सरस्वती ढकाल
बिहिवार, बैशाख ५, २०७६
1720

सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकका रूपमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका डिल्लीराम अधिकारी तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा प्रवेश गरेका हुन् । १६ वर्षअघि संस्थामा प्रवेश गरेका उनी यतिबेला सोही कम्पनी हाँक्ने ठाउँमा पुगेका छन् । २०६५ मा वरिष्ठ इन्जिनियर, २०७० मा उप–प्रबन्धक र २०७५ वैशाख १६ देखि प्रबन्धक भई कम्पनीका विभिन्न निर्देशनालय र विभागको काम उनले गरिसकेका छन् । एक्सेस नेटवर्क, ट्रान्समिसन नेटवर्क, वायरलेस ब्रोडब्यान्ड एक्सेस, अन्तर्राष्ट्रिय व्यापार, ब्याकबोन ट्रान्समिसन क्षेत्रका साथै कम्पनीको सह–प्रवक्ता र नोडल अधिकृतको समेत उनीसँग अनुभव छ । इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा विशिष्ट श्रेणीमा एमएससी गरेका उनी इलेक्ट्रोनिक्स इन्जिनियरिङमा विशिष्ट श्रेणीमा बीई हुन् । सरकारको २०७५ पुस १९ गतेको निर्णयबमोजिम तीन वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त भएका हुन् । कार्यभार सम्हालेको झन्डै तीन महिना बितिसकेको अवस्थामा कम्पनीका योजना, बजारीकरण र चुनौतीलगायतका विषयमा कारोबारकर्मी सरु ढकालले गरेको कुराकानीको सार :

नेपाल टेलिकममा सातौँ तहबाट प्रवेश गरेर अहिले कम्पनीको सर्वाेच्च पदमा पुग्नुभएको छ । सहकर्मी र केही वरिष्ठहरूभन्दा अगाडि नै नेतृत्व तहमा पुग्दा कस्तो अनुभूति भइरहेको छ ?
नेपाल टेलिकममा प्रवेश गरेपछि कम्पनीको नेतृत्वसम्म पुग्ने इन्छा जुनसुकै इन्जिनियरको पनि हुन्छ । त्यस्तै मैले पनि सेवामा प्रवेश गरेदेखि नेतृत्वमा पुग्ने र कम्पनी हाँक्ने कल्पना गरेको थिएँ । यति चाँडै कम्पनी नेतृत्वमा पुग्छु होला भनेर मैले सोचेको पनि थिइनँ । प्रबन्ध निर्देशकको भूमिकामा रहेर गर्ने भनेको रणनीतिक निर्णयहरू नै हो । कम्पनीलाई सही मार्गमा अगाडि बढाउन सर्ट टर्म र लङ टर्म निर्णयहरूमा विशेष चनाखो हुनुपर्छ । जुन कुरा कम्पनीलाई समयसापेक्ष चाहिएको छ त्यो कुरा उचित ढंगबाट निर्णय गर्न सकियो भने कम्पनी अगाडि बढ्छ । टेलिकम भनेको प्रविधिको परिवर्तन दिनदिनै हुने क्षेत्र हो । निर्णय ढिला भयो भने प्रतिस्पर्धी बजारमा कम्पनीलाई अगाडि बढाउन कठिन हुन्छ । मैले प्रबन्ध निर्देशकको जिम्मेवारी लिएपछि निर्णय प्रक्रिया एकदमै छिटोछिटो भएको छ । म तुलनात्मक रूपमा नयाँ कुरामा अलि चासो दिने व्यक्ति हुँ । कलेजमा पनि पढाउँथें, त्यसले पनि मलाई थप अध्ययनशील बनाउन सहयोग ग-यो । प्राविधिक रूपमा राम्रो ज्ञान छ भन्नेमा म विश्वस्त छु । कम्पनीको अन्तर्राष्ट्रिय बिजनेस विभागमा रहँदा पनि धेरै विदेशी कम्पनीसँग काम गर्ने मौका पाएकाले विश्वको बिजनेस ट्रेन्ड कता गएको छ भन्ने कुरामा निर्णय लिन अप्ठेरो परेको छैन । विगतका प्रबन्ध निर्देशकबाट पनि निर्णय त हुन्थे, तर म आएपछि अझ छिटो काम भएको छ भन्ने मेरो बुझाइ हो ।

त्यस्तो के निर्णय गर्नुभयो, जसले विगतभन्दा फरक तरिकाले नेपाल टेलिकमलाई अगाडि बढाउँदै हुुनुहुन्छ ?
निकै लामो समयदेखि फोरजी आयोजना पेन्डिङमा थियो । सानातिना आयोजना पनि तीन–चार महिना लाग्ने परिपाटी कम्पनीमा थियो । जब हामीले मन्त्रालयबाट पत्र पायौं तब एक महिनाभित्रै फोरजीको सम्झौता गर्ने चरणमा पुग्यौँ । टेलिकमको इतिहासमा त्यति छिटो निर्णय कुनै पनि आयोजनामा भएको छैन । मध्यपहाडी लोकमार्गमा पनि अप्टिकल फाइबर बिच्छयाउने आयोजना टेन्डर भएको साउनको अन्तिममा, फागुनमै हामीले सम्झौता गरिसकेका छौँ । सामान्यतया नेपाल टेलिकमले एउटा टेन्डर भएर सम्झौता हुने समय भनेको नौ महिनादेखि १ वर्षको समय हुथ्यो । त्योभन्दा छिटो भएको छ । त्यसैगरी ४ लाख लाइनको एफटीटीएच सेवा विस्तार गर्न भदौमा टेन्डर गरिएको सम्झौता भइसकेको छ । गुणस्तर सुधार गर्न सोलार पावर थप्ने, ब्याक्ट्री, -याक्ट्रिफायर किन्ने काम पनि स्याडुयलभन्दा निकै छिटो अगाडि बढेको छ । बजारमा हामी जति छिटो जान सक्यौं, सेवाग्राहीले हाम्रो सेवा त्यति नै छिटो लिन्छन् । हरेक निर्णय ढिला गर्नु भनेको हाम्रो आम्दानी गुमाउनु, बजारमा ढिला जानु, जनताको अगाडि काम नदेखिनु हो । त्यसैले निर्णय प्रक्रिया भनेको छिटो हुनुपर्छ । कम्पनीलाई समयसापेक्ष रूपमा अगाडि बढाउन कुनै पनि निर्णय प्रक्रिया रोक्नु हुन्न, यसले गर्दा कम्पनीलाई नै घाटा हुन्छ र प्रतिस्पर्धा गर्न कठिन हुन्छ भन्नेमा म चनाखो छु । प्रविधि क्षेत्रमा निर्णय प्रक्रिया ढिला गरिनु हुँदैन ।

पछिल्लो समय नेपाल टेलिकमले नयाँ–नयाँ स्किमहरू ल्याइरहेको छ, सबै स्किम डेटामै केन्द्रित देखिन्छ । के अब डेटामै फोकस हुने रणनीति हो ?
नेपालमा स्मार्टफोनको पहुँच राम्रो छ । स्मार्ट एप्लिकेसनहरू मनोरञ्जन, शिक्षा, स्वास्थ्य क्षेत्रका एप्लिकेसनहरू स्मार्टफोनमा आउने हुनाले डेटाको माग बढी हुन्छ । ग्राहकलाई अहिले भ्वाइसमा भन्दा पनि डेटामा सधैं कनेक्टेड रहिरहनुपर्ने अवस्था देखिएको छ । त्यो माग पूरा गर्न हामीले नेटवर्कको स्तरोन्नति पनि गरेका छौँ । गएको साउनयता हेर्ने हो भने डेटामा शतप्रतिशत वृद्धि भएको छ । पछिल्लो तीन महिनामा हेर्ने हो भने भ्वाइस कल २० प्रतिशतले बढेको छ । डेटाको माग बढेकाले हामीले प्याकेज ल्याएका हौँ । डेटाको प्याकेज थोरै डेटा प्रयोगकर्तादेखि धेरै आवश्यक हुने, राती प्रयोग गर्ने, विभिन्न समयलाई लक्षित गरी सेवा–व्यवसाय गर्नेलाई ध्यानमा राखी प्याकेज ल्याएका छौँ । हाम्रो उद्देश्य नै डेटाको बिजनेस बढाउने हो । ग्राहकको आवश्यकता पूरा गर्न पनि डेटा नै चाहिन्छ । विद्यार्थी, शिक्षक, उद्यमी, व्यवसायीदेखि सबै प्रकारका ग्राहक छन् । हरेक वर्ग र क्षेत्रलाई डेटा सेवाको आवश्यकता छ । त्यसैले कम्पनीको फोकस पनि डेटा सेवामै गएको हो ।

अब भ्वाइस सेवा निःशुल्क गर्ने बेला भएन ?
अहिले पनि आम्दानीको ठूलो हिस्सा भ्वाइसबाट प्राप्त भएको छ । डेटाको आम्दानी बढ्दो क्रममा छ । निःशुल्क गर्न सकेका देशहरूले पनि छिटो प्रविधिलाई आत्मसात् गरे, प्रविधिमा फड्को मारे । हामी पनि केही समयपछि त्यो अवस्थामा पुग्छौैं । आउने दुई वर्षमा नेपालमा भ्वाइस सेवा केही मात्रामा निःशुल्क गर्न सकिएला भन्ने लागेको छ । निःशुल्क दिनासाथ नेटवर्कको लोड बढ्छ । लोड बढाउने काम पनि गर्नु हुँदैन । तत्काल नेटवर्कको स्तरोन्नति गर्न सक्ने क्षमता पनि हामीसँग छैन । सबै सामान टेन्डरबाट किन्नुपर्ने अवस्था छ । सम्भवतः फोरजीको रोलआउट गरेपछि नयाँ खालको स्किम लिएर आउने क्रममा छौँ । नेपालमा जनतालाई सस्तो सेवा, गुणस्तरीय सेवा र सबै ठाउँमा पहुँच पुग्ने सेवा दिने उद्देश्य हो । त्यसमा हाम्रो प्रतिबद्धता छ । सोसियो इकोनोमीलाई पनि यसैले सपोर्ट गर्छ । नेपाल सरकारका आफ्ना परियोजना सफल बनाउन पनि सूचना–प्रविधि नभई हुँदैन । अहिले हिमाल, पहाड, तराई जहाँ बस्ने नेपाली भए पनि पहिलो आधारभूत आवश्यकता नै सञ्चार हो । त्यही आधारभूत आवश्यकता पूरा गर्ने हाम्रो उद्देश्य हो । सोहीबमोजिम हाम्रा आयोजनाहरू अगाडि बढेका छन् । आयोजनाको अन्तिम उद्देश्य नै आमजनताको आवश्यकता पूरा गर्ने हो ।

तर, प्रतिस्पर्धी कम्पनी अहिले विभिन्न विवादमा आइरहँदा पनि नेपाल टेलिकमले त्यसको लाभ लिन सकेन । त्यसो त टेलिकमलाई सरकारको सहयोग पनि पर्याप्त छ । यो बेलामा पनि कम्पनीले किन त्यसको लाभ लिन सकेको छैन अथवा भनौं कि कम्पनीको ग्रोथ किन देखिन सकिरहेको छैन ?
ग्रोथ नै नभएको होइन । २०६३ सालभन्दा अगाडि हामी एकाधिकारमा थियौं र त्यसपछि प्रतिस्पर्धी थपिँदाको तुलनात्मक विश्लेषण गर्ने हो भने हाम्रो ग्रोथ २०६३ पछि नै बढी छ, तर पनि प्रतिस्पर्धीको तुलनामा कहिले कसको ग्रोथ बढी हुने र कहिले कसको कम हुने स्वाभाविक हो । बीचमा हामीले १ करोड जीएसएमको योजना ल्याउँदा हाम्रै ग्रोथ राम्रो थियो भने पछि त्यो प्रोजेक्ट स्याचुरेसनमा पुगेपछि अर्को कम्पनीले फाइदा उठायो । अहिले फेरि हाम्रो ग्रोथ सुरु भइसक्यो । कभरेज पनि बढेको छ । यही आवमै ४ सय बिटिएस बनाइसक्यौं र असारसम्म ६–७ सयवटा बिटिए बनाइसक्नेछौं । यसले कभरेज त बढाउँछ नै । म अस्ति तराईको भ्रमणमा जाँदा पनि निकै उत्साहजनक अवस्था देखेँ । हाम्रो सेवा लिन स्थानीय उत्साही छन् भने हामी पनि विस्तारको चरणमा छौं । विदेशबाट सामान ल्याउन केही समय लागेको मात्रै हो, हामी रोकिनेछैनौं । हामीलाई नेपाल सरकारको पनि साथ छ । जनताबाट पनि उत्तिकै साथ छ । हामी पनि निर्णय प्रक्रियादेखि लिएर सबै कुरामा अब निर्धक्क भएर अगाडि बढ्दैछौं ।

गाउँगाउँमा सेवा विस्तार त भएको छ, तर त्यो क्षेत्रमा सेवाको गुणस्तरको अवस्था भने निकै नाजुक छ । सहरी क्षेत्रमा सेवाको गुणस्तर केही राम्रै भए पनि ग्रामीण क्षेत्रमा फोन नलाग्ने, काटिनेदेखि इन्टरनेट नचल्नेसम्मका समस्या त सम्बोधन भएका छैनन् नि ?
यसमा दुईवटा कुरा छन् । पहिलो प्रविधिको कुरा हो र प्रविधिमा जहाँ पनि समस्या आउन सक्छ । अस्ति नयाँ वर्षको दिन पाँच घण्टा फेसबुक बन्द भयो, ह्वाट्सएप र इन्स्टाग्राम बन्द भए । विश्वकै लिडिङ कम्पनीको त त्यो हालत छ । क्वालिटी नभएर त होइन, समस्या जता पनि आउँछ तर त्यसलाई न्यूनीकरण गर्दै जानुपर्छ । हामीले त्यो सुरु पनि गरेका छौं । केही महिना पहिले दूरसञ्चार प्राधिकरणले सेवा मापन गर्दा हामी कमजोर थिएनौं र अहिले पनि कम छैनौं । नेपाली जनताको आकांक्षा नै अरूको तुलनामा हाम्रो सेवा गुणस्तरीय होस् भन्ने चाहना राख्नु हुन्छ । हामी त्यसमा सचेत छौं र उहाँहरूको चाहनाको सम्मान पनि गर्छौं । आगामी दिनमा पनि सेवाको गुणस्तर कायम राख्न प्रतिबद्ध छौं ।

गुणस्तरको कुरा गर्नुभयो । तर, विश्वमा फाइभजीको चर्चा धेरै भइरहेको छ । नेपाल टेलिकम आफैंले सुरु गरेको फोरजी सेवा अहिलेसम्म दुई सहरमा सीमित छ । यो सेवा कहिले देशभर पु-याइसक्नुहुन्छ ?
हामीले फोरजीलाई देशभर पु-याउने भनेर गत फेब्रुअरीमै सम्झौता पनि गरिसकेका छौं । पछिल्लो अपडेटअनुसार करिब २ हजार स्थानमा टावर राख्ने काम भइरहेको छ । कोर उपकरण ल्याइसकेका छौं भने -यानको उपकरण आउने क्रममा छ । सम्झौताअनुसार १२० दिनमा उपकरण आउनुपर्ने हो । यो बीचमा साइटको प्लान गर्ने, सर्भे गर्ने काम भइरहेको छ । सातवटै प्रदेशमा सातैवटा टिममार्फत काम भइरहेको छ । यही द्रुत गति कायम रहने हो भने आगामी दसैंसम्म देशका सबै मुख्य सहरमा फोरजी सेवा विस्तार भइसक्ने हाम्रो अपेक्षा छ । एक वर्षभित्र देशव्यापी यो सेवा विस्तार गरिसक्ने हाम्रो लक्ष्य हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल टेलिकमको सेयर पब्लिकमा लगेर जनताको कम्पनी बनाउने घोषणा बारम्बार गर्दै आउनुभएको छ । यो घोषणा कार्यान्वयनको अवस्थाचाहिँ के छ ?
यो मूलतः सरकारको काम हो र यसमा मेरो कुनै भूमिका हुँदैन । मेरो क्षेत्राधिकारमा नपर्ने विषयमा केही बोल्ने कुरा पनि भएन र सरकारले आफ्नो घोषणाअनुसार काम गरिरहेको होला भन्ने लाग्छ ।

ल्यान्डलाइन टेलिफोनका विषयमा अब के गर्ने भनेर सोच्नुभएको छ ?
ल्यान्डलाइन कपर बेस्ड प्रविधिमा आधारित सेवा हो । यसो भएको हुनाले यो पुरानो पनि भइसक्यो । हामीले कतिपय यसका स्विचहरू आईएमएस प्रविधिमा रूपान्तरण गरिसक्यौं भने अबको हाम्रो लक्ष्य भनेको हरेक ग्राहकलाई एफटिटिएच प्रविधिबाट सेवा दिने हो । यो वर्ष नै ४ लाख ग्राहकलाई हामीले एफटिटिएच प्रविधिबाट सेवा दिने सम्झौता गरिसकेका छौं । बिस्तारै यसलाई फाइबरमा रूपान्तरण गर्ने र फाइबारबाटै हामी इन्टरनेट र भ्वाइससँगै टेलिभिजन सर्भिस दिने योजनामा छौं ।

फोरजी विस्तारसँगै अब फाइभजीका विषयमा पनि सोच्ने बेला भएन र ?
फाइभजी अहिलेसम्म म्याचुअर्ड भइसकेको छैन । कोरियाले दुई हप्ताअघि सार्वजनिक गरे पनि यो कमर्सियल्ली अगाडि बढेको छैन । यसको प्राविधिक पक्ष निकै महŒवपूर्ण छ । कुनै पनि सिस्टम सञ्चालनका लागि इकोसिस्टम हुनुपर्छ । सर्भिस प्रोभाइडरले दिएर मात्र हुँदैन, डिभाइस पनि सोहीअनुसार हुनुपर्छ । मूलतः यो कन्जुमरका लागि नभई इन्डस्ट्रियल उद्देश्यका लागि हो । यसका लागि नीति पनि बन्नुप-यो र स्पेक्ट्रम पनि सोहीअनुसार एलोकेट हुनुप-यो । तर, पूर्वाधारका न्यूनतम आधारहरू तयार भने राखिरहनुपर्छ । त्यसमा हामी तयार छौं । हामीसँग फोरजीको डिभाइस नै ५० प्रतिशतमात्र छ भने फाइभजीको त एउटै डिभाइस छैन होला । फाइभजीमा जान पनि फोरजीको आधार त बनाउनैप-यो । हरेक पछिल्लो र यसअघिको प्रविधि लगभग १० वर्ष सँगसँगै गइरहेको छ । टुजी र थ्रिजी तथा थ्रिजी र फोरजी सँगसँगै चलिरहेको थियो भने २०२५–०२६ सम्म त फोरजी चलिरहन्छ । जीएसमको प्रतिवेदनमै २०२५ सम्म विश्वको १४ प्रतिशतले फाइभजी प्रयोग गर्ने उल्लेख छ । विश्वका विभिन्न अध्ययनले पनि फोरजी तत्काल फेजआउट नहुने देखिएकाले हामी आत्तिनुपर्ने अवस्था छैन ।

नेपाली उपभोक्ताको रोजाइमा कस्तो खाले प्रविधि पर्ने गरेको छ ?
नेपालको मार्केट हेर्ने हो भने अहिले उपभोक्ताको रोजाइमा वायरलेस प्रविधिको हाई स्पिड इन्टरनेट पर्ने गरेको छ । एप्लिकेसन बेस्ड अर्थात् स्मार्ट फोन लिएपछि सबै काम त्यसैबाट होस् भन्ने चाहना उपभोक्तामा हुने गरेको छ । मोबाइलबाटै क्यूआर कोड क्यान गरेर पेमेन्ट गर्ने प्रविधिचाहिँ नेपालमा सुरु भइसकेको छैन । त्यसो भएको हुनाले नेपाली मार्केटले खोजेको भर्चुअलाइजेसन र न्यू टेक्नोलोजीमा चाहिँ हामी जानैपर्छ र हाम्रो तयारी त्यसैमा छ ।

टेलिकमको अबको लगानी केमा केन्द्रित हुनेछ ?
अहिलेचाहिँ हाम्रो फोकस भनेकै प्रविधि र प्रविधिलाई चाहिने पूर्वाधारमा हुनेछ । हाइड्रोमा पनि हामीले लगानी ग-यौं । अब भने राज्यले नै डिजिटल नेपालको नीति ल्याएकाले हामीले पूर्वाधारमा लगानी गर्नैपर्छ । हामीले यसको परिकल्पना पूरा गर्ने पूर्वाधारमा लगानी गर्नेछौं ।

तपाईंहरू आईटी कम्पनी खोल्ने योजनामा हुनुहुन्थ्यो, अहिले किन रोकियो ?
पहिलो तयारी थियो तर विभिन्न कारणले पूरा हुन सकेन । हामी मुलुकको नीतिअनुसार प्रविधिको पूर्वाधारतर्फ लगानी गर्नुपर्ने र सेवाको सुधार पनि गर्नुपर्ने भएकाले पनि त्यतातर्फ लाग्न सकेका छैनौं ।

तपाईंमाथि टेलिकमको एमडी भएपछि गुटबन्दीमा लाग्नुभयो भन्ने आरोप छ नि ?
मेरो कुनै ग्रुप छैन । म सबैसँग समान रूपले व्यवहार गरिरहेको छु । यो आरोप मात्रै हो र संस्थाको मर्यादा कायम गरिरहेको छु । सबै युनियनबाट पनि सहयोग छ । सबै कर्मचारीको चासो पनि संस्थाको उन्नति नै हो र संस्था प्रोजेक्ट होलिडेबाट अघि बढोस् भन्ने थियो र त्यो काम अघि बढिसकेकाले उहाँहरूबाट सहयोग नै हुनेछ ।