कारोबार संवाददाता
आइतवार, भदौ १५, २०७६
1135

नेपालको कम्युनिस्ट आन्दोलनको एक इतिहास बोकेका नेता हुन्— मोहनविक्रम सिंह । १९९२ सालमा जन्मिएका सिंह प्युठानका स्थायी बासिन्दा हुन् । २००७ सालदेखि नै नेपालको राजनीतिक परिस्थिति, आन्दोलन र संघर्षमा होमिँदै आएका सिंह तत्कालीन अवस्थामा नेपाली कांग्रेसबाट प्रजातान्त्रिक आन्दोलनमा होमिए र २००८ सालदेखि राजनीतिक खेमा परिवर्तन गरी निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका छन् । नेपालको कम्युनिस्ट आन्दोलनलाई उनले नजिकबाट नियालेका छन् । कम्युनिस्ट आन्दोलनका अगुवा र अभिभावकका रूपमा समेत सिंहलाई लिने गरिन्छ । विद्यार्थी कालदेखि नै नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका सिंहले विभिन्न संघर्ष र आन्दोलनका क्रममा विभिन्न कालखण्डमा जेलजीवनसमेत बिताइसकेका छन् । उनै सिंह अहिले नेकपा मसालका महामन्त्री छन् । कम्युनिस्ट अगुवा र अभिभावक मानिए पनि उनले नेतृत्व गरेको नेकपा मसालको जनाधार भने निकै कमजोर मानिन्छ । अहिले नेकपाको दुईतिहाइको बहुमतले सरकारको नेतृत्व गरिरहेको छ । यसै सन्दर्भमा कम्युनिस्ट नेतृत्वको सरकार, यसको कार्यशैली, नेपालको कम्युनिस्ट आन्दोलन र उनले नेतृत्व गरेको नेकपा मसालको धारणालगायत विषयमा केन्द्रित रहेर कारोबारकर्मी प्रज्वल पहाडीले सिंहसँग गरेको कुराकानीको सार :

केमा व्यस्त हुनुहुन्छ अहिले ?
भर्खरै हामी पार्टीको आठौं महाधिवेशन सम्पन्न गरेका छौं । देशभरबाट पार्टीका प्रतिनिधिको उपस्थितिमा महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पार्टीका विभिन्न कार्यनीति तथा प्रस्तावहरू पारित गरेको छ । ती नीति तथा प्रस्ताव कार्यान्वयनको सन्दर्भमा हामीहरू अहिले छलफल, सरसल्लाह आदि विषयमा जोड दिएर लागेका छौं ।

नेकपा मसालको हालै सम्पन्न आठौं महाधिवेशनबाट तपाईं पुनः पार्टीको महामन्त्री चयन हुनुभएको छ । झन्डै साढे तीन दशक लामो समय पार्टीको नेतृत्व गर्दै गर्दा तपाईंमा पदलोलुपता देखियो नि ?
पार्टीको आठौं महाधिवेशनले मलाई पुनः पार्टीको महामन्त्रीको जिम्मेवारी प्रदान गरेको छ । जोसुकै मान्छे पदको दुरुपयोग गरेर व्यक्तिगत लाभ उठाउन उद्यत हुन्छ, नेतृत्वमा बसेर ऐस–आरामको जिन्दगी जिउन चाहन्छ र नेतृत्वमा बसिरहन्छ भने त्यो पदलोलुपता हो । तर, कामको जिम्मेवारीअनुसार पार्टीको आवश्यकतालाई लिएर लामो समयसम्म पदमा बस्छ भने त्यसलाई पदलोलुपता भन्न मिल्दैन । पार्टीको नेतृत्वमा रहेर सुखको जीवन बिताउने उद्देश्यले म पार्टीको महामन्त्री चुनिएको होइन । पार्टीका अझै पनि धेरै कामहरू पूरा हुन बाँकी छन् । संघर्ष, आन्दोलन र जनताका जनअपेक्षा पूरा गर्न अझै पनि धेरै काम बाँकी छन् । त्यो खालका जिम्मेवारी बहन गर्न मलाई महामन्त्रीको जिम्मेवारी दिइएको हो । यी अभिभारा पूरा गर्नका लागि र नेपालको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु-याउन जुन खालको मेरो दृढता छ त्यसलाई मध्यनजर गरेर पार्टीले मलाई नेतृत्वको अवसर दिएको हो । त्यसमा म अझै सक्रिय भएर दृढताका साथ लाग्नेछु ।

नेकपा मसाल अर्थात् मोहनविक्रम सिंहबाट कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्दैन । पार्टीले उठाएका सवाल र कार्यदिशा यथास्थितिवादी छन् भन्ने आरोप छ नि ?
पार्टीले जुन आफ्ना नीतिहरू बनाउँछ त्यो देशको परिस्थितिअनुसार वस्तुपरक हुनु जरुरी रहन्छ । त्यसका लागि हामीले कम्युनिस्ट आन्दोलनलाई उचाइमा पु-याउन सकिरहेका छैनौं । त्यसले अहिलेको परिस्थितिमा कम्युनिस्ट आन्दोलन कमजोर बन्दै आएको छ । रक्षात्मक दिशामा अगाडि बढ्दै आएको छ । समाजवादी आन्दोलनका विभिन्न स्वरूपहरू देशमा अगाडि बढेका छन् । तर, अहिल्यै क्रान्तिकारी अर्थात् सशस्त्र द्वन्द्वमा जान सम्भव छैन । यसपूर्व माओवादीले, पूर्वमालेहरूले र भारतमा नक्सालवादीहरूले सशस्त्र द्वन्द्व उठाए, जुन पतनको बाटोमा अगाडि बढ्यो, असफल भयो । त्यतिबेला पनि हामीले भनेका थियौं, कम्युनिस्ट आन्दोलनलाई सशस्त्र द्वन्द्वका रूपमा मात्रै बुझ्नु हँुदैन; देशको परिस्थिति, वस्तुगत अवस्था अनुकुल छ वा छैन भन्ने कुरा प्रमुख रहन्छ । त्यसबाट उनीहरू पछाडि हट्नुप-यो । यसकारण हामीले उठाएका आन्दोलनलाई यथास्थितिवादी भन्न मिल्दैन । वस्तुपरक ढंगबाट कम्युनिस्ट आन्दोलनलाई हामीले अगाडि बढाएका छौं । सबै प्रकारका भड्कावबाट बचेर हामीले वस्तुपरक ढंगले वस्तुको सही विश्लेषण गरेर आन्दोलन र संघर्षलाई अगाडि बढाएका छौं । उग्रपन्थी वा दक्षिणपन्थी भड्कावहरूबाट जोगिँदै हामीले कम्युनिस्ट पार्टीको आदर्श र सिद्धान्तअनुसार हामी अगाडि बढेका छौं । यसलाई यथास्थितिवाद भन्न मिल्दैन । अहिल्यै बढ्ता क्रान्तिकारी कुरा गरेर विभिन्न भड्कावहरू अगाडि बढाउनका लागि त्यस खालको परिस्थिति तयार भएको छैन, त्यसले गर्दा हामी संयम बनेर राजनीतिक दृष्टिकोणलाई जनतामाझ लएर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउँदै आएका छौं । यो यथास्थिति होइन, देशको परिस्थितिअनुसार वस्तुपरक छ ।

जनताका जनअपेक्षा निराशामा बदलिँदै आएका छन् । सरकारको काम गर्ने शैली फेरिएको छैन । यो अवस्थामा तपाईं र तपाईंको पार्टीले गर्दै आएको आन्दोलन र संघर्ष यथास्थितिभन्दा कसरी फरक भयो ?
निश्चित रूपमा यो निराधार हो । हामीले अग्रगामी रूपमा नीति तथा कार्यक्रमहरू अगाडि बढाएका छौं । तत्काल हामीले सशस्त्र संघर्ष अर्थात् जनयुद्ध सञ्चालन गर्न सकेका छैनौं । सशस्त्र संघर्ष जनयुद्धमा गएका पार्टी पनि परिस्थितिजन्य आधारहरू तयार नहुँदा पछि हट्नुपरेको अवस्था हाम्रा सामु छन् । त्यस ढंगले अहिले नै बढ्ता क्रान्तिकारिताका कुरा गरेर त्यो दिशामा अगाडि बढ्ने आधार र परिस्थिति तयार नभएका कारण हामी अगाडि नबढेको हो, यस कारण पनि हामीमाथिको आरोप निराधार छ । सरकारले गर्ने गलत कामप्रति खबरदारी गर्ने, जनदबाबहरू सिर्जना गरेर बढीभन्दा बढी जनताका सवालहरू सम्बोधन गर्न सरकारको ध्यान केन्द्रित गर्ने काम अहिलेको प्रमुख आवश्यकता हो । त्यसका लागि हामी आन्दोलनको अग्रपंक्तिमा उभिएर जनजीविका, राष्ट्रियताको रक्षा, दलित, जनजाति किसान, मजदुर आदिको हकअधिकार वकालतमा दृढतापूर्वक सम्झौताहीन प्रकारले लागिरहेका छौं ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सन्दर्भमा पार्टी लागिरहेको बताउँदै गर्दा पार्टीको आकार किन खुम्चिँदै छ ?
प्रस्ट रूपमा के छ भने आजको स्थितिमा विश्व कम्युनिस्ट आन्दोलन नै कमजोर बन्दै गएको छ । हिजोको अवस्थामा विश्व कम्युनिस्ट आन्दोलन जति बलियो, मजबुत थियो, त्यो परिस्थिति आज छैन । समाजवादी व्यवस्था पतन हुँदै आएको छ । हामी देख्छौं, रूसमा स्थापित समाजवादी अवस्थासमेत पछिल्लो चरण अन्त्य भएको छ । यस्ता कैयौं उदाहरण छन् । यो स्थितिमा हाम्रो पार्टीले जसरी एउटा आफ्नो राजनीतिक एजेन्डालाई अगाडि बढाएको छ । प्रतिकूल वातावरणमा समेत कम्युनिस्ट आन्दोलनको रक्षा गर्दै अगाडि बढ्न सफल रहेका छांै । यो नै महत्वपूर्ण कुरा हो । उग्रवामपन्थी, दक्षिणपन्थीजस्ता भड्कावसँगै विश्व कम्युनिस्ट आन्दोलनमा जति पनि अवसरवादका कुरा देखापरेका छन् यस स्थितिमा संख्यात्मक गणनाभन्दा नीतिगत दृढताको कुरा मुख्य आउँछ । त्यसले गर्दा संख्यात्मक रूपमा कम भए पनि हामी सही बाटोमा कम्युनिस्ट आन्दोलनका नीति सिद्धान्तलाई नै अंगीकार गरेर अगाडि बढ्न सक्नु महत्वपूर्ण कुरा हो, जसले देशको परिस्थितिलाई, कम्युनिस्ट आन्दोलनलाई नजिकबाट बुझेको छ । अवसरवादी सोच छैन, त्यस्ता व्यक्तिहरू अहिले हाम्रो साथमा हुनुहुन्छ ।

कतै पार्टीको नीति नै मुख्य समस्या त होइन ?
निश्चित रूपमा हामी गलत नीतिमा हिँडेका छैनौं । पार्टीले जुन नीति अपनाएको छ, जस्तो— गणतन्त्र संस्थागत गर्ने नीति, राष्ट्रियताको नीति, संघीयता खारेजीको नीति, यस खालका जुन नीतिहरू हामीले अगाडि बढाएका छौं ती अत्यन्त सही छन् र अत्यन्त अग्रगामी पनि छन् । विश्व पुँजीवादको असर विस्तारै नेपालमा पनि बढ्दै गएको छ । विभिन्न अवसरको खोजीमा मान्छेहरू लामबद्ध लागेका छन् । यहाँको शासन–व्यवस्था त्यही रूपमा अगाडि बढेको छ । त्यसले गर्दा केही समस्या देखिएको छ । कम्युनिस्ट आचरणलाई समेत विस्तारै यसले ध्वस्त बनाउन उद्यत देखिन्छ । यो अवस्थामा सही कम्युनिस्ट आचरण, अनुशासनजस्ता कुरा महत्वपूर्ण आउँछन् । त्यो कुरालाई हाम्रो पार्टीले मुख्य जोड दिन्छ ।

पार्टीमा नयाँ विचार आउनेबित्तिकै पार्टी कारबाहीमा पर्नुपर्ने, केन्द्रदेखि जिल्लास्तरमा पुरानै नेताको नेतृत्वले नयाँ पुस्ताले अवसर पाउन नसक्दा पार्टी लाइन अगाडि आउन नसकेको भन्ने पनि सुनिन्छ नि ?
यो हामीमाथिको गलत आलोचना हो । पार्टीमा मतभेद आउनेबित्तिकै कसैलाई हप्काउनुपर्छ, कारबाही गर्नुपर्छ भन्ने होइन । पार्टी सञ्चालनका लागि विभिन्न नियम हुन्छन् । आचारसंहिताहरू हुन्छन् । ती आचारसंहिताअनुसार हामीले नयाँ विचारलाई प्रजातान्त्रिक ढंगले बहस, छलफलहरू सञ्चालन गर्ने र त्यसको व्यवस्थापन गर्दै आएका छौं । तर, पार्टी सञ्चालनका क्रममा बनेका नियम, आचारसंहिता मिचेर जाने कतिपय प्रवृत्ति पनि देखिन्छन्, हामी तिनलाई त्यहीअनुरूप व्यवस्थापन गर्दै आएका छौं । नियम उल्लंघन भएका छन् भने कारबाही हुनु स्वाभाविक हो । सच्चा कम्युनिस्ट पार्टीमा अनुशासन बढी महत्वपूर्ण कुरा पनि हो ।
दोस्रो कुरा, जुन नयाँ पुस्तालाई नेतृत्व तथा अवसरका कुराहरू छन् ती विषयलाई हामीले स्वागत गर्दै आएका छौं । त्यसखालका अवसरसमेत सिर्जना गर्दै आएका छौं । उमेरका हिसाबले एकाध जना बढी उमेरका भए पनि युवापुस्ता पार्टीमा हुनुहुन्छ । यसलाई त्यसरी बुझ्नु गलत हो ।

नेकपाको पुनर्गठनसँगै अहिले कम्युनिस्टको नेतृत्वमा सरकार बनेको छ ? यस खालको एकता, सरकारको कार्यशैली र यसले नेतृत्व गरेको कम्युनिस्ट आन्दोलन आदि विषयलाई यहाँले कसरी लिनुभएको छ ?
पहिलो कुरा त हामीले के भनेका छौं भने उनीहरूले जसरी नेपाल कम्युनिस्ट पार्टी भनेर गठन गरेका छन् । यसलाई हामीले कम्युनिस्ट पार्टीका रूपमा मान्दैनौं । विश्वमै एउटा मार्सवादी, लेलिनवादी सिद्धान्तबाट विचलन हुने प्रवृत्तिहरू बढेका छन् । त्यस्तो विचलन पूर्वमाओवादी र एमालेमा देखिएको थियो । त्यस खालको दक्षिणपन्थी संशोधनवादी मिलेर बनेको पार्टी कम्युनिस्ट पार्टी हुन सक्दैन । त्यसको अर्थ होइन, त्यसको हामीले सबै कुराको विरोध गर्छौं । उसको राजनीति को कम्युनिस्ट हो, को कम्युनिस्ट होइन भन्ने कुरामात्रै बुझ्दैनौं । राष्ट्रियताका विरुद्धमा, गणतन्त्रका विरुद्धमा, धर्मनिरपेक्षताका विरुद्ध कैयौं शक्ति लागिरहेका छन् । यसको विरुद्धमा उनीहरूले पनि आवाज उठाउँदै आएका छन्, यसको हामी समर्थन गर्छाैं । राजावादी शक्ति, मधेसवादीलगायतका शक्ति आदिले प्रतिक्रियावादलाई सघाउँदै आएका छन् । त्यसलाई परास्त गर्न हामीले तत्कालीन निर्वाचनको अवस्थामा एमाले माओवादी गठबन्धनसँग सहकार्य ग-यौं र ती प्रतिक्रियावादी शक्तिलाई असफल बनाउन सफल पनि भयौं । तर, उनका जति पनि गलत नीति तथा कार्यक्रम छन्, तिनको हामीेले निरन्तर विरोध गर्दै आएका छौं ।
दोस्रो जनपक्षीय काममा सरकारको तदारुकता जुन प्रकारले अगाडि बढ्नुपर्ने थियो त्यो भएको छैन । उनीहरूले जनाएका प्रतिबद्धता च्युत भएका छन्, जसले राष्ट्रियताका सवाल, जनअपेक्षित सवालहरू झन् कमजोर र ओझेलिँदै आएका छन् । यसले के देखाउँछ भने सरकार जनउत्तरदायी काम गर्नबाट असफलजस्तै बनेको छ । योसँगै उनीहरूले समाजवादउन्मुख कार्यक्रमहरूको जति पनि प्रचार गरेका छन् तिनका नीति तथा कार्यक्रमबाट समाजवाद उन्मुख भन्न मिल्दैन । यसले जनआंकाक्षा तथा राष्ट्रियता त कमजोर बनायो नै, सिंगो कम्युनिस्ट आन्दोलनलाई नै धराशायी बनाउन मद्दत गरिरहेको छ ।

सरकारको कार्यशैली असक्षम वा बाहिरी मुलुकको चलखेलले सरकार अघि बढ्न नसकेको हो ?
दुईवटै कुरा हो । कुनै व्यक्ति, पार्टी जति इमानदार, जनपक्षीय भए पनि उसले अहिलेको व्यवस्थामा जनपक्षीय काम गर्न सक्दैन । विदेशी साम्राज्यवादी शक्तिहरू, माफियाहरू आदिको प्रभावमा बहुराष्ट्रिय कम्पनीहरूको जबसम्म चलखेल चल्छ तबसम्म जस्तोसुकै कम्युनिस्ट पार्टी सरकारमा गए पनि राम्रो काम गर्न सक्दैन । अर्को कुरा, न्यूनतम रूपमा जनताका जनपक्षीय समस्याहरू सम्बोधन गर्ने कुरा हुन्, यसमा सरकार असक्षम बनिसकेको छ । उनीहरूको जुन प्रतिबद्धता थियो त्यसमा सरकार पछि हटेको छ । काम गर्न सकिरहेको देखिँदैन । उनीहरूमा एउटा दृढ इच्छाशक्ति र इमानदारितामा समेत अहिले प्रश्न उब्जिएको छ । उनीहरूको जुन प्रकारको कार्यशैलीमा कमजोरी छ, त्यसका कारण जनपक्षीय काम अगाडि बढ्न नसकेको स्पष्ट हुन्छ ।

त्यसो भए जनपक्षीय कामसँगै सरकारले समाजवाद उन्मुखका कुरा गर्दै आएको छ, यो दिशामा अगाडि बढ्न तत्काल सुधार गर्नुपर्ने विषयहरू के हुन् त ?
यो अवस्थामा उनीहरूमा देखिएको यथास्थितिवाद र पुनरावादबाट उनीहरू माथि उठ्नु जरुरी छ । अर्को कुरा, सरकारमा जुन काम गर्ने इच्छाशक्ति र इमान्दारिता हो त्यसमा आमूल परिवर्तन गर्नु जरुरी छ । जहाँसम्म सरकारले समाजवादउन्मुखका कुरा गरेको छ, त्यसअनुसार कार्यप्रणाली र नीति, बजेट, कार्यक्रम आदि कुरामा आमूल परिवर्तन गर्नु जरुरी छ । जनसवालका आधारभूत कुरालाई सम्बोधन गर्दै गरिब किसानहरूलाई हकबन्दी जग्गाको अधिग्रहण गरेर किसालाई वितरण गर्नुप-यो, उनीहरूको हक–अधिकारलाई संरक्षण गर्नुप-यो, राष्ट्रिय उद्योगहरूमा जुन खालको विदेशी कम्पनीहरू, दलाल पुँजीपतिको नियन्त्रण छ यी कुरा झन् बलियो बन्दै गएका छन्, सरकारले यसको नियन्त्रण गर्न सक्नुप-यो । बल्ल मुलुक समाजवादी दिशामा अगाडि बढ्न सक्छ, तर यो सरकारले जुन घोषणा गरेका विषयहरू थिए, त्योअनुरूप हुन सकिरहेको छैन ।

कम्युनिस्ट आन्दोलनका सन्दर्भमा कुरा गर्दै गर्दा अबको नयाँ राजनीतिक आन्दोलन कसरी अगाडि बढ्न सक्छ ?
देशको राजनीतिक व्यवस्था चिर्न र आमूल परिवर्तन गर्नका लागि नयाँ जनवादी क्रान्तिको आवश्यकता पर्छ । त्यसका लागि अहिल्यै त्यो परिस्थिति तयार भइसकेको छ भनेर हामी भन्दैनौं । त्यसका लागि हामीले अहिले त्यसखालको परिस्थिति सिर्जना भइसकेको छ भनेर भन्दैनांै । कुनै पनि क्रान्तिकारी संघर्ष सञ्चालन गर्नका लागि जबसम्म योजनाहरू गराउन सक्दैनौं, हामीले वस्तुस्थितिको मूल्यांकन गर्र्दैनौं त्यसबिना देशको आमूल परिवर्तन गर्न सम्भव छैन । त्यसका लागि तत्कालीन आवश्यकता जनतालाई सचेत बनाउने, जनताको समर्थन बटुल्दै जाने वर्तमान व्यवस्थाभित्र पनि बढीभन्दा बढी जनताका माग पूरा गर्ने, विकासहरू गर्ने, किसान, मजदुर, दलित, जनजातिका समस्याहरू समाधान गर्ने, विकास कार्यहरूलाई निरन्तरता दिने, विदेशी कम्पनीहरूको प्रभुत्वलाई नियन्त्रण गर्ने आदि कार्यक्रमलाई हामीले जोड दिएका छांै ।

मुलुक संघीय संरचनामा पुगिसक्यो, अझै पनि संघीयताको विरोध गर्नु उचित हो ?
संघीयताले देश नै संकटमा फस्दै गएको छ । राष्ट्रियता कमजोर बन्दै गएको छ । देशको अर्थतन्त्र कमजोर बन्दै गएको छ । यसरी संघीयताले देशको अत्यन्तै नोक्सान पु-याएको छ । सुरुदेखि नै हामीले भन्दै आएका छौं, संघीयताले देशको राष्ट्रियतामा आँच आउँछ, राष्ट्रको विखण्डन हुन्छ, जातीय विग्रह पैदा हुन्छ । देश त्यस खालको संकटमा फसिसकेको छ । प्रशासनिक क्षेत्रमा अत्यधिक खर्च भइरहेको छ । त्यसले देशको विकास खर्च कम गराएको छ । विकासमा बाधा पु-याएको छ । वैदेशिक चलखेलसमेत बलियो भएर अगाडि आएको छ । यसमा हामी दृढताका साथ भन्छौं । संघीयता नेपालको परिपे्रक्ष्यमा सही व्यवस्था होइन, यसको तत्काल खारेजी गरेर अगाडि बढ्नु जरुरी छ । यससँगै जति पनि स्थानीय तह छन् यिनलाई बलियो बनाउनुपर्छ । स्थानीय तहमा अझै पनि बजेट कम भएको छ । अधिकार कम भएको छ । यसलाई वृद्धि गर्दै अगाडि बढ्नुपर्छ ।