कारोबार संवाददाता
मंगलबार, श्रावण २१, २०७६
692

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै आएको छ । अमेरिका र इरानबीचमा भएको द्वन्द्वका कारणले सुनको मूल्य अकासिएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । सुनको मूल्य एक्कासि बढेपछि त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा समेत पर्न गएको छ । गत १० असारमा सुनको मूल्य बढेर ६५ हजार रुपैयाँ कायम भएको थियो । केही समय उतारचढाब रहेको सुनको मूल्य अहिले आएर पुनः उकालो लागेको छ ।
एक महिनाको अवधिमा सुनको मूल्य तोलामा झन्डै ४ हजार रुपैयाँ बढेपछि सुन खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष असर परेको छ । सुनको मूल्य बढेर सोमबार प्रतितोला ६७ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । सधैंजसो ग्राहकको भीडभाड हुने न्युरोडका सुन पसल यतिबेला सुनसान अवस्थामा छन् । सुनको मूल्य अत्यधिक बढेपछि सुन किन्ने ग्राहक घट्दै गएकाले कारोबार अत्यन्त कम भएको व्यवसायीको भनाइ छ । अहिले मूल्य बढेकाले दैनिक १० किलोमा सीमित रहेको व्यवसायीहरू बताउँछन् । सुनको मूल्य बढेपछि बजारमा नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहकको भीडभाड धेरै हुने गर्छ ।
अमेरिका र इरानबीच भएको द्वन्द्वका कारणले सुनको मूल्य अकासिएको हो । व्यवसायीका अनुसार चीन र अमेरिकाको व्यापार युद्धले सुन बजारमा प्रभावित भएको छ । इरान र अमेरिकाबीच भएको तनावले पनि लगानीकर्ताहरू सुरक्षित स्थान खोज्न थालेका छन् । मूल्य बढेसँगै वाणिज्य बैंकहरूसँग ३४ किलो सुन स्टक छ । पछिल्लो एक महिनायता सुनको मूल्य लगातार बढ्दै गएपछि व्यवसायीले सुन खरिद गर्न छाडेकाले बैंकमा ३४ किलो सुन थुप्रिएको हो ।
सुनको मूल्य अझै बढ्ने विज्ञहरूले अनुमान गरेका छन् । सुनको मूल्य वृद्धिसँगै यसले मुलुकको अर्थतन्त्रमा कस्तो असर पर्न सक्छ, बजारमा प्रत्यक्ष असर के पर्छ, बजारको अवस्था के छ, आगामी दिनमा मूल्य बढ्ने सम्भावना के छ भनी सरोकारवालासँग गरिएको कुराकानीको सार :

सुनको मूल्य बढ्दा अर्थतन्त्रलाई प्रत्यक्ष असर पर्छ
डा. चन्द्रमणि अधिकारी
अर्थविद्
सुनको मूल्यमात्र नभएर अहिले डलरको मूल्यसमेत बढ्ने सम्भावना रहेको छ । अमेरिकी रिजर्भ बैंंकले ब्याजदर घटाएको छ । अमेरिकाले ब्याजदर घटाएका कारण बजारमा चलायमान हुने सम्भावना रहन्छ । त्यसले पनि अर्थतन्त्रमात्र प्रभाव पर्नासाथ विश्वमा प्रभाव पर्नसक्छ । स्वाभाविक ढंगले छिमेकी मुलुक भारतमा पनि त्यसको प्रभाव देखिन्छ । भारतमा प्रभाव परेपछि त्यसको सीधै असर नेपालमा पर्ने गर्छ । नेपालको ६४ प्रतिशत व्यापार भारतसँग निर्भर छ । भारतले डलरको मूल्य बढ्यो र निर्यात पनि बढ्यो भने त्यसबाट फाइदा पनि लिन सक्ला । तर, हामीले निर्यात गरेर फाइदा लिन सक्ने स्थिति छैन । हाम्रो निर्यातको आकार सानो छ ।
विश्व अर्थतन्त्रलाई चलायमान गर्ने चारवटा प्रमुख क्षेत्र छन् जसमा सुन, तेल, अमेरिकी डलर र सेयर मार्केट पर्छन् । विश्वमै सेयर बजार अस्थिर भएर गएको छ । अमेरिका र चीनका बीचमा व्यापारयुद्ध चलिरहेको छ । लगानीकर्ताले लगानी सुरक्षित गर्नका लागि नयाँ–नयाँ गन्तव्य खोज्दै छन् । इरानसँगको प्रतिबन्ध पनि अर्काे राजनीतिक विषय हो । यसलाई तेलले अस्थिर बनाइदियो । एकातिर इरानसितको प्रतिबन्धले गर्दा तेलको मूल्य महँगो हुनुपथ्र्यो, तर पनि युरोप र भारतको अर्थतन्त्रमा पनि मन्दी छ । त्यसले गर्दा तेलको मूल्य जुन ढंगले बढ्ने अपेक्षा गरिएको थियो, त्यसरी बढ्न सकेन । अमेरिकी डलर अलिकति बढ्ने सम्भावना छ । सेयर बजारमा पनि अस्थिरता कायम छ । अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनलाई सुरक्षित क्षेत्र ठानेकाले पनि सुनमा लगानी गर्न थाले । सुनमा लगानी गर्दाखेरि नेपाललाई के प्रभाव पर्नसक्छ भने अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि हामीलाई चाहिने सुन खरिद गर्दा, बजारले माग गरेको सामान्य मागलाई पूरा गर्ने गरी त सुन आउँछ । सुनको आयात गर्दा वैदेशिक मुद्रा खर्च हुनेगर्छ । सुनको व्यापार बढ्यो भने अवैध व्यापारले प्रश्रय पाउँछ । मानिसहरूले सुनमा धेरै लगानी गर्ने र चोरी–तस्करी बढ्ने हुँदा भएको पैसा पनि अनौपचारिक र भूमिगत अर्थतन्त्र विस्तारमा यसले सघाउ पु-याउँछ । आमजनतालाई पनि प्रत्यक्ष प्रभाव पर्छ । सुनको मागमा लचकता हुन्छ । नुनको मागमा लचकता हुँदैन । सुन महँगो भयो भने गरिबले प्रयोग नगरौं भन्छ, तर नुन त सबैले प्रयोग गर्छन् । सुनमा लचकता हुने भएकाले आमजनतालाई सिधै असर त पर्दैन, तर अर्थतन्त्रमा कहीं कहीं असर पर्छ । भूमिगत अर्थतन्त्र बढ्ने, वैदेशिक मुद्रा बढी बाहिर जाने सम्भावना पनि हुन्छ । अमेरिकाको फेडरल बैंकले ब्याजदर घटाउने सम्भावना रहेको छ । अमेरिकी राष्ट्रपतिले ०.७ प्रतिशतका दरले घटाउने भनेका थिए । अमेरिकामा रोजगारी दर पनि त्यति नराम्रो छैन ।
अहिले मुद्रा स्फीतिदर दुई प्रतिशत पु-याउनुपर्ने र त्यसले गर्दा अर्थतन्त्र नतात्ने कारणले गर्दा पनि उनीहरूले ब्याजदर ०.२५ प्रतिशतका दरमा घटाएका छन् । ब्याजदर घट्नासाथ अमेरिकी डलरको मूल्य बढ्ने सम्भावना छ ।
बाहिर ब्याजदर बढी पाउने हुनाले अमेरिकी डलर बाहिरी देशमा आउने सम्भावना छ । त्यस कारणले गर्दा सुनको मूल्य बढ्नु भनेको सुनको आफ्नैमात्र कारण हुँदैन । अन्य कारण पनि छन् । सेयरमार्केट, तेलको मूल्यमा भएको उतारचढाव र अस्थिरता, डलरको मूल्यमा भएको उचारचढाव यी सबै कुराले सुनको मूल्यमा प्रभाव पार्ने गर्छ । डलरको मूल्यमा भएको वृद्धिको तुलनामा सुनको मूल्य वृद्धिले हामीलाई कम प्रभाव पार्ने गर्छ । अन्तर्राष्ट्रिय हिसाबले अर्थ–राजनीतिक हिसाबले पार्ने प्रभावको कारणले डलर सुनको मूल्य वृद्धि हुँदा हामीलाई प्रत्यक्ष प्रभाव पर्नसक्छ । सेयरको मूल्य बढ्दै गएको भने हामी कहाँ वैदेशिक लगानी कम आउँछ । त्यसले पनि नेपालमा प्रभाव पार्ने गर्छ । सुनको मूल्य बढेको प्रभाव ढिलो देखिने गरे पनि त्यसले मुलुकको अर्थतन्त्रमा सिधै प्रभाव पार्नसक्छ ।

सुनको मूल्य अझै बढ्ने देखिन्छ
तेजरत्न शाक्य
सुनचाँदी व्यवसायी
बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर प्रतितोलामा ६६ हजार ३ सय रुपैयाँ पुगेको छ । यो मूल्य ऐतिहासिक हो । चीन र अमेरिकाबीचमा भएको व्यापारयुद्धका कारणले गर्दा सुनको मूल्य बढेको हो । दुई देशमा अझै कुरा नमिलेकाले सुनको मूल्य अझै बढ्ने देखिन्छ । अमेरिका र चाइनाबीचमा भएको विवाद बिनानिष्कर्षमा पुगेपछि अमेरिकी राष्ट्रपतिले १० प्रतिशत कर लगाएपछि आर्थिक बजारमा त्यसको हलचल भई सुनको मूल्य बढ्न पुगेको हो । सेयर बजार पनि कमजोर हुँदै आएको छ । सेयर मार्केटको लगानी सुनमा आएकाले पनि मूल्य बढ्दै गएको हो । मूल्य लगातार बढ्दै गएपछि पछिल्लो समय सुनमा लगानीकर्ता आकर्षित हुँदै गएका छन् ।
सुनको मूल्य बढेसँगै स्थानीय बजारमा सुनको कारोबार २५ प्रतिशत पनि छैन, जसका कारणले व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न नै धौधौ पर्ने अवस्था आएको छ । मूल्य बढेकाले बजार सुनसान अवस्थामा छ । पुराना पुराना गहना बिक्री गर्ने ग्राहक बढी आउने गर्छन् । बजारमा बिक्री छैन, खरिदमात्र भइरहेको छ, जसले गर्दा व्यवसायीसँग पर्याप्त मात्रामा सुन स्टक छ । तीजमा माग आउँछ कि भन्ने आशामा व्यवसायीहरू बसेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर अहिले प्रतिऔंस १ हजार ४ सय ५३ डलर पुगेको छ । अझै बढेर सुनको मूल्य प्रतिऔंस १ हजार ५ सयसम्म पुग्ने देखिन्छ । यही अनुसार मूल्य बढ्दै गयो भने बजारमा सुनको मूल्य तोलामा ७० हजार रुपैयाँको हाराहारीमा पुग्ने अनुमान गरिन्छ । सुनको मूल्य तोलामा बढेर ६५ हजार पुगेपछि बजारमा सुनको कारोबार सुनसानजस्तै छ । अहिले दैनिक १० किलो मात्र सुन बिक्री हुने गरेको छ । यसभन्दा अघि असार महिनामा दैनिक ४० देखि ४५ किलोसम्म सुनको कारोबार हुने गरेको थियो । सुनको मूल्य बढेसँगै उपभोक्ता र व्यवसायी दुवैलाई प्रत्यक्ष असर पारेको छ । उपभोक्तालाई मूल्य बढेपछि थोरै सुन किनेर काम चलाउनुपरेको छ भने व्यवसायीलाई कारोबार नै कम भएपछि प्रत्यक्ष असर परिरहेको छ ।
लामो समयसम्म मूल्य बढेको बढ्यै भयो भने व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न नै कठिन हुने देखिन्छ । मूल्य बढेपछि पुराना गहना बिक्री गर्ने ग्राहक बढी आएका छन् । सामान स्टक भयो भने व्यवसायीलाई फाइदा हुने गर्छ तर कारोबार नै कम भएपछि त्यति धेरै फाइदा हुँदैन । बरु कम मूल्य भएर बिक्री बढ्यो भने व्यवसायीलाई फाइदा हुन्छ, तर मूल्य बढेर बिक्री बढेन भने व्यवसायीलाई फाइदा हुँदैन । उपभोक्ताले पुरानो सामान बिक्री गर्दा ज्याला, जर्ती कटौती गरिने भएकाले नोक्सान हुने गर्छ । मूल्य बढेको मूल्य नोक्सान पनि धेरै हुने गर्छ । सुनको गुणस्तरमा अहिले सुधार भइरहेको छ । ज्याला जर्ती कटौती गर्दा गहनामा १५ प्रतिशत जति नोक्सान हुने हुँदा मूल्य बढेर बिक्री गर्दा फाइदा हुन्छ भन्ने त्यति हुँदैन । सामान्य अवस्थामा बजारमा दैनिक ३० देखि ४० किलो सुन आवश्यक पर्छ भनेर हामीले माग गरिरहेका छौं ।

सुनको मूल्य बढेसँगै कारोबार न्यून
मोहन विश्वकर्मा
अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ
सुनको मूल्य बढेर प्रतितोला ६७ हजार ८ सय रुपैयाँ पुगेको छ । एकै दिन तोलामा १५ सय रुपैयाँले मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । एक्सचेन्ज दर पनि बढेकाले सुनको मूल्य बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३ सय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेपछि सुनको भाउ लगातार बढिरहेको छ । चीनसँगको व्यापार वार्तामा चीनले अलमल गरिरहेको भन्दै राष्ट्रपति ट्रम्पले आगामी सेप्टेम्बर १ तारिखदेखि लागू हुने गरी करवृद्धिको घोषणा गरेका थिए ।
अमेरिकी घोषणासँगै विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक चीन र अमेरिकाबीच भइरहेको करिब ६ सय ६० अर्ब अमेरिकी डलर बराबरका आयात–निर्यातमा करवृद्धि भएको थियो । योसँगै अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएपछि लगानीकर्ताहरू सुरक्षित लगानीका लागि सुनमा आकर्षित भएकाले भाउ बढेको हो । फेडले ब्याजदर ०.२५ प्रतिशतले घटाएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको प्रतिऔंस १ हजार ४ सय ५३ डलर पुगेको छ । आइतबार प्रतिऔंस १ हजार ४ सय ४१ डलर रहेको थियो । सुनको मूल्य बढ्नुको कारणमा अमेरिका र चाइना, इराक र अमेरिका, उत्तरकोरिया र अमेरिका बीचमा भएको युद्ध नै हो । सुनको मूल्य लगातार बढेसँगै स्थानीय बजारमा सुनको कारोबार सुनसान छ । मूल्य बढेसँगै सुनको बिक्री एकदम न्यून छ । पछिल्लो एक महिनादेखि सुनको मूल्य लगातार बढ्दै आएपछि कारोबार नै न्यून छ । आइतबारदेखि पुनः सुनको मूल्य बढ्दै गएकाले बजार अस्थिर अवस्थामा छ । अहिलेसम्मको अवस्था हेर्दा सुनको मूल्य अझै बढ्ने देखिन्छ । मूल्य बढेसँगै नयाँ गहनाभन्दा पनि पुराना गहना बिक्रीका लागि धेरै आउने गरेका छन् । व्यवसायीलाई सामान किन्ने कि के गर्ने भन्ने दोधार भएको छ ।
मूल्य बढेकाले सुन खरिद गर्ने ग्राहक नै आउन छाडेका छन् । सुनको मूल्य तोलामा ६३ हजार ३ सय रुपैयाँ नाघेसँगै बजार एकदम सुनसान अवस्थामा पुगेको छ । गत असार १० मा सुनको मूल्य बढेर तोलामा ६५ हजार पुगेको थियो । मूल्य बढेपछि अहिले मुस्किलले दैनिक १० किलो सुन बिक्री हुने गर्छ । गत वर्ष यतिबेला सुनको अभाव भएको थियो अहिले मूल्य बढेकाले बैंकमा पनि सुन थुप्रिएको छ र व्यवसायीसँग पनि पर्याप्त मात्रामा सुन रहेको छ ।

प्रतिदिन नयाँ रेकर्ड
सुनको मूल्य प्रतितोला ६७ हजार ८ सय
सुनको मूल्यले सोमबार स्थानीय बजारमा नयाँ रेकर्ड कायम गरेको छ । एकै दिन तोलामा १ हजार पाँच सय रुपैयाँले बढेर सोमबार तोलामा ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार प्रतितोला सुनको मूल्य ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
अमेरिका र चीनबीच भएको व्यापारयुद्धका कारण सुनको मूल्य अकासिएको व्यवसायीको भनाइ छ । “आइतबारदेखि सुनको मूल्य पुनः उकालो लागेको छ, “सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारको अवस्था हेर्दा सुनको मूल्य अझै बढ्ने देखिन्छ ।”
सुनको भाउले नयाँ रेकर्ड बनाएसँगै आन्तरिक बजारमा कारोबारमा गिरावट आएको छ । महासंघका अनुसार अहिले सुनको कारोबार ७५ प्रतिशतले गिरावट आएको छ ।
मूल्य बढेसँगै बजारमा सुनको कारोबार अत्यन्त न्यून रहेको व्यवसायी बताउँछन् । बजारमा सुन किन्ने भन्दा पनि पुराना गहना बिक्री गर्न आउने ग्राहकमात्र रहेको शाक्यको भनाइ छ ।
सुनको कारोबार नभएपछि बैंकहरूसँग सुनको मौज्दात थुप्रिएको छ । बैंकले अहिले सुन आयात नै रोकिरहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अहिले विभिन्न वाणिज्य बैंकसँग अहिले ३४ किलो सुन मौज्दात छ ।
अमेरिकी केन्द्रीय बैंकले ०.३ प्रतिशतले ब्याजदर घटाएपछिको असर सुनको मूल्यमा परेको हो । विश्व राजनीतिमा देखिएको असमझदारी कायम रहेसम्म सुनको बजार प्रभावित भइरहन सक्ने व्यवसायीको भनाइ छ ।