सरस्वती ढकाल
बिहिवार, चैत्र २८, २०७५
760

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष सतिशकुमार मोर यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए । १५ वर्षदेखि परिसंघमा आबद्ध रहेका मोर पूर्वाधारजन्य उद्योगमा लगानी गर्ने अग्रणी उद्योगपतिका रूपमा चिनिन्छन् । क्लिंकर तथा सिमेन्ट उद्योग, खानी तथा खनिजजन्य पदार्थको अन्वेषण र उत्खननसँग सम्बन्धित उद्योग, खाद्य तथा वनस्पति घिउ–तेल उद्योग, विद्युतीय तार तथा सोसँग सम्बन्धित मटिरियल्स र पीभीसी पाइपलगायतका उत्पादनमूलक उद्योगसँग उनी सम्बद्ध छन् । आयात–निर्यातसँग सम्बन्धित अन्य व्यापारमा समेत लामो समयदेखि उनी संलग्न छन् । मोर नेपाल क्लिंकर तथा सिमेन्ट उत्पादक संघदेखि नेपाल समुन्द्रपार निकासी–पैठारी संघको समेत नेतृत्वतहमा रहिसकेका छन् । उनी आफ्नो व्यावसायिक समूह लक्की ग्रुपको अध्यक्षसमेत हुन् । लक्की ग्रुपअन्तर्गत लक्की नेपाल, लुम्बिनी विद्युत् उद्योग, गणपति वनस्पति घ्यू, शिवम् सिमेन्ट, होङ्सी सिमेन्टलगायत झन्डै एक दर्जन कम्पनी सञ्चालनमा छन् । तत्कालीन बैंक अफ एसियाको संस्थापक प्रवद्र्धक मोरले सन् १९७८ मा ट्रेडिङबाट व्यवसाय सुरु गरेका हुन् भने हाल उनी उत्पादनमूलक उद्योगमा सफल छन् मानिन्छन् । नेपालको निजी क्षेत्रको इतिहासमै सबैभन्दा ठूलो प्रत्यक्ष विदेशी लगानी (एफडीआई) ल्याउन सफल मोरकै अग्रसरतामा होङ्सी सिमेन्टमा ७० प्रतिशत लगानी आएको छ । नवनिर्वाचित अध्यक्ष मोरसँग सीएनआई नेतृत्वको आगामी योजना, चेम्बर आन्दोलनमा सहकार्यका सम्भावना तथा नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्रका समसामयिक विषयमा कारोबारकर्मी सरस्वती ढकालले गरेको कुराकानीको सार :

नेपाल उद्योग परिसंघमा आबद्ध भएको डेढ दशकपछि सर्वोच्च पदमा पुग्नुभएको छ । कस्तो महसुस भइरहेको छ ?
मूलतः जिम्मेवारी थपिएको महसुस भइरहेको छ । सकारात्मक सोच राखेर मुलुकको अर्थतन्त्र र व्यापार व्यवसायमा कस्तो योगदान पु-याउन सकिन्छ भनेर काम गर्नुपर्ने अवस्था छ । सीएनआई व्यवसायीको छाता संगठनका साथै आर्थिक विकासमा मुलुक र सरकारको सहयोगी संस्था पनि हो । हामीले १६ औं साधारणसभा सम्पन्न ग-यौं; जसमा प्रधानमन्त्री, अर्थमन्त्रीलगायत आएर हाम्रो उत्साह बढाइदिनुभयो । हामीले पनि राष्ट्रिय परिषद्, कार्यसमितिलगायत निर्विरोध ढंगले चयन ग-यौं । यस्तै, विधान संशोधन गरेर पदाधिकारीहरूको पदावधि दुई वर्षमा झारेका छौं । स्वयंसेवी संस्थामा आफ्नो समय व्यवस्थापनदेखि नेतृत्व विकाससम्मका लागि यसले सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

निजी क्षेत्रकै अन्य संगठनहरूको अवस्था हेर्ने हो भने नेतृत्व चयनमा ठूलो विवाद हुने गरेको छ । तर, सीएनआईमा कसरी सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नुहुन्छ ?
अरू संघसंस्थाका विषयमा म टिप्पणी गर्न चाहन्नँ । सीएनआईमा हाम्रो वातावरण नै त्यस्तै छ । यसको स्थापनाकालदेखि नै नेतृत्वमा जान आफ्नो रुचिभन्दा अरूको आग्रहले बढी काम गरेको उदाहरण छन् । म जान्छु भनेर कमैले मात्र भन्छन्, बरु तपाईं गइदिनोस् भनेर आग्रह गर्ने काम बढी हुन्छ । विगतमा तीन वर्ष पहिले वा ६ वर्षपहिले नै राष्ट्रिय परिषद्मा विवाद भएन, पदाधिकारीमा पनि विवाद भएन । हामीले एउटा के प्रचलन ल्याएका छौं भने तीन वर्ष पदाधिकारी भएपछि उसको ‘पर्फमेन्स’का आधारमा अध्यक्षले वरिष्ठ उपाध्यक्षका लागि सिफारिस गर्ने र त्यो सिफारिस ‘गभर्निङ काउन्सिल’मा पठाउने । काउन्सिलले अध्यक्षको प्रस्ताव ठीक लाग्यो भने अनुमोदन गर्छ र ऊ नै परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनीत हुन्छ । सोही वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले पनि हामीकहाँ विवादरहित ढंगले नेतृत्व चयन हुन सकेको हो । त्यसमा कुनै प्रकारको वादविवाद र भोटिङ पनि हुँदैन । म पनि त्यसैगरी उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएको हो ।

वरिष्ठ उपाध्यक्षका लागि कुनै प्रतिस्पर्धा हुन्छ कि हुँदैन ?
सिस्टमले नै देखाउने भएकाले यस्तो हुँदैन । की पर्फमेन्स इन्डिकेटर (केपीआई) ले नै देखाउने भएकाले विवाद नै हुँदैन । वरिष्ठ उपाध्यक्ष पनि वैज्ञानिक ढंगले नै चयन हुन्छ । मेरो पर्फमेन्स कति छ भनेर रेकर्डमा देखिने भएकाले वादविवाद गर्ने कुरै हुँदैन । क्षमता त सबैमा हुन्छ, तर समय कति दिने भन्ने महत्व पूर्ण कुरा हो । संस्थाका लागि कसले कति समय दिएको छ भन्ने आधारका साथै योग्यता र क्षमताका आधारमा पनि नेतृत्व चयन हुने भएकाले अहिलेसम्म कहिल्यै विवाद भएको छैन र आशा गरौं, भोलिका दिनमा पनि विवाद हुनेछैन ।

केपीआईको कुरा गर्नुभयो, तपाईंले आफ्नो मूल्यांकन आफैं गर्नुपर्दा चाहिँ अहिलेसम्म सीएनआईमा निर्वाह गरेको भूमिका कस्तो रह्यो ?
सबैभन्दा महत्व पूर्ण कुरा त कमिटमेन्ट नै हो । नेसनल काउन्सिलमा हुँदा होस् वा पदाधिकारी वा वरिष्ठ उपाध्यक्ष हुँदा नै किन नहोस्, मुख्य कुरा कमिटमेन्ट चाहिन्छ । जसमा मैले अघि भनेजस्तै त्यो अनुसारको समय व्यवस्थापन, विषयका प्रति ज्ञान र भिजनजस्ता अनिवार्य कुरा हुन् । तन, मन र धन तीनवटै क्षेत्रमा योगदान त दिनैपर्छ भने यससँगै टिमवर्क पनि उत्तिकै महत्व पूर्ण छ । मलाई लाग्छ, यी सबै परीक्षामा म पास भएरै आज देशकै गरिमामय संगठनको नेतृत्व तहमा पुग्न सकेँ भन्ने लाग्छ ।

सीएनआईको नेतृत्वमा पुग्नुभयो । हिजोसम्म सहायक भूमिकामा हुुनुहुन्थ्यो भने अब आफैं मुख्य भूमिकामा हुनुहुन्छ । तत्कालका योजना के छन् ?
मुख्य कुरा त सीएनआई अहिले सही बाटोमा छ । सीएनआईले अघि बढाएका दोहोरो अंकको आर्थिक वृद्धि, पूर्वाधारमा लगानी, आयात प्रतिस्थापन तथा कृषिमा आधुनिकीकरणजस्ता विषयलाई निरन्तरता नै दिनुपर्छ । यी अर्थतन्त्रका अनिवार्य ‘की फ्याक्टर’ पनि हुन् । यसबाहेक हाम्रा बाउबाजेका पालादेखिका कानुन संशोधन र आवश्यकताअनुसार खारेजीका लागि पनि सरकारसँग सहकार्य गर्नुपर्नेछ । केही कानुन संशोधन पनि भएका छन् । हामी हाम्रो थिंक ट्यांकको सुझावअनुसार नै अघि बढ्ने हो । थिंक ट्यांकमा पूर्वसचिव, कूटनीतिज्ञ तथा सुरक्षा निकायका प्रमुखहरूसमेत सहभागी रहेको हाम्रो थिंक ट्यांकको सुझावअनुसार नै हामीले विगतदेखि नै सरकारलाई नीतिगत रूपान्तरणमा आग्रह गरेका थियौं र अहिले केही सकारात्मक परिणामहरू पनि आइरहेका छन् । अहिले नै चाहिँ बढ्दो व्यापारघाटा न्यूनीकरणका क्षेत्रमा काम गर्नुपर्नेछ । यसका लागि आयात प्रतिस्थापन र आर्थिक कूटनीति महत्व पूर्ण माध्यम हो । हामी सकारात्मक सोच भएका उद्यमी भएकाले पनि सरकारसँग सहकार्यबाटै हाम्रा लक्ष्यहरू हासिल गर्न सक्छ भन्ने मान्यता राख्छौं ।

निजी क्षेत्रका अन्य संघ–संगठनहरू एफएनसीसीआई, नेपाल चेम्बरलगायतसँग सीएनआईको सहकार्य कत्तिको हुन्छ ?
निश्चय पनि सहकार्य हुन्छ । मैले एफएनसीसीआईका पदाधिकारीहरूसँग पनि कुरा गरिसकेको छु, चेम्बरका पदाधिकारीहरूसँग पनि कुरा गरेको छु । उहाँहरूसँग अर्थतन्त्रका मुख्य एजेन्डाका विषयमा छलफल र सहकार्य हुनेछ । हामी मिलेर गयौं भने मात्र सरकार, संसद्लगायतमा छलफल गर्न सजिलो हुनेछ । अहिले एफएनसीसीआईको साधारणसभाको तयारी भइरहेकाले त्यसलगत्तै हामी बसेर छलफल गर्नेछौं । सहअस्तित्व स्विकार्न हामी कसैलाई समस्या छैन, सहकार्य यसकै आधारमा हुनेछ । हामी मिलेर गयौं भने सरकारलाई पनि सजिलो हुनेछ, हामी आफैंलाई पनि सहज हुनेछ । अन्ततः हामी सबैको लक्ष्य भनेको मुलुकको दिगो र फराकिलो दोहोरो अंकको आर्थिक वृद्धि नै हो भने संकुचित भएर बस्नु जरुरी छैन ।

सरकारले हालै सम्पन्न गरेको लगानी सम्मेलनप्रति मिश्रित टिप्पणीहरू आइरहेका छन्, तपाईंको विचारमा सम्मेलन कस्तो रह्यो ?
सरकारले हालै लगानी सम्मेलन ग-यो, त्यो एकदमै सफल भएजस्तो लाग्छ । सम्मेलनमा निजी क्षेत्रलाई जुन खालको स्पेस दिइयो, यसले लगानी ल्याउन मद्दत नै गर्छ । निजी क्षेत्रलाई प्यानलिस्ट बनाएर यसमा पनि मल्टिनेसनल कम्पनीका प्रतिनिधिलाई नै उदाहरणीय रूपमा पेस गराएर सरकारले एकदमै राम्रो काम गरेको छ र यसले लगानीको वातवरण बनाएको छ भन्ने मेरो विश्वास छ । सीएनआई आफैं पनि लगानी सम्मेलनको आयोजक भएको नाताले भन्नुपर्दा लगानी सम्मेलनले नेपालमा लगानीमैत्री ऐन कानुनहरू बनिरहेका छन् । राजनीतिक स्थिरता छ र दुईतिहाइ बहुमतको सरकार लगानी भिœयाउन सिरियस छ भनेर विश्वका लगानीकर्तामाझ सन्देश पु-याउन लगानी सम्मेलन सफल भएको छ । बीसीसीआईका प्रतिनिधिसँग पनि हामीले यसबीचमा छलफल ग-यौं । हामी भोलिका दिनमा पनि यसमा फलोअप गर्नेछौं र उहाँहरूलाई अप्ठेरो परेको ठाउँमा सहजीकरण गर्नेछौं ।

नेपालमा लगानी सबैभन्दा बढी आवश्यक भएको तर लगानी हुन नसकेको क्षेत्र भने पूर्वाधार नै हो भनेर तपाईंहरूको संस्थापक अध्यक्षले पनि साधारणसभामै भन्नुभयो । लगानी सम्मेलनपछि पनि पूर्वाधारमा ठूलो लगानी आउने देखिएन नि ?
अहिले नै लगानी आउने होइन । अहिले त केही परियोजनाहरू शोकेस गरिएका मात्र हुन् । मैले अघि पनि भनेँ कि संकेतहरू सकारात्मक छन्, अहिले नै रिजल्ट खोज्नु हुँदैन । हामीले त हामी नेपालमा लगानीका अवसरहरू खुल्यो है भनेर विश्वलाई जानकारी दिनमात्र खोजेका हौं । पूर्वाधारको कुरा गर्नुहुन्छ भने त सीएआई नै पूर्वाधार विकासको अभियन्ता पनि हो । हामीले विगतमा दुईवटा पूर्वाधार सम्मेलन आयोजना गरिसक्यौं । सेप्टेम्बरमा तेस्रो सम्मेलन पनि गर्दैछौं ।

सीएनआई भन्नेबित्तिकै पूर्वाधार सम्मेलनको पर्यायजस्तै लाग्छ । हिजोका दिनमा सीएनआईले गरेका पूर्वाधार सम्मेलनको परिणामलाई कसरी मूल्यांकन गर्नुहुन्छ र यसै वर्ष हुने अर्को पूर्वाधार सम्मेलन कुन अर्थमा भिन्न हुनेछ ?
पूर्वाधारप्रतिको विगतको धारणा र अहिलेको धारणामा निकै परिवर्तन भइसकेको छ । यसलाई हेर्ने दृष्टिकोण नै बदलिएको महसुस गर्न सकिन्छ । ठूला र फराकिला बाटोका कुरा आएका छन् । २०१४ मा हामीले रेल्वे कनेक्टिभिटीको कुरा गरेका थियौं, अहिले सरकारको प्राथमिकतामा परेको छ । अब फेरि चार महिनापछि सम्मेलन गर्दैछौं र यसबाट पनि पूर्वाधारका क्षेत्रमा हाम्रो आयाम थप फराकिलो बन्नेछ । पूर्वाधार भन्नेबित्तिकै सडक र रेल अनि विमानस्थलमात्र पनि होइन । पर्यटकीय पूर्वाधार पनि हुन सक्छ भने हाम्रो कमजोरीको क्षेत्र रहेको मार्केटिङ पनि हो । हामीकहाँ यति ठूला सम्भावना छन्, तर मार्केटिङ गर्न सकेका छैनौं र पूर्वाधार पनि छैन । म हालै रारा ताल गएका थिएँ, त्यहाँ यतिधेरै सम्भावना छ तर पूर्वाधार छैन । पर्यटनको कुरा गर्दा पूर्वाधारसँगै जोडिएर आउने गरेको छ । निजी क्षेत्रले होटलमा लगानी गरिरहेको छ । यसले पर्यटक त बढाउँछ, तर उनीहरूलाई ल्याउने लैजाने पूर्वाधारमा त लगानी गर्नैपर्छ ।

सीएनआईले केही वर्षपहिल्यै दोहोरो अंकको आर्थिक वृद्धिका लागि आधारपत्र सरकारलाई बुझाएको थियो र अहिले सरकार पनि दोहोरो अंकको वृद्धि नै भनिरहेको छ । तर, नेपालका विकास साझेदारहरू त केही वर्ष अझै नेपालमा दोहोरो अंकको वृद्धि सम्भव छैन भनिरहेका छन् नि ?
हाम्रो भिजन क्लियर हुनुपर्छ । भिजन ठूलो भएपछि लक्ष्यभन्दा अलिकति कम नै हासिल भए पनि सन्तोष मान्नुपर्छ । तर, जब लक्ष्य नै सानो राखिन्छ भने टाढा पुग्न सकिँदैन । हामीले लक्ष्यको ६० प्रतिशतमात्रै हासिल गर्न सक्यौं भने पनि त्यसलाई सफल मान्न सकिन्छ । म सरकारलाई सुझाव दिन्छु कि हरेक कुराको जवाफदेहिता चाहिन्छ । कसैले कुनै काममा ढिलाइ गर्दा त्यसको चक्रीय असर पार्छ । त्यसैले सरकारले आफ्ना अधिकारीदेखि जिम्मा दिएका निजी क्षेत्रकै मान्छेहरूसँग किन नहोस्, किन ढिलो भयो भनेर प्रश्न गर्नैपर्छ र त्यसमा दण्ड–सजायको पनि व्यवस्था गर्नैपर्छ ।

सरकारको कतिपय नीति निर्माणको क्षेत्रमा त निजी क्षेत्र र त्यसमा सीएनआई पनि सहभागी छ । मुलुकको अपेक्षित आर्थिक विकास हुन नसक्नुको दोष तपाईं निजी क्षेत्रमा पनि जाँदैन र ?
हामीले बारम्बार यसमा आवाज उठाइरहेका छौं । हामी कार्यान्वयनको अधिकारी हैनौं, हामीले त सुझाव दिने मात्र हो । तर पनि किन काम भएन भनेर प्रश्न गरिरहेकै हुन्छौं । यस्तो प्रश्न आवश्यक परेको अवस्थामा सार्वजनिक रूपमा पनि गरेका छौं र सरकारसँगका हरेक बैठकमा यी प्रश्नहरू गरिरहेकै हुन्छौं । म फेरि पनि दोहो-याउँछु कि समयमै जिम्मेवारी पूरा नगर्ने निजी क्षेत्रका केही निर्माण व्यवसायीमाथि कारबाही जसरी सुरु गरिएको छ, ठीक त्यसैगरी सरकारका अधिकारीहरूलाई पनि जिम्मेवार बनाउनुपर्छ । उनीहरूले गर्ने कमजोरीको भागिदार हामीलाई बनाइनु हुँदैन ।

अन्त्यमा, तपाईं सीएनआईको नेतृत्वसँगै मुलुकको एउटा ठूलो व्यावसायिक घरानाको नेतृत्वमा पनि हुनुहुन्छ । भोलिका दिनमा दुवैतिर समय व्यवस्थापन कसरी गर्नुहुन्छ र सँगसँगै यसमा कन्फिक्ट अफ इन्ट्रेस्टको सम्भावना पनि रहन सक्दैन र ?
मैले हिजो शपथ लिँदा भनेको छु कि मेरो प्रायोरिटी सीएनआई हुन्छ । सीएनआईलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्छु भने अर्को महत्व पूर्ण कुरा सीएनआईको प्लेटफर्म प्रयोग गरेर म कहिले पनि व्यक्तिगत व्यवसायको कुरा गर्दिनँ । यी दुईवटा कुरामा म प्रतिबद्ध छु । मैले अध्यक्ष हुुनअघि नै यस कुराको मनमनै प्रण गरेको थिएँ र अध्यक्ष भएपछि सार्वजनिक रूपमै यो प्रतिबद्धता जनाउन चाहन्छु । ममात्र नभई नेतृत्वमा पुग्ने हरेक व्यक्तिले यी दुई कुरालाई सधैँ आत्मसात् गर्नुपर्छ भन्ने लाग्छ ।

दुई वर्षपछि तपाईंले नेतृत्व हस्तान्तरण गर्दै गर्दा कस्तो सीएनआई हस्तान्तरण गर्नुहुनेछ ?
मैले धेरै सुधार गर्न नसकुँला, तर संस्थालाई बदनाम हुने गरी काम गर्दिनँ । मेरो क्षमता र विवेकले भ्याएसम्म टिमवर्कमा रहेर संस्थालाई गतिशील बनाउनेछु भने मभन्दा अग्रजले देखाउनुभएको आदर्शपथ सधैँ अँगाल्नेछु । मेरो मूल्यांकन म आफैंले भन्दा पनि मेरा अग्रज, सहकर्मी तथा तपाईं मिडियाकर्मीले गर्नु नै हुनेछ । म सधैँ सकारात्मक सोच्ने मान्छे हो । सीएनआई पनि सकारात्मकतामा विश्वास गर्ने व्यवसायीहरूकै संगठन हो । हामी सरकारसँगको सहकार्यबाटै परिणाम हासिल गर्न सक्छौं भन्नेमा छौं । सरकार पनि आर्थिक विकासमा सिरियस देखिन्छ । आर्थिक विकास मुलुककै एजेन्डा भएको छ । यद्यपि, नेपालमा व्यवसाय गर्न अझै केही समस्या छन् र तिनको क्रमशः समाधान हुँदै जानेछ भन्ने मलाई विश्वास छ । सुधारको गति अघि बढिरहेकै छ । विनिमय दरको समस्या सम्बोधनका लागि अहिले हाइड्रोपावरकै लागि किन नहोस्, हेजिङको व्यवस्था आएको छ । भोलिका दिनमा अन्य क्षेत्रमा पनि यसको विस्तार हुन सकोस् भन्न चाहन्छु र यस्ता सुधारका गति नरोकिउन् भन्न पनि चाहन्छु । यसैले सकारात्मकताबाटै समृद्धि सम्भव छ ।