धर्मेन्द्र कर्ण
आइतवार, असार १५, २०७६
454

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टी औपचारिकताका लागि निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन आयोगबाट दर्ता प्रक्रिया पूरा नभएकाले कतिपय सन्दर्भमा पार्टीभित्र शंका–उपशंका उत्पन्न भएको देखियो । एकीकरण भई समाजवादी पार्टी बनिरहँदा त्यस पार्टीका कतिपय नेताले असन्तुष्टि नजनाएका भने होइनन् । पार्टी गठन भइसकेपछि विभाजन हुनसक्ने चर्चा पनि चल्यो । पार्टीका दुई अध्यक्षबीच विवाद पनि चर्कियो । पार्टी फुट्ला फुट्ला भन्ने स्थिति पनि देखियो । समाजवादी पार्टीको केन्द्रीय नेतृत्व चिन्तित हुन पुग्यो । पार्टीले विज्ञप्ति निकालेर दुई अध्यक्षबीच कुनै मतभेद नभएको जनाउ पनि दियो । तराई–मधेसका विभिन्न ठाउँमा दुवै अध्यक्ष र दुवै पार्टीका नेताहरूले संयुक्त कार्यक्रम गरी फर्केलगत्तै पार्टीका केही नेताले सरकारबाट हट्न उपप्रधानमन्त्री यादवमाथि दबाब दिन खोजे । तर, सरकारबाट हट्ने कुरो दबाब मात्रले पुग्ने कुरो थिएन । त्यसका लागि पार्टीमा निर्णय गराउनुपर्ने हुन्छ । पार्टी एकीकरण गर्नुअघि भट्टराईले सरकारबाट हट्न गरेको प्रस्तावको जवाफमा यादवले पार्टी एकीकरण गरेपछि बनेको पार्टीले निर्णय गरेअनुसार सवालको जवाफ खोज्ने बताएका थिए । पार्टी एकीकरण सभामा डा. भट्टराईले सरकारले संविधान संशोधनको माग पूरा नगरे सरकारबाट हट्ने निर्णय गरिने जनाएका थिए ।
संयुक्त कार्यक्रम गरी फर्केका नेताहरूले सरकारमा बसिरहनुभन्दा नबस्नु राम्रो हुनसक्ने देखेपछि यो प्रस्ताव अगाडि बढाउँदा पार्टीको विवादलाई थामथुम पार्न निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरिएको थियो । त्यो निर्णयअनुसार पार्टी दर्ता प्रक्रिया अघि बढाइएको तर प्रक्रिया पूरा भइनसकेको उक्त पार्टीका नेताहरूको भनाइ छ । पार्टी एकीकरणपछि पार्टीको तल्लो पंक्तिमा नयाँ लहर उत्पन्न भएको कार्यकर्ताहरूले बताए पनि आमजनतामा संविधान संशोधन हुन नसकेका कारण तत्कालीन फोरमका नेताहरूप्रति जनताको आक्रोश देखिएको छ ।

समाजवादी पार्टीका नेता तथा उपप्रधानमन्त्री यादवले राजपाका नेता राजेन्द्र महतोसँग अनौपचारिक छलफल अगाडि बढाएको देखियो । समाजवादी पार्टीका नेताहरूका अनुसार पार्टीभित्रको असन्तुष्टि मिलाउन राजपाका नेताहरूसँग वार्ताको मुद्दा अगाडि सारिएको थियो । राजपाका नेताहरूले फोरमसँग एकता हुने बताए पनि तत्कालै भइहाल्नेमा शंका व्यक्त गरेका छन् । अर्कातर्फ समाजवादी पार्टीभित्रको समायोजन पनि पूरा भएको छैन । नेता र पार्टीको एकीकरणबाट जनताले चाहेको पार्टी र नेताको निर्माण होला र यस्तो अवस्थामा समाजवादी पार्टीको विकास नेपाली राजनीतिमा कस्तो हुनेलगायतका विषयमा विभिन्न व्यक्तिसँग कारोबारकर्मी धर्मेन्द्र कर्णले गरेको कुराकानीको सार:
कम्युनिस्ट र कांग्रेसको विकल्पका रूपमा बलियो पार्टी बन्ने
डा. शिवजी यादव
सदस्य
राजनीतिक समिति
समाजवादी पार्टी नेपाल
समाजवादी पार्टी नेपालको गठन भएपछि बलियो वैकल्पिक शक्तिको निर्माणको दिशामा बलियो पाइला अगाडि बढाइएको छ ।
निःसन्देह जतिखेर नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकीकरणको घोषणा भयो त्यतिखेर केन्द्रीय समितिदेखि तल्लो तहको समितिसम्म विभिन्न किसिमका शंका–उपशंका उत्पन्न भएका थिए । भट्टराईसँगको त्यो एकताका बारेमा पूर्वजानकारी दिइएको थिएन, तर नेपालको राजनीति र संविधान संशोधनको आवश्यकताका लागि चाहिने राजनीतिक शक्तिको निर्माणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको औचित्यका बारेमा बुझाइएपछि केन्द्रीय समितिदेखि तल्लो तहका समितिहरूमा विश्वासको नयाँ लहर सञ्चार हुन पुगेको छ । विचार र सिद्धान्तका रूपमा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको दूरी थिएन, त्यसैले समाजवादी पार्टी बनाइयो ।
नेपालको बदलिँदो राजनीति परिस्थितिका लागि देशमा भएको सशस्त्र आन्दोलनका रूपमा माओवादी जनयुद्ध र मधेस आन्दोलनको ठूलो प्रभाव छ । यी दुई आन्दोलनको खाका कोर्नेहरू मध्येका अुगवा नेताका रूपमा डा. भट्टराई हुनुहुन्छ । उहाँले माओवादी नेताका रूपमा संविधानसभाबाट संविधान घोषणा हुँदा पानी आधा गिलास भरेको र आधा गिलास खाली रहेको टिप्पणी गर्नुभएको थियो । यसबाट बनेको संविधानमा आदिवासी जनजाति, मधेसी, महिला, दलित, शिल्पीलगायतका अधिकारबाट वञ्चित समुदायको हकअधिकार सुनिश्चित गर्न अझ बाँकी रहेको बलियो बुझाइ डा. भट्टराईमा प्रस्ट छ । समावेशी समाजका रूपमा नेपालको रूपान्तरणका लागि भएको मधेस आन्दोलनलाई मात्र मधेसीहरूको आन्दोलनको रूपमा परिभाषित गरिएको थियो । त्यसको कारण मधेसी जनअधिकार फोरमको नामबाट भएको आन्दोलनको बलियो प्रभावले गर्दा हुन गयो । त्यो मधेसी पार्टीको छाप संघीय समाजवादी फोरम बनेसम्म पनि रहेको पाइएको थियो । गैरमधेसी अनुहार अशोक राई र राजेन्द्र श्रेष्ठजस्ता नेता पार्टीको शीर्षतहमा आए पनि संघीय समाजवादी फोरमलाई मधेसीमात्रैको पार्टीको छापलाई हटाउन सकिएको थिएन । डा. भट्टराई नेतृत्वको पार्टीको संसद्मा निःसन्देह गणितीय समीकरणका आधारमा साह्रै कमजोर स्थिति थियो, तर उनको राजनीति भने बलियो छ । माओवादी पार्टीको नेताका रूपमा नीतिगत रूपमा नेपालको राजनीतिलाई यहाँसम्म पु¥याउने काम भट्टराईबाट भएको छ । भट्टराईको सहभागिताबाट समाजवादी पार्टी निश्चय नै देशको पार्टी बन्न पुगेको छ । यो देशमा तीन बलियो जातिगत पहिचान बोकेको समूह छ । आदिवासी जनजाति, मधेसीमुस्लिम र खसआर्य गरी तीन प्रमुख समूहको उपस्थिति छ ।
यो पार्टीमा अशोक राई, राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङजस्ता नेताको शीर्षतहको उपस्थितिले गर्दा आदिवासी जनजातिको पहुँचलाई सुनिश्चित गर्छ भने सत्तामा बलियो पकड जमाएको समूहका रूपमा रहेको खस आर्यको जातिगत समूहको प्रतिनिधित्व तथा जनयुद्ध एवं मधेस आन्दोलनको नीतिको प्रतिनिधित्वको एकमुस्ट प्रतिनिधित्व डा. भट्टराईबाट भएको छ भने उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्रजीको नेतृत्वमा रहेको पार्टीलाई मधेसी पार्टीको पहिचान पहिले नै बनिसकेको छ । यसरी नेपालको वास्तविक राष्ट्रिय चरित्र बोकेको पार्टीको रूपमा समाजवादी पार्टीको रूपमा विकास भएको छ । देशका यी तीन महत्वपूर्ण बलियो समूहको सहयोग र साथ लिन हाम्रा नेतृत्व सफल हुने विश्वास पार्टी पंक्तिमा रहेको छ । समाजवादी पार्टी कुनै एक क्षेत्र र जाति विशेषको पार्टीको रूपमा न पहिले थियो, न अहिले छ । यो राजनीतिक रूपमा नयाँ समावेशी समाजवादी समाजको निर्माण गर्न बनेको थियो । तर, यसको छवि सञ्चारमाध्यममा मधेसी पार्टीको रूपमा बनाइएको थियो । सत्तापक्षका नेताहरूले विगतमा यसलाई नै भजाएर शक्ति फुकाएका हुन् । एजेन्डाका रूपमा हाम्रो एजेन्डा बलियो भएर गएको छ । हामी विश्वस्त छौं, समाजवादी पार्टी छिट्टै बलियो भएर जनताको अधिकार सुनिश्चित गर्ने पार्टीको रूपमा स्थापित हुनेछ । कम्युनिस्ट र कांग्रेसको विकल्पका रूपमा बलियो पार्टी बन्नेछ ।
जनतालाई खासै फरक परेको छैन
सञ्जय कर्ण
शिक्षक, ललितपुर
नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकताबाट भएको समाजवादी पार्टीको गठनले आमजनतामा खासै फरक परेको देखिएको छैन । यसले राजनीतिक कार्यकर्ताका लागि चर्चाको विषय बनाएको देखिन्छ । आमजनता कुनै पनि पार्टीबाट खुसी छैनन् । तिनका नेताहरूले पटक–पटक आन्दोलन गरेका छन् । आममानिसले छोराछोरी गुमाएका छन् । तिनको परिवारले कष्टपूर्ण जीवन बाँच्नुपरिरहेको अवस्था छ । माओवादी जनयुद्धमै हजारौं मारिए । छोराछोरी गुमाएका अधिकांश घर परिवारको बिच्चली भएका समाचारहरू सञ्चार माध्यममा छापिएका छन् । अर्कातर्फ तिनका नेताहरू अर्बपति भएका समाचार पनि छापिएका हुन्छन् । आमजनताका लागि यो गर्ने, त्यो गर्ने नेताहरू मन्त्री–प्रधानमन्त्री बन्दा पनि त्यो पूरा हुँदैन । नेताहरूको व्यवहारबाट राजनीतिक दलप्रति आमजनताको वितृष्णा पैदा भएको छ । मधेस आन्दोलनकै क्रममा कतिपयले छोराछोरी गुमाएका छन् । कतिपयको अंगभंग भएको छ । कतिपय जीवनभरका लागि अपांग भएका छन् । तिनका घरपरिवारको बिचल्ली छ, तर तिनका नेताहरू अर्बौं कमाउँछन् । उनीहरूले आफ्ना भाइभतिजा र स्वास्नीलाई नेता, सांसद बनाउन थाल्छन् । जुन नीति र आदर्शलाई अगाडि बढाएर नीति बनाउँछन्, तिनको मजाक बनाउँछन् । यो सब देखेर मानिसहरू दिक्क छन् । नेताहरूको व्यवहारमा दोहोरो चरित्र देखिएको छ । जनताका लागि लड्छु, मर्छु भन्ने नेताहरूको व्यवहारमा परिवर्तन भएको र ती नेताहरू नै नेतृत्वमा रहेकाले यो एकताबाट आमजनतालाई कुनै प्रभाव पारेको छैन ।
नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री उपेन्द्र यादव कुनै बेला एकै पार्टीमा काम गरेका नेता हुनुहुन्छ । संविधान संशोधनका एजेन्डा उठाएर यादवले आन्दोलन गर्नुभयो । संशोधन नभएसम्म आन्दोलन गरिरहने बताउनुभयो । पछि चुनावमा भाग लिनुभयो । चुनावमा भागमात्रै लिनु भएन, आन्दोलनलाई पन्छ्याउनु मात्रै भएको छैन, उहाँ त सरकारमै पुग्नुभएको छ । भन्न त संविधान संशोधन गराउने भनेर सरकारमा जानुभएको हो । तर, एक वर्ष भइसक्यो, संविधान संशोधनका लागि केही गरेको देखिएन ।
संविधान सभामा मस्यौदा समितिका सभापति नै भट्टराई हुनुहुन्थ्यो । संविधानमा अपुरो भएका विषयलाई पूरा गराउन सक्नुहुन्थ्यो । त्यसमा सफल नभए त्यसबारे बाहिरबाट दबाब सिर्जना गराउने कार्य गर्न सक्नुहुन्थ्यो । नसके त्यतिखेर राजीनामा दिएर बाहिर आउन सक्नुहुन्थ्यो । त्यसो गरेको देखिएन । उहाँले पनि संविधान घोषणा गराउन सघाउनुभएको हो ।
अर्कातर्फ यादवजीले पनि संविधान कार्यान्वयनमा सघाउनुभएको हो । दुवै जनाको विचार यस आधारमा मिलेर गएको हो । त्यसैले उहाँहरूको एकताको विषय राजनीतिक कार्यकर्ताहरूका लागि चर्चाको विषयमात्र हो । आमजनतामा स्थापित हुन र नेताहरूको राम्रो व्यवहार जनतामा स्थापित हुनुपर्छ । जनतामा राजनीतिक दल र तिनका नेताहरूका बारेमा परेको नकारात्मक बुझाइ हटाउनुपर्ने जिम्मेवारी ती नेताहरूकै छ ।
समाजवादी पार्टीको गठनले नेकपालाई धक्का
सत्यनारायण मण्डल
उपाध्यक्ष
राजपा नेपाल
नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकीकरणबाट समाजवादी पार्टी बनेपछि सबैभन्दा बढी धक्काको महसुस नेकपालाई लाग्नु स्वाभाविकै हो । नेकपाका नेताहरूले यो एकता नचाहँदा–नचाहँदै भइछाडेको छ । चुनावका बेला नेकपाका नेताहरूले एकता भाँड्न गरेको प्रयास सफल भएकाले आफ्नो शक्ति सञ्चय गर्न सफल भएका हुन् । संघीय समाजवादी फोरम र राजपाबीचको चुनावी तालमेलले दुवैको बलियो पकड रहेको तराई–मधेसमा बलियो परिणाम देखाएकै हो । यो तालमेल मात्रै नभई पार्टी एकीकरण भएर भएको भए निश्चय नै पार्टीको आकार अहिलेको तुलनामा धेरै ठूलो हुने थियो । अहिलेका ठूला दल खुम्चिने थिए, तर नेकपाका नेताहरूले त्यतिखेर एकता हुन दिएनन् । बैठक पटक–पटक बसेको भए पनि एकता हुनसकेको थिएन । त्यसैले सत्ताधारी नेकपाका लागि यो एक धक्का लागेकै हो ।
डा. बाबुराम भट्टराईको राजनीतिक पहिचान देशभर नै छ । खस आर्य समुदायको अनुहार बोकेकाले पार्टी पहाडमा पनि नयाँ पहिचान कायम हुन पुगेको छ । गएको चुनावमा अरू विदेशी आफूमात्र देशी भनेर गलत राष्ट्रवादी सोचलाई अगाडि बढाएर सत्ताधारी नेकपाले चुनाव जितेको हो । अब पहाडमा उनीहरूलाई सजिलो नहुने भएपछि दबाब नेकपामा परेकै छ । उनीहरू र हामी (राजपा) बीच खासै अन्तर छैन । समाजवादी पार्टी र राजपाबीचका नेताहरूबीच पनि अनौपचारिक छलफल भइरहेको छ । यो एकता भएपछि सदनमा बलियो शक्तिको रूपमा स्थापित हुनेछ । तराई मधेसमा पनि हाम्रो शक्ति एकीकृत भएपछि बलियो पार्टीको प्रभाव उत्पन्न हुन्छ । आदिवासी जनजाति, मधेसी, मुस्लिम महिला दलितहरूको अधिकार सुनिश्चित गर्न र बाँकी रहेको संविधान संशोधनको एजेन्डा बलियो भएर आउनेछ । संविधान संशोधन नगर्ने सरकारलाई घेर्ने आन्दोलन पनि प्रभावकारी हुनपुग्छ । तर, फेरि कतैबाट यो एकता प्रक्रिया भाँड्ने काम सुरु भएको हो कि जस्तो देखिएको छ ।
नेताहरूबीच अनौपचारिक छलफल भएको छ । तर, औपचारिक छलफल हुनसकेको छैन । हामीले थाहा पाएअनुसार समाजवादी पार्टीका नेताहरूले सत्ताधारी नेकपाका नेतासँग पार्टी एकीकरणको अनौपचारिक छलफल अगाडि बढाएका छन् । सत्ताधारी नेकपासँगको पार्टी एकताबारे राजपा सोच्न पनि सक्दैन । हामीले नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने गरी पार्टी बनाएका छौं, नेकपासँग विलय भएर जान होइन । राजपा र समाजवादी पार्टीबीचको सैद्धान्तिक र वैचारिक आधार मिलेको छ । दुई पार्टीको आधारभूमि पनि मधेस आन्दोलनको ऊर्जा नै हो । सत्ताधारी नेकपाले संविधान संशोधनको विषयलाई आफ्नो निगाहमा पार्ने दाउका रूपमा लिएको छ । उसले आदिवासी जनजाति, मधेसीलगायतका विभिन्न वञ्चित समुदायको आन्दोलनको उपेक्षा गरेको छ । त्यसैले समाजवादी पार्टीका नेताहरू नेकपाका नेताहरूसँग कुन राजनीतिक स्वार्थ पूरा गर्न बढेका छन् भन्न सकिँदैन, तर त्यसो भएमा हामी चिन्तित भइहाल्ने अवस्था छैन ।
हामीलाई सरकारमा जाने प्रस्ताव नआएको भने होइन, तर हामीले त्यसलाई तत्कालको मुद्दा बनाएका छैनौं । अहिले हामीले संविधान संशोधनको मुद्दालाई अगाडि सारेका छौं । त्यो नभएसम्म हामी सरकारमा नजान भनेका छौं । त्यसैले हामीले फोरमलाई सरकारबाट हट्न भनेका छौं । संविधान संशोधनका लागि मिलेर संघर्ष गर्न आह्वान गरेका छौं ।
समाजवादी पार्टीका नेता भट्टराईले पनि सरकार छोड्नुपर्ने माग अघि सार्नुभएको थियो । त्यसैले उहाँ पनि सरकार छोड्नुपर्ने धारको मानिस रहेको स्पस्ट छ । राजनीतिक दलका लागि आन्दोलन सदैव औजारका रूपमा रहिरहन्छ । यस अर्थमा समाजवादी पार्टी र हामीबीचको एकता धेरै महत्वपूर्ण राजनीतिक विषय हो । जनताको अपेक्षा पनि यही छ । यी दुई शक्ति एक भएर जनतालाई अधिकार सम्पन्न बनाउनुपर्ने जनताको चाहना पार्टीका नेताहरूको जिम्मामा छ ।