कारोबार संवाददाता
मंगलबार, बैशाख १०, २०७६
235

सुदूरपश्चिमको समृद्धिको पाँच आधार कृषि, पर्यटन, जलस्रोत, पूर्वाधार र जडीबुटी हुन् । उता सुन्दर सुदूरपश्चिमको बयान गरिसाध्य छैन । सुदूरपश्चिम प्रदेशलाई प्रकृतिले नै सुन्दरताको आशीर्वाद र सम्भावनाको वरदान दिएको छ । विगतमा विकास भनिए पनि संघीयतामा समृद्धि भन्न थालिएको छ । विकास-समृद्धि संसारभर निरन्तर चलिरहन्छ । सुदूरपश्चिममा हिजो गरेनौं, गर्न सकिएन भन्ने लघुताभास र दोषारोपणभन्दा पनि अब प्रदेशको समुचित, समन्यायिक र सर्वाङ्गीण विकासमा संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि कसर बाँकी नराख्ने गरी कदम चाल्नुपर्छ । यसका लागि स्पष्ट सोच, लक्ष्य र दृष्टिकोणको आवश्यकता छ । जति लगानी आवश्यक परे पनि लगाउन सक्ने खुबीका साथ काम गर्नुपर्छ । आवश्यकता र नागरिकको अपेक्षा पनि यही छ । सुदूरपश्चिमले नेपाललाई समृद्ध मुलुकका रूपमा चिनाउने ल्याकत राख्छ । प्रदेशको प्राकृतिक स्रोतलाई उपयोग गर्न सके अरू प्रदेशको दाँजोमा यसले चाँडो समृद्धि चुम्ने स्थानीय विश्वास गर्छन् । उनीहरूले सडक र हवाई कनेक्टिभिटी भरपुर विकास गर्नुपर्ने माग गरेका छन् । पूर्वाधारमा राज्यको लगानी भएपछि निजी क्षेत्रको लगानी पनि बढ्दै जान्छ । प्रदेशमा अहिले स्थानीय ससानादेखि ठूला स्वदेशी एवम् बाह्य लगानीकर्ताको खाँचो छ । प्रदेशका ९ जिल्लामध्ये कैलाली र कञ्चनपुरचाहिँ तराईमा पर्छन् । पूर्वपश्चिम राजमार्गमा पर्ने यी दुई जिल्ला पहाडी क्षेत्रको तुलनामा विकसित पनि छन् । दुई जिल्लाको कृषि उत्पादनले प्रदेशलाई धान्छ । यस प्रदेशको जनसंख्या करिब २६ लाख छ । यहाँका युवा सानो कामका लागि न्यून तलबमा भारत भासिएका छन् । यसलाई रोक्न आवश्यक छ । देशको कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको योगदान १ सय ९० अर्ब रुपैयाँबराबर छ । यो ६.३ प्रतिशत हुन आउँछ । यसैगरी यस प्रदेशमा प्रतिव्यक्ति आय ६ सय ६० अमेरिकी डलर छ । कुल विद्युत् उत्पादन क्षमताको एकतिहाइ क्षमता सुदूरपश्चिम प्रदेशमा रहेको छ । नेपाल सरकारले आगामी वर्षको बजेटको तयारी थालिरहेको सन्दर्भमा यस प्रदेशको समग्र विकासमा बजेट वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रदेशको विकास र लगानीको क्षेत्र, माग, आवश्यकता, सम्भावना र चुनौतीमा केन्द्रित रही कारोबार ले कन्चनपुरमा आयोजना गरेको सुदूरपश्चिममा लगानीको सम्भावना, अवसर र चुनौती विषयक अन्तक्र्रियामा ब्यक्त विचारको सार संक्षेप :


सुनौलो प्रदेश बनाउँछौं

अर्जुनबहादुर थापा
सभामुख, सुदूरपश्चिम प्रदेश
संघीयताको जग बसाल्ने तयारीमा छौं । यो प्रदेशलाई सुनौलो प्रदेश बनाउने, समृद्धिको प्रदेश बनाउने तयारीमा छौं । हामी भाग्यमानी पनि छौं, किनभने हामीले हाम्रै पालामा देख्यौंं । प्रदेशको नयाँ कुरा बढाउन हामी अन्योलमा छौं ।
हामी प्रदेशको राजधानी तोक्न सफल भएका छौं । नामकरण गर्न पनि सफल भएको छ । सुदूरको अर्थ काठमाडौंबाट टाढा भन्ने होइन । हामीसँग रहेका खानी, नदीनाला, माटोको अध्ययन गर्न सकेका छैनौं । हामीले हावापानीको समेत अध्ययन गर्न सकेका छैनौं । हामी लगानी गर्न तयार छौं । यो पनि सम्भावना देखिएको छ । अहिले हरेक गाउँपालिकाका हरेक वडामा बाटो पुग्दा त्यहाँका उब्जनी भएका वस्तुहरू बजारमा पु¥याउन सकेका छैनौँ । नीतिगत कुरामा प्रदेश सरकारलाई सहयोग गर्नुप¥यो । हरेक संघ–संस्थाबाट सहयोग गर्नुप¥यो । हाम्रो प्रदेशलाई सबल र सफल बनाउन तपाईंहरूको सहयोग अनिवार्य रहेको छ । रोजगारीका अवसर बनाउन स्थानीय तहलाई पनि चिन्ता भएको छ । हामीसँग भएका बजेटलाई खर्च गर्न समस्या भएको छ । हामीसँग भएका बजेटलाई सही तरिकाले प्रयोग गर्न सकिरहेका छैनौं ।
सुदूरपश्चिम प्रदेशमा खरी ढुङ्गा छ । खरी ढुङ्गामा लगानी गर्न सोच्नुपर्ने बाध्यता छ । लगानीका लागि हामी तयारीमा रहेका छौं । लगानीका लागि भरपर्दो नीति बनाउनु जरुरी छ । मानसरोवर संरक्षण, जलयात्रालाई सम्भावना बनाएका छौं । लगानीका क्षेत्र छुट्ट्याउनका लागि एउटा टोली सरकारले गठन गर्नुपर्ने हुन्छ । नयाँ बजेटलाई जनतासँग छलफल गराएर अगाडि बढाउने लक्ष्य लिएका छौं ।

सुदूरपश्चिममा जलविद्युत्को सम्भावना
अशोककुमार चन्द
नगरप्रमुख, वेदकोट नगरपालिका
सुदूरपश्चिमका हाइड्रोपावरको सम्भावना छ, तर यस विषयमा सरकारले हेरेको छैन । पश्चिमसेतीको अवस्था दयनीय भएको छ । यहाँ लगानी गर्ने लगानीकर्ताको सुरक्षा छैन । सरकारको नीति कमजोर छ । यस कारणले पनि लगानीकर्ताहरू यो प्रदेशमा आउँदैनन् र लगानी गर्न रुचाउँदैनन् । यहाँ कृषि, पर्यटनको सम्भावना निकै नै छ ।
वेदकोटमा पर्ने दैजी–छेला औद्योगिक क्षेत्र विभिन्न कारणले पछाडि परेको छ । सबै कुरा गर्दागर्दै पनि सरकारको नीति, कानुन लगानीमैत्री, ओद्यौगिकमैत्री बन्न सकेको छैन ।
बनेका ऐन–नियमहरू परिमार्जन गर्न सकेका छैनौँ । यस कारणले पनि लगानीकर्ताले लगानी गर्न सकेका छैनन् । महाकाली सिँचाइ आयोजनाहरू सम्पन्न गर्न सक्यौँ भने सुदूरपश्चिममा कायापलट नै हुन्छ । कृषिको आधुनिकीकरण गर्नु जरुरी छ । यसले यहाँका जनता कोही पनि भोकै मर्दैनन् । रानीजमरा सम्पन्न गर्न सक्यौँ भने यस क्षेत्रमा आर्थिक वृद्धि हुन सक्छ । लगानीकर्तालाई अभिन्न अंगका रूपमा राख्नु जरुरी छ । यहाँ सुक्खा बन्दरगाह बनाउने हो भने पनि लगानीमा वृद्धि हुन सक्छ । प्रदेश सरकारले संकुचित तरिकाले हेर्नु हुँदैन । कृषि र पशुपालनमा लगानी गर्नु जरुरी छ । यहाँको पर्यटकीय र धार्मिक क्षेत्रमा लगानी गर्नु जरुरी छ । यसरी बेरोजगार युवाले रोजगारी पाउन सक्छन् । सुदूरपश्चिममा जलविद्युत् र खानी तथा जडीबुटी महŒवपूर्ण रहेका छन् । यसमा लगानीका लागि सबैले सहयोग गर्न आवश्यक छ ।

प्रदेशमा लगानी सम्मेलनको तयारी गरिने
गोपालप्रसाद अर्याल
सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय
नेपाल सरकार प्रदेश सरकार एकीकृत योजना बनाएर अगाडि बनाएका छौं । प्रादेशिक किसिमका तथ्याङ्क छैन । प्रदेश सरकारको नीति बनेको छैन । यसले गर्दा समस्या देखिएको हो । प्रदेशमा सचिवको महिना नपुग्दै सरुवा हुने कारणले पनि प्रदेश सरकारलाई निकै सास्ती भएको छ । अर्थ मन्त्रालय तथ्यांक खोज्ने तयारीमा समेत रहेको छ । लगानीका क्षेत्र खोेज्ने तयारीमा छ । आगामी वर्षको बजेटका लागि पनि हामी सबैको सल्लाह–सुझाव संकलनको तयारीमा रहेका छौं । यो क्षेत्रमा बढी महिलाको संङ्ख्या देखिन्छ । यो क्षेत्रमा सबैभन्दा धेरै मेगावाट विद्युत् उत्पादन हुने सम्भावना देखिन्छ । तर, अहिले ८९.३ मेगावाटको विद्युत् उत्पादन भइरहेको छ । हामीसँग कर्णाली, सेती, महाकालीजस्ता ठूला नदीहरू छन् । यसलाई मात्र संरक्षण गर्न सक्यौँ भने यो प्रदेश विद्युत् उत्पादनमा सम्पन्न हुन सक्छ । यस क्षेत्रको उत्पादन देशको एकतिहाइ हुन सक्ने सम्भावना छ । भर्खरै सम्पन्न भएको लगानीमा सम्मेलनमा यो प्रदेशबाट महŒवपूर्ण कुराहरू उठेका छन् । मूलभत रूपमा यहाँ विशेष गरी हाइड्रोपावरको सम्भावना बढी देखिएको छ । यसका लागि सबै अर्थात् तीनै तहका सरकारले आ–आफ्नो भूमिका निर्वाह गर्नु जरुरी छ । लगानी समन्वय एकाइ राख्न जरुरी छ । यसका लागि प्रदेश सरकारले लगानी बोर्ड भनेर ऐनको खाका बनाएको छ । त्यसभित्र लगानी समन्वय गर्ने एकाइ बनाउने छौँ । त्यससम्बन्धी विधेयकको मस्यौदा तयार भएको छ । ठूला–ठूला लगानी भएका संघीय सरकारसँग लगानी गर्ने यस विषयमा प्रदेश सरकार लगानी गर्न तयार छ । यसमा सहजीकरण गर्ने काम गरिरहेका छौं । प्रदेशमा लगानी सम्मेलन गर्न तयारीमा रहेका छौं । निजी क्षेत्रलाई प्रोत्साहनका लागि सरकारले एकखाले नीति पनि बनाएको छ । यसप्रति प्रदेश सरकार गम्भीर रहेको छ ।

कृषि र पर्यटन उद्योगमा सम्भावना
माधवप्रसाद जोशी
प्रदेश सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ
लगानीको कुरा गर्दा, सबै जना कृषि, पर्यटन उद्योगमा सम्भावना छ भन्छन् । त्यो त छँदैछ । लगानीको विषय हेर्ने हो भने सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा लगानी आवश्यक छ । यो अवसर देखिएको छ । सरकारले गरेको लगानी सम्मेलनमा सुदूरपश्चिममा यातायातको कुरा उठाउनुभयो, यातायातमा त यहाँका व्यवसायीहरूले लगानी गरेकै छन् । त्योभन्दा पनि पर्यटनको कुरा उठाउनुपथ्र्यो । त्यसतर्फ किन ध्यान जान सकेन ? यहाँ सम्भावना भए पनि चुनौती धेरै छन् ।
पहिलो चुनौती भनेको के हो भने सरकारले दर्ता प्रक्रियामै यति झन्झटिलो बनाइदिएको छ कि एउटा उद्योग स्थापना गर्दा दर्ता प्रक्रियामै वर्षौं बित्छ । दर्ता भई स्थानीय निकायले अनुमति दिए पनि सञ्चालन गर्दा केही बिचौलियाहरू त्यसलाई रोक्नका लागि लागेका छन् । उद्योगका लागि मेसिन बाहिरबाट ल्याउँदा भन्सारमै महिनौं मेसिन रोकिने अवस्था छ । सरकारको पोलिसी के हुनुपर्छ भने कुनै नयाँ मेसिन भित्रिन्छ भने उसलाई बिनारोकटोट राजस्व निःशुल्क गरेर ल्याउन दिनुपर्छ ।
अर्को चुनौती भनेको खुला सिमाना हो । भारतीय बजारमा २ लाखको लगानीमा उत्पादन गरेको वस्तुसँग नेपाली बजारमा १६ लाख लगानीमा उत्पादन गरेको वस्तु प्रतिस्पर्धा गर्न सकिँदैन । त्यो पनि चोरी–पैठारी भएर आउँछ ।
उद्योगीले उद्योग स्थापना गरेपछि दक्ष कामदारको अभाव छ । जेनतेन उद्योगी बाहिरबाट दक्ष कामदार खोजेर ल्याउँछ अनि राजनीतिक दलका भ्रातृ संगठनहरूले आमहडतालजस्ता कार्यक्रमहरू गर्छन् । यी कुरालाई राज्यले व्यवस्थित गरिदिने हो भने सुदूरपश्चिममा थुप्रै सम्भावना छन् ।
हामीले दक्ष कामदार उत्पादन गर्न सकिरहेका छैनौं । एउटा सिटिइभिटीले व्यावसायिक तालिम दिने गरेको छ । त्यो तालिम गर्नका लागि कुनै व्यक्ति जान्छ भने त्यसको फाइल त्यहाँ रोकिएको हुन्छ । अब दक्ष कामदार उत्पादन गर्न इन्स्टिच्युटहरूलाई सम्बन्धन दिनुपर्छ । हामी विगतमा सुदूरपश्चिममा पर्यटनको कार्यालय स्थापना हुनुपर्छ भनेर पटक–पटक सम्बन्धित मन्त्रालय धाएका हौं, तर पनि त्यो भएन । एउटा कार्यालय नेपालगन्जमा छ, त्यसले पनि खासै भूमिका गर्न सकेको छैन । अब प्रदेश सरकारले स्थानीय स्तरमा पर्यटन बोर्डको कार्यालय स्थापना होस्, जसले पर्यटन व्यवसायीहरूले पर्यटनसम्बन्धी काम गर्न सहज होस् । पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटकीय क्षेत्रमा राजधानीहरूमा रहेका तारे होटलहरूलाई दुर्गमका पर्यटकीय खोल्न संघीय सरकारले पहल गर्नुपर्छ ।

भारतीय कृषकसँग प्रतिस्पर्धा गर्न गारो
पीताम्बर जोशी
वरिष्ठ उपाध्यक्ष, कञ्चनपुर उद्योग वाणिज्य संघ
भारतीय कृषकसँग नेपाली कृषकसँग प्रतिस्पर्धा गर्न गा¥हो छ । समस्या, चुनौती पनि निकै छ । उद्योग लगानी बढिरहेको छ । कच्चापदार्थहरू विदेशबाट ल्याउनुपर्ने देखिएको छ । रामदेवले हरिद्वारमा बनाएका जडीबुटीहरू कम कम लगानी गर्छन् भने चिनीको नै कुरा गर्ने हो भने नेपालमा ५ देखि १० रुपैयाँ फरक हुन्छ । हरेकमा फरक देखिन्छ । सुख्खा बन्दगाहा, त्रिदेशीय नाकामा यो जिल्ला विकसित भएको छ । सबैभन्दा बढी विद्युत्को सम्भावना देखिएको छ ।
सुदूरपश्चिममा लगानीको अपुर सम्भावना छ । राज्यको राम्रो नीति भएपछि यसमा सबै सेक्टरमा राम्रो सम्भावना छ, पर्यटन क्षेत्रमा राम्रा सम्भावनाहरू छन् । काष्ठ उद्योगमा पनि राम्रो सम्भावना छ । राज्यले नीति ल्याउने हो भने सुदूर पश्चिममा काष्ठ उद्योग पनि राम्रो फस्टाउने देखिन्छ । अर्गानिक कृषिमा पनि राम्रो सम्भावना छ । यसका साथसाथै चुनौतीहरू पनि छन् । भारतको खुला सिमाना भएकाले लगानी लगाउने उद्योगको दूरी हेर्दा फराकिलो छ । उनीहरूको कम लगानी छ । हाम्रो बढी लगानी छ । हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । चोरी–पैठारी भएर पनि यहाँ आउने भएकाले हाम्रा उद्योगहरू फस्टाउन नसकेको हो ।
यहाँ कृषिमा लगानीका लागी उद्यमीले १६ प्रतिशतसम्म ब्याज लिएर खेती गर्छ भने भारतीय कृषकले ५ प्रतिशत ब्याजदरमा कृषिमा लगानी गर्छ । त्यो भारतीय कृषकसँग नेपाली कृषकले कसरी प्रतिस्पर्धा गर्न सक्छ । त्यसमा पनि भारतीय सरकारले अनुदान दिएको हुन्छ । हाम्रो यहाँ ढुवानीमा पनि समस्या रहेको छ ।
यहाँ जटिल चुनौतीहरू छन्, हाम्रो उद्योगको लगानी बढिरहेको छ । बजार कम छ । अर्को कुरा, उद्योग ल्याउँदाखेरि भन्सार अधिक छ । नेपालमा कच्चापदार्थ पनि छैन, विदेशबाट ल्याउनुपर्छ । राज्यको नीति पनि उद्योगमैत्री भएन । राज्यले कच्चा पदार्थमा पनि अनुदान दिनुपर्छ । उद्योग चलाउँदा यातायात आवश्यक हुन्छ, भारतमा २ लाख पर्ने गाडी यहाँ ३० लाख पर्छ । यी कुरामा राज्यको ध्यान जानुपर्छ ।
यहाँ सुख्खा बन्दरगाह र महाकालीमा पक्की पुल बनिसकेपछि विदेशबाट आयात गर्न पनि नजिक हुन्छ निर्यात गर्न पनि नजिक हुन्छ त्रिदेशीय नाकाका रूपमा पनि विकास हुन्छ । यहाँ उत्पादन गरेको वस्तुलाई हामी चीनमा पनि निर्यात गर्न सक्छौं । भारतमा पनि निर्यात गर्न सक्छौं । अब पश्चिम सेतीलगायतका जलविद्युत्हरू बनिरहेको अवस्था र यहाँ अपार सम्भावना हुँदाहँुदै पनि राज्यको नीति नभएर हामी उद्योगहरूमा पछि परेका हांै ।

सरकारले बजेट घटाउने, लक्ष्य नघटाउने
यज्ञराज जोशी
उपसचिव, भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालय
सुदूरपश्चिम प्रदेशमा ३ लाख २८ हजार हेक्टर जमिनमा खेती गरिन्छ । यो जमिनमा ५० प्रतिशतको हाराहारीमा उत्पादन हुन्छ । यहाँको उत्पादनले यहाँकै जनतालाई पूर्ति हुन्छ । कृषि मन्त्रालयलाई सरकारले समेत बजेटमा कन्जुस्याइँ गरेको छ । सरकारले बजेट घटाउने लक्ष्य नघटाउने समेत समस्या भएको छ । कृषिक्षेत्र सदूरपश्चिम क्षेत्रमा लगानीका लागि एकलमै महŒवपूर्ण सेक्टर हो । यदि कृषि क्षेत्रलाई बलियो तरिकाले जाने हो भने ८४ प्रतिशन यहाँका जनता लाभान्वित हुन्छन् । बंैकिङ क्षेत्रमा पनि निकै समस्या छ । अहिले सबैभन्दा बढी अनुदान माछाखेती गर्नेलाई दिएका छौं । माछाखेतीका लागि पानीको जलाशय बनाएकको छ भने ३ लाख रुपैयाँ सम्म अनुदान दिने गरेका छौँ । पशुपालन र कृषिलाई समृद्धि बनाउने हो भने धेरै युवा बाहिर जाँदैनन् । आर्थिक समृद्धि हुन सक्छ । सरकारले राजस्व आयो भन्दैमा रक्सीको पसललाई अनुमति दिनु हुँदैन । दिए भने पनि निश्चित एरिया बनाउनुपर्छ । नेपालमा अर्बाैं कृषि औजार चीनबाट भिœयाइरहेको छ । त्यसको गुणस्तर पनि भारतको तुलनामा निकै कम छ । त्यसमा पनि लगानी गर्नुपर्छ । यसो गर्दा हाम्रो अर्बाैँ रुपैयाँ बच्न सक्छ । सिँचाईको आयोजनाका लागि सोलार कम्पनी बनाउनु जरुरी छ । कोल्ड स्टोरेजमा लगानी गर्नुपर्ने आवश्यकता छ । यसका लागि मन्त्रालय पनि लागिपरिरहेको छ । जैविक पशु उत्पादन आवश्यक छ । यसका लागि ठूला लगानीको आवश्यकता छ ।

खानीजन्य उद्योगमा लगानी आवश्यक
बलदेव जोशी
ज्येष्ठ नागरिक, कञ्चनपुर
प्लास्टिक बोरा उत्पादन, अटोमोटिक भोल्टेज इस्टप्लाइजेक, बोर्ड माग्रर, प्लास्टिक हेल्मेट, आल्मुनियमका भाडाहरू, खरी उद्योगहरू खानीजन्य उद्योगमा लगानी गर्नुप¥यो ।
अध्ययन गरेर लगानी गर्नु जरुरी छ । चन्दा आतंकबाट पनि व्यापारीहरू निकै समस्यामा परेका छन् । उद्योगहरूलाई बन्द गर्न राम्रो पक्ष होइन । बझाङमा मार्बल कम्पनी छ । त्यसलाई विकासका लागि दौडिनुप¥यो । खरी उद्योगमा लगानी गर्नुप¥यो, बैतडी, बझाङमा फलामको खानी छ । १८ औँ शताब्दीमा हाम्रो नेपाल आत्मानिर्भर थियो ।
यस्तै औद्योगिक क्षेत्र तोक्नु आवश्यक छ । औद्योगिक क्षेत्र नभएर यहाँका व्यापारीहरूलाई निकै समस्या भएको छ । उद्योगधन्दा जथाभावी खोल्दा वातावरणमै समस्या भएको छ । यस प्रदेशमा सञ्चालनमा आएका उद्योग बन्द गराउनु भन्दा पनि संरक्षण गर्नु जरुरी छ । यसका लागि सरकारको उपयुक्त नीति हुन जरुरी छ । सरकारको नीति बलियो भएमा उद्योगहरू लगानी गर्न चाहन्छन् । सुदूरपश्चिममा मार्बल उद्योगको प्रबल सम्भावना छ । यसका लागि सरकारले उत्खनन गर्नु पनि जरुरी छ । सुदूरपश्चिममै खरी उद्योग पनि छ । यसका लागि सरकारले विशेष ध्यान दिनु जरुरी छ । हामी नेपालीमा एउटा छुट्टै प्रवृत्ति छ । आफ्नो जिल्ला क्षेत्र भएको ठाउँमा राजनीतिक हस्तक्षेप गरेर हुन लागेको कार्यलाई बिगार्नm भत्काउन सक्छौं । लगानी गर्ने व्यक्तिसमेत पलायन हुन सक्ने सम्भावना देखिन्छ । यस प्रदेशको बैतडी, बझाङमा फलाम खानी छ । १८ औं शताब्दीसम्म हाम्रो नेपाल धातुजन्य पदार्थमा आत्मनिर्भर थियो । अन्नमा समेत निर्भर रहेको थियो । तर, अहिले अवस्था निकै कमजोर छ । यो विडम्बनाको विषय हो ।