लक्ष्मी सापकोटा
मंगलबार, चैत्र २६, २०७५
713

सुन मानिसलाई शुभकार्यदेखि मर्ने बेलासम्म आवश्यक पर्छ । सुनको ऐतिहासिकसँगै धार्मिक महत्व छ । पछिल्लो समय आममानिसमा विलासिताको वस्तुका रूपमा सुनलाई प्रयोग गरिन्छ । देखासिकी गर्ने प्रचलन बढ्दै गएकाले सुन हुने वर्गसँगै नहुने वर्गका लागि पनि अति आवश्यक बन्दै गएको छ । बिवाहको सिजनमा अन्य समयको तुलनामा सुनको कारोबार धेरै हुने गर्छ । मुलुकमा वार्षिक रूपमा ६० देखि ७० अर्ब रुपैयाँबराबरको सुनको कारोबार हुने गर्छ, जसमा यस व्यवसायबाट वार्षिक १० अर्ब रुपैयाँबराबरको राजस्व संकलन हुने गर्छ । बजारमा सुनको माग दिनप्रतिदिन बढ्दै गए पनि सोही अनुपातमा आपूर्ति बढ्न नसकेको व्यवसायीको गुनासो छ । राष्ट्र बैंकले दैनिक उपलब्ध गराउने २० किलो सुनले बजारलाई अपुग हुने गरेको व्यवसायीको भनाइ छ । मुलुकभर २२ हजारभन्दा बढी सुनचाँदी व्यवसाय सञ्चालनमा रहेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष रहेका तेजरत्न शाक्य एउटा सफल सुन व्यवसायी हुन् । उनले लामो समयदेखि सुन व्यवसाय सञ्चालन गर्दै आएका छन् । बजारमा सुनको आपूर्तिको अवस्था के छ तथा सुनचाँदी व्यवसायको अवस्था र यस व्यवसायमा देखिएका समस्यालगायतका सुनचाँदी व्यवसायसँग सम्बन्धित अन्य विषयमा केन्द्रित रहेर कारोबारका लागि लक्ष्मी सापकोटाले सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यसँग गरेको कुराकानीको सार :

अहिले सुनचाँदीको बजारको अवस्था कस्तो छ ?
अहिले अफ सिजन हुन लागिसकेकाले पनि बजारको अवस्था राम्रो छैन । कारोबार सुस्त छ । चैतको महिना लगनकोे समय पनि नभएकाले सुस्त अवस्थामा रहेको छ । वैशाख लागेपछि बिहेको सिजन सुरु हुने हुँदा कारोबार बढ्न सक्छ । अहिले मूल्य बढेकाले बजारमा सुनको माग र आपूर्तिको अवस्था सन्तुलित रहेको छ । सुनको मूल्य बढेका कारण पनि यसपालि लगनको सिजनमा पनि बजारमा सुनको धेरै माग बढ्न सकेन । वर्षको फागुन महिनालाई पिक सिजन मानिन्छ । मौसम पनि अनुकूल पर्ने र बिहेको लगन भएकाले सुनको कारोबार वर्षभरिकै धेरै हुने गर्छ, तर यो वर्ष मूल्य बढेकाले कारोबार बढ्न सकेन । अघिल्लो वर्ष यो समयमा दैनिक ५० देखि ६० किलोको हाराहारीमा कारोबार हुने गरेकोमा यसपालि २५ केजीमा कारोबार सीमित हुन पुगेको छ । गत फागुन ८ गते सबैभन्दा धेरै अर्थात् प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो । अहिले आएर सुनको मूल्य सामान्य घटेको छ ।

अहिले सुनको मूल्य घट्ने–बढ्ने अवस्था के छ ?
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा सुनको मूल्य प्रतिऔंस १ सय ३ सय ५० डलर पुग्ने अनुमान गरिएको थियो । चीन र अमेरिकाको वार्ता सकारात्मक भएपछि सुनको मूल्यमा सामान्न गिरावट आएकोे छ । डलर मजबुत भएपछि सुनको मूल्य घट्ने गर्छ । लगानीकर्ताले सुन अथवा सेयरमा लगानी गर्ने गर्छन । यसपालि सेयर मार्केट त्यति बढ्न सकेन, जसका कारण सुनको मूल्य बढ्दै गएको देखिन्छ । सुनको मूल्य पुनः घट्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा पहिला ‘सुन भनेको अनुत्पादक क्षेत्र हो, यसमा लगानी गरेर केही फाइदा छैन’ भनिन्थ्यो । तर, दुई–चार वर्ष अघिदेखि सुन क्षेत्रलाई धेरै महत्व दिइएको छ । लगानी सुरक्षित गर्नका लागि सुन क्षेत्रलाई उपयुक्त मानिन्छ । डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने र डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने गर्छ । गत वर्ष ५५ हजार रुपैयाँमा करोबार भएको सुनको मूल्य यो वर्ष तोलामा आठ हजार रुपैयाँ बढेर ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । अहिले सुनको मूल्य ६० हजार रुपैयाँमा झरेको छ । नेपालीको क्रयशक्ति घटिरहेका बेला गत वर्षको तुलनामा तोलामा आठ हजार रुपैयाँ बढेकाले त्यसलाई व्यवस्थापन गर्न कठिन भएको छ ।

बजारमा सुनको आपूर्ति व्यवस्था कस्तो छ ?
अहिले माग नबढेकाले पनि बजारमा सुनको अभाव छैन । गत मंसिरसम्म पनि हामीले सुनको अभाव खेपेका थियौं । तीजका बेला बजारमा सुनको माग बढेकाले अभाव भएको थियो । २०७२ सालको भूकम्पपश्चात् २०७५ सालमा सुनको माग बढेको छ । जनसंख्या बढिरहेको छ, सुनपसलहरू बढेका छन् । नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुन वितरण गर्ने गर्छ । त्यो सुन मुलुकभर रहेका २२ हजारभन्दा बढी व्यवसायीले बाँड्नुपर्छ । तिनलाई वितरण गर्दा २० किलो सुनले पुग्दैन । दैनिक पाउने २० केजी सुनले बजारलाई पर्याप्त हुँदैन । अहिले वितरण हुने सुनले बजार माग धान्न नसक्ने हुँदा सुनको कोटा बढाउनुपर्छ । कोटा बढाउनका लागि सम्बन्धित निकायसमक्ष पहल गरिरहेका छौं । हामीलाई सामान्य तया दैनिक ३५ देखि ४० किलो सुन उपलब्ध गराउनुपर्छ । सुनको कोटा बढाउनका लागि महासंघले पहल गरिहेको छ । तर, उहाँहरूको पहुँच पुगेको छैन । के कारणले गर्दा सरकारले यस क्षेत्रलाई ध्यानमा दिन सकेको छैन भनेर मैले महासंघका साथीहरूलाई भनिरहेको छु ।

सुन क्षेत्रबाट सरकारलाई कति राजस्व बुझाउनुहुन्छ ?
महासंघको तथ्यांकअनुसार सुनको आयातबाट ६ अर्ब रुपैयाँ राजस्वमा जाने गर्छ । अन्य क्षेत्रमा गरी यस क्षेत्रबाट मात्र वार्षिक रूपमा १० अर्ब रुपैयाँ राजस्व सरकारलाई बुझाउने गर्छौं ।

गैरकानुनी ढंंगबाट आयात हुने सुनले बजार धान्ने गरेको भनिन्छ नि ?
चोरी–तस्करीबाट आउने सुनलाई बजार थेग्ने विकल्पका रूपमा लिन सकिन्छ । किनभने नेपालको झिटीगुन्टा नियम कायम छ । ५० ग्रामसम्म सुन ल्याउन पाइन्छ । ५० ग्रामको सुनको बिस्कुट ल्याउने हो भने ५ हजार २ सय भन्सार तिर्नुपर्छ । थप ५० ग्राम ल्याउँदा ६ हजार २ सय रुपैयाँ भन्सार तिर्नुपर्छ । यो व्यावहारिक भएन । बैंकमार्फत सुन ल्याउँदा ४ हजार २ सय रुपैयाँ पर्ने गर्छ । व्यक्तिगत रूपमा ल्याउदा महँगो भएकाले त्यसलाई पुनर्विचार गरिनुपर्छ भने माग गरेका छौं ।
सरकारले भन्सार बढाए पनि बजारमा आपूर्ति सहज पारिदिनुपर्छ भनेका थियौं, तर त्यो हुन सकेको छैन । नेपालमा सुनको अभाव भएका कारण पनि गैरकानुनी ढंगबाट सुन ल्याउन आकर्षित भएको छ । यसलाई निरुत्साहित गर्नुपर्छ । मागअनुसारको आपूर्ति नहुने र बाहिरभन्दा नेपालमा सुन महँगो पर्ने हुँदा पनि चोरी तस्करीबाट सुन आउने गरेको देखिन्छ । यसलाई नियन्त्रण गर्नका लागि सरकारले मागअनुसार बजारमा सुनको आपूर्ति व्यवस्था सहज पार्नुपर्छ ।

सुन–चाँदी व्यवसायलाई व्यवस्थित गर्नका लागि निर्देशिका अझै आउन सकेको छैन । यसले गर्दा व्यवसायलाई कस्तो प्रभाव पारिरहेको छ ?
निर्देशिका नहुँदा बजार अलमलको अवस्थामा छ । महासंघले सरकारसँग भएको वार्तामा एउटा नीति अपनाएको छ । सयकडा १० प्रतिशत जर्तीको व्यवस्था र २ प्रतिशतको टोलरेन्सको व्यवस्था भएको छ । यही नियम कायम गर्नका लागि महासंघले व्यवसायीलाई निर्देशन दिइसकेको छ । निर्देशिका भएपछि व्यवसायीले निर्धक्क भएर काम गर्ने गर्छन् र कतैबाट गुनासो पनि आउँदैन । उपभोक्तालाई पनि गुणस्तर र परिणाममा सुनिश्चितता हुन्छ । तर, अहिले उपभोक्ताबाट गुनासो आइरहेको छ । जबसम्म उपभोक्ता र व्यवसायीबीचमा समन्वय हुँदैन तबसम्म व्यापार फस्टाउँदैन । लामो समय बितिसक्दा पनि निर्देशिका नआउँदा व्यवसायमा अन्योल देखिको छ ।

उपभोक्ताले सुनको गुणस्तर र परिणाम सही छ भनेर कसरी विश्वास गर्ने ?
सुनको गुणस्तरमा देखिने समस्या पहिलेभन्दा अहिले त धेरै सुधार भइसकेको छ । पहिला सुनचाँदी व्यवसाय लगाम नभएको घोडाजस्तो थियो । तर, अहिले बिस्तारै सुधार हुँदै आएको छ । महँगो वस्तु भयो, व्यवसाय धमाधम बढेको छ । व्यवसाय अनियन्त्रित तवरले बढ्न गयो । त्यसकारण हरेक गुणस्तर र परिणाम गलत काम हुने गरेको हो । हामीले सुरुदेखि भनिरहेको थियौं, सुन व्यवसायलाई व्यवस्थित राख्नका लागि नीति–नियम र मापदण्ड भए त्यही अनुसार निर्देशन दिन सजिलो हुन्छ । व्यवसायीलाई पनि नीति–नियम भए काम गर्न सहज हुन्छ । यसका निम्ति मापदण्ड भए यो व्यवसायलाई न्यायोचित र व्यावहारिक रूपले प्रवद्र्धन गर्न सकिन्छ । सुनचाँदी व्यवसायलाई नियमन र व्यवस्थित गर्नका लागि नीति–नियम जरुरी छ । मूल्य निर्धारण गर्न, कानुनी प्रद्धति कायम राख्न, आपूर्ति व्यवस्था सहज पार्नका लागि नीति–नियम जरुरी छ । डिजिटल मेसिन प्रयोग गरेकाले तौलमा समस्या छैन । बैंकबाट झिकाउने सुन गुणस्तरको हुने भएकाले पनि त्यसमा समस्या छैन । बजारमा सुनको गुणस्तरमा धेरै सुधार आएको छ ।

यस क्षेत्रमा के–कस्ता समस्या छन् ?
हाम्रो समस्या भनेको खरिद–बिक्रीसम्बन्धी ऐनको हो । अहिलेसम्म पनि ऐन बनेको छैन । देवानी संहितामा ऐन संशोधन भएर आए पनि पूर्ण रूपमा लागू हुन सकेको छैन । सुनको लागि स्पष्ट छुट्टै नियम छैन । चोरी महलअन्तर्गत दुई–तीनवटा दफामा मात्र व्यवस्था गरेको छ । ७५ प्रतिशत कालिगढ भारतीय छन् । हामीले दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा जनशक्तिको अभाव रहेको छ । १ लाखभन्दा बढी कालिगढ भारतीय छन् । स्वदेशमा दक्ष कालिगढ उत्पादन गर्न सके स्वदेशीले नै रोजगारी पाउँछन् । अहिले भारतीय कालिगढले अर्बाैं रुपैयाँ भारत लैजाने गर्छन् । कालिगढ उत्पादन गर्ने काम हामीले गरिरहेका छौं । सुनको आपूति व्यवस्थाको पनि समस्या छ । आपूर्ति नै भएन भने व्यवसाय विस्तार गर्ने कुरा भएन । वि.सं. २०५५ मा नेपालको जनसंख्या सवा १ करोड थियो । त्यतिबेला १५ हजार किलो सुन चाहिन्थ्यो । अहिले झन्डै ३ करोड जनसंख्या पुगेको छ । त्यसका लागि सरकारले वार्षिक ७ हजार २ किलो मात्र सुन दिएको छ । त्यसले कसरी बजारमा आपूर्ति सहज हुन्छ । सुनको पर्याप्त आपूर्ति नै भएन भने व्यवसाय विस्तार गर्ने कुरा भएन । बजारमा अझै पनि मागअनुसार सुनको आपूर्ति हुन सकेको छैन । अहिले वार्षिक ६० देखि ७५ अर्बको वार्षिक सुनचाँदीको कारोबार हुने गर्छ । स्थानीय बजार बढिरहेको छ, तर त्यस अनुसार सुनको आपूर्ति छैन । सुनको बजार दिन–प्रतिदिन बढ्दै गए पनि सोही अनुपातमा आपूर्ति पर्याप्त नहुँदा चोरी तस्करी बढ्दै गएको छ । मागअनुसार आपूर्ति भए बजार व्यवस्थित भए तस्करी रोकिनुका साथै सरकारलाई राजस्व समेत बढ्न जान्छ । सुन व्यवसाय भनेको अति संवेदनशील व्यापार भई सानो चिजमा ठूलो व्यापार हुने भएकाले पनि सुन तस्करी बढ्दै गएको छ । पहिले प्रति १० ग्राम १ हजार ५ सय रुपैयाँ भन्सार शुल्क हुँदा त्यति धेरै तस्करी भएको थिएन । जति भन्सार वृद्धि भयो त्यति नै चोरी–तस्करी बढ्दै गएको छ । सुनमा बढी मार्जिन हुने भएकाले पनि यसमा चोरी तस्करीको आकर्षण बढी हुने गर्छ । सबैभन्दा ठूलो उपाय भनेको मागअनुसारको आपूर्ति सहज बनाउने हो भने गैरकानुनी ढंगबाट हुने चोरी–तस्करी नियन्त्रण हुन्छ, साथै राजस्व पनि बढ्न सक्छ ।

अहिले मुलुकभर कति व्यवसाय सञ्चालनमा छन् ?
मुलुकभर २२ हजार संख्यामा सुनचाँदी व्यवसाय सञ्चालनमा छन् । कालिगढको संख्या दुई लाख रहेका छन् । यस व्यवसायमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा आश्रित जनसंख्या १५ देखि २० लाख रहेका छन् । यति ठूलो व्यवसायलाई व्यवस्थित गर्नका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्छ । व्यवसायलाई व्यवस्थित राख्नका लागि ऐन–नियमको व्यवस्था हुनुपर्छ । साथै कालिगढको उत्पादन गरिनुपर्छ । यस्तै बजारलाई पुग्ने सुनको आपूर्ति पर्याप्त भए हामीले आन्तरिक बजारमात्र नभएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ । सरकारले आन्तरिक बजारमा मात्र केन्द्रित नभएर निर्याततर्फ लागे जति पनि सुन दिने भन्ने गर्छ । निर्यात गर्नका लागि व्यवसायमा लगानी गर्दै जानुपर्छ । बिनालगानी कसरी प्रतिफल पाइन्छ । सरकारले लगानी गरेर आपूर्ति बढाइदिनुपर्छ, त्यसपछि पनि प्रतिफल आएन भने बल्ल प्रश्न गर्दा हुन्छ ।
व्यावसायिक हकहित सुरक्षित गरी दीर्घकालीन रूपमा व्यवसाय टिक्ने वातावरण सरकारले बनाइदिनुपर्छ । साथै, व्यवसाय सञ्चालनका लागि आवश्यक कच्चापदार्थको समेत व्यवस्था गरिनुपर्छ । यसले रोजगारी प्रवद्र्धन गरी गरिबी निवारणमा सहयोग पु-याउँछ । व्यापारबाट आयआर्जन गरिने हुँदा मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई पनि सघाउ पु-याउँछ । सुनमा गरेको लगानी पुनः उत्पादन गर्न सकिन्छ तर अन्य क्षेत्रमा गरेको लगानीलाई पुन उत्पादन गर्न सकिँदैन । अहिले रोजगारीका लागि धेरै जना विदेश गइरहेका छन् । यो क्षेत्र पनि रोजगारीका लागि राम्रो सम्भावना छ, तर आकर्षण बढ्न सकेको छैन ।