जगन्नाथ दुलाल
आइतवार, फाल्गुन ६, २०७४
6849

नवीन्द्रराज जोशी, नेपाली कांग्रेसभित्र बौद्धिक र शालिन नेताका रूपमा परिचित छन् । नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै हाल कांग्रेस केन्द्रीय सदस्य रहेका उनले उद्योग मन्त्रालयको कार्यभारसमेत सम्हालिसकेका छन् । बन्द भएका केही उद्योग सञ्चालन र उद्योगमा लगानी भिœयाउँदै व्यापक रूपमा रोजगारी सिर्जना गर्न उद्योगमन्त्रीका रूपमा उनले गरेको प्रयासका कारण उनी चर्चामा रहे । आफूले गरेका कामको ‘मार्केटिङ’ गर्न कांग्रेसले नसकेको भन्दै उनी पार्टी विधिविधानअनुसार चल्न नसक्दा शिथिल र निस्क्रिय जस्तै भएको बताउँछन् । जोशी पार्टीलाई संगठनात्मक रूपमा चुस्तदुरुस्त र सैद्धान्तिक रूपमा थप सशक्त बनाउने गरी देशव्यापी अभियानमा निस्कने तयारीमा छन् । कांग्रेसमा नयाँ, प्रभावशाली संगठन र नेतृत्वको आवश्यकता रहेको र त्यसका लगि आफू तयार रहेको बताउने उनै पूर्व उद्योगमन्त्री, कांग्रेस केन्द्रीय सदस्य जोशीसँग भर्खरै गठन भएको नयाँ सरकार, देशको राजनीतिक, आर्थिक अवस्था र प्रतिपक्षमा रहेको कांग्रेसको अबको भूमिकाका बारेमा केन्द्रित रहेर कारोबारकर्मी जगन्नाथ दुलालले गरेको कुराकानीको सार:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्री बन्नुभएको छ । सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनकै सरकार बनेका छन् । कांग्रेस केन्द्रदेखि प्रदेशसम्म कमजोर अवस्थामा छ । पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
अहिलेकोे निर्वाचनमा अपेक्षाअनुरूपको परिणाम हामीले प्राप्त गर्न सकेनौं । कांग्रेसलाई बलियो प्रतिपक्षका रूपमा काम गर्न जनताले आदेश दिएका छन् । म जनतालाई भगवान्सरह नै मान्छु । यो जनताको मतलाई स्विकारेका छौं । लोकतन्त्रवादीको हैसियतले परिणाम जसको पक्षमा आओस्, हामीले जनताको मतलाई स्विकार्दै हामी प्रतिपक्षमा बसेका छौं । अहिले जुन वाममोर्चाको जुन सरकार बनेको छ, यसले भावी दिनमा कस्तो राजनीतिक रंग लिन्छ, राजनीतिक रूपमा यसले कस्तो व्यवहार गर्छ, देश र जनताका पक्षमा यो सरकारले कति काम गर्न सक्छ, संविधानको मूल बुँदाहरूमा जुन लोकतन्त्र छ, जनताका लोकतान्त्रिक अधिकारहरू छन् । संविधानले शासन प्रणाली कस्तो हुने व्यवस्था गरेको छ । त्यसलाई द्वन्द्वात्मक रूपमा लाने गरी निर्वाचनका बेला जुन कुरा उहाँहरूबाट व्यक्त भएका छन्, त्यसतर्फ लाने हो कि अथवा राजनीतिक स्थायित्वतिर जाने हो, त्यो हेर्न बाँकी छ । देशलाई आर्थिक स्थायीत्व दिन सरकारले कस्तो कार्यक्रम ल्याउँछ, त्यो पनि हेर्न बाँकी छ । समग्रमा यो सरकारको व्यवहार, यसका नीति–कार्यक्रम हेरेपछि हामी आफ्नो कुरा राख्छौं । नेपाली जनतालाई के विश्वास दिलाउन चाहन्छु भने स्थापित लोकतन्त्रलाई कसैले हल्लाउन सक्दैन । संविधानका मूल आधारहरूमा कसैले द्वन्द्व जन्माउन खोज्यो भने हामी कडा रूपमा प्रस्तुत हुनेछौं । द्वन्द्व हुन दिनेछैनौं । राजनीतिक स्थायित्व र समृद्धितर्फ नै हाम्रो यात्रा अगाडि बढ्छ ।

कांग्रेसको नेतृत्वमा संविधान बन्यो । तर, त्यही संविधान कार्यान्वयनका लागि भएको निर्वाचनमा कांग्रेस कमजोर देखियो । कांग्रेस कहाँ–कहाँ चुकेको ठान्नुहुन्छ ?
हामीले आफूलाई मार्केटिङ नै गर्न सकेनौं । कांग्रेसले आफूलाई विधि विधानअनुसार हिँडाउन सकेन । विधानमा स्पष्ट १४ सदस्य संसदीय बोर्ड हुने उल्लेख छ । त्यो कति सदस्यीय छ, आजसम्म पनि थाहा छैन । कार्यसम्पादन समिति २५ सदस्यीय हुन्छ । सुनिन्छ, २९ सदस्यीय छ । विधानमा आफूलाई आवश्यक लाग्छ, परिवर्तन गरे हुन्छ । तर, विधानमा लेखेको कुराविपरीत जान पाइँदैन । त्यसले स्वेच्छाचारिता बढाउँछ । विधानमा १ उपसभापति, १ महामन्त्री र १ सहमहामन्त्री मनोनीत हुने व्यवस्था छ । विधानमा उल्लेख छ, विभागहरूले काम गर्ने । आज ६४ वटा विभागले विविध ठाउँमा आफ्नो विभागको काम गर्नुपर्ने, केन्द्रीय सदस्यहरू त्यसमा लाग्नुपर्ने, देशभरका हाम्रा कार्यकर्ता–शुभेच्छुकलाई समेटेर विभागलाई पूर्णता दिनुपर्नेमा त्यो हुन सकेको छैन । कता–कता ‘एक्स्ट्रा कन्स्टिच्युसन’का रूपमा केही व्यक्तिले काम गरेको पाउँछौं । राजनीतिक पार्टी भनेको एउटा मेसिनजस्तो हो । उपकरणहरू सबै तम्तयार भएर बस्नुपर्छ । एउटा निर्वाचन भनेको एक किसिमको राजनीतिक लडाइँ हो । त्यो उपकरण तम्तयार नै राख्न सकेनौं । राजनीतिक हतियारलाई धारिलो बनाउन सकेनौं । खिया लागेको जस्तो भयो । प्रतिपक्षले जुन मिथ्या प्रचार गरेर त्यसको डटेर मुकाबिला गर्न सकेनौं । कुनचाहिँ नाराले जनताको मन छुन्छ, त्यो नारा तय गर्न सकेनौं । सैद्धान्तिक रूपमा कम्युनिस्टहरू हामीभन्दा फरक छन् । उनीहरूले वाम मोर्चा बनाउँदा जुन सिद्धान्त, विचारका कुरा राखे, त्योसँग हाम्रो सिद्धान्तले कसरी प्रतिस्पर्धा गर्ने, प्रशिक्षण गर्ने काम पनि भएन । जनतामा लैजाने मुद्दा के हो, त्यो उठाउन सकेनौं । हामीले घोषणापत्र त बनायौं, तर ती मुद्दालाई हामीले लैजान सकेनौं । हामी मास बेस्ड पार्टी हौं । उनीहरू क्याडर बेस्ड पार्टी हुन् । युवाहरूलाई परिलक्षित गरेर कार्यक्रम दिन हामी चुकेका छौं ।
काम गरेका पनि छौं । त्यसलाई भन्दैनौं पनि हामी । आफ्नै साथीको धेरै प्रमोसन होला भनेर गरेको ठूलो काम बारे थोरै पनि भन्दैनौं । सकेसम्म मौन बस्छौं । यो प्रवृत्ति कांग्रेसभित्र अर्थपूर्ण व्यापक एकता गर्दै एकले अर्कालाई विश्वास गर्ने अवस्था बनाउनुपर्छ कांग्रेसले । त्यसमा पनि कतिपय कमीकमजोरी हामीले देख्यौं । नयाँ संविधान आइसकेपछि पार्टी विधानमै पनि व्यवस्था छ । आजसम्म प्रदेश संरचनाको कुरा छ । त्यो पनि बनेन । पार्टीमा एक प्रकारको शिथिलता र निष्क्रियता देखियो । त्यसकारण हामी भनिरहेका छौं, अब नयाँ, प्रभावशाली संगठन र नेतृत्वको आवश्यकता छ । नयाँ रूपमा अगाडि बढ्न आवश्यक छ ।

उद्योगमन्त्रीका रूपमा तपाईंले गरेका कामको प्रशंसा पनि भयो । नेपालको औद्योगिक क्षेत्रलाई नजिकबाट बुझ्नुभएको पनि छ । साँच्चै नेपालमा औद्योगीकरणका लागि चुनौती र सम्भावना के देख्नुहुन्छ ?
नेतृत्वको भिजन मुख्य कुरा हो । म यो देशलाई कहाँ पुराउन सक्छु । जो मन्त्री हुन्छ उसले वास्तविक विश्लेषण गर्नुपर्छ । कति वर्षमा देशलाई कहाँ पुराउन सकिन्छ, के–के गर्न सकिन्छ भन्ने दृष्टिकोण हुनुपर्यो । मलाई १० वर्षभित्रमा सबैलाई रोजगारी दिन सकिन्छ भन्ने विश्वास थियो । त्यसका पछाडि दुईवटा कारण थिए । एउटा त, म धेरै ऐन पारित गराउन सफल भएँ । सबै पार्टीको सहयोग पनि पाएँ । दोस्रो, लगानी सम्मेलन गरेँ । त्यहाँ नेपाल आएका सबै ठूला–ठूला व्यापारीसँग वार्ता गर्न पाएँ । उनीहरूको भावना बुझ्न पाएँ । नेपाललाई उनीहरू माया पनि गर्छन् । नेपालमा केही गरौं भन्ने भावना पनि छ । नेपालबाट फाइदा हुन्छ भन्ने पनि उनीहरूलाई थाहा छ । नेपालको अनुभव पनि यहाँ लगानी गरेका डाबरजस्ता कम्पनीले राम्रो फाइदा कमाएका छन् ।
त्यसकारण पहिलो कुरा, एउटा लक्ष्य निर्धारण गर्नुपर्छ । दोस्रो कुरा, राजनीतिक समर्थन लिने कुरामा राजनीतिक दल र नेताबाट सहयोग हुनुपर्छ । तेस्रो कुरा, कर्मचारीतन्त्रलाई विश्वासमा लिएर काम गर्नुपर्छ । कर्मचारीतन्त्रले पनि देश निर्माण गर्न आएको हुँ भन्ने भावना लिएर हिँड्नुपर्छ । कोही लगानी गर्ने मान्छे आयो, तर कर्मचारीले ‘यति पैसा चाहिन्छ, यहाँ के काम गर्छौ’ भन्दियो भने लगानी गर्न आएको मानिस तुरुन्त भाग्छ । अहिले भर्खरै मात्र पनि दुईवटा ठूलठूला कम्पनी गए ।
संसारभरमा अहिले जसले आर्थिक प्रगति गरे; चाहे भारत होस्, चीन होस् । दक्षिण कोरिया, भियतनाम, लाओसको कुरा गर्नुस् । त्यहाँ मूलतः जुन प्रत्यक्ष विदेशी लगानी (एफडीआई) आयो । त्यसबाटै उनीहरूले प्रगति गरे । यहाँ त्यसलाई व्यवस्थित गरौं । मैले सधैं भन्दै आएको छु, हाम्रो एउटा तरुण साथीले अरूको देशका ५१ डिग्री सेल्सियसमा बसेर तपतप पसिना चुहाएर काम गरेको राम्रो हो कि त्यो कम्पनीलाई यहीँ बोलाएर हाम्रो सर्र्तमा त्यो कम्पनीलाई काम गराएको राम्रो ? ऊ आफ्नो परिवारसँग बस्न पाउँछ । आफ्नो देशमा बस्न पाउँछ । विदेश जाँदा दोस्रो तहको नागरिक हुने हो, तर देशमा ऊ पहिलो दर्जाको नागरिक हो ।

एफडीआई भित्राउने सम्बन्धमा पनि विगतमा यहाँ विरोधका स्वर सुनिएका छन् । अहिले पनि एफडीआई ल्याउनै हुन्न भन्ने मत झिनै भए पनि छ । अर्को कुरा, स्वदेशी लगानीकर्ता पनि लगानीका लागि उत्साही देखिँदैनन् । यस्तो अवस्थामा कसरी औद्योगिक विकास होला ?
पूर्वाग्रह नराखीकन हामीले विदेशी लगानी भित्राउनुपर्छ । कर्मचारीतन्त्र पनि महत्वपूर्ण छ । हाम्रै स्वदेशी लगानीकर्तालाई विशेष गरी रोजगारी सिर्जना गर्ने गरी काम गर्नेहरूलाई प्राथमिकता दिनुपर्छ । अहिले त एजेन्सी लिन पायो भने पुग्यो । हिजोका उद्योगपति हेर्नुहुन्छ भने धेरै अहिले एजेन्सी लिएर बसेका छन् । मैले बन्द भएका उद्योग खोल्ने प्रयास गरेँ । त्यो बजारलाई विश्वास दिनका लागि थियो । नेपालमा उद्योगको सम्भावना छ । यहाँ कर्मचारीले पनि सहयोग गर्छन् । मजदुरले पनि सहयोग गर्छन् । यहाँ व्यवस्थित गर्न सकिन्छ भन्ने आत्मविश्वास अरूबाट भएन भने सरकारले दिनुपर्छ । त्यसैले मैले औषधि, गोरखाली, म्याग्नेसाइट वा चिनी उद्योग भन्नुस्, सञ्चालनमा ल्याएँ । जति बेला म मन्त्री भएँ, यी कामबाट बजारलाई आत्मविश्वास प्राप्त भयो । अहिले पनि विदेशी लगानी बढेको छ । लगानीकर्तालाई लगानीका लागि आत्मविश्वास दिन सकिएन, त्यसमा अप्ठ्यारो पर्यो भने फेरि यो घट्छ । कहिलेकाहीँ ठूलो लक्ष्यका लागि साना लक्ष्यहरू बिर्सनुपर्ने पनि हुन्छ । ‘का’ लेख्नुपर्नेमा ‘क’ लेख्या रहेछ भनेर फर्म फर्कनु भएन । अनलाइनको सिस्टम ल्यायौं । मुख्य कुरा ‘इन्ट्री, अपरेसन र एक्जिट’ सजिलो बनाइयो भने नेपालमा लगानी आउँछ भन्ने मेरो विश्वास हो । लगानी सम्मेलनमा १४ खर्बको प्रतिबद्धता आयो । तर, हामी प्रक्रिया नै परिभाषित गर्दैनौं । मैले गएर पनि भनेँ । उहाँहरू तीन महिना अघिसम्म पनि मकहाँ आउनुभयो । चीन र जापानको टोली आयो । मैले अहिले म मन्त्री छैन भनें । उहाँहरूले मेरो सुझाव माग्नुभयो, केही सुझाव दिएँ । त्यो सहजता र नम्रता उनीहरूलाई दिन सक्नुपर्छ । हाम्रो पुँजीकर्ताले त यो अप्ठ्यारोमा नआउने भनेर पछाडि बस्नुभएको थियो । मैले ‘म विदेशीलाई त बोलाइरहेको छु, तपाईंहरू पनि आउनुस्’ भनेँ । नेपालीहरूले पनि लगानी गर्नुपर्छ । त्यसका लागि सरकारले सहज वातावरण बनाउनुपर्छ । कसैले केही गर्न लाग्यो कि त्यसलाई कसरी सिध्याउने भन्ने छ । त्यसो होइन, अब कसैले केही गर्न लाग्यो भने उसलाई कसरी अझ उत्साहित बनाउने भन्नेतर्फ हामी अघि बढ्यौं भने भोलि सम्पन्न समाज हुन्छ । समृद्ध राष्ट्र बन्छ ।
२८ खर्ब लगानी गराउन सकियो भने यहाँ रोजगारीको समस्या हुँदैन । १ खर्ब लगानीले १८ जनालाई प्रत्यक्ष रोजगारी दिन्छ । त्यसको अप्रत्यक्ष प्रभाव १ देखि ४ जनासम्म हुन्छ । १० वर्षको लक्ष्य राखेर २८ खर्ब लगानी गर्न सकियो भने नेपालमा राम्रोसँग हामी रोजगारी दिन सक्छौं ।
अहिले वाम गठबन्धनको नेतृत्वमा सरकार बनेको छ । सिद्धान्ततः वैदेशिक लगानीप्रति सकारात्मक नरहने वामपन्थीहरूको सरकार हुँदा विदेशी लगानीका लागि केही फरक पर्ला वा नपर्ला ?
यसमा अहिले नै मैले टिप्पणी गरिहाल्नु उचित नहोला । तर, चुनावपछि केही विदेशी साथीहरूसँग कुरा हुँदा के पाएको छु भने उनीहरू वामपन्थीहरूको सरकार आयो ‘लेट्स सी’ भन्छन् । अब मैले चाहिँ त्यस्तो नहोला भनेँ । किनभने हाम्रो देशको वास्तविकता कम्युनिजम् नै ल्याउँछु भनेर लाग्नुभयो भने देशले धान्दा पनि धान्दैन । आउँदा पनि आउँदैन । त्यो उहाँहरूको प्रतिबद्धता पनि होइन । संसदीय व्यवस्थामा चुनाव लडेर, जनतालाई हामी प्रजातान्त्रिक हौं भनेर आउनुभएको हो, कम्युनिस्ट भनेर होइन । त्यसकारण उहाँहरूको कस्तो व्यवहार जनतासँग, कांग्रेससँग र अरूसँग गर्नुहुन्छ, त्यसमा धेरै कुरा निर्भर गर्छ भन्ने लाग्छ । कुनै पूर्वाग्रह नराखी अगाडि बढ्नुपर्छ ।

कांग्रेस अहिले संख्याका हिसाबले कमजोर प्रतिपक्षको भूमिकामा आइपुगेको छ । प्रतिपक्षका रूपमा संसद्मा र संसद्बाहिर कांग्रेसको प्रस्तुति कस्तो रहन्छ ?
देशका पक्षमा, जनताका पक्षमा हुने राम्रा कामको हामीले समर्थन गर्छौं । त्यसको विपक्षमा हुन थाल्यो भने हामी खबरदारी गर्छां । तर, मलाई केही डर पनि छ । कतै देशलाई कंगाल बनाउनेतर्फ त जाँदैन ? ५ हजारले पुग्दैन, १० हजार दिन्छौं कि दिँदैन भनेर सोध्दा ‘हुन्छ, दिन्छु’ भनेका छन् । देश त चल्नुपर्यो नि । हामीले जे गरे पनि हुन्छ भन्ने परिस्थिति आयो र त्यो रूपमा देशलाई लान खोजियो भने हामी कडा रूपमा प्रस्तुत हुनुपर्छ भन्ने मेरो धारणा हो । अहिले हामी प्रतिपक्षमा बस्ने हो । जनतालाई भगवान्सरह मान्ने मान्छे हुँ म । कांग्रेस अनुभूत हुने गरी परिवर्तन हुने विश्वास म जनतालाई दिलाउन चाहन्छु । कांग्रेसलाई त्यो अवस्थामा हामी पु¥याउँछौं । नेतृत्वले जसरी दृष्टिकोण दिनुपर्ने हो । त्यो आउन सकेको छैन । अब हामी अभियानकै रूपमा अगाडि बढ्नेछौं । वैचारिक र सैद्धान्तिक रूपमा प्रखर, जनताको मुद्दा उठाउने पार्टीका रूपमा संगठनलाई चुस्त–दुरुस्त बनाउँछौं । सारा कांग्रेसीलाई एक ठाउँमा ल्याउँछौं । यो मास बेस्ड पार्टी हो । मासलाई अपिल गर्न सक्ने बनाउँछौं । संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउँदै हामी समृद्ध राष्ट्र बनाउन चाहन्छौं । वाम गठबन्धनले निर्वाचनअघि मिथ्यापूर्ण जे भ्रम छरेको छ, त्यसलाई चिर्छौं । संगठनलाई मजबुत बनाएर जान्छौं । आउँदो निर्वाचनसम्म प्रस्ट बहुमत आउने गरी काम गर्छौं ।

लोकतन्त्र प्राप्तिपछि स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसक्दासम्म कांग्रेसको भूमिकालाई कसरी विश्लेषण गर्नुहुन्छ ? कति सफल, कति असफल ?
नेपाली कांग्रेसले संविधानसभाको निर्वाचन सम्पन्न ग¥यो । संविधान निर्माण पनि कांग्रेसकै नेतृत्वमा बन्यो । त्यसको कार्यान्वयनका लागि स्थानीय निर्वाचनको तेस्रो चरणको निर्वाचनदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन कांग्रेसले गरायो । यस अर्थमा कांग्रेसले एउटा ठूलो जिम्मेवारी पूरा गरेको छ । नेपालको राजनीतिलाई स्थायित्व दिन कांग्रेसले पूरा गरेको जिम्मेवारी आधार हो भन्ने मलाई लाग्छ । कांग्रेसले संविधानबाटै शान्ति र समृद्धि आउन सक्छ र त्यसका लागि पहिलो सर्त भनेको संविधानको कार्यान्वयन हो । संविधानको कार्यान्वयनमा कांग्रेसले प्राप्त गरेको सफलताबाट नेपालको राजनीतिले स्थायित्व पाउने कुरामा म आशावादी छु ।

कांग्रेसमा अहिले नयाँ नेतृत्वका बारेमा चर्चा छ । अवसर पाउँदा केही गरेर देखाउने तपाईंहरूजस्ता नेताहरू अबको महाधिवेशनबाट मूल नेतृत्वमा आउने सम्भावना कत्तिको छ ?
पार्टी सञ्चालन कसरी हुनुपर्छ भन्ने दृष्टिकोण हामीले प्रस्तुत गरेका छौं । तपाईंलाई म यतिचाहिँ भन्छु, जो नेतृत्वमा आउँछ त्यो नेतृत्वको अहिलेभन्दा फरक प्रवृत्ति हुन्छ । उसले जनतासमक्ष प्रस्तुत हुने, कार्यकर्तासँग कसरी प्रस्तुत हुने भन्ने विषयको स्वरूप नयाँ हुन्छ ।
पार्टीलाई सशक्त वैचारिक रूपमा, स्वच्छ छवि, चुस्त–दुरुस्त संगठन निर्माण गर्न सक्ने जनतामा प्रिय व्यक्ति नै नेतृत्वमा आउँछन् भन्ने मेरो विश्वास छ । कतिपय कुरा अहिले भन्नु हतार पनि हुन्छ । भर्खर हामी पहिलो कदम चाल्दै छौं । निर्वाचनको परिणामपछि एउटा अनुभूति भएको छ । केही जिम्मेवारी मेरा पनि होलान् । हामी सबैले जिम्मेवारी बोक्नुपर्छ । त्यसका लागि म तयार पनि छु ।
कांग्रेस जनताको भविष्य निर्माण गर्न सक्ने पार्टी हो । यो पार्टी कमजोर हुँदा देश पनि कमजोर हुन्छ । एउटा नजानिँदो स्थायित्व कांग्रेसले दिएको छ । अनुभूत हुने स्थायित्व दिएको छ । कसलाई विश्वास गर्ने त ? भन्दा ‘कसैले गर्न सकेनन् भने कांग्रेस छ नि त’ भन्ने एउटा विश्वास जनतामा छ । जसले जे भने पनि आर्थिक स्थायित्व कांग्रेसकै सरकारमा आएको छ । यत्रो उदारीकणको नीति हामीले अघि बढायौं, औषधि उद्योग खोल्ने अवसर मैले पाएँ । केही कुरा हामीले बुझ्न सकेनौं । तर, त्यसलाई पहिल्यै मर्न दिनु हुँदैनथ्यो । त्यसले के गर्छ भने गुणस्तर मूल्य नियन्त्रण गर्छ । हामी समाजवादी पनि हौं । हामी उदारवादी पनि हौं । समाजवाद र उदारवादको मिश्रणबाट हामीले सोच्नुपर्छ । तल्लो तहको जनतासम्म सुविधा पनि पुराउने र देशको आर्थिक समृद्धि पनि ल्याउने गरी सोच्नुपर्छ । दिने जनतालाई नै हो । तर, हामीले देशको राजनीतिक, सामाजिक, आर्थिक स्थायित्व दिन सक्नुपर्छ । कांग्रेसलाई मजबुत बनाउने अभियान सुरु गर्दै छौं । आगामी महाधिवेशनसम्म कांग्रेसलाई बलियो, चुस्त–दुरुस्त बनाउने अभियानमा हामी अगाडि बढ्दै छौं ।

कम्युनिस्टहरूले चुनावमा भाग लिए । अहिले सबैभन्दा ठूलो पार्टी भएका छन् । अझै पनि लोकतन्त्रमाथि खतरा देखिन्छ र ?
कांग्रेसले लोकतन्त्रका लागि लामो लडाइँ लड्यो । २००७ सालमा प्रजातन्त्र आएकै दिनदेखि लोकतन्त्रविरोधी तत्व पनि सक्रिय भए । कम्युनिस्टको एकता हेर्नुभयो भने संविधान नै परिवर्तन गर्छौं भन्ने कुरासम्म आयो । कता–कता लोकतन्त्र अहिले पनि सुरक्षित छैन । कसको हातमा लोकतन्त्र सुरक्षित हुन्छ ? समृद्धि कसको हातमा सुरक्षित हुन्छ ? भन्ने प्रश्न छ । लोकतन्त्र र समृद्धि दुवै नेपाली कांग्रेसको हातमा हुँदा मात्र सुरक्षित हुन्छ । लोकतन्त्रको बर्को ओढी साम्यवादको नारा दिएर अवसरवादमा टेक्ने जुन प्रवृत्ति देखिएको छ, त्यो नेपालको हितमा छैन ।