्था टिकट काट्न र यात्रा गर्न सहज रहेको बताउँछन् । दसैंमा राजधानीबाहिर जाने यात्रुलाई टिकट लिने र यात्रा गर्ने वातावरण कस्तो छ, सरकारका नियामक निकाय, यातायात व्यवसायी महासंघले यात्रुलाई गन्तव्यसम्म पु-याउन कसरी सहजीकरण गरिरहेको छ लगायतका विषयमा केन्द्रित रहेर सरोकारवाला निकायसँग कारोबारले गरेको कुराकानीको सार :

सरकारले तोकेको भाडा लिएका छौं
योगराज कँडेल शर्मा
प्रवक्ता
वायुसेवा सञ्चालक संघ नेपाल
नेपालीको आय बढेर गएसँगै गुडेर भन्दा उडेर गन्तव्यमा पुग्ने यात्रुको चाहना बढेर गएको छ । हामीले मागअनुसारको आपूर्ति गर्न नसकेको अवस्था छ । पहिलो चरणमा २० र दोस्रो चरणमा ३० प्रतिशत नियमितभन्दा अतिरिक्त उडान थप गरेका छौं । निजी वायुसेवा प्रदायकसँग योभन्दा बढी उडान थप गर्ने क्षमता छैन । असोजको पहिला साता सकिएपछि राजधानीबाट बाहिरिने नाका नागढुंगा सडकखण्डमा जाम बढेर गएसँगै हवाई यात्रुको संख्या दसैंमा बढेर गएको छ ।
नियमितभन्दा करिब ५० प्रतिशत थप उडान गरिँदा पनि मागअनुसारको आपूर्ति गर्न नसकेको अवस्था छ । करिब १ महिनाअगाडि बुकिङ गर्ने यात्रुले सस्तोमा नै टिकट पाएका छन् । हवाई टिकट वर्गीकरण गरेर सरकारले निर्धारण गरेको न्यूनतम र अधिकतम दरको भाडादर लिएका छौं । यो सरकारले निर्धारण गरेको नियमअनुसार नै लिएका हौं । करिब एक महिना भैरहवाको टिकट बुकिङ गर्नेले २६ सयमा पाएको थियो भने हाल ६ हजारमा पनि पाउन गा-हो छ । माग र आपूर्तिले पनि बजारमा टिकट मूल्य निर्धारण गर्छ । हवाई सेवाप्रदायकले जहिले पनि न्यूनतमदेखि अधिकतमसम्मको टिकट बिक्री–वितरण गर्छ । सुरुमा लिनेले सस्तोमा यात्रा टिकट खरिद गर्न पाउँछन् भने पछिल्लो समय लिनेले बढी मूल्य तिर्नैपर्छ, यो संसारमै चलेको हवाई सेवाको नियम हो ।
पहाडी क्षेत्रमा भन्दा तराईका, विराटनगर, भैरहवा नेपालगन्ज, पोखरा रुटमा हवाई यात्रुको चाप बढेर गएको छ । सबैजस्तो गन्तव्यमा नियमितभन्दा दोब्बर–तेब्बर उडान गर्दा पनि हवाई यात्रुको चाप कम गर्न नसकेको अवस्था छ । पर्यटकका कारण पोखरामा सधैंजसो चाप हुने गरेको छ । निजी हवाई सेवाप्रदायक संस्थाहरू सर्वसाधारणका लागि सेवा प्रवाह गरी दसैंमा गन्तव्यसम्म पु-याउन लागिपरेको छ ।
विगतमा भन्दा सुधार तर प्रवृत्ति पुरानै, यात्रुलाई सास्ती कायमै

विमला खनाल
अध्यक्ष
कन्जुमर आई नेपाल
सरकारका सबै निकायले अनुगमन गरेका छौं, यात्रुलाई गन्तव्यसम्म पु-याउन सहजीकरण गरिरहेको बताएको छ । तर, स्थलगत अध्ययन गर्दा काउन्टरमा गएर टिकट माग्दा यातायात व्यवसायी कर्मचारीबाट ‘बसका टिकटहरू छैनन्, सकियो’ भन्ने उत्तर पाइने गरेको छ । काउन्टरका कर्मचारीलाई टिकटको बिक्री गरेको सूची देखाउन अनुरोध गर्दा एकजना व्यक्तिले ५-१० थान टिकट बुकिङ गरेको पाइयो । यसका लागि बसमै गएर अनुगमन गर्नुपर्ने आवश्यकता हामीले महसुस गरेका छौं । विगतमा भन्दा यात्रुले केही हदसम्म टिकट पाएका छन्, सहज वातावरण बन्दै गएको छ । समयअनुसार यात्रु पनि चेतनशील बन्दै गएका छन् । यातायात क्षेत्र पनि व्यवस्थित बन्दै गएको छ । तर, यातायात कर्मचारीले पारदर्शी तरिकारले टिकट काटेका छैनन् । उपभोक्ता सास्ती खेप्नै बाध्य छन् भने बढी भाडा पनि असुलिरहेको पायौं ।
प्रस्टसँग मूल्यसूची राखिएको छैन । एउटा बसको टिकट भनेर अर्काे बसको टिकट बिक्री–वितरण गरिएको छ । कुन क्षेत्रको कति टिकट बिक्री भयो, कति बाँकी छ, पारदर्शिता छैन । नाम, फोन नम्बर, मिति, मूल्य भएको सूची तयार गरेर राख्न सकिन्छ । त्यस्तो नभएर बुकिङ सकियो भनिन्छ, यो कसरी पारदर्शी भयो ? पहँुचवालाकै टिकटमा दबदबा रहेको छ ।
डिलक्स, सुपर डिलक्स बस भनेर भाडा लिएको छ, तर भाडाअनुसारको सुविधा यात्रुले नपाएको अवस्था छ । मैले सुन्धारा, चाबहिल, गौशाला, नयाँ बसपार्कमा अनुगमन गरें, सहज रूपमा यात्रुले टिकट पाएका छैनन् । सरकारी अधिकारीले सहज रूपमा टिकट पाउने व्यवस्था रहेको बताए पनि स्थलगत अनुगमन फरक छ । बिहानै टिकट लिन गएको मान्छेले बेलुकासम्म टिकट पाएका छैनन् । पाए पनि सरकारले तोकेको भाडादर भन्दा बढी लिएका छन् । उपभोक्ता नठगिउन् भनेर नागरिक सहायता कक्ष राखेको छ, प्रहरीहरू खटिएका छन् तर यात्रुलाई सकस भने कायमै छ ।
अनुगमनबाट मैले के पाएँ भने नियमनकारी निकायभन्दा नियमन नमान्ने निकाय एक कदम अगाडि छ । यसले यात्रुलाई सकस, उल्झन र यात्रा गर्ने टिकट प्राप्त गर्न कठिन वातावरण तयार भएको देखिन्छ ।
नागरिक सहायता कक्षमा उजुरी आएको छ । सम्बन्धित निकायले उजुरी सुनुवाइ गरी समस्याको समाधान गर्ने प्रयास पनि गरेको छ । तर, समस्या समाधान गर्ने निकाय विभिन्न बहानाबाजी गरेर यात्रुलाई सास्ती दिएर यो या त्यो बहाना बनाएर झुलाएका छन् । यात्रु एक निकायबाट अर्को निकाय, अर्का निकायबाट अर्को निकायमा उजुरी सम्बोधन होला कि भनेर धाइरहेका छन् । यात्रुलाई अलमल्याउने प्रवृत्ति रहेको पाइन्छ । हवाई यात्रामा पनि महँगो टिकटमात्र उपलब्ध रहेको पाइन्छ । नेटमा टिकट सर्च गर्दा नो फ्लाइट भनिन्छ । पारदर्शिताका लागि यो मितिको टिकट यो मान्छेले बुकिङ गरेको भनेर नेटमा राखेको खण्डमा प्रभावकारी हुने देखिन्छ ।
गन्तव्यसम्म यात्रा सहजीकरण गर्न लागिपरेका छौं
गोगनबहादुर हमाल
महानिर्देशक
यातायात व्यवस्था विभाग
दसैं नजिकिएसँगै राजधानीबाट बाहिरिने यात्रुको संख्या वृद्धि भएको छ । विभागको पहलमा यातायात व्यवसायी महासंघ र सरोकारवाला निकायसँगको सहकार्यमा यात्रुलाई गन्तव्यसम्म पु-याउनका लागि सहजीकरण गरिरहेका छौं । यात्रुले टिकेट नपाउने भन्ने कुनै किसिमको समस्या छैन । यदि टिकट नपाएको, बढी भाडा लिएको पाए गुनासो सुन्ने ठाउँको व्यवस्था गरेका छौं । उपत्यकाको प्रमुख बस स्टेसनजस्तै– गोंगबु, कलंकी, चाबहिल, बल्खु, कोटेश्वर, गौशाला, बालाजु, पुरानो बसपार्कलगायतका १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यात्रुले कुनै किसिमको समस्या भए जनगुनासो गर्न हामी आग्रह गर्छौं । यात्रु नठगिउन भनेर विभागले प्रहरीसँगको सहकार्यमा सादा प्रहरी खटाएको अवस्था छ ।
१२ गतेबाटै सबै सवारी देशभरि नै जान पाउने गरी रुट परमिट छोटो समयका लागि खारेज गरेका छौं, यसले गर्दा साना तथा ठूला सवारी नियमितभन्दा अन्य रुटमा गएर सेवा प्रवाह गर्न सहज हुने नै छ भने एकै समयमा धेरै यात्रु काठमाडौं बाहिरने भएकाले मागअनुसारको आपूर्ति गर्न रुट परमिट नहुँदा सहज हुनेछ । दसैंका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहजीकरण गर्नका लागि नै विभागले असोज १२ गतेदेखि १९ गतेसम्म रुट परमिट खुला गरेको हो । यात्रुको चाप कम हुने रुटका सवारी धेरै यात्रु भएको रुटमा जान खुला गरिएकाले परमिटले सहज गर्नेछ, जसले गर्दा यात्रु गन्तव्यमा पु-याउन सहज हुनेछ । घटस्थापनाको दिनदेखि विभागले मालवाहक सवारी साधन कठमाडौं प्रवेशमा रोक लगाएको छ, जसले गर्दा नाकामा बाहिरिन यात्रुवाहक सवारीलाई सहज हुनेछ ।
मालबाहक सवारी चितवनको नारायणगढदेखि नै उपत्यका प्रवेशमा रोक लगाएका छौं । हामीले सूचना नै जारी गरी अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, औषधि, तरकारी, मासु ढुवानी गर्ने सवारी साथै चाँडै नाश हुने ढुवानी मालबाहक बाहेक सबैखाले १० चक्के र सोभन्दा ठूला मालबाहक सवारीलाई १९ गतेसम्मका लागि उपत्यका प्रवेशमा रोक लगाएका छौं । यसले गर्दा यात्रुबाहक सवारीलाई आगमन र बाह्यगमन गर्न सहज भएको छ ।
दैनिक हाल १ लाख ५० हजारदेखि २ लाख ५० हजारसम्म यात्रु उपत्यकाबाट बाहिरिने क्रम जारी छ । विभागले समन्वय गरी साना सवारीको पनि अग्रिम बुकिङ खुला गरेका छौं । यदि साना सवारीले बढी भाडा लिएको खण्डमा रुट परमिट खारेज गर्ने जानकारी गराएको छु । कुनै किसिमको जनगुनासो आएमा विभागले तत्काल सम्बोधन गरी कारबाही गर्न संयन्त्र तयार गरिएको छ । सिट क्षमताभन्दा बढी यात्रुले कुनै बसमा यात्रा गर्नुपरेमा, सजग भएर प्रहरीलाई उजुरी गर्नुपर्छ । यसो भएको खण्डमा सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ ।
यात्रा गर्दा कुनै किसिमको समस्या उत्पन्न भएको खण्डमा नागरिक सहायता कक्षमा गुनासो गर्न विभाग अनुरोध गर्छ, साथै सिटसंख्याभन्दा बढी यात्रुले यात्रा गर्नुपरेको खण्डमा समेत प्रहरीलाई उजुरी गर्न आग्रह गर्छौं । यात्रामा नागरिक आफैं पनि सजग बन्नुपर्नेछ ।

अर्को वर्ष अनलाइन टिकेटिङ
विजयबहादुर स्वाँर
वरिष्ठ उपाध्यक्ष
राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपाल
दसैंको समयमा फूलपातीदेखि नवमीसम्म धेरै यात्रु काठमाडौंबाट बाहिरने भएकाले व्यवस्थापन गर्नै कठिनाइ हुने गरेको छ । यो समय भनेको स्वाभाविक समय होइन । १९–२० लाख यात्रु एकै पटक बाहिरिँदा सवारी व्यवस्थापनमा समस्या देखिने गरेको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागलगायतको समन्वयमा हामीले यात्रुलाई गन्तव्यमा पु-याउनका लागि सहजीकरण गर्दै आएका छौं । यो समयमा मागअनुसारको आपूर्ति गर्ने हो, हामीले अन्य छोटो रुटका सवारीहरूलाई लामो रुटमा पठाई व्यवस्थापन गर्दै राजधानी बाहिरिने यात्रुलाई सहजीकरण गरिरहेका छौं ।
फूलपाती अगाडिको समयमा खासै समस्या नरहेको, फूलपातीका दिनदेखि कार्यालय, विद्यालय, क्याम्पसलगायतका कार्यालय एकै समयमा बिदा हुने भएकाले यात्रुको चाप सो समयमा बढी हुने गरेको हो । यसको व्यवस्थापन गर्नका लागि महासंघले बस थप गर्दै लगेका छौं । आजसम्मको आँकडा हेर्दा १० लाख यात्रु काठमाडौंबाट बाहिरिसकेको हामीले अनुमान गरेका छौं । अब करिब १० लाखजतिको व्यवस्थापनमा सकस रहेको छ । प्रत्येक दिनजसो १० देखि १५ वटासम्म बस थप गरिएको छ । एउटा बस भरिएपछि अर्का बसको व्यवस्था महासंघले गरेको छ । टिकट पाइँदैन भन्ने हल्ला सुनिने गरेको छ ।
अस्वाभाविक समयमा यसो हुनु स्वाभाविक हो तर सबै यात्रुलाई सहज खालको अगाडिकै सिट चाहिने भएर पनि टिकट नपाएको हल्ला आएको हामीले विश्लेषण गरेका छौं । महासंघले थप बसको व्यवस्था गरेर पछि टिकटको व्यवस्था गरेको अवस्था छ । एउटा बस फुल भएपछि मात्र अन्य बसको टिकट बुकिङ गर्ने प्रणालीको विकास गरिएको छ । महासंघले प्रदेश, जिल्ला तहमा महासंघमा आबद्ध बस व्यवसायीसँगको सहकार्यमा बसहरू व्यवस्थापन गर्दै आएको छ, यात्रुलाई गन्तव्यसम्म पु-याउनका लागि हरेक तवरबाट महासंघ लागिपरेको छ ।
यातायात व्यवस्था विभागले उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष राखेर गुनासो सुन्ने र यात्रुलाई सहजीकराण गर्न लागिपरेका छौं । बढी भाडा लिने, यात्रुलाई सहज वातावरण नबनाउने प्रयास भएको जनगुनासो आए महासंघ प्रहरी र विभागको समन्यमा कारबाही गर्नेछौं । हामीले परिचयपत्र बाहक र पोसाकलगायका यातायात व्यवसायी कर्मचारीहरूबाट मात्र यात्रुले टिकट काट्न अनुरोध गछौं । विगत वर्षमा भन्दा गन्तव्यसम्म यात्रा गर्न सहज र व्यवस्थित हुँदै गएको अवस्था छ । हामीले सबैको समन्वयमा यात्रालाई सहजीकरण गर्दै लानुपर्छ । साना–ठूला गरी राजधानीबाट हाल ४ हजारका संख्यामा सवारी बाहिरने गरेको छ । यो क्रम क्रमशः बढिरहेको छ, दिनानुदिन दसैं नजिकिएसँगै राजधानीबाट सवारी बाहिरिने क्रम बढेर गएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशको संयोजकत्वमा राष्ट्रिय अनुगमन समितिले अनुगमन गरिरहेको छ । साथै सादा पोसाका प्रहरीसमेत खटिएका छन् । दसैंमा राजधानीबाट बाहिरिने यात्रुलाई सहजीकरण गर्न सबै पक्षको उत्तिकै खाँचो छ । दशमीपछि हामीलगायत सरोकारवाला निकाय बसेर समीक्षा बैठक गर्दा यस वर्ष कस्तो रह्यो, यातायात सहजीकरण गर्न आगामी वर्ष के गर्ने, कमी–कमजोरी पहिल्याउँदै व्यवस्थित गर्नेछौं । अर्काे वर्षबाट हामी अनलाइन बुकिङ गर्नेछौं । यसले यात्रुलाई थप सहज हुनेछ ।