कारोबार संवाददाता
आइतवार, असार २२, २०७६
1495

ज्योतिषशास्त्रमा वास्तुसम्बन्धी शास्त्रीय नीति–नियमको पालना कसरी गर्नुपर्छ भन्ने विषयको वर्णन पाइन्छ । ज्योतिष र वास्तु विषय फरक भए पनि यी दुई एकअर्काका परिपूरक हुन् । पछिल्लो समयमा वास्तुप्रति मानिसको रुचि बढ्दै गएको छ । विशेषगरी निर्माणकार्य गर्दा र व्यवसाय सञ्चालन गर्दा वास्तुविद्को सुझाव लिने गरिएको पाइन्छ । निर्माण कार्यमा विभिन्न स्थानको निर्धारण कसरी हुन्छ भन्ने तथ्य वास्तुशास्त्रमा पाइन्छ । वास्तुको विचार नगरी बनाइएको संरचनामा के–कस्ता उपायहरू अपनाई वास्तु दोषलाई निवारण गर्न सकिन्छ भन्ने उपाय पनि वास्तुशास्त्रमा उल्लेख छ । यसरी बनिसकेको संरचनामा पनि वास्तु दोष निवारणका उपायहरू गर्ने हो भने वास्तु दोष निकै कम हुने वास्तविद्हरू बताउँछन् । शिलान्यास गर्ने बेला नै गर्नुपर्ने जग्गाको संशोधन भने पछि गर्न निकै कठिन हुने उनीहरू बताउँछन् । घर निर्माण गर्दा सुत्ने कोठा, पढ्ने कोठा, पूजा गर्ने ठाउँ, पानीको ट्यांकी, ढोका, झ्याल, भान्सा, शौचालय तथा नुहाउने ठाउँ आदिको निर्माण वास्तु सिद्धान्तका आधारमा बनाउनुपर्छ । यसरी बनेको घर वा कार्यालयमा बस्नाले सुख, शान्ति र समृद्धि मिल्छ भनेर शास्त्रमा वर्णन गरिएको छ । मानिस जन्मेको आधारमा बनाइने चिना तथा कुण्डलीहरू सबैको फरक–फरक हुने गर्छन् । एक जनाको कुण्डली अरूका लागि प्रयोग गर्न मिल्दैन तर वास्तु सिद्धान्त मिलाएर बनाएको घरले भने त्यस घरमा बस्ने जो कसैलाई पनि राम्रो गर्छ । वास्तु एक जनाका लागि मात्र नभएर सबैका लागि मिल्दछ । वास्तु मिलाएर बनाएको घरमा सुख शान्ति र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । पछिल्लो समयमा विशेषगरी व्यावसायिक क्षेत्रमा लागेकाहरूले वास्तु मिलाएर आफ्नो व्यवसाय सञ्चालन गर्ने गरेका छन् । यो प्राचीन पेसा हो, तर अहिले यसलाई कतिपयले ठगीखाने माध्यम पनि बनाएका छन् । तर, यसले वास्तुप्रति मानिसको मोह बढ्दै गएको प्रस्ट हुने बताउँछन् वरिष्ठ वास्तुविद् डा. उत्तम उपाध्याय न्यौपाने । पूर्वीय दर्शन विद्यापीठ कोलकाताबाट २०७२ सालमा वास्तुशास्त्रमा विद्यावारिधि गरेका उपाध्याय पछिल्ला दिनमा निकै व्यस्त वास्तुविद्का रूपमा परिचित छन् । तराई टिभी, कान्तिपुर टिभी, युट्युब लोचन टिभीमा वास्तुसम्बन्धी विषयमा कार्यक्रम सञ्चालन गरिसकेका उनले पछिल्ला दिनमा नेपाल टेलिभिजनमा समेत वास्तुसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनै वास्तुविद् उपाध्यायसँग वास्तुका विषयमा कारोबारले गरेको कुराकानीको सार :

पछिल्लो समयमा धेरै उद्योगी, व्यवसायी, बैंकर तथा नीति–निर्मातासमेतले वास्तुका विषयमा चासो राखेको पाइन्छ । वास्तवमा वास्तु भनेको के हो ?
वास्तु सजिलो भाषामा भन्नुपर्दा पृथ्वी, जल, तेज, वायु र आकाश यी पञ्चतत्वको समिश्रण भन्ने बुझिन्छ । जसअन्तर्गत गास, बास र कपास मान्छेका लागि जति महत्वपूर्ण हुन्छ । ती विषयअन्तर्गतको वासअन्तर्गत नै वास्तु हो । वास्तु शब्दको उत्पत्ति वस्तुबाट भएको पाइन्छ । वस्तु अथवा वास्तुको ज्ञान गराउने शास्त्रलाई वास्तुशात्र भनिन्छ । विभिन्न विद्वान्हरूले वास्तुशास्त्रलाई भवन निर्माणको कला सिकाउने एउटा शास्त्र मानेका छन् । तर, वास्तुशास्त्रले भवन निर्माणका साथसाथै भवनमा राखिने विभिन्न वस्तुका लागि उपयुक्त स्थान र त्यसलाई राख्नुपर्ने दिशाको समेत ज्ञान गराएको हुन्छ । यसरी दिशा मिलाएर उचित कोठाको जानकारी हुन आवश्यक पर्छ ।

वास्तु र ज्योतिष विज्ञानमा के फरक छ ?
वास्तु र ज्योतिषमा केही फरक छ । वास्तु नितान्त वस्तुपरक विज्ञान हो, तर ज्योतिष ग्रह गतिका स्थितिको गणक विज्ञान हो । वास्तु वस्तुमा मात्र नभएर सम्पूर्ण चराचर प्राणीमा पनि लागू हुन्छ । साथै देशको भौगोलिक आधारलाई मानेर वास्तुको मिलान रहन्छ । तर, ज्योतिषभित्र सिद्धान्त, फलित, गणितदेखि लिएर अन्य हाँगाबिँगाहरू ज्योतिष विज्ञानमा रहन्छन् । जसमध्ये गणित विज्ञानको फल चाहिँ सत्य, तथ्य र यथार्थ हुन्छ ।

कुनै पनि संरचना बनाउन वास्तु मिलाउनुपर्छ भन्ने छ नि यसको कारण के हो ?
यो सृष्टिको क्रमदेखि नै वास्तुको संरचना मिलेको अवस्था पाइन्छ । प्रत्येक देशको भौगोलिक परिस्थिति तथा नियम भिन्नाभिन्दै हुन सक्छन् । अतः निर्माण हुने भवनमा जुनजुन प्राकृतिक ऊर्जाको स्रोत हुन्छ । त्यसको दिशामा भिन्नता पाइन्छ । यसको अतिरिक्त विभिन्न अलौकिक शक्तिका बारेमा पनि अनुभव गरिएको छ । तथा त्यसलाई अपनाइएको छ त्यो नेपालको वास्तु नियम अलि भिन्न देखिन्छ । ग्लोबल वास्तुशास्त्रको नियम मानव कल्याणको भावनाबाट ओतप्रोत छ । हजारौं वर्ष पहिलादेखि ठूलो अनुसन्धान र व्यावहारिक अनुभवपछि नै यी नियमको प्रतिपादन भएको छ ।
‘विश्वकर्मा प्रकाश’मा ब्याख्या गरेअनुसार भगवान श्रीकृष्णले सागरमति नदीका किनारमा १६ हजार १ सय ८ भवन निर्माण गर्दाको अवस्थामा वास्तु मिलान गरेर बनाउनुभएको थियो । त्योसँगैसँगै कलियुगको सुरुआतमा प्रयोगको वास्तु आजसम्म जीवन्त रहिरहेको अवस्था छ । त्यही कारणले गर्दा कुनै पनि संरचना बनाउँदा चाहे त्यो सरकारी होस् या गैरसरकारी, सानातिना भवन, अफिस, कसैको घर निर्माणा गर्नुपर्ने छ भने पनि वास्तुको नितान्त आवश्यकता रहन्छ । जसले यी संरचना वास्तु नमिलाई बनाउनुभएको छ भने घरमा, रोगब्याधि, अशान्ति, अत्याचार, दमन र पीडाको स्थिति बारम्बार निम्तन सक्ने हुन्छ ।
हाम्रा पूर्वजहरूले यो महत्वपूर्ण ज्ञानगंगा हामीलाई दिएका छन् । त्यसलाई पनि खास गरेर बृहस्पति, शुक्राचार्य, मय, विश्वमा, बराहमिहिर आदिले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । त्यसै कारण हामी उहाँहरूप्रति आभारी हुनुपर्छ, जसले वास्तुशास्त्रलाई एउटा मनोरम कलाको रूपमा शिल्परत्नमा वर्णित गरेका छन् ।

वास्तु नमिलाई बनाइएका संरचना र मिलाएर बनाएका संरचनामा के फरक हुन्छ ?
वास्तु मिलेको देशमा आमजनता सुखी, शान्त र समृद्ध हुन्छन् । त्यस्तै वास्तु मिलाएर बनाएको संरचनामा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ । जहाँ वास्तु नमिलेका संरचनामा रोग, ब्याध, अग्निभय, व्यापार व्यवसायमा असफलता, शिक्षामा बाधा, दाम्पत्य जीवनमा दरार हुने सम्भावना रहन्छ । सुख पाउन सक्ने अवस्था रहँदैन ।
उदाहरणका लागि शौचालयको सिट उत्तर–दक्षिणमा राख्नुपर्र्र्छ । फोहोरको भाँडो, सडकको बत्ती, खम्बा या ठूलो प्रवेशद्वार ढोकाको अगाडि हुनु हुँदैन । भान्सा, शौचालय तथा पूजाघर एकअर्काको वरिपरि बनाउनु हुन्न । घरको उचाइ नै नैऋत्यबाट इशानतर्फ घटेको हुनुपर्छ । मूल ढोकामा बत्ती लगाउनुलाई शुभ मानिएको छ । घरको उत्तरपट्टि कुना सदैव सफासुग्घर राख्नुपर्छ । यसरी बनाइका संरचनामा शान्ति र समृद्धि हुन्छ ।

पछिल्लो समय मानिसमा वास्तुप्रति निकै मोह बढेको पाइन्छ, विशेषगरी व्यवसायीहरू यसतर्फ बढी आकर्षित भएको पाइन्छ । त्यसको कारण के हो ?
हुन त पहिलादेखि नै यो वास्तुको विषय महत्वपूर्ण थियो । तर, मान्छेको बुझाइको कमीका कारण यसको पालना निरन्तर रूपमा हुन सकेन । दोस्रो विश्वयुद्धपछि वास्तुमा केही कमी भएको अवस्था देखिन्छ । त्यसपछि फेरि वास्तुले मानिसको जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । मानिसले यसलाई महत्व दिन थालेका छन् । अहिलेको अवस्था भने यो मोहमात्र नभएर सञ्चार जगतका कारण पनि यसको मोह बढ्दै गएको पाइन्छ । अझ बढी वास्तु महत्वपूर्ण व्यवसाय बनेको छ । किने भने व्यवसाय फरक–फरक प्रकृतिका छन् । कोही अग्नि तत्वको व्यवसाय छ भने अग्नि कोणमा राख्नुपर्ने हुन्छ । कोही जलतत्वको व्यवसायमा छ भने जलतत्वमा राख्नुपर्छ । पानीको व्यवसाय गर्नेले पूर्वउत्तरमा राख्नुपर्छ । व्यवसायको प्रकृतिअनुसार फरक–फरक कोणमा व्यवसाय गर्नुपर्ने हुन्छ । त्यो कोण नमिल्दा पनि व्यवसाय असफल हुन्छ । कोण नमिलाएका कतिपय व्यवसाय धराशायी भएको अवस्था पनि छ । यस्तो भएको थाहा पाउन थालेपछि धेरै व्यवसायीले वास्तुसम्बन्धी जिज्ञासा राख्दै त्यसप्रति आकर्षण भएको पाइन्छ ।

कतिपयले वास्तुलाई पुरानो र परम्परावादी सोच पनि भन्ने गरेको सुनिन्छ । यो एउटा विज्ञान नै हो भनेर प्रमाणित हुने कुनै आधार छ ?
वास्तु विल्कुलै पुरानो र परम्परावादी विचार होइन । यो त विज्ञान नै हो । नेपालका सन्दर्भमा हेर्नुपर्दा हिन्दूको एउटा हाँगो हो भनेर कतिपयले व्याख्या गरेको पाइन्छ । तर यो जुनसुकै धर्ममा वास्तु विशुद्ध विज्ञान मानिएको छ । यो पक्कै पनि विज्ञान हो । चीनमा फेड्गुसुई भनिन्छ भने विश्वको पूर्वीय देश र पाश्चात्य देशहरूमा यसलाई वास्तु नै भनेर भनिन्छ । जसमध्ये सृष्टिका क्रममा सात द्वीपहरू बनेका थिए । ती द्वीप पनि वास्तुपरक मै निर्माण भएकाले विज्ञानले पनि यसलाई प्रमाणित गरेको छ । सोही कारणले वास्तु पुरातन र परम्परावादी होइन । फेरि वास्तु मिलाएर बनाइएका संरचना अन्यभन्दा फरक र मानवजीवनमा सकारात्मक प्रभाव पर्ने भएकाले पनि यो पुरातन सोच होइन भन्ने प्रस्ट हुन्छ ।

वास्तुशास्त्रको प्रयोग कहिलेदेखि भएको इतिहास छ ?
पृथ्वीले करिब ४ सय ८ करोड वर्षअघिदेखि अन्तरिक्षमा भ्रमण गरिरहेको छ र त्यसबाट पृथ्वीले एउटा स्थायी चुम्बकीय शक्ति ग्रहण गरेको छ । त्यसबाटै पृथ्वीलाई एउटा निश्चित गति प्राप्त भएको छ । पृथ्वीमा सूर्य–ऊर्जा, चुम्बकीय ऊर्जाको निश्चित गतिको मापन हाम्रा ऋषिमुनिहरूले आफ्नो अनुसन्धान एवं अनुभवका आधारमा पहिले नै पत्ता लगाएका थिए । तिनै कुरा वास्तुशास्त्रको नियमनमा निहित छन् । यही कारण हो कि चुम्बकीय दिक्सूचक यन्त्रले सदैव उत्तर दक्षिणतर्फ संकेत गरेको छ । वास्तुशास्त्रको नियममा पनि उत्तर दिशालाई अनुकूल ऊर्जाको स्रोत मानिएको छ । वास्तु सत्ययुगदेखि नै प्रयोग भएको पाइन्छ । सत्य, त्रेता, द्वापर र कली चारै युगमा वास्तु प्रयोग भएको पाइन्छ ।

आधुनिक विज्ञानले वास्तुलाई कसरी स्वीकार गरेको छ ?
पञ्चतत्वलाई सम्प्रेषण गरेर अहिलेका इन्जिनियरहरूले संरचना निर्माण गर्दा पुल, मोटरबाटो, उद्योग, कलकारखाना, कृषिक्षेत्र, आवास क्षेत्र वास्तुविद्सँग परामर्श गरेर बनाएको अवस्था पाइन्छ । त्यो भएर आधुनिक विज्ञानले वास्तुलाई स्वीकार गरेको छ ।

वास्तु मिलाएर बनाइएका संरचना दीर्घकालीन र समृद्ध हुने त भनिन्छ, त्यसको कुनै उदाहरण दिन सकिन्छ ?
भारतवर्षमा मथुरा, वृन्दावन, काशी, वनारस, तिरुपति बालाजी र नेपालमा पशुपतिनाथ, पाथीभरा, मुक्तिनाथ, जानकी मन्दिर, लुम्बिनीलगायतका ऐतिहासिक स्थल वास्तु मिलेको मानिन्छ । प्यागोडा शैलीमा वास्तु मिलाएर बनाइएको छ । काठमाडौंको वसन्तपुर दरबार पनि वास्तु मिलाएर बनाएको पाइन्छ । वास्तु मिलेकै कारण यी मन्दिर र सम्पदा प्रसिद्ध छन् ।
तर मुलुकका केही प्रसिद्ध संरचनाको वास्तु पटक्कै मिलेको छैन । जस्तो मुलुक संघीयतामा गएपछि प्रदेश विभाजन गर्दा प्रदेशको संरचना मिलेको छैन । प्रदेश २ र ५ को संरचना वास्तुअनुसार मिल्दै मिल्दैन । साथै राजधानीका विषयमा पनि प्रदेश १, ३, ५ र ७ को वास्तु मिलेको छैन । ती राजधानीको संरचना वास्तुअनुसार पटक्कै मिल्दैन । त्यसका साथै पुराना संरचनामा नारायणहिटी दरबार, सिंहदरबार, संसद् भवनको वास्तु मिलेको छैन । प्रधानमन्त्री कार्यालय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटारको पनि वास्तु मिलेको छैन । सोही कारण अहिले पनि ती स्थानमा सधैं विवाद, झैभगडा हुने गरेको छ । गर्न खोजिएको काम तत्काल हुनसकेको छैन । राजदरबारमा भएको वीभत्स हत्याकाण्ड पनि वास्तु नमिल्दाको परिणाम हो भन्ने लाग्छ । ठूलो भौतिक संरचना निर्माण गर्दा होस् या मानिसले आफ्नो बास बस्नका लागि बनाएको झुपडी नै किन नहोस् वास्तु मिलाएर बनाएको छ भने त्यसले निकै शान्ति कायम गन मद्दत पुग्छ । वास्तु नमिलाई बनाइएका आवासमा सधैं झगडा, किचलो मात्र हुँदैन सम्पन्नता पनि कहिल्यै हुन सक्दैन । संरचनाहरू ऊर्जा सञ्चय हुने खालका हुनुपर्छ । ऊर्जा गएमा त्यस घरका सहसमेत बाहिरिन्छ । त्यसैले समृद्धि पाउन सकिँदैन ।

वास्तु कुन–कुन क्षेत्रमा प्रयोग हुन्छ ?
वास्तु प्रयोग हुन नसक्ने कुनै क्षेत्र नै छैन । सबै क्षेत्रमा हुन्छ । वस्तुपरक सम्पूर्ण चीजमा यो लागू हुन्छ । वास्तुशास्त्रमा दिशाको महत्व धेरै हुन्छ । दिशाबिना वास्तुशास्त्रको कल्पना गर्न सकिँदैन । विभिन्न आकारको जमिनमा आफूले चाहेको निर्माण सामग्री बनाउँदा वास्तुको सिद्धान्त अपनाएको हुन्छ । उक्त वास्तुमा दिशा निश्चित आकार दिने औजार हो । वास्तुको दिशाअनुसार बनाएको भौतिक निर्माणले मात्र शुभ फल दिन्छ ।

तपाईं वास्तुका विषयमा विज्ञ मानिनुहुन्छ । अहिलेको अवस्थामा नेपालका कति प्रतिशत मानिसले वास्तु मिलाएर घर बनाएको जस्तो लाग्छ ?
नेपालका ऐतिहासिक सम्पदाहरूमा वास्तु मिलेर बनाएको पाइन्छ । बीचमा रोकिएको थियो । अहिले फेरि सुरू भइसकेको छ । पछिल्लो समयमा म नेपालको पूर्वदेखि पश्चिमसम्म ४३ सय किलोमिटर यात्रा गरें । एनआईसी एसिया बैंकको वास्तुका लागि म गएको थिएँ । वास्तु मिलाउनु नेपालको यो पहिलो बैंक पनि हो । यो बैंकका २ सय ८२ वटै शाखामा पुगेर वास्तु मिलाएर फर्किएको छु । अहिलेको स्थितिमा व्यवसाय, कारोबार पनि वास्तु मिलाएर गर्नुपर्ने भएकाले गरिएको छ । २०७२ सालको भूकम्पपछि मानिसमा जागरूकता आएकाले धेरैले वास्तु मिलाएर बनाउने गरेका छन् । तर पनि यसका बारेमा धेरैलाई जानकारी भए पनि मिलाउन नसक्ने कारणले उनीहरू यस्तै आवासमा बसिरहेका छन् । वास्तु नमिलाई बनाइएका संरचनामा पनि वास्तु मिलाउन सकिन्छ । हामी त्यसको निराकरण गर्न सक्छौं ।

कुन क्षेत्रमा मानिस यसमा बढी आकर्षित छन् ?
व्यापार व्यवसाय, गृहनिर्माण, शिक्षा, अस्पतालका मानिस बढी आकर्षित भएको पाइएको छ । बैंक वित्तीय संस्था, कलकारखाना, उद्योगधन्दाका मानिस पनि आकर्षित छन् । तर, सबै व्यक्तिले वास्तु मिलाएर संरचनाहरू निर्माण गर्नुपर्छ भन्ने लाग्छ ।

धेरै नागरिकलाई वास्तुबारे जानकारी नभएको अवस्था छ ? यसबारे जानकारी दिन के गर्नुपर्छ ?
वास्तुविद् र इन्जिनियर मिलेर, आमनागरिक र स्थानीय तह मिलेर तालिम दिने, वास्तुविद्हरूसँग सल्लाह गरेर तालिम लिने गरेमा, सञ्चार माध्यममार्फत जानकारी गराउन सकिएमा यसबारे जानकारी लिन सकिन्छ । जनप्रतिनिधि र स्थानीय सरकारहरूले पनि यसको पहल गर्नुपर्छ । हामी वास्तुविद्हरूले पनि केही चाहिँ जानकारी दिएका छौं । विभिन्न संघसंस्थाले पनि यसबारेमा जानकारी दिन थालेका छन् ।

तपाईंले यसै विषयमा विद्यावारिधि गर्नुभयो, तर कतिपयले वास्तु नै नबुझे पनि आफू वास्तुविद् हुँ भन्दै हिँड्ने गरेका छन् र भ्रमसमेत सिर्जना गर्ने गरेका छन् । यस्तो अवस्थाको अन्त्य गर्न के गर्नुपर्छ ?
प्रथमतः सही वास्तुविद् चिन्ने र बुझ्ने गर्नुपर्छ । आमसञ्चार माध्यममा हेरेर बुझ्ने र जान्ने गर्नुपर्छ । कतिपय भ्रम सिर्जना गरेका छन् । तिनीहरूले वास्तु संघसंस्थाले पनि खोज गरेर सत्यतथ्य आम जनमानसमा प्रस्तुत गर्नुपर्ने हुन्छ ।

वास्तुशास्त्रलाई अलि जटिल मानिन्छ । सहज रूपमा यसलाई कसरी बुझाउने ?
वास्तु भनेको इन्जिनियर हो । यो व्यावहारिक शिक्षा हो । व्यावहारिक शिक्षा भएकाले पढ्दै, व्यवहारमा उतार्दै र सिक्दै जानुपर्ने हुन्छ ।

तपाँईले वास्तुसम्बन्धी शिक्षा र ज्ञान कसरी लिनुभयो ?
मैले ६ कक्षादेखि नै संस्कृतमा अध्ययन गर्दै गएँ । छिमेकी मुलुक भारतका विश्वविद्यालयहरूबाट अध्ययन गरें । अहिले १६ वर्षदेखि व्यावसायिक रूपमा काम गर्दै आएको छु । तराई टिभी, कान्तिपुर टिभी, युट्युब लोचन टिभीमा पनि राखेको छु । हुँदै नेपाल टेलिभिजनमा छु । यो व्यावहारिक विज्ञान भएकाले मैले काम गर्दै आएको छु । फेसबुक पेजमा नै मेरो १ लाख फ्लोअर्स छन् । नेपालमा मात्र नभई विश्वका कुनै पनि क्षेत्रमा सेवा उपलब्ध गराउँदै आएको छु ।

कुनै पनि घर बनाउँदा सामान्यतः कसरी वास्तु मिलाएर बनाउन सकिन्छ ?
कुनै पनि संरचना बनाउँदा पूर्व तथा उत्तर दिशाको भाग खुला अर्थात् होचो हुनुपर्छ । पश्चिम तथा दक्षिण दिशाको भाग भने अग्लो हुनु नै राम्रो मानिन्छ । पूर्व र उत्तरको बीच भागमा पानीको स्रोत, इनार, कुवा, धारो वा पानी ट्यांकी आदिको लागि राम्रो मानिन्छ । यस दिशामा प्राचीन जलका स्रोतहरू छन् भने त यसले मानिसलाई निकै समृद्ध बनाउने कुरा वास्तुशास्त्रमा लेखिएको छ ।
पूर्व र उत्तर दिशाको बीच भागलाई इशान कोण भनिन्छ । इशान दिशामा बनाइएका कोठाहरू सकेसम्म थोरै क्षेत्रफलको बनाउनु राम्रो मानिन्छ । यसको विपरीत इशान कोणका कोठाहरू ज्यादै ठूलो भएमा पनि यसले त्यस घरमा बस्नेलाई अनेक प्रकारका समस्या दिने वास्तु शास्त्रको मान्यता छ ।
इशान दिशालाई देवभूमि भनिन्छ । यस दिशामा देवताको पूजाआजा गर्ने ठाउँ बनाउनुपर्छ । यदि घरको अन्य भागमा पूजा गर्ने ठाउँ बनाइएको छ भने पूजा स्थललाई इशान कोणमा नै ल्याउनुपर्छ । त्यसैगरी पढ्ने तथा पढाउने कामकाजका लागि पनि इशान दिशा नै प्रयोग गर्नु भन्ने निर्देशन वास्तु शास्त्रमा गरिएको छ ।
इशानकोण देवताको स्थान भएकाले यस दिशामा फोहोरहरू राख्ने गर्नु हुँदैन । यस कोणलाई सधैँ सफा राख्नाले घरमा सकारात्मक ऊर्जाहरू आउने वास्तुको मान्यता छ । साथै यस दिशामा अत्यधिक ग-हौं र धेरै भार भएका सामग्री पनि राख्नु हुँदैन । यस दिशालाई सकेसम्म सफा र खाली नै राख्नु राम्रो हुने गर्छ ।