कारोबार संवाददाता
सोमवार, आश्विन १३, २०७६
431

दसैं सुरु भएसँगै बैंकमा नयाँ नोट साट्नेहरूको भीड छ । राष्ट्र बैंकले पनि दसैंको पूर्वसन्ध्यामा बजारमा नयाँ नोट पठाउने तथा नेपालीहरूले पनि चाडबाडमा पूजा-दक्षिणका लागि नयाँ नोट प्रयोग गर्ने परम्पराका कारण बजारमा १ सय, ५०, २०, १० र ५ रुपैयाँ दरका नोटको माग उच्च छ । अहिले चलनचल्तीमा साना दरका नोटहरू बजारमा पर्याप्त भए पनि दसैं र तिहारका बेला नयाँ नोट प्रयोग गर्ने नेपालीको प्रचलनका कारण राज्यलाई वार्षिक ५० करोडको नोक्सानी हुने राष्ट्र बैंकका अधिकारी बताउँछन् ।
नोटको आकर्षण र नोटको प्रचलनका कारण राज्यलाई अर्बौं व्ययभार भइरहेको छ, जसका कारण पछिल्लो समय नगदरहित कारोबारलाई राज्यले समेत प्रोत्साहन गर्दै आएको छ । पछिल्लो समयमा युवा पुस्ताहरू विद्युतीय भुक्तानी प्रणालीतर्फ आकर्षित भइरहेका छन् । राष्ट्र बैंकले विद्युतीय भुक्तानीसम्बन्धी नीति नै जारी गरेर आधा दर्जनभन्दा बढी सेवा प्रदायकलाई अनुमतिसमेत दिएको छ । विभिन्न युटिलिटी बिल पेमेन्टमा विद्युतीय भुक्तानी प्रणालीको प्रयोग पनि बढिरहेको छ । नगद कारोबारमै अभ्यस्त रहेको नेपाली समाजलाई नगदरहित कारोबारमा कसरी आकर्षित गराउन सकिन्छ ? यसको समस्या र सम्भावनाबारे कारोबारले विभिन्न सरोकारवालासँग गरेको कुराकानीको सार :

समय–समयमा टेक्नोलोजी अडिट गर्नुपर्छ
निलेशमानसिंह प्रधान
प्रमुख कार्यकारी अधिकृत, नेपाल क्लियरिङ हाउस
एटिएम सिस्टममा देखिएको समस्याका कारण नेपालको वित्तीय क्षेत्रलाई झस्काएको छ । यसबाट विद्युतीय माध्यमबाट भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरू थप सचेत हुनुपर्ने देखिएको छ । संस्थाहरूले आफ्नो प्रविधिलाई पुनरावलोकन गर्दै यसको गुणस्तर बढाउनका लागि पनि काम गर्नुपर्छ । संस्थाहरूले गुणस्तर अडिट गरेर यसलाई समयनाकूल सुधार गर्न आवश्यक छ ।
पछिल्लो समयमा अनलाइनमार्फत भुक्तानी सेवा प्रयोग बढिरहेको छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग बढाउनका लागि प्रोत्साहन गरेको छ । बिजनेस ट्रान्जेक्सनलाई भने नगदरहित बनाउनका लागि हामी सबैको भूमिका रहन्छ । यसको प्रयोग बढाउनका लागि कसको भूमिका कस्तो हुने भनेर छुट्टाछुट्टै रूपमा हेर्ने भन्दा पनि सबैको सामूहिक प्रयास जरुरी छ । नीति–नियममा नेपाल सरकार, नियामक नेपाल राष्ट्र बैंकदेखि यो सेवा सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरूको पनि भूमिका महत्वपूर्ण हुन्छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले विद्युतीय माध्यमबाट चेक क्लियरिङ सेवा सुरु–सुरु गरेको हो । यो पनि एक किसिमको कारोबारलाई क्यासलेस बनाउने नै हो । यसैगरी अन्तरबैंक भुक्तानी प्रणाली पनि सञ्चालन गरिरहेका छौं । यसैगरी हालैमात्र आईपीएस सिस्टमबाट राजस्व भुक्तानी, कम्पनी रजिस्ट्रारको कार्यालयलगायतका ठाउँमा प्रयोग भएको छ । सर्वसाधारणको सचेतना बढेसँगै कारोबार पनि वृद्धि भइरहेको छ । यसलाई अन्य क्षेत्रमा पनि प्रयोग गर्नका लागि ती संस्थाहरूको कारोबार प्रणालीमा सुधार गर्नुपर्छ । उनीहरूको सिस्टममा सुधार गरे पनि यातायात, मालपोतजस्ता कार्यालयहरूमा पनि विद्युतीय भुक्तानी प्रणाली सञ्चालन गर्न सकिन्छ । यसका लागि ती संस्थाहरूले नै पहलकदमी लिनुपर्छ ।
पछिल्लो समयमा विभिन्न किसिमका बिल भुक्तानीमा विद्युतीय प्रयोग बढिरहेको अवस्था छ । नेपाल राष्ट्र बैंकले छुट्टै नीति नै ल्याएर गैरबैंक वित्तीय संस्थालाई पनि विद्युतीय भुक्तानी प्रणाली सञ्चालनका लागि अनुमति दिएको छ । मोबाइल रिचार्ज, विद्युत् खानेपानी टेलिफोन, हवाई टिकट आदिमा विद्युतीय भुक्तानी प्रयोग बढ्दो छ । अब नेपाल सरकारका सबै भुक्तानीलाई विद्युतीय प्रणालीमा लैजान सके नगदको प्रयोग घटाएर विद्युतीय भुक्तानीलाई बढाउन सकिन्छ ।
यसैगरी सर्वसाधारणमा नोटको प्रयोग घटाउनका लागि सचेतनाका कार्यक्रम सञ्चालन गर्न पनि जरुरी देखिन्छ । सर्वसाधारणलाई वित्तीय साक्षरता प्रदान गर्नका लागि सरकार र यसमा काम गरिरहेका सबै कम्पनीको भूमिका रहनुपर्छ । हाम्रो क्षेत्रबाट गर्नुपर्ने ग्राहक तालिम तथा सचेतना कार्यक्रमहरू गरिरहेका छौं । हामीले बैंकहरूलाई जोड दिएकाले पनि त्यो त्यति धेरै बाहिर नआएको हुनसक्छ । हाम्रा ग्राहकका रूपमा बैंक वित्तीय संस्था भएकाले हामी धेरै संस्थागत रूपमै केन्द्रित भएका छौं । हामी क्यासलेस कारोबारतर्फ उन्मुख भएका छौं । सानो कारोबारमा पनि क्यासबिना नै गर्न सकिने पूर्वाधारको विकास र सचेतना भइसकेपछि प्रभावकारिता अझै बढ्दै जान्छ ।

विद्युतीय भुक्तानीमा आकर्षण बढिरहेको छ
उद्धवलाल रञ्जितकार
प्रमुख कार्यकारी अधिकृत, नेपाल पे टाइम प्रालि
विद्युतीय भुक्तानी प्रणाली नेपालमा एकदमै राम्रो भविष्य छ । यसको प्रयोग बढिरहेको अवस्था पनि छ । त्यसैले धेरै विद्युतीय भुक्तानी सेवाप्रदायक संस्थाहरूको संख्या बढिरहेको छ । यसको प्रयोग अझै वृद्धि गर्नका लागि सेवाप्रदायक संस्थाहरूको मार्केटिङमा भर पर्छ । विद्युतीय भुक्तानीका लागि संस्थाहरूले जति धेरै प्रचार प्रसार ग-यो त्यति नै ग्राहकको संख्या वृद्धि हुन्छ ।
अहिले गाउँगाउँमा विद्युतीय भुक्तानी प्रणालीको पहुँच पु-याउन आवश्यक छ । दुर्गम ठाउँमा जहाँ भौतिक रूपमा भुक्तानी गर्न, पैसा पु-याउन गा-हो हुन्छ त्यस्ता ठाउँमा विद्युतीय भुक्तानी प्रणाली अझै प्रभावकारी हुन्छ । हामी पे टाइममार्फत भौतिक रूपमा भुक्तानी गर्न नसकिने ठाउँमा समेत विद्युतीय भुक्तानी सेवा पु-याउन पहल गर्दैछौं ।
अहिले विद्युतीय भुक्तानी सेवा सञ्चालन गर्ने कम्पनीहरूले एकै किसिमको सेवामा धेरै प्रतिस्पर्धा गर्दै आएका छन् । कम्पनीहरूको संख्या थपिएसँगै नयाँ–नयाँ क्षेत्रमा पनि विद्युतीय भुक्तानी सेवाको प्रयोग बढ्ने गरेको छ । व्यावसायिक संस्थाहरू अझै पनि पुरानै सिस्टममा कारोबार गर्न बानी परेका कारण उनीहरू विद्युतीय भुक्तानी प्रणालीमा जान चाहिरहेका छैनन् । संस्थाहरूले यसमा जोखिम देखेका पनि हुन सक्छन्, जसका कारण नयाँ विद्युतीय भुक्तानी प्रणालीमा भन्दा पुरानै प्रणाली सञ्चालन गरिरहेका छन् । प्रविधिमा अभ्यस्त नहुँदा झन्झट मानेको पनि हुनसक्छ । उनीहरू विस्तारै नयाँ प्रविधि प्रयोगमा रूपान्तरण हुन थालेका छन् ।
विद्युतीय भुक्तानी प्रणाली प्रभावकारी बनाउन इन्टरनेट सेवा राम्रो र चुस्त हुनुपर्छ । सेवाप्रदायक संस्था र सेवा लिने संस्थाको सिस्टमबीच कनेक्टिभिटी राम्रो हुनुपर्छ । भुक्तानी सेवाप्रदायकको सिस्टममात्र चुस्त भएर हुँदैन । सेवा दिने संस्थाको सिस्टममा समस्या आउँदा पनि भुक्तानी फरफारक गर्न अवरोध हुँदा ढिलाइ हुन्छ, जसका कारण ग्राहकले झन्झट बेहोर्न पनि सक्छ ।
अहिले विद्युतीय भुक्तानी सेवा प्रयोगमा सर्वसाधारणलाई अभ्यस्त बनाउनका लागि बानी पार्न कम्पनीहरूले विभिन्न मार्केटिङ टुल्स प्रयोग गर्दै आएका छन् । कम्पनीहरूले भुक्तानी गर्दा ‘क्यास ब्याक’ पनि दिने गरेका छन् । कम्पनीहरूले सर्वसाधारणलाई आकर्षित गर्नका लागि घाटा खाएर पनि यस्तो सेवा दिएका छन् । केही भुक्तानीमा कम्पनीलाई आउने फाइदा ग्राहकलाई पनि दिऔं भन्ने उद्देश्यका साथ यसको प्रयोग भएको छ । यसबाट ग्राहकहरूलाई विस्तारै अनलाइन भुक्तानीमा बानी पर्छ । ग्राहकहरू सेवाप्रति आकर्षित भएपछि उनीहरूका लागि यो स्किमको त्यति महत्व नहुन पनि सक्छ ।
अनलाइन भुक्तानीलाई सरकार र नेपाल राष्ट्र बैंक प्रोत्साहन गर्ने नै नीति लिएको पाइन्छ । अहिले राष्ट्र बैंकले विद्युतीय भुक्तानीमा सीमा निर्धारण गरेको छ, जसअनुसार एकपटकमा अधिकतम ५ हजार, दैनिक १५ हजार र मासिक २५ हजारको सीमा निर्धारण गरेको छ । सुरक्षाको हिसाबले पनि केन्द्रीय बैंकले यस्तो सीमा निर्धारण गरेको हो । भुक्तानी सेवा सुरक्षित गराउँदै यो सीमालाई फुकाउँदै जानुपर्छ । सर्वसाधारणको प्रयोग बढ्दै जाँदा सीमा बढाउन आवश्यक छ ।

मोबाइल वालेटबाट दक्षिण दिने समय आउँछ
राजु पौडेल
जनसम्पर्क प्रमुख, आईएमई ग्रुप
नेपालमा नगदको प्रयोग हाम्रो धर्म, संस्कृति, परम्परासँग जोडिएको छ । त्यसैले चाडपर्वमा टीकाटालो गर्दा दक्षिणका रूपमा नगद प्रयोग गरिन्छ । भगवानलाई चढाउनदेखि टीका लगाएर दक्षिणा दिनसमेत नगद नै प्रयोगमा छ । अब विस्तारै नगदरहित कारोबार गर्नुपर्छ भन्ने विषय बहसमा आएको छ, जसका कारण मोबाइल वालेटबाट पनि दक्षिण दिन सकिन्छ भन्ने विषयमा बहस सुरु भएको छ । दक्षिणमा नगद प्रयोग गर्ने परम्परा भएकाले यसमा वालेटको प्रयोग गर्नेबारे आजको भोलि नै परिवर्तन हुने विषय होइन । विस्तारै वालेटबाट दक्षिणा प्रचलन पनि आउँछ ।
नेपालमा पछिल्लो समयमा पनि युवापुस्तामा विद्युतीय भुक्तानी प्रणालीबारे आकर्षण बढिरहेको छ । प्रविधिको बढ्दो विकास, इन्टरनेटको पहुँच वृद्धिसँगै विद्युतीय भुक्तानीको प्रचलन बढिरहेको छ । यसलाई सरकार र नेपाल राष्ट्र बैंकले पनि प्रोत्साहन गरिरहेको छ । विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नका लागि नेपाल राष्ट्र बैंकले छुट्टै डिजिटल पेमेन्ट नीति जारी गरेको छ । यसैगरी विद्युतीय भुक्तानीलाई नियमन पनि सुरु गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका लागि बैंक तथा वित्तीय संस्थाका साथै गैरवित्तीय संस्थाहरूलाई पनि भुक्तानी सेवा प्रदान गर्ने लाइसेन्स दिएको अवस्था छ ।
विद्युतीय भुक्तानी सेवा बढाउनका लागि यससम्बन्धी काम गरिरहेका सबै संस्थाको सहकार्य जरुरी छ । सर्वसाधारणलाई विद्युतीय भुक्तानी प्रणालीमा सचेत गराउने अध्यस्त गराउने काम त्यति सजिलो छैन । सेवा सञ्चालन गरिरहेका कम्पनीहरूबीच एक किसिमको सेवा–सुविधाबारे प्रतिस्पर्धा होला । तर, विद्युतीय भुक्तानी सेवा प्रयोग गर्नेबारे सर्वसाधारणलाई जागरुक बनाउने हामी सबैको जिम्मेवारी हो । यसमा सबै सरोकारवालाको संयुक्त प्रयास जरुरी हुन्छ, कुनै एउटा कम्पनीको ब्रान्ड प्रवद्र्धनमात्र होइन ।
अहिले विद्युतीय भुक्तानी प्रणाली सबैभन्दा बढी प्रयोग युटिलिटी बिल पेमेन्टमा भएको छ । टेलिफोन, विद्युत्, मोबाइल बिल, रिचार्ज कार्ड टपअप लगायतका सेवा उपभोग विद्युतीय प्रणालीमार्फत हुने गरेको छ, जसका कारण सर्वसाधारणको दैनिकीलाई सहज बनाएको छ । आईएमई पेमार्फत हामी नयाँ–नयाँ ठाउँमा भुक्तानी सेवा दिनका लागि काम गरिरहेका छन् । रेस्टुराँ, किराना पसलमा पनि सामान खरिदमा विद्युतीय प्रणालीमार्फत भुक्तानी दिन सकिन्छ । यसैगरी नेपालीले अत्यधिक प्रयोग गर्ने पेट्रोल डिजेल खरिदमा भुक्तानी दिन पनि यो सेवा प्रयोग गर्न सकिन्छ । यसका लागि हामीले पेट्रोल पम्पसँग सम्झौता गरेर प्रयोग भइरहेको छ ।
पछिल्लो समयमा एटीएम सिस्टमबाट रकम चोरीको प्रयास भयो, जसका कारण हाम्रो प्रणालीप्रति सशंकित पनि बनायो । विद्युतीय सेवाप्रदायक संस्था यसतर्फ सचेत हुनुपर्ने देखिएको छ । आईएमई पेलाई सुरक्षित बनाउनका लागि १ सयजना इन्जिनियरको निगरानीमा सिस्टम चलेको छ । सिस्टमलाई सुरक्षित बनाउन सचेत छौं ।