मनोरञ्जन शर्मा
आइतवार, श्रावण १९, २०७६
1986

रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद यादव (४०) पर्यटन व्यवसायी हुन् । तत्कालीन पोखरभिन्डी गाविसमा जन्मिएका यादव अहिले भैरहवामा बसोबास गर्छन् । संघीय निर्वाचनअघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका उनी रुपन्देहीको पिछडिएको क्षेत्र भनिने मर्चवारबाट निर्वाचित भएका हुन् । संघीय निर्वाचनमा निर्वाचितमध्ये उनी कान्छा सांसद हुन् । पर्यटन क्षेत्र र अन्य व्यापार–व्यवसायबाट एकैपटक राजनीतिमा होमिएका यादवका लागि मर्चवार क्षेत्रबाट निर्वाचित भएपछि जिम्मेवारी थपिएको छ । त्यहाँका जनता अब केही हुन्छ कि भन्ने आशामा छन् । संघीय सांसदसँग आफ्नो निर्वाचन क्षेत्र, नेपाली कांग्रेस र वर्तमान सरकारका बारेमा केन्द्रित रही कारोबार संवाददाता मनोरञ्जन शर्माले गरेको कुराकानीको सार :

व्यापार–व्यवसाय गर्दै आउनुभएको व्यक्ति तपाँइ एक्कासि राजनीतिमा प्रवेश गर्नुभयो । कारण के थियो ?
व्यापार व्यवसायमा म पहिलेदेखि नै संलग्न थिए । पछिल्लो समय पर्यटन व्यवसायमा पनि संलग्न थिएँ । भैरहवानजिकै तीनतारे होटल बोधी रेड्सन सञ्चालन गर्र्दै आएको थिएँ । व्यापार–व्यवसायसँगसँगै अन्य संघसंस्थामार्फत सामाजिक कार्यमा पनि संलग्न हुँदै आएको थिएँ । पछि साथीभाइ, आफन्त, शुभेच्छुकहरूले ममा क्षमता देखेर राजनीतिमा जान आग्रह गर्नुभयो । साथीभाइको आग्रहलाई मनन गरी सबैको सल्लाह–सुझाव लिएर राजनीतिमा जाने निर्णय गरें । पार्टीमा जोडिन र सदस्यताका लागि नेपाली कांग्रेस, तत्कालीन एमाले, माओवादी केन्द्र, मधेसवादी दलहरूलगायत धेरैबाट प्रस्ताव आएको थियो । गहन सोचविचार गर्दै नेपाली कांग्रेसमा आबद्ध हुने निर्णय गरेको हुँ । मधेसको विकास कांग्रेसबाहेक अरूले गर्न सक्दैन जस्तो मलाई लाग्छ । त्यसैले पनि यो पार्टीमा आबद्ध भएको हुँ । अर्को कुरा, बाबुबाजे पनि कांग्रेसमै हुनुहुन्थ्यो विगतमा । २००७ सालदेखि नै बाजे कांग्रेसमा लाग्नुभएको थियो । परिवारको वंशाणुगत गुण राजनीतिमा ममा गयो भन्छु म । त्यसैले व्यापार–व्यवसाय हुँदै कांग्रेसबाट राजनीति सुरु गरेको हुँ । राजनीतिमा लागेर मलाई कुनै पछुतो महसुस भएको छैन ।

भैरहवा क्षेत्र छाडेर मर्चवार क्षेत्र किन रोज्नुभयो ?
राजनीति गर्नका लागि कुनै बोर्डर हुँदैन जस्तो मलाई लाग्छ, तर पनि एउटा निश्चित क्षेत्रमा जाँदा राम्रो हुन्छ भन्ने सबैले बुझेको कुरा हो । भैरहवा सहरमा मलाई धेरैले चिन्नु हुन्छ । युवा पुस्तादेखि अग्रजहरू प्रायःले मलाई चिन्नु पनि हुन्छ । मेरो बसोबास भैरहवामा रहेकाले यहाँ परिचित छु ।
तर, सबैले सहर केन्द्रित राजनीति गरे अन्यत्र कसले हेर्ने, त्यहाँका समस्या कसले बुझ्ने र त्यहाँ कहिले विकास हुने भन्ने कुरा ममा गड्यो । त्यसैले मैले सहरदेखि बाहिर ग्रामीण क्षेत्र र त्यो पनि मर्चवारलाई रोजें । नेपाली कांग्रेसले मलाई त्यही क्षेत्रबाट संघीय निर्वाचनमा उठाउने निर्णय पनि ग¥यो । विगतमा त्यस स्थानमा नेपाली कांग्रेसले कहिल्यै निर्वाचनमा जित हात पार्न सकेको थिएन । मधेसवादी दलको गढका रूपमा थियो मर्चवार । तर, पछिल्लो समय त्यहाँका जनताले परिवर्तन खोजेको देखें । विगतमा त्यहाँबाट निर्वाचित हुनेहरूले खासै काम नगरेको हुँदा त्यहाँका जनताले विकासप्रेमी नेता खोजेजस्तो लाग्यो । आफ्नो निर्वाचन क्षेत्रमा मतदाताको घर–घर जाँदा अन्यत्रभन्दा यो क्षेत्र किन पछि परेको, सजिलै बुझेँ । कति स्थानमा त मैले आफैं बाटो बनाई मतदाताको घरमा पुग्न बाध्य थिएँ । मैले मर्चवार रोज्नुको कारण त्यहाँको विकास गर्न नै हो भन्छु म । म मर्चवारको विकासमा समर्पित छृु ।

मर्चवार विकासमा पछाडि छ, कसरी बुझ्नुभएको छ ?
धेरै सम्भावना हुँदाहुँदै पनि यो रुपन्देहीको दक्षिण भूभाग, जसलाई मर्चवार भनिन्छ, पछाडि परेको क्षेत्र हो । कृषि, उद्योगलगायतका क्षेत्रमा सम्भावना हुँदाहुँदै पनि यहाँ काम हुन नसकेको हो । विगतमा निर्वाचन जित्नेले मर्चवारलाई खासै ध्यान दिनुभएन, माया गर्न सकेनन् मर्चवारलाई । विगतमा यस स्थानबाट निर्वाचन जित्नेहरूले चाहेर पनि गर्न नसकेको हो या गर्न नचाहेको हो, बुझ्न सकिन । मन्त्री पनि हुनुभयो यहाँबाट जित्ने नेताहरू । यहाँ कृषिको धेरै सम्भावना छ । कृषिका लागि उर्वर भूमि हो मर्चवार । किसान धेरै छन् यहाँ, तर सिँचाइको समस्या छ । बाटोघाटोको समस्या छ । अझै पनि मर्चवार क्षेत्रमा राम्रो बाटो बन्न सकेको छैन । बल्ल वनगाईबाट बाटो पुनर्निर्माण कार्य सुरु भएको छ । विगतमा निर्वाचितहरूले ध्यान नदिँदा विकासमा पछि परेको हो । यसमा कुनै दुईमत छैन । आखिर यहाँ बजेट नआउने त होइन नि । त्यो बजेट सदुपयोग हुन सकेन । कति काम नभएर फ्रिज भएर गयो ।
त्यसैले अब मर्चवार सधैं अभावमा बस्नु हुँदैन भन्ने मेरो धारणा हो । कहिलेसम्म पिछडिएको मर्चवार बनाउने ? त्यसैले जनताले जनमतले नयाँ अनुहार खोज्यो । फलस्वरूप संघीय र प्रदेशसभा सदस्यको दुवै सिटमा नेपाली कांग्रेसले जित हासिल ग¥यो । अब मर्चवारमा विकास गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । हामी सबैसँग मिलेर मर्चवारको विकासमा लाग्छौं र लागिपरेका छौं । छिटै मर्चवारवासीले विकासको प्रगति भएको महसुस गर्न पाउनेछन् । मर्चवारमा विकास भएरै छाड्छ ।

मधेसवादी दलको गढका रूपमा थियो मर्चवार । तीनवटै सिट (प्रतिनिधिसभा र प्रदेश सदस्य) कांग्रेसले जित्न सफल भयो, त्यतिबेला कारण के थियो ?
हो, निश्चय पनि विगतका निर्वाचनमा मधेसवादी दलको जित थियो त्यहाँ । त्यहाँका जनताले मधेसवादी दललाई जिताएर पठाएकै हो, तर पछि निर्वाचित प्रतिनिधिहरूले कामै नगरेपछि जनताले विकल्प खोजेका हुन् । जनताले नै पुरानोबाट काम भएन, अब नयाँ अनुहार ल्याउनुपर्छ भन्ने धारणा बनाएका हुन् र हामीलाई निर्वाचित गराएका हुन् । जनताले उनीहरूलाई फालेकै हुन् । विगतमा जसरी जितेका नेतालाई यहाँका जनताले हराएर हामीलाई ल्याएका छन् । हामीलाई रोजेका छन् । निश्चित छ, हामीले पनि केही गरेनांै भने हामीलाई पनि फाल्छन् । तर, हामी जनतामाझ बोलेको कुरा पूरा गर्छौं । हामी काम गरेरै देखाउँछौ । हामीले गरेको वाचाअनुसार काम भइरहेको छ । हामी हाम्रो जिम्मेवारीबाट भाग्दैनौ । हाम्रा मतदाताहरू खुसी हुनुहुन्छ ।

मर्चवारमा केके गर्ने र कस्तो बनाउने योजना छ ?
मुख्य कुरा त मर्चवारलाई जुन रूपमा हेरिन्छ, त्यो हेर्ने रूप परिवर्तन गर्न चाहन्छौं हामी । त्यो भनेको यहाँ विकास निर्माणमा छलाङ मार्नु हो । विस्तारै त्यो पनि देख्न सकिन्छ । एकैपटक सम्भव नहोला, तर विस्तारै हुन्छ । मर्चवारमा पनि विकास सम्भव रहेछ है भनेर अरूले भन्न सकून् भन्ने गरी काम गर्छौं । कृषिमा अब्बल भूमि छ । उर्भर भूमि हो कृषिका लागि मर्चवार । कृषि, सडक, पूर्वाधार, सिँचाइसँगै शिक्षाका लागि कलेज र कम्तीमा पनि २५ शय्याको अस्पतालसमेत मर्चवारमा निर्माण गर्ने योजना छ । कम्तीमा सामान्य उच्च शिक्षाका लागि मर्चवारबाहिर जान नपरोस् र स्वास्थ्यका सामान्य उपचारका लागि पनि ३० किलोमिटर टाढा भैरहवा जानुपर्ने अवस्था नआओस् भन्ने हाम्रो उद्देश्य हो । हामी बोलेका कुरा गर्छौं र विकास–निर्माणको काममा राजनीति नहोस् भन्न पनि चाहन्छौं । साथै मर्चवारमा होम–स्टेको अवधारणा सुरु गर्ने, लुम्बिनीसँग छोटो बाटोबाट जोड्ने योजनामा छौं । लुम्बिनी आउनेहरूलाई यहाँ बास बसाउनका लागि होम स्टेको अवधारणा ल्याउँछौं । पर्यटन क्षेत्रमा पनि काम गर्छौं ।

यस्तै लुम्बिनी र सिद्धार्थनगर (भैरहवा) को विकासलाई कसरी हेर्नुभएको छ ?
लुम्बिनी भनेको महामानव बुद्ध जन्मेको स्थान र सिद्धार्थनगर भनेको लुम्बिनीको प्रवेशद्वार हो । वास्तवमा सिद्धार्थनगरबाटै लुम्बिनीको सुरुवात हुन्छ । लुम्बिनी आफैंमा महत्वपूर्ण छ । यसको महत्वका बारेमा बताइराख्नु पर्दैन । सिद्धार्थनगर (भैरहवा) आफैंमा महत्वपूर्ण छ— देशकै ठूलो स्थलनाका, निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको स्थान । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि यहाँको वातावरण नै अर्को हुन्छ । देश–विदेशका पर्यटक आवागमन गर्ने स्थलका रूपमा विकसित हुन्छ । पर्यटनको विकास हुन्छ यहाँ । त्यसैले अब सोहीअनुसारको पर्यटन क्षेत्रमा लगानी सुनिश्चित गर्नुपर्छ । यसका लागि कम्तीमा २० हजार पर्यटकीय स्तरका कोठा आवश्यक पर्छ । त्यसैले सरकारले होटल–व्यवसायमा लगानी गर्न खोज्नेहरूलाई प्रोत्साहन गर्नुपर्छ । कृषि क्षेत्रमा जस्तै ६ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध र होटल सुरु भएपछि कम्तीमा ५ वर्षसम्म आयकरमा ५० प्रतिशत छुट दिने व्यवस्था सरकारले गर्नुपर्छ । यति गर्न सकियो भने लुम्बिनी र सिद्धार्थनगर मात्र नभई अन्य क्षेत्रमा पनि होटल–व्यवसाय गर्नेहरूको आकर्षण बढ्न सक्छ । लुम्बिनीबाट देशको आर्थिक सम्भव छ ।

मतदाताले तपाँइ लाई निर्वाचन क्षेत्रमा नगएको आरोप पनि लगाउँछन् नि ?
निर्वाचन क्षेत्रमा जानुहुन्न भन्ने आरोप विपक्षीले लगाएको आरोप हो । आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी पुग्ने जनप्रतिनिधिमध्ये एक म पनि हो । महिनामा १० चोटिसम्म पुगेको छु आफ्नो क्षेत्रमा । विपक्षीले मेरो काम गर्ने तरिका, शैली देखेर फैलाएको हल्ला मात्र हो । यो मिथ्या आरोप मात्र हो ।

खासगरी स्थानीय मतदाता र जनताको माग बढी के छ ?
यहाँका जनताको मुख्य माग भनेको रोजगारी नै हो । खाडी क्षेत्रमा पनि रोजगारीका लागि धेरै गएका छन् । आफ्नो क्षमताले, योग्यताले भ्याएसम्म सरकारी जागिर, उद्योगहरूमा, प्रहरीलगायतका सुरक्षा निकायमा पनि केहीले रोजगारी पाएका छन् । तापनि धेरैको माग रोजगारी चाहियो भन्ने छ । हामी यहाँका युवालाई विभिन्न सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बन्न मद्दत पुगोस् भन्ने चाहन्छांै । यहाँका युवाहरूले खाडीमा पसिना बगाएर त्यहाँ विकास गरेका छन् । त्यो पसिना यहीं बगोस्, यही मर्चवारको विकासमा, कृषिक्षेत्रमा बग्ने वातावरण बनाउनुपर्छ । यसका लागि सबैको सहयोग र सहकार्य आवश्यक पर्छ ।

कांग्रेसले संघीय संसद्मा प्रतिपक्षको भूमिका राम्ररी निर्वाह गर्न नसकेको आरोप छ नि ?
हामी हाम्रो भूमिकामा कटिबद्ध छौं । हामीले प्रतिपक्षको भूमिका राम्ररी निर्वाह गरिरहेका छौं । हामीले सत्तापक्षलाई रोकेर राखेकै छौं । अहिले वर्षे अधिवेशन पनि १५ दिनदेखि बन्द छ । बीचमा बाढीको समस्या आउँदा चल्न दिएका हौँ । प्रतिपक्षको भावना कुल्चने प्रयास हुन्छ भने त्यो दुर्भाग्यपूर्ण हो । दुईतिहाइको दम्भ देखाउन पाइँदैन । मिलाएर लैजानुपर्छ सत्तापक्षले । जहिले पनि दुईतिहाइको दम्भ देखाउँदै पेलेर जान पाइँदैन । कतिपय कुरामा ब्याक भएको छ सरकार ।