कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
407

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणा गरिसकेको छ । यो लक्ष्य प्राप्तिका लागि सानो कसरतले पर्यटक ल्याउन भने हम्मे–हम्मे पर्ने देखिएको छ । नेपाल वायुसेवा निगमले भनेको गन्तव्यमा उडान भर्न नसक्नु, युरोपमा सीधा हवाई सम्पर्क नहुनु, पर्यटकीय गन्तव्यको विकास नहुनुजस्ता कारणले नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य सुधार हुन कठिन छ । सन् २०१८ मा करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन हालसम्मकै ठूलो संख्या हो । पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायले हाल पर्यटन क्षेत्रमा रहेको समस्यालाई सुधार गर्दै पर्यटन आगमन बढाउनुपर्नेमा जोड दिएका छन् । पर्यटन विभागले दिएको तथ्यांकअनुसार हालसम्म नेपालमा १५ वटा पाँचतारे होटलसहित ६ सय ६० तारे र पर्यटकीय होटल रहेका छन् । तारे र पर्यटकीय होटलमा गरी कुल ५६ हजार १ सय ८८ बेड संख्या छन् । यही अवस्थामा पनि पर्यटन क्षेत्रका सरोकारवाला पक्षले २५ लाख पर्यटकलाई नेपालमा सेवा दिन सक्ने दाबी गर्छन् । पर्यटन क्षेत्र सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको नारालाई सफल पार्न सक्ने सम्भावित क्षेत्रमध्ये एक हो । पर्यटन क्षेत्रमा भएका सम्भावनाबाट उच्च प्रतिफल लिन सकेमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पनि योगदान बढाउँदै रोजगारी सिर्जना गर्न सकिन्छ । यसै सन्दर्भमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन हाम्रो पूर्वाधार, जनशक्तिलगायत चाल्नुपर्ने कदमका विषयमा सरोकारवाला पक्षसँग कारोबारले गरेको कुराकानीको सार :

छिमेकी मुलुकका पर्यटकमा केन्द्रित हुनुपर्छ 
प्रचण्डमान श्रेष्ठ
पर्यटनविज्ञ
हामीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएका छौं । अहिलेकै अवस्थामा सरकारले लिएको लक्ष्य प्राप्ति गर्न भने गा-हो छ । तर, हाम्रो दुई छिमेकी मुलुक भारत र चीनमा सबैभन्दा बढी पर्यटकका रूपमा भ्रमण गर्न नागरिक छन् । हामीले ती नागरिकलाई नेपाल भ्रमणमा ल्याउन सकेको खण्डमा मात्र सरकारले लिएको लक्ष्य पूरा हुने देखिन्छ । यसका लागि सरकार मातहतका निकायले चीन र भारतबाट नेपाल आएका ट्राभल तथा टुर कम्पनीलाई केही लाभांश दिएर नेपाल पठाउने पर्यटकको संख्यामा दोब्बरले वृद्धि गर्न आग्रह गरेको खण्डमा नेपालमा आउने पर्यटक संख्यामा वृद्धि हुने अनुमान गर्न सकिन्छ । पूर्वाधारको विकास त छँदैछ, यो निरन्तर चलिरहने प्रक्रिया हो । आजको भोलि नै पूर्वाधार तयार हुने कुरा पनि होइन, सरकारले लिएको लक्ष्य प्राप्तिका लागि भने छोटो र सरल उपाय भनेको छिमेकी मुलुकमा प्रचार–प्रसार केन्द्रित गर्नु नै हो । त्यहाँ रहेको ठूलो पर्यटकका गतिमा संलग्न जनसंख्या (आउट वाउन्ड) लाई हामीले इंगेज गर्न सकेको खण्डमा सरकारले लिएको लक्ष्य प्राप्ति हुनेछ । भ्रमण वर्षले सन् २०२० लाई नेपाल भ्रमण गर्नका लागि विश्व जनसमुदायलाई प्रेरित त गर्छ नै, त्यसपछिका वर्षमा पनि नेपाल भ्रमण गर्ने आधार तय गर्नेछ । सरकारले भारत र चीनमा ट्राभल र टुर अपरेटरलाई मार्केटिङमा जोड दिनुपर्छ । सरकारले पुरानै शैलीमा भन्दा पनि आधुनिक शैलीको डिजिटल मार्केटिङलाई अंगीकार गरेर हाल आइरहेका पर्यटकलाई वृद्धि गर्न सकिन्छ । सरकारले नेपालको पर्यटन विकासमा गर्न र पर्यटक आगमन बढाउन भने सरकारले बनाउने पूर्वाधार नै महत्वपूर्ण कुरा हो, यसको विकास गर्दै जानुपर्छ । सडक, विमानस्थल, होटल, पर्यटन नीतिमा सरकारले क्रमिक रूपमा विकास गर्दै जानुपर्छ । सरकारले लगानीमैत्री वातावरण विकास गर्न सकेको खण्डमा नै यस क्षेत्रको विकास हुँदै जानेछ । नेपालमा क्रमिक रूपमा पर्यटन क्षेत्रको विकास हुँदै गएको छ । निजी सरकारी हवाई सेवाप्रदायक कम्पनीहरू पनि आन्तरिक र बाह्य उडानमा जोड दिइरहेको अवस्था छ । यसले गर्दा समग्रमा नेपालको पर्यटन आगमन क्रमिक रूपमा सुधार हुँदै जानेछ ।

२० लाख पर्यटक भित्रिनेमा हामी ढुक्क छौं
घनश्याम उपाध्याय
सह–सचिव तथा प्रवक्ता
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सरकारले ३ क्षेत्रलाई आधार मानेर सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । पहिलो नेपाल वायुसेवा निगमका दुई वाइडबडी विमानबाट पूर्ण क्षमतामा पर्यटकीय गन्तव्यमा उडान भर्ने, सोहीअनुसार मन्त्रालयले काम गरिरहेको छ ।
दोस्रो त्रिभुवन विमानस्थललाई चौबीसै घण्टा सञ्चालनमा ल्याएर विदेशी विमान कम्पनीलाई काठमाडौंमा उडान भर्न आकर्षित गर्ने । तेस्रो भनेको सन् २०१९ भित्र गौतम बुद्ध विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याएर उडान अवतरण भर्ने र पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो, सोहीअनुरूप मन्त्रालयले काम गरिरहेको छ । केही आन्तरिक कारणले गर्दा ती योजनामा ढिलाइ भएका छन्, तर क्रमिक रूपमा काम भने भइरहेको छ । निगमका विमानले उडान भर्दैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने क्रममा रहेको छ । गौतम बुद्ध विमानस्थल सन् २०१९ भित्रै सञ्चालनमा आउने गरी काम भइरहेको छ । सरकारले लिएको लक्ष्यमा रहेर मन्त्रालयले काम गरिरहेको छ र भइ पनि रहेको छ । छिमेकी मुलुक भारत र चीनमा बृहत् प्रचार–प्रसार गर्नका लागि नेपाल पर्यटन बोर्डले काम गरिरहेको छ । सन् २०२० मा भारतबाट ५ करोड भारतीय र चीनबाट २० करोड चिनियाँ नागरिक घुम्न निस्कने प्रक्षेपण गरेको छ । सोहीअनुसार मन्त्रालयले काम गरिरहेको छ । सो देशका नागरिकलाई नेपाल भित्र्याउन मन्त्रालयले पनि आफ्नो नीति तथा योजनाअनुरूप सरकारले लिएको लक्ष्य प्राप्तिका लागि तल्लीन भएर काम अगाडि बढाएको छ । सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ सचिवालय स्थापना गरेर पर्यटन प्रवद्र्धनको काम गरिरहेको छ । सचिवालयको राष्ट्रिय संयोजकमा सुरज वैद्यलाई नियुक्त गरेर पर्यटन प्रवद्र्धनका काम भइरहेका छन् । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल हुनेमा हामी पूर्ण रूपमा विश्वस्त छौं । सरकारले लिएको लक्ष्य पूरा हुन्छ ।

पर्यटकीय गन्तव्यको प्रचारप्रसारलाई  तीव्रता दिनुपर्छ 
सीएन पाण्डे
अध्यक्ष, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)
सरकारले नेपाल भ्रमण वर्ष, २०२० मनाउँदैछ । यो नेपाली समग्र पर्यटन तथा नेपालको आर्थिक विकासका लागि सकारात्मक कदम हो । सन् २०२० मा २० लाख पर्यटक ल्याएर हामी सेवा प्रवाह गर्न सक्छौं । यसका लागि हामीले केही सुधार भने गर्नुपर्छ । नेपाल वायुसेवा निगमको उडानलाई व्यवस्थित गर्दा धेरैभन्दा धेरै गन्तव्यमा उडान भर्नुपर्ने आवश्यकता रहेको छ । यसका लागि निगमसँग भएको विमानलाई प्रमुख पर्यटकीय गन्तव्यमा उडान भर्नुप-यो । निगमले अन्तर्राष्ट्रिय उडानका लागि विमान संख्या थप गर्दै १० विमानबाट युरोपका मुलुकहरूसँग सीधा हवाई उडान गर्नुपर्छ । नेपाल भ्रमण वर्षलाई सफल पार्न यसै वर्ष नेपाल वायुसेवा निगमसँग ६ वटा न्यारोबडी तथा ४ वटा वाइडबडी भित्र्याउनुपर्नेमा २ वटा न्यारोबडी अपरेसनमा ल्याई निगमको व्यवस्थापनमा सुधार गरेर रणनीतिक साझेदारीमा जानुपर्छ ।
नेपाली आकाशलाई युरोपियन युनियनको गम्भीर सुरक्षा चासो (कालोसूची) बाट हटाएर युरोपका मुलुकमा उडान भर्नुपर्छ । सरोकारवाला निकायको यस क्षेत्रमा ध्यान केन्द्रित गराउनुपर्छ । कालोसूचीबाट हटाई युरोप–अमेरिकालगायत चीन, दक्षिण कोरिया तथा जापानजस्ता एसियाली मुलुकका प्रमुख गन्तव्यमा उडान भर्नु आजको आवश्यकता हो । काठमाडौंमा हवाई इन्धनको मूल्य बढिरहेको छ, सो मूल्यलाई छिमेकी मुलुकको मूल्यसँग मेल खाने गरी निर्धारण गर्नुपर्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई ट्राफिकको चापको व्यवस्थापन गर्नुपर्छ । विमानस्थललाई २४ घण्टा खुला गर्ने गरी हाल लगाइएको ल्यान्डिङ र पार्किङ सेवा शुल्क कम गरी अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई नेपालमा उडान भर्ने वातावरण बनाउनुपर्छ । विमानस्थलको पार्किङ, ट्रली, शौचालय, टेलिफोन, नियमित सरसफाइ सुधार र सुदृढीकरण अत्यन्तै आवश्यक छ ।
निमार्णाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्रै सञ्चालनमा ल्याएर बाह्य उडान गर्नुपर्छ । यसले पनि सरकारले लिएको लक्ष्य प्राप्तिका लागि टेवा पु-याउनेछ । नेपाल आउन चाहने पर्यटकहरूका लागि अनलाइन भिसा उपलब्ध गराउने प्रावधान तुरुन्त लागू गर्दै अध्यागमन सेवामा कार्यरत तालिम प्राप्त अध्यागमन अधिकृतहरू राखी काउन्टरहरूमा पनि सबै काउन्टर खोली छिटो सेवा उपलब्ध गराइनुपर्छ । आन्तरिक उडानलाई भरपर्दो बनाएर पर्यटकको यात्रामा सहजीकरण गर्नका लागि सरोकारवाला पक्षले ध्यान केन्द्रित गर्नुपर्छ ।
नेपाली पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसारमा गरी गुणस्तरीय पर्यटक भित्र्याउनमा सरकारले जोड दिनुपर्छ । प्रचार गर्ने सरोकारवाला पक्षले नेपालको छिमेकी मुलुक भारत, चीनसम्म आधुनिक ढंगले प्रचारप्रसार गर्नुपर्छ । नेपाल २० लाख पर्यटकलाई सेवा प्रवाह गर्न सक्षम छ । पूर्वाधारको विस्तार भइरहेको अवस्थामा हामी २५ लाख पर्यटकलाई सेवा प्रवाह गर्ने सामथ्र्य राख्छौं ।

विमानस्थल अन्तर्राष्ट्रिय सुविधायुक्त बनाउनुपर्छ 
सिर्जना राणा
अध्यक्ष, होटल संघ नेपाल (हान)
नेपालमा पर्यटक भित्र्याउनका लागि एयर कनेक्टिभिटी बढाउनुपर्छ । युरोपबाट नेपालसँग सीधा हवाई उडान छैन, जसले गर्दा नेपाल आउने पर्यटकका लागि हवाई टिकट महँगो छ । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुपर्छ । निगमको विमानमार्फत युरोपलगायतका मुलुकमा उडान भर्नुपर्छ, जसले गर्दा दुई देशबीच सीधा हवाईमार्गले जोड्छ भने टिकट पनि सस्तो भएर पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुन्छ । अन्तर्राष्ट्रिय र आन्तरिक उडानलाई प्रभावकारी र विश्वसनीय बनाउनुपर्छ । काठमाडौं विमानस्थलको निरन्तर सुदृढीकरण गर्दै, सरसफाइ, आगन्तुक कक्ष, बाहिरिने कक्षलाई सफा र व्यवथित बनाउनुपर्छ ।
सरकारले नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा विकास गर्ने लक्ष्य लिएको छ । सोअनुरूप काम भइरहेको छ । यसको निर्माणकार्य चाँडै पूरा गरी सञ्चालनमा जोड दिनुपर्छ । विमानस्थल नै कुनै पनि देशको ढोका भएकाले विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड भएको बनाउनुपर्छ । शौचालयलाई सरसफाइमा विशेष ध्यान केन्द्रित गर्नुपर्छ ।
खानाको सेप्टीमा हामी पर्यटन व्यवसायी र सरकारले ध्यान पु-याउनुपर्छ । अर्गानिक खानाको विकास हामीले गर्नुपर्छ । पर्यटकलाई सरसफाइमा विशेष ध्यान पु-याउनुपर्छ । किनकि कसैले पनि फोहोर मन पराउँदैन । नेपाली खानालाई विश्वमाझ पु-याउनका लागि हानले प्रचार प्रसारमा पनि जोड दिएको छ । सडक विस्तार गरी पर्यटकका लागि यात्रा सहजीकरण गर्नुपर्छ । आन्तरिक उडानमा सरकार र निजी हवाई सेवाप्रदायक कम्पनीले जोड दिनुपर्छ । यसले गर्दा हाम्रो प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको गतिविधि बढ्न जान्छ ।
माइस पर्यटनको पनि हाम्रो जस्तो देशमा पर्याप्त सम्भावना देखिन्छ । यसका लागि हाम्रा पूर्वाधारहरू पनि विकास हुँदै गएका छन् । नेपालको पर्यटन उद्योगको सम्भावना पर्याप्त छ । यसका लागि हामीले हवाईमार्ग विस्तार गरी नेपाल वायुसेवा निगमलाई संसारभर उड्ने वातावरण विकास गर्नु आजको आवश्यकता हो । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूमा शौचालयको पर्याप्त विस्तार गर्नुपर्छ ।
हामी नेपाली परम्पराबाटै प्रचार–प्रसार गरेर नेपालको पर्यटन उद्योग फस्टाउने काम गर्न सक्छौं । ‘अतिथि देभो भव ।’ योे हाम्रो मन्त्रलाई अङ्गीकार गर्दै पर्यटकसँग गरिने व्यवहार नम्र र सहयोगी बनाएर पर्यटन आगमनलाई सहजता दिनुपर्छ । हानले पर्यटकलाई गरिने व्यवहार र सरसफाइमा ध्यान केन्द्रित गराउँदै ती सरोकारवाला पक्षलाई तालिम दिएर पर्यटकलाई गरिने व्यवहारमा नम्र भावको विकास गर्ने योजना बनाएको छ ।
नेपालका प्रमुख पर्यटकीय क्षेत्रमा सुरक्षा कायम गर्नुपर्छ, जबकि पर्यटकले ती क्षेत्रमा निर्वाध भ्रमण गर्दै रमाइलो महसुस गरून् । भूकम्पबाट ध्वस्त भएका सम्पदाहरूको पुनर्निर्माणमा पनि सरकारले तदारुकता देखाउनुपर्छ । धेरै पर्यटक नेपालको प्राकृतिक सौन्दर्य र नेपाली संस्कृतिको भ्रमण गर्न आउने भएकाले पनि हामीले यो क्षेत्रमा पनि सुधार गर्नुपर्छ ।
आधुनिक प्रचार–प्रसारको माध्यम (डिजिटल) को प्रयोग गरेर नेपालमा पर्यटक आउने सम्भाव्यता भएका मुलुकहरूमा धेरैभन्दा धेरै प्रचार प्रसार गरी नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार गर्नुपर्छ । हालसालै सरकारले ३० पर्यटकीय साहसिक गन्तव्यहरूको विकास गरिरहेको छ । यसको विकाससँगै पर्यटकको बसाइ अवधि लम्बिनेछ र पर्यटकको रोजाइका क्षेत्र बाँडिनेछन् । यसले गर्दा अन्य पर्यटकीय गन्तव्यहरूको विकास हुनेछ । हामी २० लाख पर्यटकलाई सेवा प्रवाह गर्न सक्षम छौं । यसका लागि हामीले माथि भनिएजस्तै गरेर सुधार गर्दै जानु भने जरुरी छ ।