कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६
685

बजेट बक्तव्यमार्फत घोषणा गरिएको ‘एक नेपाली, एक बैंक खाता’ कार्यक्रमको कार्यान्वयन नयाँ वर्ष २०७६ को सुरुवातसँगै हुन लागेको छ । वैशाख १ गते (आज) राजधानीमा हुने एक औपचारिक कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खोलौं बैंक खाता’ अभियानको सुरुवात गर्दैछन् । अभियानलाई सफल बनाउनका लागि नेपाल राष्ट्र बैंकले खाता खोल्ने प्रक्रियालाई सहज बनाएको छ भने बैंक तथा वित्तीय संस्थाले पनि खाता खोल्न आकर्षित हुने कार्यक्रम घोषणा गरेका छन् ।
राष्ट्र बैंकले निर्देशन जारी गरेर खाता खोल्ने व्यवस्थालाई सरल बनाएको छ । निर्देशन अनुसार यस अभियानअन्तर्गत खाता खोल्नका लागि ग्राहकले अन्य बैंकमा खाता नभएको स्वघोषणासहितको सरल खालको फारमको व्यवस्था गर्नुपर्नेछ । यस अभियानमा सर्वसाधारणले नागरिकता, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा कुनै सरकारी निकायले जारी गरेको फोटोसहितको परिचयपत्रका आधारमा खाता खोल्न सक्नेछन् । यसबाहेक स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिसका आधारमा समेत बैंक तथा वित्तीय संस्थाहरूले खाता खोलिदिन सक्ने छुट दिइएको छ । अभियानअन्तर्गत खोलिएका खाताको वार्षिक कारोबारको अधिकतम सीमा १ लाख रूपैयाँ तोकिएको छ । यस्तो खाताको वार्षिक कारोबारको सीमा १ लाख बढी भएमा सम्बन्धित खातावालले अन्य खातामा जस्तै पूर्ण विवरण भर्नुपर्ने व्यवस्था छ ।
यसैगरी योजनाअन्र्तगत ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्तीय संस्थामा खाता खोले १०० रूपैयाँ सम्बन्धित बैंकले खातामा राखिदिन सक्नेछन् । खाता नभएकाहरूलाई खाता खोल्नका लागि प्रेरित गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई २०७६ सालमा खोलिएका खातामा १०० रूपैयाँ राखिदिन छुट दिएको हो । खाता खोल्दा त्यहाँ बैंकको तर्फबाट हालिने पैसा बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च गर्न पाउने व्यवस्था गरेको हो । बैंकर्स संघको बैठकले पनि यस अभियानमा खाता खोल्नेलाई एक सय रूपैयाँ दिने घोषणा गरिसकेका छन् ।
तथ्यांकअनुसार अझै पनि ४० प्रतिशत सर्वसाधारणमाझ वित्तीय सेवा पुगेको छैन । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै साढे २ करोड खाता खुलेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । तर, एकै व्यक्तिले एक भन्दा बढी बैंकमा खाता खोलेकाले दोहोरो गणना भएको र खाता हुनेहरूको सख्या कम रहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । बैंकिङ सेवा विस्तार भए पनि सर्वसाधारणमा वित्तीय साक्षरता नहुँदा बैंकमा खाता खोल्ने र कारोबार गर्ने प्रवृत्ती बढ्न नसकेको र यसलाई व्यापक बनाउन खाता अभियानका साथै वित्तीय साक्षरता कार्यक्रमलाई पनि जोड दिनुपर्ने सरोकारवालहरू बताउँछन् । खोलौं खाता अभियानलाई प्रभावकारी बनाउने विषयमा सरोकारवालाहरूसँग कारोबारले गरेको कुराकानीको सार :

खाता खोल्न आकर्षित गर्ने कार्यक्रमहरू गर्दैछौं
चिन्तामणि शिवाकोटी
डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक
सबै नेपालीको बैंक खाता खोल्ने गरी सरकारले बजेट वक्तव्यमार्फत् नै ‘एक नेपाली एक बैंक खाता’ कार्यक्रम घोषणा गरेको थियो । यही कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी रूपमा अघि बढाउनका लागि नयाँ वर्ष २०७६ देखि खोलौं बैंक खाता अभियान सुरु गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट यसको औपचारिक उद्घाटन हुँदैछ । यस कार्यक्रमलाई व्यापक बनाउनका लागि नेपाल राष्ट्र बैंकका साथसाथै बैंक तथा वित्तीय संस्था लागेका छौं । अहिलेसम्म बैंकमा खाता नभएका सर्वसाधारण नेपालीलाई बैंकमा खाता खोल्न उत्प्रेरणा जगाउने र आकर्षित गर्नेगरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दैछौं ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी यो अभियानअन्तर्गत खाता खोल्ने व्यवस्थालाई सहज र सजिलो बनाएको छ । केवासी (नो योर कस्टमर) को व्यवस्थालाई सरल पारिएको छ । यस अभियानमा खाता खोल्ने सर्वसाधारणलाई बैंक तथा वित्तीय संस्थाले उपहारस्वरूप खातामा एक सय रूपैयाँ दिन सक्ने व्यवस्था गरिएको छ । यसरी बैंकहरूले खर्च गर्ने रकम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राख्न पाउने छुट दिएका छौं । बैंकहरूले अन्य कुनै पनि बैंकमा खाता नभएको स्वघोषणा फारम भरेर सर्वसाधारणको खाता खोल्न सक्नेछन् ।
यस अभियानमा खाता खोल्नका लागि बैंकहरूले सरल खालको फारमको व्यवस्था गर्नुपर्छ । पहिचान झल्कने नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा कुनै सरकारी निकायले जारी गरेको फोटोसहितको परिचयपत्रका आधारमा खाता खोल्न सकिनेछ । यसैगरी सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिसका आधारमा समेत बैंक तथा वित्तीय संस्थाहरूले खाता खोलिदिन सक्ने व्यवस्था गरिएको छ । यसैगरी यस योजनामा खोलिएका खाताहरूबाट वार्षिक एक लाख रूपैयाँसम्म मात्र कारोबार गर्न सकिनेछ । एक लाख रूपैयाँ भन्दा बढी कारोबार भएमा अन्य सामान्य ग्राहकहरूले जस्तै पूर्ण रूपमा ग्राहक विवरण भरेर लिनुपर्ने व्यवस्था गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाको शाखा बृद्धि भएसँगै सबै नेपालीहरूलाई बैंकिङ कारोबारमा आकर्षित गर्नका लागि यो अभियान सुरु गर्न लागिएको हो । यसलाई सफल बनाउनका लागि राष्ट्र बैंकले आगामी दिनमा पनि आवश्यक काम गर्दै जानेछ ।

नयाँ खातामा सय रुपैयाँ उपहार दिन्छौं
अशोक शेरचन
सदस्य, नेपाल बैंकर्स संघ
सबै नेपालीमाझ वित्तीय सेवा पु-याउनका लागि खोलौं बैंक खाता राष्ट्रिय अभियान वैशाख १ गतेबाट सुरु हँुदैछ । प्रधानमन्त्रीबाट कार्यक्रमको औपचारिक सुरुवात गर्ने कार्यक्रम छ । यस अभियानलाई सघाउन पु-याउनका लागि हामी सबै बैंकरहरूसमेत लाग्छौं । सबै बैंकले शाखामार्फत यो अभियानलाई व्यापक बनाउने गरी प्रचार–प्रसारका कार्यक्रम सँगै लाँदैछौं । यसैगरी यसलाई आगामी दिनमा प्रचार–प्रसार गरेर धेरैभन्दा धेरै सर्वसाधारणसम्म पु-याउनका लागि हामी काम गर्छौं ।
यो कार्यक्रमलाई सफल बनाउनका लागि बैंकर्स संघले वैशाख १ गतेबाट खोलिने बचत खातामा बैंकहरूले आफ्नो तर्फबाट १ सय रुपैयाँ राखिदिने निर्णय गरेका छौं । यसै अनुसार सबै बैंकले यस अभियानमा खाता खोल्ने सर्वसाधारणलाई उक्त रकम प्रदान गर्नुहुनेछ । यसलाई व्यापक बनाउनका लागि नेपाल राष्ट्र बैंकले पनि हालै निर्देशन जारी गरेर खाता खोल्ने व्यवस्थालाई केही सहज बनाइदिएको छ । यो अभियानअन्तर्गत खोलिने खातामा केवाईसी (नो योर कस्टमर) को प्रावधानलाई पनि केही सहज बनाइएको छ । खाता खोल्न आउने सर्वसाधारणले कुनै झन्झटबिना नै बैंक खाता खोल्न सकून् भनेर यो व्यवस्था गरिएको हो ।
अहिलेसम्म वित्तीय पहुँच नपुगेका र बैंकमा खाता नखोलेका सर्वसाधारणलाई वित्तीय सेवा लिनका लागि आकर्षित गराउन यो अभियान सुरु गरिएको हो । त्यसैले यस अभियानअन्तर्गत खाता खोल्ने सर्वसाधारणले अर्को बैंक खाता नभएको स्वघोषणा गर्नुपर्छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा साढे २ करोड खाता खुलेको छ । एकै व्यक्ति-संस्थाको एक भन्दा बढी बैंकमा खाता भएकाले बैंकमा खाता हुने नेपालीको संख्या कम हुन्छ । सरकारको तथ्यांकले नै अझै ४० प्रतिशत नेपालीमाझ बैंकिङ पहुँच पुगेको छ । उनीहरूलाई वित्तीय पहुँच पु-याएर बैंकिङ च्यानलमा ल्याउनका लागि मुख्य गरेर वित्तीय साक्षरतामा नै जोड दिनुपर्छ । वित्तीय साक्षरता व्यापक बनाएपछि सर्वसाधारणले बैंकिङ कारोबारमा आकर्षित हुन्छन् ।
सरकारले गर्ने औपचारिक कार्यक्रमबाट वित्तीय साक्षरता व्यापक बनाउन महत्व पूर्ण भूमिका खेल्छ । यसबाहेक बैंकिङ कारोबारलाई प्रवद्र्धन गर्ने गरी सरकारले नीतिगत व्यवस्था पनि गर्नुपर्छ । सरकारले विभिन्न सामाजिक सुरक्षणलगायतका कार्यक्रममा प्रदान गर्ने रकम बैंक खातामार्फत वितरण गर्नुपर्छ । यसबाट बैंकमा खाता खोल्ने सर्वसाधारणको संख्या वृद्धि हुन्छ । सरकारले धेरै काममा बैंक खाता अनिवार्य गरेको छ । यसको क्षेत्रगत दायरालाई अझै वृद्धि गर्दै लैजानु आवश्यक छ ।
बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो ढंगबाट विभिन्न वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । आफ्नो वार्षिक कार्यक्रममा नै राखेर विभिन्न शाखामार्फत वित्तीय साक्षरताका कार्यक्रम भइरहेका छन् । यसैगरी नेपाल राष्ट्र बैंकले पनि विभिन्न काम गरिरहेको छ । यसबाहेक वित्तीय साक्षरतालाई अझ व्यापक बनाउन सरकारी स्तरबाट पनि काम गर्नुपर्छ । सरकारले गर्ने वित्तीय जागरणका कामबाट आम सर्वसाधारणलाई वित्तीय शिक्षा प्राप्त भएपछि बैंकिङ सेवामा ल्याउनका लागि सजिलो हुन्छ ।